पोखरा: गण्डकी प्रदेशसभाको हिउँदै अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्दैछ । गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आजका लागि बैठक आह्वान गरेका हुन् । यसअघि हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
नवलपरासी: राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए । उनले यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्याउने गरी काम भइरहेको बताए । उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ । पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए । दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको उहाँको भनाइ छ । अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इञ्जिनीयर खनालले बताए । ‘यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो’ उनले भने, ‘दाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका छौँ ।’ दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनको भनाइ छ । इञ्जिनियर खनालले सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले धमाधम काम गरिरहेको बताए । हालसम्म सडकको भौतिक प्रगति ५३ दशमलव ३ प्रतिशत रहेको भन्दै उनले एक महिनाको अवधिमा एक दशमलब ४३ प्रतिशत प्रगति भएको बताए । उनले भने, ‘गैँडाकोटको नारायणीको पुल नजिकै, डण्डा, सिजी, अरुणखोला बजार क्षेत्रमा कालोपत्रको लागि धमाधम काम भइरहेको छ ।’ दुम्कीबासको जङ्गल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको सूचना अधिकारी इञ्जिनीयर खनालले बताए । यस खण्ड निर्माणको लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो । विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । एक सय १४ किमी सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किमी) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो । निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीन पटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ । म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ राखिनेछ । तीन मिटरकोबीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाई ७÷७ मिटरको हुनेछ । बजार क्षेत्रमा ६÷६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७।६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२।७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किमी सडक तीन लेनको हुने जनाइएको छ ।
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् । उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । टिपरले प्रदेश ०१–०२२ च ६७७८ नंको कारलाई समेत ठक्कर दिएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गर्नुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उहाँले उल्लेख गर्नुभएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ । नवीनकार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ । आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशःन्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७स्५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७स्५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उहाँले बताउनुभयो । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ । देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
पोखरा: कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले माघ १४ गतेसम्म कास्की प्रहरी मातहत प्रहरी इकाईहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सयुक्त टोलीले स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल नियन्त्रणमा लिएको हो । स्वरुप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिएर कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय कास्कीको १०० र जिल्ला ट्राफिक कार्यालय कास्कीको १०३ मा टेलिफोन गरी सूचना दिन अनुरोध समेत गरेको छ ।
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कानुनबमोजिम दाबी भएको निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नरोकिने बताउनुभएको छ । महिला आर्थिक पत्रकार सङ्घ फेजाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अघिल्लो सरकारका पालामा बाँकी रहेको भुक्तानी दायित्व वर्तमान सरकारले निर्वाह गर्नुपर्दा असहज भएको बताउनुभएको हो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “अब सरकार निर्माण व्यवसायीको कानुनबमोजिमको बिल भुक्तानी सहज रूपमा दिनसक्ने अवस्थामा पुगेका छौँ । सरकारले कानुनसम्मत रूपमा दाबी गरेको रकम भुक्तानी रोकेको छैन ।” उहाँले पुँजीगत खर्च बढाउनतर्फ सरकारले पहल गरिरहेको बताउनुभयो । “सार्वजनिक खरिद ऐन, वन ऐन, वातावरण ऐनलाई सुधार गरेर पुँजीगत खर्च बढाउनुपर्ने आवश्यक छ । त्यसका लागि नियमनलाई प्रभावकारी बनाउन ध्यान दिनेछौँ”, मन्त्री पौडेलले भन्नुभयो, “पुँजीगत खर्चको तुलात्मक रूपमा मूल्याङ्कन गर्दा गत वर्षको तुलनामा यस वर्ष प्रगति भएको छ तर यो पर्याप्त छैन ।” उहाँले बैंकहरूको महत्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको तर यस क्षेत्रमा कारोबार चलायमान हुनसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको धारणा राख्नुभएको छ । “मापदण्ड पूरा गरेर नै बैंकहरूले घरजग्गामा लगानी गरेका छन् । घरजग्गा कारोबार गर्नेहरूलाई मात्रै गाली गरेर अर्थतन्त्र सुधार हुन सक्दैन । यस क्षेत्रमा भएको समस्या समाधान निजी क्षेत्र र सरकारको साझा विषय भएकाले सबै मिलेर समाधान गर्न जरूरी छ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने र यसले निजी क्षेत्रको मनोबल बढाएको बताउनुभएको छ । सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधानका निम्ति नीतिगत सुधारमा जोड दिएको र अध्यादेश त्यसैको सशक्त पहल भएको अर्थमन्त्री पौडेलको भनाइ थियो ।
काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनलाई लिएर निर्देशनात्मक आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृप ध्वज निरौलाको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटलाई गत ६ गते खारेज गरेको थियो । रिट खारेजसँगै सार्वजनिक सेवामा परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयनको बाटो खुला भएको थियो । तर सार्वजनिक सेवा पाउन नागरिकले कष्ट बेहोर्न नपर्ने गरी मात्र परिचयपत्र अनिवार्य गर्न शुक्रवार पूर्ण पाठमार्फत आदेश दिएको हो । राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन समेत अदालतले जोड दिएको छ । त्यसका लागि नागरिकका वासस्थान नजिकै पुगी नेपाली नागरिकताको आधारमा व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्नेछ । सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा एकाइ सञ्चालन गर्नुपर्नेछ । साथै राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखीकरण गरी व्यक्तिको सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिने कुरामा ध्यान दिन आदेश दिइएको छ । गत जेठ २४ को मन्त्रिपरिषद्को निर्णयअनुसार गत असार १० मा राजपत्रमा सूचना प्रकाशन गरेर नागरिकले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न परिचयपत्र अनिवार्य गर्ने जनाइएको थियो । गत साउनदेखि परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले गत भदौमा परिचयपत्र अनिवार्य नगर्न सरकारका नाममा आदेश गरेको थियो । सरकारले त्यति बेला पेन्सन, सामाजिक सुरक्षा भत्तालगायत सेवामा परिचयपत्र अनिवार्य गर्ने सूचना जारी गरेको थियो । अदालतले त्यति बेलाको रिट नै खारेज गरेर पूर्ण पाठ सार्वजनिक गरेको हो । स्वास्थ्य बिमा, निवृत्तिभरण, राजस्व ९व्यक्तिगत आयकर दर्ता०, सवारी चालक अनुमति पत्र र कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी कामका लागि समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिएको थियो । त्यस्तै बैङ्किङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिम कार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेच सम्बन्धी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ । सरकारी योजना अनुसार निवृत्तिभरण व्यवस्थापन कार्यालयले २८ जिल्लामा पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेको छ ।
भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ। तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको हाे । दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो। दुर्घटनामा श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो। दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मनोहर झा, कामिनी झा, सृष्टि ठकुर र देवतारणदेवी छिन् । भारतको प्रभात खवर दैनिकका सुरसण्ड प्रतिनिधि पत्रकार विजय नारायण मिश्रका अनुसार जिप अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका स्कर्पियो चालकको मृत्यु भएको हो।