काठमाडौं: काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्र्ट’ गरिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको हो । “काठमाडौँबाट सुर्खेतका लागि आज विहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो”, उहाँले भन्नुभयो, “ ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।” श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्याइएको जानकारी दिनुभयो ।
काठमाडौं: नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा पहिलो दलको रुपमा रहेको छ । कांग्रेस र नेकपा (एमाले) मिलेको लोकतान्त्रिक–प्रगतिशील गठबन्धन सरकारमा सहभागी छ । क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ । मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो । धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भएपनि बिपीले निर्वाचन परिणामलाई स्वीकार गर्नुभयो । क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्व उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाबु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । नेपाली राजनीति र साहित्यमा रुची राख्नेले बिपीका कृति खोजी खोजी पढ्ने गरेका छन् । बिपीका बारेमा लेखिएका कृति प्रत्येक वर्षजस्तो एउटा न एउटा प्रकाशित हुने गरेको छ । बिपीले लेख्नुभएका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पु¥याएको छ । पुनःनिर्माण सम्पन्न गरेपछि सङ्ग्रहालय सर्वसाधारणले पनि अवलोकन गर्न पाउने गरी खुला गरिने जनाइएको छ । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ । बिपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई कांग्रेस महामन्त्रीद्वयले सम्बोधन गर्नुहुने जनाइएको छ ।
काठमाडौं: निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो । अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्यव्यवस्था समितिमा विचाराधीन सो विधेयकले निजी क्षेत्रलाई धप धराशायी बनाउने र लगानी निरुत्साहित हुने चेम्बरले उल्लेख गरेको छ । चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यव्यवस्था समितिमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६ मा निजी क्षेत्रको सम्बन्धमा प्रस्तावित मस्यौदाका व्यवस्थाले निजी क्षेत्रका व्यक्ति र कम्पनीलाई आयोगको कार्यक्षेत्र भित्र समेट्न ल्याइएको बुँदा थप गरिएको व्यवस्थाले निजी क्षेत्र हतोत्साहित भएको छ । यसले निजी क्षेत्रको लगानीसमेत निरुत्साहित हुनेछ ।” चेम्बरले मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरतामा जोड दिएको छ । नीतिगत स्थिरता भएमा मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिने चेम्बरले उल्लेख गरेको छ । एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको पुनरावलोकन गर्न पनि चेम्बरले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ । मुख्यसचिव अर्याललाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, “नेपालको बैंकिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधन प्रस्तावमा एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने निश्चयनै लगानीमा यसले प्रत्यक्ष असर गर्नेछ र आर्थिक वृद्धिमा नै असर पुग्नेछ ।” यस्तै राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रालयअन्तर्गत ल्याउन पनि चेम्बरले आग्रह गरेको छ । नवनियुक्त मुख्यसचिव अर्याललाई सुझाव दिने क्रममा निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सञ्चालकको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक भएको भन्दै सच्याउन आग्रह गर्नुभयो । वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गाको कर्जामा आम्दानीको स्रोत दुई गुणा देखाउनु पर्ने राष्ट्रबैंकको नीतिका कारण यो क्षेत्रमा समस्या देखिएको बताउनुभयो । उपाध्यक्ष दीपक श्रेष्ठले विदेशी कम्पनीलाई प्याटेन्ट अधिकार दिँदा नेपाली उद्योगमा पर्ने असरबारे ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा मुख्यसचिव अर्यालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । चाडपर्वको मौसममा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण एवं कालोबजारी रोक्न चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने अर्यालले बताउनुभयो ।
