काठमाडौं:  सरकारले हरेक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ ।  २३ असारमा बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले कोदो...

पोखरा:    गण्डकी प्रदेश सरकारले आज आठौं प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए । गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको उनको भनाइ छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो ।   

मनाङ:      मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।       प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ ।  ‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ ।       अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताए ।  सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको प्रमुख भुजेलले बताए । उनले भने, ‘सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ।’ सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजङ्गलमा आगलागी भइरहेको भुजेलले जानकारी दिए । उनका  अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ ।  २०७७ साल मङ्सिर २ मा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । 

बागलुङ:    बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता सुरु गरेका छन् । बचत पीडित सङ्घर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको छ । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक वर्षभित्र साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गा फिर्ता गर्ने सर्तमा मिलापत्र गरे लगत्तै बचत रकम फिर्ता गर्न थालिएको सङ्घर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले बताए । रु एक लाख सम्मका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको र आइतबार नै ढोरपाटन क्षेत्रमा रु ३७ लाखको चेक ९२ बचतकर्तालाई फिर्ता गरिएको सङ्घर्ष समितिका पश्चिम संयोजक शर्माले जानकारी दिए । गलकोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये रु एक लाखसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने छन् । इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाखसम्म बचत गरेका गलकोट र ढोरपाटनका बचतकर्ताले बचत रकम पाउन थालेपछि उनीहरुमा उत्साह छाएको छ । बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमतिपछि अदालतमा मिलापत्र थालिएको र हालसम्म पाँच सय ४७ पीडित र सहकारीका अध्यक्ष नेपालीबीच मिलापत्र भइसकेको अन्य एक हजार पीडितसँग मिलापत्र थालिएको इमेज बचत पीडित स¬ङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिनुभयो । रु एक लाखसम्म बचत गर्ने चार सय ८८ बचतकर्ता छन् । रु एकलाख माथिका बचतकर्तालाई जग्गा दिने तयारी छ । बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको सहकारीका पाँच सय ४७ जनाको रु २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार बढी बचतकर्ताको रु एक अर्ब १५ करोड बचत रकमको मिलापत्र गरिने संयोजक कार्कीले बताए । सहकारीको करिब रु दुई अर्ब रकम हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको थियो । बागलुङको सहकारीबाट एक अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।  सहकारीको रकम अपचलन गरेको दाबीसहित देवकुमारसहित ११ जना विरूद्ध बागलुङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । एक हजार पाँच सय ४३ जनाको उजुरीका आधारमा अध्यक्ष नेपाली कारागारमा छन् ।

काठमाडौं:     कुमारी बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।  सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको बैंकको आ.ब. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आ।व। २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित भएको छ ।  साथै, सभाले आ।व।२०८१/८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिकसमेत तोकेको छ । 

पोखरा:    गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सोमबार सुरु भएको छ । बैठकको पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश टेबल गरेका छन् ।  ऐनले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसलाई फुकाएर अनुकूलका कर्मचारी राख्न पुस ११ गते अध्यादेश ल्याइएको थियो । १२ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले अध्यादेश प्रमाणीकरण गरेका थिए।  बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको छ ।  म्याग्दीकी गौचनको कात्तिक २८ गते निधन भएको थियो । सभामुख धितालले अर्को बैठक माघ ३० गते बस्ने जानकारी गराए । प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो ।  यस्तै गण्डकी प्रदेश सभामा सांकेतिक भाषाको दोभासे व्यवस्था गरिएको छ । प्रदेश सभा सदस्य सुनिता थापाको सहजताका लागि सचिवालयले दोभासेको व्यवस्था गरेको हो ।  त्यसो त यसअघि नै प्रदेश सभामा दोभासे राख्नुपर्ने आवाज उठिरहेकै थियो । प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि मनोनीत सदस्य थापा श्रवणविहीन भएका कारण उनकै सहजताका लागि प्रदेश सभा सचिवालयले ज्यालादारीमा दोभासे राखेको हो ।  समानुपातिक सदस्यमा मनोनीत थापा आज पहिलो पटक प्रदेश सभाको बैठकमा उपस्थित भएकी हुन् ।

