म्याग्दी: चिप्लिएर कुनै दुर्घटना भयो भने सिधै खोलामा खसिन्छ । माथि उक्लन शरिरमा बाँधेको डोरीको समाउनुपर्छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने जोखिमयुक्त बैसरी अधेरीखोलाको भिरमा डेढ महिनादेखि पहिरो रोकथामका लागि रक एंकरिङ गर्ने कामको नेतृत्व गरिरहेकी गौमती बुढामगरको दौडढुप, साहस र सक्रियतालाई अक्करे भिरले छेकेको छैन् । ‘‘बर्खायाममा निरन्तर खसीरहने पहिरोमा पहिलो पटक अवलोकन गर्दा काम गर्न कठिनाइ हुन्छ कि भन्ने लागेको थियो,” उहाँले भन्नुभयो “पहिरोभित्र चट्टान भेटिएपछि रोकथाम गर्न सकिन्छ भन्ने लागेर कामको जिम्मा लिएको हुँ, अहिले पर्खाल निर्माण भैसकेको क्षेत्रमा पहिरो खस्न रोकिएको छ । पहिरोको दिगो रोकथामको लागि थप पूर्वाधार निर्माणको काम भैरहेको छ ।” बेनी–जोमसोम–कोरला सडक आयोजनामा गजुरमुखी निर्माण कम्पनीको सहायक ठेकेदार बनेर गौमतीले सडक बनाउने काम गर्दै आउनुभएको छ । उहाँले अहिले ३० जना मजदुरहरुलाई दैनिक रुपमा काममा लगाउने गर्नुहुन्छ । महिलाको नेतृत्वमा भिरबाट खस्ने पहिरोमा ‘रक एंकरिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम अन्तिम चरणम पुगेको । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत कामको जिम्मा लिनुभएकी बुढाथोकी कामको चाँजोपाजो मिलाउने मात्रै होइन, भिरमा चढेर चटान काट्न र रडलाई पहाडमा घुसाउन समेत आफै पहिरोमा खटिने गर्नुहुन्छ । बैसरी अधेरीखोला क्षेत्रको पहिरो रोकथामको लागि करिब एक सय मिटर लम्बाइको रक एंकरिक प्रविधिको पर्खाल निर्माण गरिएको उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सव ईञ्जिनियर सोहनजंग कार्कीले बुढाथोकीको साहासका कारण पछिल्लो दुई वर्षयता दुःख दिइरहेको बैसरीको भिरमा पहिरो रोकथाम सम्भव भएको बताउनुभयो । “भिरमा जोखिम मोलेर काम गर्न धेरै निर्माण ब्यवसायी पछि हटेको अवस्थामा गौमतीले आफै फिल्डमा खटिएर एक एंकरिङ गर्नुभयो,” उहाँले भन्नुभयो “आफै ड्रिल, बलास्टिङ गर्ने गौमतिको सिप, अनुभव र क्षमताले कल्पना नगरेको ठाउँमा पहिरो रोकथाम गर्न सम्भव भयो ।” रोल्पाको सुनछहरी गाउँपालिका–३ बाहिरी गाउँकी ३८ वर्षीय बुढाथोकीले अक्करे भिर पहाडमा सडक खन्ने, विस्तार गर्ने र पहिरो रोकथाम गर्ने काम गर्दै आएको १० वर्ष भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभिले अप्ठेरो काभ्रेभिरको पहाड काट्ने र रक एंकरिङ गरेर सडक फराकिलो बनाउने तथा पहिरो रोकथाम गर्ने कामको जिम्मा बुढामगरलाई दिएको सो कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो । “गौमतिकै नेतृत्वमा अक्करे भिर काभ्रेभिरको डिलतर्फ रक एंकरिङ गरेर पक्कि पर्खाल बनाएर सडकलाई पराकिलो बनाइएको थियो,” उहाँले भन्नुभयो । यस अघि अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माण भएको मिस्त्रीखोला, निलगिरी र घलेम्दीखोला जलविद्युत आयोजनको पहँुचमार्ग खन्ने क्रममा समेत अक्करे पहाडमा बुढाथोकीले नै नेतृत्व गरेर काम गर्नुभएको थियो । कमजोर आर्थिक अवस्थाका कारण शसस्त्र द्धन्द उत्कर्षमा पुगेको समयमा १६ वर्षको उमेरमा काम खोज्दै जन्मथलो छोड्नुभएकी गौमतीको अहिले आफ्नै निर्माण कम्पनी युवराज कन्ट्रक्सन छ । सुरुवातमा मजदुर र नाइके भएर पूर्वाधार निर्माण क्षेत्रमा काम गर्नुभएकी गौमतिले श्रीमानलाई समेत व्यवसायमा संलग्न गराउनुभएको छ । कपिलबस्तुमा घरजग्गा जोडेकी गौमतिले दुई जना छोराहरुलाई सासु ससुरासँगै घरमा राखेर पढाउनुभएको छ । भिर र पहिरोमा ज्यानको जोखिम मोलेर महिलाको नेतृत्वमा रक एंकरिङको काम सफल भएको दृष्यले गौमतीको संघर्ष र सफलताको वास्तविकता देखाउँछ । पूर्वाधार निर्माण र अझ त्यसमा पनि भिर र पहिरोको जोखिममा पौठेजोरी खेल्नु सामान्य नभएपनि अप्ठेरो र जोखिमयुक्त ठाउँमा काम गर्नु नै आफ्नो चिनारी बनेको उहाँको भनाइ छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले दिवङ्गत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताउनुभयो । दोस्रो संविधानसभा असफल हुन नदिन तथा संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधानसभाको अध्यक्षता गर्नुभएको कुरा सधैँ सम्झनामा रहिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।” अध्यक्ष ओलीले नेम्वाङका नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले नेपालको परिवर्तनमा योगदान गर्नुभएका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उहाँहरूले अँगाल्नुभएको बाटो, व्यवहार र आचरणअनुरुप चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेम्वाङले देखाउनुभएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
काठमाडौं: प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) को तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गर्नुभएकोे थियो । सो बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदहरुले त्यसप्रति आपत्तिप्रकट गर्दै संसद्को रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरले हिंसा शब्दका बारेमा अध्ययन गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । उहाँले आजको बैठकमा हिंसा शब्द असंसदीय नरहेकाले रेकर्डबाट हटाउन नपर्ने सदनलाई जानकारी गराउनुभएको थियो । सो लगत्तै माओवादी केन्द्रका सांसदहरुले संविधानविपरीत हिंसा शब्द प्रयोग गर्न दिएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभयो । सभामुखले समय दिएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सांसद देवेन्द्र पौडेलले हिंसा शब्दको प्रयोगले माओवादीको सशस्त्र द्वन्द्वलाई होच्याउने काम गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । त्यसैगरी, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा शब्द कुनै व्यक्तिप्रति लक्षित नगरिएको र सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य तथा अमानवीय क्रियाकलापप्रति लक्षित रहेको स्पष्ट पार्नुभएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घिमिरेले बैठकमा कार्यसूची अघि बढाउन पटकपटक आग्रह गर्नुभयो । सभामुखले आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरु उभिरहेपछि आजको बैठक स्थगित गरिएको हो ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताउनुभयो । उहाँले मौसमको यस्तोस्थिति तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिनुभयो । “उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,” उहाँले भन्नुभयो, “तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।” महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ । “गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” जारी विशेष बुलेटिनमा भनिएको छ, “लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।” बुलेटिनअनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ । यसैगरी दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादीले संविधानप्रदत्त नागरिकको हकहित र अधिकार वञ्चित हुने तथा पश्चवर्ती प्रभाव हुनेगरी आएको सो फैसलाका आदेश तत्काल सच्च्याउने प्रक्रिया थाल्न सरकारसँग आग्रह गरेको हो । सर्वोच्च अदालतले गत पुसमा काठमाडौँका प्रमुख नदी बागमती र विष्णुमती तथा यसका सहायक नदी किनारमा यसअघि निर्धारित मापदण्डमा २०÷२० मिटर थप गरी नयाँ संरचना बनाउन नपाउने गरी निर्माण निषेधित क्षेत्र तोक्न आदेश दिएको थियो । उक्त फैसलाको कार्यान्वयनबाट उपत्यकाका लाखौँ परिवारले आफ्नो घरबार, सम्पत्ति वा सम्पत्तिको मूल्य र औचित्य गुमाउने, धेरै परिवार घरबारविहीन, सम्पत्तिविहीन र सुकुम्वासी बन्ने अवस्था सिर्जना हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई बताउनुभयो । माओवादी केन्द्रले उपत्यकाका धेरै जनताका संवैधानिक हकहित र अधिकार प्रभावित हुनेगरी आएको फैसला कार्यान्वयनमा हतार नगर्न काठमाडाँै महानगरपालिकासहित उपत्यकाभित्रका सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।