गण्डकी: गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो । हिमपहिरोले घट्टेखोला थुनिएपछि स्थानीयवासी त्रस्त बने । दिउँसोपख हिमपहिरो गएका कारण खोला छेउछाउका बासिन्दा सुरक्षित ठाउँमा सरे । हिउँ पग्लेर खोलाको बहाव पुरानै स्थितिमा फर्केपछि विपत्ले ठूलो रुप लिन पाएन । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दुवै पटक एकै ठाउँबाट हिमपहिरो खसेको बताउनुभयो । “यो हिमपहिरोलाई सामान्य ढङ्गले बुझ्नुहुँदैन, विश्वव्यापी जलवायु सङ्कटको प्रत्यक्ष सम्बन्ध यसमा छ”, उहाँले भन्नुभयो, “हिउँको ठूलो ढिस्को नै खसेर घट्टे खोला थुनिएको थियो, यो घटनाले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ ।” उहाँका अनुसार विसं २०७८ कात्तिकमा मानापाथी हिमालबाट खासाङ–२ कोवाङमा पनि हिमपहिरो आएको थियो । त्यो घटनामा भागदौड हुँदा केही स्थानीय घाइते भएका थिए । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले हिमपहिरो दुई सय मिटर तलसम्म आएका भए बस्ती, सडक, पुललगायतमा क्षति पुग्न सक्थ्यो । “कुनै अप्रिय घटना त हुन पाएन, तर हिमपहिरोको दृश्य हेर्दा भयानक थियो, हिउँको पहाडै खसेजस्तो देखिन्थ्यो”, उहाँले भन्नुभयो, “भदौ ७ गतेभन्दा ११ गते झन् ठूलो हिमपहिरो खसेको थियो ।” धवलागिरि हिमालको फेदबाट छिप्लुङ लेक हुँदै हिमपहिरो झरेको उहाँको भनाइ छ । गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरो जाँदा दुधकोशी नदीले बाढीको रुप लिएको थियो । बाढीले थामेका कैयौँ घर र भौतिक सम्पत्तिमा क्षति पुग्यो । जोखिममा परेका स्थानीयवासीको तत्काल उद्धार गरिएका कारण कुनै मानवीय क्षति भने हुन पाएन । गत वैशाखमा गोरखाको मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । सम्बन्धित क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसम्मको ध्यान वीरेन्द्र हिमतालले खिच्यो । गोरखाको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार त्योबेला हिमताल फुटेको नभई हिमपहिरो खस्दा तालको पानी छचल्किएर बाहिर बगेको थियो । हिमताल नै फुटेको भए ठूलो विपत् निम्तन सक्ने खतरा रहेको उहाँको भनाइ थियो । वैशाखको सुक्खायाममा हिमपहिरो खस्नु सोचनीय विषय भने भएको अध्यक्ष लामाले बताउनुभयो । हिमतालले निम्त्याउने सम्भावित जोखिमबारे उक्त घटनाले झक्झकाएको उहाँको भनाइ छ । यी त हालै भएका हिमपहिरोका प्रतिनिधि घटना हुन् । जलवायु विज्ञहरुका अनुसार हिमालयमा स–साना हिमपहिरा त थाहै नपाई खसिरहेका हुन्छन् । हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशित घटना हुन सक्नेमा विज्ञहरुको चिन्ता छ । पर्यावरणीय अध्यता कुलचन्द्र अर्यालले जलवायु परिवर्तनको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र रहेको बताउनुभयो । “विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, उहाँले भन्नुभयो, “विश्वको औषत तापमान १ दसमलब ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दसमलव ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ ।” सोही कारण हिमालय क्षेत्रमा बाढीपहिरालगायत अप्रत्यासति प्राकृतिक विपद्का घटना निम्तिरहेको उहाँको भनाइ छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुन दर बढीरहेको पर्यावरणीय अध्यता अर्यालले बताउनुभयो । “हिमताल विष्फोटनपछि हालै सोलुखुम्बुमा आएको बाढीले थामे गाउँमा जुन विध्वंस मच्चायो, यस्ता घटनाहरु आगामी दिनमा झनै दोहोरिने र भयानक बन्ने कुराको आकलन सहजै गर्न सकिन्छ”, उहाँले भन्नुभयो । कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रुपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढीरहेको उहाँको भनाइ छ । गत वर्ष मुस्ताङको कागबेनीमा आएको बाढीको घटना त्यसकै एक उदाहरण रहेको उहाँले बताउनुभयो । कमजोर भू–बनोट, वनस्पतिविहीन नाँगो र भिरालो जमिन भएका