पोखरा:    गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन गरिएको छ ।  पोखरा–८ स्थित श्रीराम आधारभूत विद्यालय, सिमलचौरमा स्थापना गरिएको यस केन्द्रको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका हुन् । समुद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री थापाले कर्मचारीका शिशुहरूलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए ।  उनका अनुसार कार्यालय समयमा बाबुआमा आफ्नो कार्यमा केन्द्रित रहँदा उनीहरूका सन्तानले उचित संरक्षण, स्याहार–सुसार तथा समुचित विकासको अवसर प्राप्त गर्नेछन् । “हाम्रो उद्देश्य व्यवस्थित, पारदर्शी र प्रभावकारी केन्द्र सञ्चालन गर्दै कर्मचारीहरूलाई आफ्नो कर्तव्यप्रति अझ प्रेरित गर्नु हो । यस कदमले कार्यस्थलमा उत्पादकत्व वृद्धि गर्दै समाजमा परिवारमैत्री वातावरण सिर्जना गर्न योगदान गर्नेछ”, उनले भने ।  केन्द्रको प्रभावकारी सञ्चालनका लागि सहकार्य आवश्यक रहेको भन्दै मन्त्री थापाले सबै सरोकारवालालाई सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले प्रदेश सरकारले प्राथमिकता र महत्वका साथ शिशुु स्याहार केन्द्रको स्थापना गरेको उल्लेख गरिन् ।  सरकारी कर्मचारीका ६ महिना देखि तीन वर्षसम्मका शिशुहरुलाई उक्त स्याहार केन्द्रमा राख्न सकिने बताइन् । यसका लागि दक्ष मन्टेश्वरी तालिम प्राप्त कर्मचारीको व्यवस्थापन गरिएको भनाई उनको छ । बालबालिकाको पोषण र बालबिकासलाई ध्यानमा राखेर सेवा प्रवाह गर्ने उनले बताइन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका पदाधिकारीहरू, पोखरा महानगरपालिकाका प्रतिनिधिहरू, विद्यालय प्रशासन, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । दिवा शिशु स्याहार केन्द्रको स्थापना भएसँगै सरकारी कर्मचारी तथा अन्य अभिभावकलाई कार्यस्थलमा सहजता मिल्ने विश्वास गरिएको छ । 

चितवन:    पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छा कामना गाउँपालिका–३ पानाधारामा ट्रक र कार ठोक्किँदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ । काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२७ च ४००० नम्बरको कार ठोक्किएको हो । दुर्घटनामा कारमा सवार रुपन्देहीको देव दह नगरपालिका-४ की ५० बर्सिया मायादेवी उपाध्याय घाइते भएकी छन् । उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उहाँलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । कारले ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पोखरा:    गण्डकी प्रदेशले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जारी गरेको सूचनामा उल्लेख छ । मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने सूचनामा छ ।

लमजुङ:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी रहेको बताएका छन् ।  लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरूङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गरे ।  पूर्वाधार बनाउने काम सरकारको भएको र विकासको गतिविधि गर्ने काम जनताको भएको बताउँदै मन्त्री गुरूङले चालु आर्थिक वर्षमा लमजुङको घरघरमा टेलिफोन र इन्टरनेट पुर्‍याउने प्रतिबद्धता समेत जनाए ।   बोरिङ सिँचाइ सञ्चालनमा आएपछि यसको भरपुर सदुपयोग गर्न समेत आग्रह गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले वर्तमान सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको जानकारी दिए ।  उनले बिग्रिएको र भत्किन लागेको मुलुकलाई सुधार्न दुई ठूला दल गठबन्धनमा आएकाले सरकार ढल्छ कि ढल्दैन भन्ने विषयमा चिन्ता नगर्न समेत आग्रह गरे ।    विगतका सरकारले देशमा अस्थीरता सिर्जना गरेको टिप्पणी गर्दै मन्त्री गुरुङले भने, ‘राजनीतिक अस्थिरताले गर्दा सरकारपिच्छे बजेट आए । राम्रोसँग राजस्व उठेन, खर्च हुन पनि सकेन, यी सबै समस्या समाधान गर्न अहिलेको सरकारले अभ्यास गरिरहेरको छ ।’ बर्खेपानीको भरमा खेती गर्नुपर्ने अवस्था अहिले बोरिङ आएपछि समाधान हुने मन्त्री गुरुङको भनाइ छ ।  वडा ८ का अध्यक्ष धनसिंह तामाङले पानीको अभावले थुप्रै खेतबारी बाँझै रहने गरेको उल्लेख गर्दै बोरिङ सञ्चालनमा आएपछि खेती गर्न सहज हुने विश्वास व्यक्त गरे ।  स्थानीय उपभोक्ता पञ्चकली गुरूङले सिमलचौर गाउँको सिँचाइको लागि बोरिङ सहयोगसिद्ध हुने विश्वास व्यक्त गरे। बोरिङ सञ्चालन भएसँगै एक सय ५० भन्दा बढी घरधुरीले खेती गर्नसक्ने सुविधा प्राप्त गर्नेछन् ।