काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताउनुभएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन स्पष्ट गर्नुभएको छ । “पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ,” राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भन्नुभएको छ, “यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन ।” पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले लोकप्रिय र सान्दर्भिक दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको बताउनुभएको छ । “राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,” राष्ट्रपति पौडेलले भन्नुभएको छ, “नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
काठमाडौं: आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका छन् । कसरी सम्झने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई ? आजका दिन सांस्कृतिक लगायतका विविध कार्यक्रमको आयोजना गर्नुका साथै उहाँको शालिकमा पुष्पगुच्छा अर्पण एवं स्मृति दिवसका कार्यक्रमहरूको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ । तर नेपालका वरिष्ठ कवि तथा सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा उहाँको स्मरण गरे । नेपाल एकीकरणको इतिहासमा पृथ्वीनाराणसँगै जोडिएको ऐतिहासिक डाँडा चन्द्रागिरि पुगेर त्यहाँस्थित पृथ्वीनारायणको शालिकसामु रचना बाचन गरी कविहरूले उहाँप्रति श्रद्धाभाव प्रकट गरेका हुन् । पृथ्वीनारायण शाह आफ्नो मावली घर नुवाकोट यही डाँडाको बाटो हुँदै जाने क्रममा हालको भालेश्वर मन्दिर वरपरबाट उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहितको काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने कामना गरेका इतिहासकारहरू बताउँछन् । त्यसैले यो ऐतिहासिक चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले पृथ्वीनारायण शाहको शालिक निर्माण गरेको छ र बर्सेनि पुस २७ मा उहाँको स्मरणमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ । जसले देख्यो सुनौलो सपना चार किल्ला तोडेर उसैले उन्यो इन्द्रेणी माला सयौँ फूल जोडेर जसले रच्यो, नेपालको नक्सा, सयौँ देश जोडेर धर्तीको स्वर्ग छैन कहीँ अन्त नेपाल छोडेर । वरिष्ठ कवि एवं गीतकार एसपी कोइरालाले पृथ्वीनारायण शाहलाई यी शब्दहरूले सम्झिनुभयो । चार किल्ला तोडेर सुनौले सपना देख्ने र सयौँ फूल जोडेर इन्द्रेणी माला उन्ने व्यक्तिका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै कविले नेपाल धर्तीकै स्वर्ग रहेको र यस्तो अन्यत्रै कतै नभएको भाव पोख्नुभएको छ । सयौँ देशलाई जोडेर एउटै देश नेपालको नक्सा बनाउने सपना पृथ्वीनारायण शाहले देखेर नै नेपाल देशको जन्म भएको उहाँको सिर्जनाको भाव छ । अर्का वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ आफ्नो सिर्जनामा पृथ्वीनारायण शाहलाई यसरी सम्झनुहुन्छ‐ जोडेर धेरै मनहरू फोडेर धेरै किल्लाहरू यो देश बनाउने अपराधी मै हुँ गुमनाम तिमीलाई नाम दिएर स्वाभिमान तुल्याउने अपराधी पनि मै हुँ जजस्ले आँखा लगाए यो माटोमाथि गर्दन रेटेर तिनीहरूको खुँडा पखाल्ने पनि मै हुँ हो, यो देश बनाएर अपराध गरेको भन्छौ भने त्यो अपराधी पनि मै हुँ हो, यो देश बनाउने अपराधी मै हुँ । केही समययता देशमा पृथ्वीनारायण शाहको योगदान र इतिहास विस्मृतितिर गएको भान भइरहेकै छ । त्यसैप्रति भरपुर ब्यङग्य गरेका छन् उहाँका यी शब्दहरूले । समाजले कहिलेकाहीँ ओकल्ने गरेका उहाँप्रतिका अनादरलाई कवि