कारणले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्ताउने गरेको छ । जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको पर्यावरणीय अध्यता अर्यालले बताउनुभयो । जलवायु परिर्वतको कारकको रुपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदाहुँदै पनि त्यसको असरको मार खेप्नु परिरहेकाले नेपालले जलवायुजन्य हानीनोक्सानीको पुर्नभरण अर्थात् क्षतिपूर्ति प्राप्तिका लागि विश्वमञ्चमा आफ्नो आवाज शसक्त बनाउनुपर्ने उहाँको भनाइ छ । जलवायु परिर्वतन मामिलाका विज्ञ डा पपुलर जेन्टलले पर्याप्त सावधानी र जोखिम न्यूनीकरणमा ध्यान दिन नसकिए हिमालय क्षेत्रले अकल्पनीय प्राकृतिक विपत् झेल्नुपर्ने बताउनुभयो । उहाँले हिमनदी र हिमतालहरु पृथ्वीको पानीकोसमेत स्रोत भएकाले तिनलाई जोगाउनुपर्ने बताउनुभयो । सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने सहमति गरेपनि हिमालय क्षेत्रको तापक्रमले उक्त तह पार गरिसकेको जलवायु विज्ञ डा जेन्टलले बताउनुभयो । “विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको सिधा असर हिमाल र सो क्षेत्रको पर्यावरणमा परेको छ, हिमतालहरु जोखिममा रहेको विषयलाई हामीले जोडका साथ उठाइरहेका छौँ, सरकार यसतर्फ संवेदनशील भएर लाग्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “हिमतालमा पूर्वसूचना प्रणालीको विकास गर्नुपर्छ, समुदायस्तरमा सचेतनाका कार्यक्रम चलाउनुपर्छ ।” पृथ्वीको तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र बनेकाले त्यसले हिमतालको सतह बढाउने र नयाँ बन्ने क्रम पनि सँगसँगै बढेको उहाँको भनाइ छ । “हिमालय क्षेत्रमा निम्तने प्राकृतिक विपत्ले उपल्लो र तल्लो तटीय क्षेत्रमा कुनैपनि बेला ठूलो सङ्कट र विनाश ल्याउन सक्छ, अहिले भइरहेका घटना त्यसका सङ्केत मात्र हुन्”, जलवायु विज्ञ डा जेन्टलले भन्नुभयो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा गरेको अध्ययनले नेपालका २१ हिमताल जोखिममा रहेको देखाएको छ । जोखिममा रहेका २१मध्ये उच्च जोखिममा रहेका केही हिमताल सम्भावित विस्फोटको खतरामा रहेको उक्त अध्ययनले औँल्याएको छ । हिमालय क्षेत्रमा सन्निकट सङ्कटको सामनाका लागि आवश्यक तयारी र पूर्वसचेतना अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । उक्त अध्ययन अनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेको पाइएको छ । जलवायु विज्ञ डा बिमल रेग्मीले उच्च जोखिम पहिचान गरिएका हिमतालको नियमित अध्ययन र अनुगमन गर्नुपर्ने बताउनुभयो । “मानिस पुग्न नसक्ने ठाउँमा स्याटेलाइट, राडार जस्ता प्रविधिमार्फत हिमतालको नियमित अनुगमन र अध्ययन गर्नुपर्छ”, डा रेग्मीले भन्नुभयो, “फ्ट्ने जोखिममा रहेका हिमतालको पानीको सतह घटाउनुपर्छ ।” दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालमा पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको उदाहरण दिँदै अन्य हिमतालको जोखिमलाई पनि त्यसैगरी कम गर्न सकिने उहाँले बताउनुभयो । “हिमतालको सतह घटाउने परियोजना निकै महँगो भएपनि सरकारले दातृ निकायसँग मिलेर यो काम गर्न सक्छ”, उहाँले भन्नुभयो, “हिमालय क्षेत्रमा खतराको घण्टी बजिरहेकाले सङ्कट सामनाका लागि तयार रहनुको विकल्प छैन ।” ‘इसिमोड’ र ‘यूएनडिपी’को अध्ययनअनुसार च्छो रोल्पा, इम्जा, मनास्लु हिमश्रृङ्खलाको ठुलागी, वरुण, चामलाङलगायतका हिमताल उच्च जोखिममा छन् । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको डा रेग्मीले बताउनुभयो । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उहाँको भनाइ छ । “अहिले नै विश्वव्यापी तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भएरहेको छ, पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ”, डा रेग्मीले भन्नुभयो, “हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले उपयुक्त कदम नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालय क्षेत्रको अस्तित्व नै नासिन सक्छ ।” जलवायु परिवर्तनका कारण हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको उहाँको भनाइ छ । जसका कारण पानीको चक्र