काभ्रेपलाञ्चोक: बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।  जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभ...

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ ।        ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही साथीहरुले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गर्नुभयो ।         “हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । त्यो हामीले खोलायौँ । अहिले तिनै मान्छे बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वतन्त्रताका नाममा देशविरुद्ध लाग्ने, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जथाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन ।”        प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डको बैङ्कमा पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भन्नुभयो, “मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन । मेरो सबै जीवन खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने,  भ्रम फिजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता र संस्कार होइन ।”        उहाँले सुशासनबाट मात्रै देशलाई समृद्धितर्फ लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटोछरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा वर्तमान सरकार रहेको स्पष्ट गर्नुभयो ।  प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा उल्लेखनीय योगदान दिएका अगुवा व्यवसायी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं:   चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सहमति भएको छ । आज भएको वार्तापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नौ बुँदै सहमति भएको हो ।       उक्त समहतिसँगै सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम आजैदेखि फिर्ता लिने र नियमित कार्यमा फर्किने सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपाल चिकित्सक सङ्घका प्रतिनिधि र मन्त्रालयका अधिकारीहरुबीच वार्ता भएको थियो । वार्ता पश्चात सहमति गर्दै मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।      वार्ताका क्रममा सरकारको प्रचलित नियमअनुसार इन्टर्नशीप र रेजिडेन्सीमा अध्ययनरत चिकित्सकलाई सेवा सुविधा, बिदा र स्वस्थ कार्यस्थलको सुनिश्चितताका लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोगलगायत निकायहरुलाई पत्राचार गर्न मन्त्रालय सहमत भएको छ ।      सङ्घले राखेको स्नातकोत्तरको सिट सङ्ख्या थप्ने माग सम्बन्धमा यसअघि नै चिकित्सा शिक्षा आयोगको १७औँ बैठकबाट निर्णय गरिसकेको छ । यसैगरी सङ्घले राखेको आवासीय चिकित्सकको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तह सरह उपलब्ध गराउने विषयमा आयोगको बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनका लागि सरोकारवाला समक्ष पहल गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।      मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्भेको लागि मन्त्रिपरिषद्को निर्णयबाट पूर्वस्वीकृति प्राप्त भइसकेकाले चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्ने विषय सर्वेक्षण पूरा गरी मन्त्रिपरिषद् बैठकमा लैजाने प्रतिबद्धता जनाएको छ ।      त्यसैगरी विकास समितिका कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासन तर्फको उपसचिव (१ जना) र नेपाल चिकित्सक संघका प्रतिनिधि एक जना रहने गरी तीन सदस्यीय कार्यदलले एक हप्ताभित्र कार्यविधि तयार गरी पेस गर्ने निर्णय गरेको छ ।      सङ्घले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन थालेपछि मन्त्री पौडेलले माग पूरा गर्न वार्ता गर्न टोली खटाएका थिए । दुई चरणको वार्तापछि आज सहमति भएको हो ।

काठमाडौं:  नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घबीच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ ।  नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसङ्घबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो । समझदारीपत्रमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष लेखनाथ शर्मा र परिसङ्घको तर्फबाट महानिर्देशक घनश्याम ओझाले बिहीबार हस्ताक्षर गर्नुभयो ।  हस्ताक्षरपछि उहाँहरूले प्रतिष्ठान र परिसङ्घको सहकार्यबाट समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर:   सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।       दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।      त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् । 

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्वस्थ भएका छन् । साताव्यापी लामो सुदूरपश्चिम भ्रमण गरी फर्किएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएपछि महेन्द्रपुल स्थित ॐ हस्पिटलमा भर्ना गरिएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए । ‘स्याङ्जाको सिरूबारी लगायत ठाउँका विभिन्न कार्यक्रममा २ दिन सहभागी भएपछि गृहप्रदेश सुदूरपश्चिम जानुभएको थियो’, अधिकारीले भने ‘कैलाली, डोटी र डडेलधुरामा एक साता लामो कार्यक्रममा सहभागी हुनुहुँदा चिसोले समस्या भएको हो ।’ प्रदेश प्रमुख भट्टलाई विहीबार साँझ ॐ हस्पिटल, महेन्द्रपुलमा भर्ना गरिएको छ । बरिष्ठ छाती रोग विशेषज्ञ डा। सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरेका छन् । ‘खोकी लागिरहेपछि अस्पताल आउनुभएकोमा निमोनिया देखिएको छ । केही दिन निगरानीमै राखेर उपचार गरिनेछ ।’डा. आचार्यले भने । यसैबीच, उपचाररत प्रदेश प्रमुखको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी अस्पताल पुगेका छन् । नेकपा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र नेता माधव बास्तोलाले पनि अस्पताल पुगेर प्रदेश प्रमुखलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

पर्सा:    भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी ९केआइआइटी० मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआइआइटीमा अध्ययनरत  विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् ।  पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् ।  बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए । लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले  न्यायिक छानबिन हुनुपर्ने  उनीहरूको माग छ । 