श्रेष्ठका यी शब्दहरूको श्रेष्ठता र भाव पर्याप्त छ । धेरै मनहरू जोडेर र धेरै किल्लाहरू फोडेर यो देश बनाउने व्यक्तिका रूपमा कविले पृथ्वीनारायण शाहलाई चिनाउन चाहनुहुन्छ । अर्का वरिष्ठ कवि डा नवराज लम्सालको यो सिर्जना पृथ्वीनारायण शाहले ठूला दुःखले आर्जेको भूमिको सुरक्षामा समर्पित छ । उहाँका यी शब्दहरूले चाहे जस्तोसुकै अवस्था र परिस्थिति आए पनि देशको साँधसीमामा कसैलाइ पनि ढिम्कन नदिन नेताहरूलाई कडा निर्देश गर्दछन् । रोक्ला रोकोस जमिन जल जे रोकियोस रोक्न देऊ छेक्ला छेकोस वर र पर जे छेकियोस छेक्न देऊ बोल्ला बोलोस वचन बिटुलो बोल्छ जे बोल्न देऊ नेताजी हो, तर मुलुकको साँधसीमा नदेऊ । पछिल्लो समय नेपालको साँध सिमाना मिचिएका समाचारहरू यदाकदा आउने गरेकाप्रति यी शब्दहरूले जनता जगाउन खोजेका छन् । कवि डा लम्साल देशको नेतृत्वमा रहने नेताहरूलाई यसरी ब्युँझाउन खोज्नुहुन्छ‐ आमा बेची कुन मखमली शान किन्छौ र सस्तो नेताजी हो अब त बुझ हो झुक्किने खेल यस्तो । अर्का वरिष्ठ कवि किशोर पहाडी देशलाई एउटा ठूलो आकाशसँग तुलना गर्नुहुन्छ । उहाँको भावना छ‐ देश आकाश हो, त्यो पनि सानो नभएर ठूलो आकाश । त्यसैले यस्तो ठूलो आकाशरूपी देशका सर्जकप्रति उहाँको सिर्जनाले नमन गरेको छ । उहाँको सिर्जना भन्छ‐ देश ठूलो आकाश हो जहाँ केही ताराहरू अन्धकारमा सुत्ने गर्छन् जहाँ केही चराहरू गुँडमा लुक्ने गर्छन् केही चराहरू निस्फिक्री उड्ने गर्छन् हो, देश यस्तै ठूलो आकाश हो । ‘खै एकताको बल’ शीर्षकको वरिष्ठ कवयित्री प्रभा भट्टराई आचार्यको कविताले नेपालमा एकताको बल घट्दै गएको सङ्केत गर्दछ । नेपालमा यतिखेर धेरै जाति र धर्म भएर पनि नेपाली हुन बिर्सिएका नेपालीको अवस्थालाई उहाँले लयबद्ध कवितामा प्रस्तुत गर्नुभएको छ । उहाँको सिर्जना भन्छ‐ त्यो माझी, म सतार, यो गुरूङ, यो नेवार, यो बाहुन थारू त्यो, खस यो, दरै दलित यो, शेर्पा कि भोटे कुन ? मै हूँ मात्र सबै अलग अलगै चल्दै छ है खल्बल नेपाली हुन बिर्सिए स्वजनले खै एकताको बल ? नेपालमा हिजोआज खस्कँदै गएको एकताको बल प्रसस्त मात्रामा झल्किाएको छ यो कवित्व भावले । पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको साझा फूलबारी भनेर दिएको सन्देश नेपाल र नेपालीको राष्ट्रिय एकताको बलका लागि थियो । तर आज जात र वर्ण धेरै भए पनि एकताको बल भने झन् कमजोर हुँदै गएको पाठ यो कविताले सिकाएको छ । ‘समय, सपना र स्वर’ शीर्षकको कवितामा कवयित्री एलिसा ढुंगानाले पृथ्वीनारायण शाहलाई समयले खोजेको राजाका रूपमा स्मरण गर्न चाहनुहुन्छ । उहाँका शब्दहरू भन्छन्‐ निर्वाचित निरंकुशताले आजित म पल्टाइरहेछु विशाल नेपालको इतिहास र देख्छु, प्रेम, एकता र सत्यमा अडिग समयले खोजेको राजा पृथ्वीनाराण शाह । त्यसैगरी वरिष्ठ कवि मणि लोहनीले मानचित्रमा उभिएर शीर्षकको सिर्जनामा मानिसले बनाएका नक्साभित्रका धर्साहरूले कहिल्यै मानिसलाई आफ्नो हुन नदिएका र सिमानाका नाममा सदैव छुट्टाइरहेका भाव पोख्नुभएको छ । अर्का वरिष्ठ कवि एवं चलचित्र निर्देशक राजेन्द्र शलभले स्वतन्त्रता शीर्षकको सिर्जनामा स्वतन्त्रताको घेरालाई मानिसले नै सधैँ खुम्चाउने दुस्प्रयास गरिरहेको अभिव्यक्ति राख्नुभएको छ । उहाँहरूले आफ्ना सिर्जनाहरूमार्फत् नेपालको इतिहास र वर्तमानको व्याख्या गर्दै मुलुक निर्माणको महत्व र राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहको योगदान र बलिदानको स्मरण गर्नुभयो । उहाँहरूका सिर्जनामा नेपालीहरूलाई नेपाली बनाएर विश्वभर चिनाउने युगपुरूष पृथ्वीनारायण शाहको हामी सबैले उच्च सम्मान गर्नुपर्ने भाव रहेको थियो । त्यस अवसरमा चन्द्रागिरि हिल्सका मानव संशाधन प्रमुख झलकराज शर्माले पृथ्वीनारायण शाहसँग प्रत्यक्ष जोडिएको चन्द्रागिरिमा उहाँको शालिक निर्माण गरेर इतिहासलाई जिवन्त राख्ने प्रयास गरिएको बताउनुभयो । कार्यक्रमको अन्त्यमा कवि एसपी कोइरालाले सर्जकहरूका सिर्जनामा पृथ्वीनारायण स्वयम् उपस्थित भएर नेपालीहरूलाई प्रश्न सोधेजस्तो लागेको अनुभव सुनाउनुभएको थियो ।