बैतडी: जीप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महरा रहेकी छन् । सविनाको उपचारका क्रममा धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको सुर्नया गाउँपालिका–८ ढुङ्गाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुपप्र ०१००ज १३५४ नंको जिप मङ्गलबार दुर्घटनामा परेको थियो । कच्ची सडकमा जिप दुर्घटना हुँदा चालक सुर्नया–७ का लालबहादुर कुँवरसहित पाँचजना घाइते भएका थिए । घाइतेमध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी ‘रेफर’ गरिएको थियो । दुर्घटनामा घाइते भएका चालक लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि घर गइसकेका छन् । चालक लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तनहुँ: व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् । सोमबार दिउँसो नदीले बगाएर उनी बेपत्ता भएका हुन् । बालक व्यास–४ स्थित कन्काई बोडिङ स्कूल कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ । उनी घरबाट विद्यालय जान्छु भनेर गए पनि विद्यालय नगई साथीसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएको थियो । सोमबार दिउँसो १ बजेको समयमा मादी नदीले एक बालक बगाएको भनी प्रहरीमा सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार जानकारी पाएलगत्तै खोजतलासका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो । मङ्गलबार साँझसम्म खोजीलाई निरन्तरता दिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँले भन्नुभयो, “घटनाका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।”
पर्वत: जिल्लाको दक्षिणी भेगमा पर्ने बेउलीवास–पूर्णगाउँ, पैँयुकोट–लुङ्खु १३ किलोमिटर सडक स्तरोन्नति प्रारम्भ भएको छ । महाशिला गाउँपालिका र पैँयु गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो सडक स्तरोन्नतिसँगै कालोपत्र पनि गरिनेछ । प्रस्तावित पोखरा–सेतीवेणी–रिडी पर्यटकीय राजमार्गसँग जोडिने बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति र कालोपत्रको मङ्गलबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गर्नुभएको छ । उक्त सडक रु पाँच करोडको लगानीमा स्तरोन्नति थालिएको हो । बहुवर्षीय योजनामा समावेश भएको सडकका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र सङ्घीय सरकारको भौतिक मन्त्रालयमार्फत चालु वर्षका लागि रु एक करोड २० लाख विनियोजन भएको छ । उक्त बजेटले विभन्न ठाउँमा नाली, कल्भर्ट, ढलान तथा ‘ग्रेड’मिलाउने र चक्ल्याउने काम गरिने पैैँयु गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र उक्त बजेटअन्तर्गत तोकिएको काम सकिने पालिकाले जनाएको छ । आयोजनाको शिलान्यास गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले सडक नपुगेका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले गाउँका उत्पादन बजारसम्म पुर्याउन नसक्दा किसान र उद्यमी व्यावसायिक बन्न नसकेकाले गुणस्तरीय सडक निर्माणपछि ग्रमीण क्षेत्रका नागरिक स्वरोजगारमुखी हुने बताउनुभयो । कार्यक्रममा पैँयु गाउँपालिकाका अध्यक्ष तोरण मल्लले सबै सडक क्रमशः स्तरोन्नति गरिने बताउनुभयो । पालिकाको बजेटले मात्र स्तरोन्नति सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारमार्फत बजेट माग गरेर भए पनि बाह्रैमास सञ्चालन हुनेगरी सडक स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।