काठमाडौं:   हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम  सफा रहेको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।, सुदूरपश्चिम, कर्णाली, गण्डकी  र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना  छ।   कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै  बाँकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।   त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।  कोशी , बागमती  र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।   कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान  तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं:  आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो ।  यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो । आज भाषाहरूले विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदैछ ।  युनेस्कोका अनुसार उक्त समारोह  सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने,  दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसांस्कृतिकता प्रवर्द्धनमा केन्द्रित हुनेछ । 

कञ्चनपुर:  स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् ।  परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन् । बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना ९बादी०ले बताउनुभयो । “परम्परागत पेसाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पेसा पलायन हुनुपरेको छ ।” ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेसा पूरै ओझेलमा परेको उहाँले बताउनुभयो ।  बादी समुदायको परम्परागत पेसा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । “माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्”, दुरादेवी कुमालले भन्नुभयो, “परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने गरिनाले पनि पुरानो पेसालाई तिलाञ्जली दिनुपरेको छ ।”  परम्परागत पेसा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए । कोरोना महामारीपछि त्यो मजदुरी पनि खोसियो । त्यसपछि काम पाउन मुस्किल हुन थालेपछि परिवारसहित बस्तीका व्यक्ति भारततर्फ पलायन भएको उहाँले बताउनुभयो ।  “बस्तीमा घरबासका लागि छ धुर जति जग्गा मात्र छ, त्यसमै बनेका खस्नै थालेका झोपडी छन्”, केशव कुमालले भन्नुभयो, “केही परिवारसहित भारततर्फ लागेका छन्, अरू परिवारका बुढापाका र महिलामात्र बस्तीमा छन्, युवा सबै भारतमै मजदुरी गर्छन्, त्यसबाटै परिवारको पेट पालिन्छ ।” कुसुण्डा, राजी, राउटेलगायत जातिमा बच्चा जन्मेदेखि नै भत्ता दिने व्यवस्था सरकारले गरेजस्तै बादी समुदायलाई पनि भत्तामा समेट्नुपर्ने उहाँको भनाइ छ । “सीपमा आधारित रोजगारीका अवसर सृजना गरी सहज रूपमा निब्र्याजमा पुँजी उपलब्ध गराउने व्यवस्था सरकारले गरिदिए अरूको देशमा गएर जोखिमयुक्त मजदुरी गर्न कोही जाने थिएनन्”, पदम बादीले भन्नुभयो, “सङ्घीय लोकतन्त्र ल्याउनमा हाम्रो पनि अरूको जस्तै योगदान छ, संविधानमा भएको व्यवस्थाबमोजिम गाँसबास, कपासको व्यवस्था गरिनुपर्नेमा त्यो अहिलेसम्म हुनसकेको छैन ।”  जातीय विभेदको अन्त्य अझै हुन नसकेको चर्चा गर्नुहुँदै उहाँले कथित उपल्लो जातका व्यक्तिको चिया पसलमा चिया पिउँदा गिलास धुनुपर्ने अवस्था अझै विद्यमान रहेको बताउनुभयो । “चुनावका बेलामात्र नेताहरूले अश्वासन बाँड्ने गरेका छन्, चुनाव सकिएपछि बस्तीमा हालचाल बुझ्न कोही पनि पुग्दैनन्”, उहाँ अगाडि भन्नुहुन्छ, “नगरप्रमुखले पटकपटक बादी बस्तीमा पुगेर गरेका बाचा पनि बिर्सेका छन्, बस्ती वनहरा नदीको कटानको उच्च जोखिममा रहे पनि चासो छैन ।” वडाध्यक्षले बस्तीका पीरमर्का बुझ्ने गरेको उहाँ बताउनुहुन्छ ।  सङ्घीय राजधानीमा पुगेर कैयौँपटक आन्दोलन गर्दा भएका सम्झौता अहिले पनि कार्यान्वयनमा नआउँदा आधारभूत सेवासुविधाबाट समेत वञ्चित रहनुपर्ने अवस्था छ । आवासको व्यवस्था नहुँदा एकै घरमा तीन–तीन परिवार पनि बस्दै आएका छन् । केही परिवार भारतमा गएका बेला अर्को परिवार भारतबाट फर्केर बस्ने गरेका छन् ।  “बिहान खाना खाएपछि साँझको खानका लागि के गर्ने भन्ने पिरलो सधैँ भइरहन्छ”, बस्तीका अर्जुन बादीले भन्नुभयो, “बिरामी परे उपचार गर्ने पैसा छैन, रोग पालेर बस्नुपर्ने बाध्यता छ, आर्थिक अभावले पोशाकको व्यवस्था गर्न नसक्दा बालबालिकालाई विद्यालय पठाउन समस्या छ ।” बस्तीमा खानेपानीका लागि गाडिएका ह्याण्डपम्पबाट आर्सेनिकयुक्त पानी आउने भएकाले बिरामी पर्न थालेपछि टाढाबाट पानी बोकेर पिउनेपानी ल्याउनुपर्ने बाध्यता भएको बस्तीका बादी समुदायको गुनासो छ ।  खानेपानी आयोजनाका लागि पाइप गाड्ने काम भएको तीन वर्ष बित्नै लागे पनि अहिलेसम्म खानेपानी आयोजना निर्माणकार्य अलपत्र छ । गुन्यालफाँँटाको बादी बस्तीमा ५० परिवारको बसोबास छ । जसमध्ये परिवारसहित भारतमा जाने परिवारको सङ्ख्या २० बढी छ ।