काठमाडौं: चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु छ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार नौ सय ७५ र एक लाख दुई हजार पाँच सय ४२ रहेको थियो ।
नवलपरासी: पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो । पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले बताउनुभयो । रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ पठाउने काम सुरू गरिएको उहाँले बताउनुभयो । पुल तत्काल मर्मत असम्भव भएको र डाइभर्सन निर्माणको काम नहुँदासम्मका लागि वैकल्पिक मार्गको प्रयोग गरी रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । रोकिएका सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्रीबाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई वारपार गराइएको छ । दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी ठूला सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ । रातिको समय भएका कारण पुल नजिकै डाइभर्सन निर्माण गरी तत्काल यातायात सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको हो । ट्रक पुलको बीच भागमा नै फसेको छ ।
काठमाडौं: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।
काठमाडौं: सूचना तथा प्रसारण विभागले पत्रकारितामा अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विभागको कार्यालयमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो । सचिव अर्यालले मर्यादित र वास्तविक पत्रकारिता गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । पछिल्लो समय समाचार पहिचान गर्नै नसकिने अवस्था आएको बताउँदै सचिव अर्यालले दक्ष पत्रकारको अभाव खड्किँदै गएको बताउनुभयो । विभागका महानिर्देशक प्रदीप परियारका अनुसार छात्रवृत्ति स्वरुप जनही रु २५र२५ हजार प्रदान गरिएको छ । गत वर्ष रोकिएको छात्रवृत्तिलाई पुनः निरन्तरता दिएको महानिर्देशक परियारले जानकारी दिनुभयो । अनलाइन फाराममार्फत विद्यार्थीको समावेशीता, अवस्था र आवश्यकता ख्याल गरेर छात्रवृत्ति वितरण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार कक्षा १२ र स्नातक तहमा अध्ययनरत ३२ विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए । मधेसी र मुस्लिम समुदायका विद्यार्थीको आवेदन नपरेको उहाँले बताउनुभयो । यो वर्ष छात्रवृत्ति पाउनेमा लक्ष्मी तामाङ, रुपेश थापा, शशाङ्क कोइराला, प्रकाश कपाली, मञ्जुली कोजु, आर्जु सत्याल, स्वस्तिका तिमल्सिना, तेन्जिङ डोल्सा तामाङ, सुमन मचामसी, अमिता परियार र नवराज सोती छन् । सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जाल र पत्रकारिता बीचको फरक छुट्याएर पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले दक्ष र सक्षम पत्रकारको अभाव भएको बताउँदै सरकारले यसका लागि आमसञ्चार प्रतिष्ठान छिट्टै गठन गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं: सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ । सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न पुनःआग्रह गरेको हो । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको समाचार सार्वजनिक भएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई जोशीको रिहाइका निम्ति पनि प्रयत्न गर्न आग्रह गर्नुभएको हो । नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष नेपालको अनुरोध कार्यान्वयनका निम्ति राजदूतमार्फत आग्रह गर्नुभएको हो । आजै परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहनुभएका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिनुुभएको थियो । यसअघि पनि परराष्ट्रमन्त्री देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग जोशीको रिहाइका निम्ति आग्रह गर्नुभएको थियो । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक प्रयास जारी राखेको छ । यो पनि पढ्नुहोस १५ महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा
कालीकोट: जिल्लाको महावै गाउँपालिका–४ की २३ वर्षीया लालशोभा सिंह थापालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको हो । सुत्केरी ब्यथा लागेपछि बिहीबार राति महावै आधारभूत अस्पतालमा भर्ना गरिएकामा त्यहाँ सुत्केरी हुन नसकेपछि थप उपचारका लागि आज दिउँसो हेलिकप्टरबाट प्रदेशिक अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दीकुमारी शाहीले बताउनुभयो । “सुत्केरी ब्यथा लागेपछि यहाँको आधारभूत अस्पतालमा आउनुभएको थियो । यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएका छौँ”, उहाँले भन्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रममार्फत थापाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “गाउँपालिकामा यातायातको सहज पहुँच नभएकाले हेलिकप्टरबाट उद्धार गर्नु परेको हो”, उहाँले भन्नुभयो ।
गण्डकी: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाभित्र नियमित उडान सुरु हुने बताएका छन् । ‘सुनौलो नेपाल अनलाइन प्राइभेट लिमिटेड’द्वारा आज पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले राष्ट्रिय ध्वजाबहाक हिमालयन एयरलाइन्सले पोखरा–ल्वासा उडानको तयारी गरिरहेको बताए । “हिमालयन एयरलाइन्सले केही महिनाभित्रै उडान सुरु गर्दैछ, त्यसका लागि स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगको छ, नेपाल एयरलाइन्सलाई पनि अन्यत्रको उडान कटौती गरेर भएपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न सरकारले अनुरोध गरिरहेको छ”, मन्त्री पाण्डेले भने । भारतसहित अन्य मुलुकमा पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न सरकारले पहल गरिरहेको उनले बताए । हालै भारतका नागरिक उड्डयनमन्त्री र चीनका राजदुतसँग भएको भेटमा पनि उक्त विषयमा गम्भीरताका साथ छलफल गरिएको पाण्डेले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै उनले विमानस्थल सञ्चालन हुन सक्दैन भनेर निराशा बाँड्न नहुने धारणा राखे। “पचासौँ वर्षलाई हेरेर विमानस्थल निर्माण गरिएको हो, निराश हुनुपर्ने कुनै कारण छैन, विमानस्थल सञ्चालन गर्न सम्भव छ र हुन्छ”, मन्त्री पाण्डेले भने, “पोखरा मुलुकको पर्यटकीय केन्द्र भएकाले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हुँदा अर्थतन्त्र सबल हुनुका साथै पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिएका छौँ ।” चीनका विभिन्न गन्तव्यबाट चार्टर उडान भएपछि विमानस्थलको प्राविधिक पक्षलाई लिएर गरिएका आशङ्का पनि हटेको उनले बताए ।