काठमाडौं:  सरकारले हरेक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ ।  २३ असारमा बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले कोदो...

भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ।   तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको हाे ।   दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो।   दुर्घटनामा  श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो। दुर्घटनामा थप  चार जना गम्भीर घाइते भएका छन्।    घाइते हुनेमा मनोहर झा, कामिनी झा, सृष्टि ठकुर र देवतारणदेवी छिन् ।   भारतको प्रभात खवर दैनिकका सुरसण्ड प्रतिनिधि पत्रकार विजय नारायण मिश्रका अनुसार जिप अनियन्त्रित भएर दुर्घटना भएको हो।   दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका स्कर्पियो चालकको मृत्यु भएको हो।    

काठमाडौं:    करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  मुलुकभित्र निजी क्षेत्रको ऊर्जा उत्पादनको हिस्सा क्रमशः बढिरहेको सन्दर्भमा यो सम्झौतालाई महत्वका साथ हेरिएको छ । इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत कविनकुमार कंडासामीले यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको इप्पानले जनाएको छ । इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको दुई हजार सात सय मेगावाट विद्युत्‌मध्ये पहिलो चरणमा दुई हजार मेगावाट विद्युत् कार्बन व्यापारका लागि योग्य हुनेछ । यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले बर्सेनि करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्न सक्ने इप्पानका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत कंडासामीले भारत, भुटान र श्रीलङ्काले कार्बन व्यापारबाट फाइदा लिइरहेकाले नेपालले पनि अब यो अवसर सदुपयोग गर्न गइरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय हाइड्रोपावर एशोसिएसन (आइएचए)का उपाध्यक्ष सुशील पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरू दिगो विकासका मापदण्ड पूरा गरेको उल्लेख गर्दै नेपाली आयोजनाले पनि अब छिट्टै कार्बन व्यापारबाट पैसा पाउने बताउनुभयो । विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले नेपालका लागि डिजाइन गरिएको आइरिक्स क्याल्कुलेटरको शुभारम्भ गर्नुभयो । यो क्याल्कुलेटरले कति मेगावाट विद्युत् उत्पादन हुँदा त्यसले वार्षिक कति रुपैयाँ बराबरको कार्बन व्यापारका लागि योग्य छ भन्ने कुरा देखाउनेछ । नेपाली निजी क्षेत्रले उत्पादन गरेको दुई हजार सात सय मेगावाट विद्युत्‌लाई कार्बन व्यापारसँग जोड्दा यसले वार्षिक करिब रु एक अर्ब बराबरको लाभ पाउनुपर्छ । विश्वबजारमा कार्बन ट्रेड भइरहे पनि नेपालले लाभ लिन नसकेको भन्दै अध्यक्ष डा धितालले जलविद्युत्‌को प्रचुर सम्भावना रहेको र तीन हजार मेगावाटभन्दा बढी जलविद्युत् मात्र उत्पादन भइरहेको नेपालले अब कार्बन व्यापाराट पनि लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले नेपालले वनजङ्गलबाट सानो ‘स्केल’मा कार्बन विसर्जनवापतको रकम लिए पनि जलविद्युत् आयोजनाले त्यो अहिलेसम्म लाभ लिन नसकेको बताउनुभयो । ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले क्षेत्रीय बजारमा विद्युत् निर्यात गरिरहेको नेपालले अब छिट्टै कार्बन ट्रेडबाट पनि राम्रो आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । ग्लोबल कार्बन काउन्सिलका प्रबन्धक अशोक के चन्देल र ग्लोबल रिन्वेल अलाइन्सका इरिक सोल्हिमले पनि कार्यक्रमलाई सम्बोधन गर्दै चीन र भारतजस्ता शक्ति राष्ट्रको बीचमा रहेको नेपालले कार्बन व्यापारबाट लाभ लिनुपर्ने बताउनुभएको थियो ।

लमजुङ:    बजेट अभावले लमजुङ दरबार पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ ।  पुरातत्व विभागले शाहवंशीय राजाको उद्गमस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरस्थित सो दरबार तीन वर्षदेखि पुनर्निर्माण थालेको थियो । विभागका इञ्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माण सम्पन्न हुन नसकेको हो । दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्यालढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने काम अझै बाँकी रहेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा गत आर्थिक वर्षमा सरकारले जम्मा ५० लाख बजेट छुट्याएको थियो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ ।  दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा ९छाने शैली०को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले भने, ‘दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि तेस्रो वर्षमा पनि काम सम्पन्न भएन ।  अझै काम अधुरै रहँदा स्थानीय चिन्तित छन्, यहाँ विभिन्न चाडपर्वमा आउने दर्शनार्थी तथा पर्यटकलाई अलपत्र रहेका ढुङ्गा काठले असहज बनाउने गरेको छ ।’   साथै स्थानीयले पित्तल वा तामाको छाना राख्न आग्रह गरेको उनको भनाइ छ । वडा नम्बर ३ का अध्यक्ष चित्रबहादुर दनाइले भने, ‘यतिका वर्षमा पनि निर्माण सम्पन्न भएन, यस वर्ष सम्पन्न हुनुपर्ने हो तर भएन । हामीले सम्बन्धित निकायसमक्ष चाँडो निर्माण सम्पन्न गर्न पहल गर्दै आएका छौँ तर सुनुवाइ नहुँदा यस वर्ष पनि कम बजेटले गर्दा निर्माण पूरा भएन ।’ स्थानीय सुरेश श्रेष्ठले सरकारले यस्ता ऐतिहासिक दरबारको निर्माणका लागि एकै पटक आवश्यक बजेट उपलब्ध गराएर निर्माण गर्नुपर्ने थियो, पटकपटक थोरै बजेट आएकाले निर्माण बर्सेनि निर्माण अधुरै रहँदै आएको बताए । व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यको राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ । सो घटनापछि उनीहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । यशोबह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ ।