बागलुङ: घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउँदै अर्गानिक खानाका परिकार चाख्नका लागि आन्तरिक पर्यटक घरबास पुग्ने गर्छन् । यही मान्यताअनुसार बागलुङका चार घरबासका सञ्चालकहरू स्थानीय उत्पादनलाई स्वादिष्ट परिकार बनाउँदै पाहुनाको मन जित्ने गरी तयार भएका छन् । यहाँको काठेखोला गाउँपालिकाका चार घरबासका सञ्चालक खानाका स्वादिष्ट ३० थरी परिकार बनाउन पोख्त भइसकेका छन् । यसका लागि उनीहरूले तालिम नै लिएका छन् । पाक कलामा पोख्त मनिषा श्रेष्ठले यहाँ चार घरबासमा आएका पाहुनालाई स्वादिष्ट खानाका थरी–थरी परिकार बनाउन सिकाउनुभएको थियो । सञ्चालकले श्रेष्ठले चियादेखि जुससम्म र ढिडोदेखि मासुका परिकार बनाउन सिकाउनुभएको छ । “१२ दिनभित्र चार घरबासका ८० सञ्चालकलाई ३० थरीका परिकार बनाउन सिकाइयो । अब पाहुनाको रोजाइ अनुसारको खाना बनाउन सकेमा घरबास दिगो चल्ने छ”, श्रेष्ठले भन्नुभयो । यहाँ भदौ पहिलो साता प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । काठेखोला गाउँपालिका–५ स्थित शिवधुरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ रेशको बौर सामुदायिक घरबास, काठेखोला गाउँपालिका–३ धम्जास्थित देउराली सामुदायिक घरबास र काठेखोला गाउँपालिका–८ लेखानीको खानीगाउँ सामुदायिक घरबासका २०÷२० जान सञ्चालकलाई घरबासमै पुगेर घरबास व्यवस्थापन तथा खानाका परिकार बनाउने तालिम दिइएको थियो । प्रशिक्षणसँगै प्रशिक्षार्थीहरूले खानाका परिकार बनाउन थालिसक्नुभएको छ । “एक दर्जन खानाका परिकार त हामीले परम्पराकालदेखि नै बनाउँदै आएका थियौँ । तालिमपछि त्यही परिकारलाई नयाँ स्वादमा पस्कन सिकेका छौँ”, धम्जा देउराली सामुदायिक घरबासका सञ्चालक अनिशा थापाले भन्नुभयो । उहाँले स्थानीय स्तरमै पाइने आलु, सिस्नो देखि कोदो परिकार बनाउने नयाँ तरिका सिक्दा घरबासका पाहुँनालाई नयाँ स्वाद चखाउन उत्साहित भएको बताउनुभयो । घरबास सञ्चालकको क्षमता बढाउनका लागि पहिलो चरणमा काठेखोला गाउँपालिकाका चार घरबासलाई खानाका परिकार बनाउन र आतिथ्यतासम्बन्धी तालिम दिइएको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनका सचिव उमेश गौतमले जानकारी दिनुभयो । उहाँले घरबासलाई चलायमान बनाउन सञ्चालक आतिथ्यता र परिकार बनाउन अब्बल हुन आवश्यक रहेको बताउनुभयो । घरबासमा आतिथ्यतासम्बन्धी तामिल दिँदै आउनुभएका सुरज बाँस्तोलाले घरबासको दिगोपनाका लागि सञ्चालक सक्षम रहन आवश्यकता रहेको बताउनुभयो । उहाँले समुदायको आर्थिक उपार्जनसँगै पर्यटनको विकासमा घरबास महत्वपूर्ण सावित हुँदै गएको घरबास महासंघ नेपालका कोषाध्यक्ष बाँस्तोलाको भनाइ छ । घरबासमा चाख्न पाइन्छ ३० थरीका परिकार “लहडमा आएर खुलेका घरबास चल्दैनन्, अबका घरबास प्राकृतिक सुन्दरता, सरसफाइ तथा स्वादिष्ट खानाका परिकार चखाउन सक्ने हुन आवश्यक छन्, मकैको खिरदेखि आलुका परिकार, चियाको स्वाददेखि मासुका परिकार पस्कन आवश्यक छ”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो, “घरबासमा पुगेका पाहुना पैसा खर्च गर्न पुगेका हुन्छन् भन्ने हुँदैन पाहुनाको रोजाइँअनुसार खानाका परिकार पस्कन सके पैसा कमाउन समस्या छैन, कम्तीमा घरबास सञ्चाकले ३० थरीका परिकार बनाउन सिपालु हुन पर्दछ ।” तालिमका क्रममा सैद्धान्तिकसँगै खानाका परिकार नै बनाएर देखाइने र सञ्चालकलाई खानाका पारिकार बनाउन सिकाइने भएकाले तालिमले घरबास सञ्चालकलाई उत्साहित बनाएको उहाँको भनाइ छ । यही तालिको सिकाइबाट यहाँका घरबास सञ्चालकहरूले हाल तिब्बतियन रोटी, थेन्दुक, मुलाको पकौडा, आलुको अचार, दूध चिया, फापरको केके, जिरा आलु, मेथी आलु, आलुको पकौडा, टिम्मुरे आलु, सागको पकौडा, चिउराको पुलाउ, जाम, केराको चिप्स, अण्डा, अण्डाको अम्लेट, फर्सीको हलुवा, कोदोको सुप, झानेको सागको परिकार बनाउन थालिका सकेका छन् । यस्तै मकैको बिस्कुट, मकैको खिर, सिस्नोको सुप, हाँसको छोयला, पुलाउ, जिरा भात, जागर भात, जोगी भात, झोल तरकारी, चिकेन, मिक्स अचार, चिकेन फ्राइ, कक्टेल जुस, सर्वत र लस्सी बनाउन पनि उनीहरू तयार भएका छन् ।