फेरिने, मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्या देखिइरहेको उहाँले बताउनुभयो । डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताउनुभयो । “हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन्छ”, डा रेग्मीले भन्नुभयो । जलवायुजन्य घटना र हानीनोक्सानीका कारण नेपालको कुल ग्राहस्थ उत्पादनमा वार्षिक दुई दशमलव पाँच प्रतिशतले ह्रास आइरहेको डा रेग्मीले बताउनुभयो । यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको उहाँको भनाइ छ । “हाम्रो पूर्वाधार विकास जलवायु र वातावरणमैत्री छैन, विकासको लगानी सुरक्षित छैन, विनाशकारी विकासले पु¥याएको असर भयाभह छ”, उहाँले भन्नुभयो, “जलवायु सङ्कटसँग जुध्न सरकारले छुट्टै संस्थागत संरचना खडा गर्नुपर्छ, नीति र कानुनको प्रभावकारी कार्यान्वयनको खाँचो छ ।”
पोखरा: गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो । पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार यहाँस्थित पन्छी समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा आसपासका क्षेत्रमा गिद्धको गणना गरेको थियो । सन् २०२३ मा तीन सय ८७ गिद्ध अध्यावधिक गरिएकामा यस वर्ष यो सङ्ख्या बढेर चार सय ७१ पुगेको उहाँले जानकारी दिनुभयो । अध्ययनका क्रममा तनहुँ क्षेत्रमा पनि गिद्धको सङ्ख्या बढेको पाइएको उहाँले बताउनुभयो । कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी–भुम्दी, विजयपुर खोला करिडोर, लामेआहाल तथा तनहुँको गाछेपानी, सिशुवारभतेरी र दमौली ल्याण्डफिलसाइट गरी एकैपटक आठ स्थानमा छुट्टाछुट्टै टोलीले गणना गरेको घिमिरेले जानकारी दिनुभयो । गणनामा सङ्कटापन्न गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबैभन्दा धेरै बढेको देखिएको छ भने अति–सङ्कटापन्न सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डङ्गर गिद्धको सङ्ख्यामा पनि सामान्य वृद्धि भएको पाइएको छ । राज गिद्ध यथास्थितिमा छ भने हिमाली गिद्ध घटेको अध्ययनले देखाएको छ । सरकारले गिद्ध संरक्षणका लागि ‘गिद्ध संरक्षण कार्ययोजना २०२३–२०२९’ लागू गरेको छ । साथै देशभरका चरा तथा वन्यजन्तु संरक्षणमा लागिपरेका सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाएका छन् । सरकारले विसं २०६३ देखि गिद्धलाई अति हानिकारक मानिएको ‘डाइक्लोफेनेक’ (पशुको उपचारमा प्रयोग गरिने औषधि) प्रतिबन्ध लगाएसँगै गिद्धको सङ्ख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको घिमिरेले जानकारी दिनुभयो । सिनोमा हुने विषादी, हाइभोल्टेज तथा बिजुलीका तारमा ठोक्किएर मर्नेक्रम भने लगातार बढेको उहाँले बताउनुभयो । समाजले सन् २०१७ देखि पोखरा आसपासमा गिद्धको सङ्ख्या अध्यावधिक गर्दै आइरहेको छ ।
सुर्खेत: जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उहाँकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए । पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो । मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत पठाइएको उहाँले बताउनुभयो । शव लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । “प्रेमकुमारी बारेकोट गाउँपालिका–६ की वडा सदस्य हुनुहुन्छ भने मानबहादुर नेकपा ९माओवादी केन्द्र० बारेकोट गाउँ कमिटीका सदस्य हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
ढोरपाटन: पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो । आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उहाँले बताउनुभयो । पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने प्रबन्धक पौडेलले बताउनुभयो । वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उहाँ बताउनुहुन्छ । विद्युत् आयोजनाको मुहान नजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उहाँले जानकारी दिनुभयो ।
सुर्खेत: जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिनुभएको छ । गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा राससलाई जानकारी दिनुभयो । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उहाँले बताउनुभयो ।