ताप्लेजुङ:   समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाले टिप्तालासम्म गाडी पहिल्यै पुगे पनि मोटरसाइकलले पहिलोपटक यात्रा पूरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ओलाङचुङगोलासम्म मोटरसाइकल आइपुगेका थिए, तर टिप्ताला भञ्ज्याङ पुग्न सकेका थिएनन् ।” मोटरसाइकल यात्री माबोका अनुसार सुकेपानीबाट ओलाङचुङगोला खण्डसम्म मोटरसाइकल चलाउन निकै कठिन छ । अझ ओलाङचुङगोलाबाट माथि थप जटिलता रहन्छ । उच्च हिमाली क्षेत्र भएकाले अक्सिजन कम हुने, चिसो अत्यधिक हुने र मोटरसाइकलको शक्ति घट्ने हुँदा चुनौतीपूर्ण यात्रा हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म टिप्ताला भञ्ज्याङमा सर्वसाधरणले मोटरसाइकलमार्फत यात्रा गरेको छैन भन्ने सुनेको छु, यदि हो भने म नै पहिलोपटक पाँच हजार एक सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गर्ने व्यक्तिमा पर्छु ।” पाँच हजार उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विकास हुने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । उहाँका अनुसार टिप्ताला क्षेत्र एक व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा पहिलोपटक मोटरसाइकल पुग्नुलाई साहसिक पर्यटकको समेत नयाँ गन्तव्य बन्ने लिम्बूको भनाइ छ । टिप्ताला भञ्याङ जाने क्रममा मोवाटार (चार हजार दुई सय मिटर) हुँदै उकालो यात्रा गर्नुपर्छ । सो क्षेत्रको सडक अप्ठ्यारो भएकाले गाडी तथा मोटरसाइकल चलाउन कठिन हुने चालक आइतराज थेबेले बताउनुभयो । सडकमा हिउँ जमेर रहेकाले गाडी चिप्लिने जोखिम हुने गरेकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने थेबेले बताउनुभयो । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने टिप्तालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय हर्षित भएका छन् । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत ट्रयाक निर्माणपछि पहिलोपटक अघिल्लो बुधबार नेपाली मोटरसाइकल टिप्ताला भञ्ज्याङ पुगेको स्थानीय तथा पूर्ववडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । टिप्तालासम्म मोटरसाइकल तथा गाडी पुगेपछि जिल्लावासी उत्साहित भएका छन् । विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले सडक विस्तारले यातायात सहज बनाउने आशा राखेका छन् । यस सडकको विस्तारले भारत, नेपाल र चीनलाई जोड्ने सम्भावना बढाएको छ । विराटनगर रानीबाट तमोर करिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । दुई सय ९२ किलोमिटर लामो यो सडक भारत, नेपाल र चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।

तनहुँ:    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलवारीमा शनिबार साँझ भएको ग्यास बुलेट दुर्घटनामा चालकको मृत्यु भएको छ । मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको भारतीय एचआर ५५ क्यु ४७११ नम्बरको ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षीय भारतीय नागरिक श्रीकान्त कुमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।  ग्यास बुलेटले च्यापिएर गम्भीर घाइते उनलाई उद्धार गरी दमौली अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए । 

काठमाडौं:    ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ ।  तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्त्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ ।  कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ । हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् । सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ ।  नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवम् खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ ।  नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर (करिब पाँच प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्त्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ । तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसर पारी तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख भट्टले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभयोे । नेपालीबीच आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने यस पर्वले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको उहाँले बताउनुभयो ।   प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘हाम्रो विविधता र सांस्कृतिक परम्परा नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो । भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो ।’ बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि उहाँले लिनुभयो । आफ्नो धर्म र जातिय सांस्कृतिक मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको भन्दै उहाँले यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा रहेको बताउनुभयो ।    ‘नयाँ पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । किनभने भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्। यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । विशेष अतिथि प्रतिनिधिसभा सांसद मनबहादुर गुरूङ, तामाङ घेदङुका संघीय उपाध्यक्ष दीपक तामाङ, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त योञ्जनलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव शान्ति तामाङ र स्वागत बोसबहादुर तामाङले गर्नुभएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार तामाङ जाति जनसंख्याको हिसाबले पाँचौ नम्बरमा रहेको छ । कुल जनसंख्याको ५ दशमलव ६ प्रतिशत अर्थात् १६ लाख ३९ हजार ८ सय ६६ जना तामाङ जाति नेपालमा बसोबास गर्दछन्। ५.५ प्रतिशतले तामाङ भाषा बोल्दछन् । धर्म अनुसार बौद्ध धर्मावलम्बी दोस्रो नम्बरमा छन् । २३ लाख ९३ हजार ५ सय ४९ अर्थात् ८ दशमलव २ प्रतिशत जनसंख्या बौद्ध धर्म मान्दछन् ।   

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ । प्रधानमन्त्री निवासमा एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासङ्का अध्यक्ष ओमदेवी मल्लले आज बेग्लाबेग्लै सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरी अर्थतन्त्रको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयहरूबारे ध्यानाकर्षण गराउनुभएको हो ।  कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।  सुझावपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताउनुभयो । 

नवलपरासी:    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीवास जंगलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् ।  विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र इभि हाइस एकापसमा ठोक्किँदा भारतको पश्चिम बङ्गाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो ।  हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।  काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौंँ जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् । हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।