मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पर्वत:  मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ ।  आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।  कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ । चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता भएका छन् । जसमध्ये ४९ उद्योग र ५० वटा वाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।  खारेज हुनेमा ६४ उद्योग र ६९ वाणिज्य फर्म छन् । दैनिकजसो उद्योग दर्ता गर्नेभन्दा बन्द गर्न आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।  त्यसैगरी, आव २०८०/८१ को अन्त्यमा तीन हजार चार सय १३ उद्योग रहेकामा अहिले घटेर तीन हजार तीन सय ९० पुगेका छन् भने तीन हजार दुई सय ४७ वाणिज्य फर्म कायम रहेकामा अहिले तीन हजार एक सय ३५ उद्योग रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।  छ महिनामा एक सय ३५ वटा उद्योग व्यवसायको सङ्ख्या कम भएको हो । मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।   उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरबी पौडेलले बताउनुभयो । व्यापार व्यवसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुने क्रम बढेको उहाँको भनाइ छ ।  लाखौं रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यवसायी नै विस्थापित हुनुपरेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा छन् ।  सरकारबाट बेरोजगारी समस्यालाई समधानका लागि उद्योग व्यवसायीलाई प्रोत्साहन कार्यक्रम आउन थालेपछि उद्योग दर्ता प्रक्रिया बढ्दै गएको भए पनि सोही अनुपातमा बन्द गर्ने क्रम पनि नरोकिएको अध्यक्ष पौडेलले बताउनुभयो ।  कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, होमस्टे, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमा नै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको हुनसक्ने बताइएको छ । वाणिज्य फर्मतर्फ भने दर्ताको सङ्ख्यासँगै फर्म बन्दको सङ्ख्य पनि उच्च छ । कतिपय देशमा बैंक मौज्दात ग्यारेण्टी देखाउनुपर्ने र उक्त मौज्दात देखाउँदा फर्म वा कम्पनीको नाममा देखाउनुपर्दछ । यसका लागि पर्यटन तथा उद्योग कार्यालय वा स्थानीय तहमा फर्म वा उद्योग दर्ता भएको प्रमाणपत्र आवश्यक पर्नेहरूले दर्ता गरे पनि व्यावसायिक दृष्टिकोणले गर्नेहरू न्यून रहेको देखिएको छ ।  पछिल्लो समय उद्योग व्यवसाय दर्ता प्रक्रिया पर्यटन तथा उद्योग कार्यालयसँगै स्थानीय तहबाट पनि हुन थालेको छ । दुवै निकायबाट उद्योग दर्ता हुने गरेपछि व्यवसायीहरू कहाँबाट दर्ता गर्ने भन्ने विषयमा अलमल पर्न थालेका छन् । पर्यटन तथा उद्योग कार्यालयले चालु आवमा रु २८ लाख ६६ हजार राजस्व सङ्कलन गरेको छ ।  कार्यालयमार्फत यस वर्ष ४२ पर्यटन पूर्वाधारका योजना निर्माण भइरहेका छन् । अहिलेसम्म ३६ वटा योजना सम्झौता भइसकेको र छवटा सम्झौता हुन बाँकी रहेको कार्यालयले जनाएको छ । 

पोखरा:   मार्फा थकाली समाज सेवा सदन पोखराको ५३औं वार्षिकोत्सव तथा १८औं महाधिवेशन देव कुमारी हिराचनलाई अध्यक्षमा चयन गरेको छ । समाजको ५३ वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष चयन गरि इतिहास रच्न सफल समेत भएको छ ।  महाधिवेशनमार्फत देव कुमारी हिराचन अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा पूर्ण मान लालचन, महासचिवमा मखन लाल हिराचन, सचिवमा राजु लालचन, कोषाध्यक्षमा ई। पूर्ण बहादुर ज्वारचन चयन भएका छन्।  त्यसैगरी, प्रदिप हिराचन, निरण ज्वारचन, पूर्ण ज्वारचन, वसन्त हिराचन, सञ्जु लालचन, बुद्धी कुमारी लालचन, प्रिमो लालचन तथा सुन कुमारी हिराचन समाजका सदस्य पदमा चयन भएका छन्। यसै अवसरमा मार्फा थकाली महिला समिति को पनि नयाँ कार्यसमिति चयन भएको छ। महिला समितिको अध्यक्षमा विष्णु ज्वारचन माईली, उपाध्यक्षमा आइत कुमारी लालचन, सचिवमा पुनम हिराचन, कोषाध्यक्षमा राम कुमारी ज्वारचन चयन भएका छन्।  सदस्य पदमा सीता लालचन, सत कुमारी पन्नाचन, विष्णु ज्वारचन, विनु लालचन, रचना लालचन, सविता पन्नाचन तथा विष्णु हिराचन मनोनीत भएका छन्।  

गोरखा: गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् ।  नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ ।  चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ । पाङसिङसम्म मोटर पुगेको छ । मार्ग खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उहाँले बताउनुभयो ।  बेनीघाट, आरुघाट, लार्के सडकको एक सय ५४ किलोमिटरमध्ये हावाडाँडाबाट ९२ किलोमिटर सडकको काम नेपाली सेनाले गरेको हो ।  ठूला पहरा र कडा चट्टान भएकाले विस्फोटनको काम गर्न सडक विभागले सो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको हो ।  चीनको सीमा लार्के भन्ज्याङसम्मको एक सय ५४ किलोमिटर खण्डमध्ये बेनीघाटबाट हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो । सेनाले मार्ग खोलेर गाडी चल्न सक्ने बनाएको दोभानसम्मको खण्ड पनि गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ ।   सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा ९७ किमी खण्डमा सवारीसाधन चल्न थालेका छन् । बर्खाका बेला पनि सवारीसाधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलीब्रिज निर्माण गरेको सेनानी ढकालले जानकारी दिनुभयो ।  उहाँका अनुसार यो आर्थिक वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट रु सात करोड विनियोजन भएको छ । विनियोजित बजेटअन्तर्गत गर्नुपर्ने काम लगभग सकिएको उहाँले बताउनुभयो ।  “दुई किलोमिटर ट्रयाक खन्ने काम अन्तिम चरणमा छ, यही चैतभित्र सकिन्छ”, सेनानी ढकालले भन्नुभयो, “यो वर्ष ट्रयाक खन्न रु सात करोड आएको थियो । त्यो बजेटले गर्नुपर्ने काम लगभग गरिसक्यौँ ।” यो वर्ष पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिर गरी चार खण्डमा ब्लाष्टिङ गरी ट्रयाक खोल्ने काम गरेको उहाँले बताउनुभयो । बेनीघाटबाट आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो । आर्थिक वर्ष २०६३÷६४ मा बेनीघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामकरण गरिएको थियो ।  आव २०६६÷६७ मा मात्र उक्त सडक निर्माण सुरु भएको थियो । तर हावाडाँडाबाट एक किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर रहेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेन । कठिन मानिएको ९२ किमी खण्डको काम गर्न सडक विभागले २०७४वैशाखमा नेपाली सेनालाई हस्तान्तरण गरेको हो । विसं २०७३ मङ्सिरमा मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि नेपाली सेनाले २०७४ वैशाखदेखि काम सुरु गरेको थियो ।  उक्त सडक धार्चे गाउँपालिकाको लापुबेँसी, माछाखोला, जगत हुँदै चुमनब्री गाउँपालिकाको सिर्दिबस, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनको सीमा लार्केभञ्ज्याङ जोडिने छ । उक्त सडकलाई उत्तरी गोरखाको लाइफ लाइनका रूपमा हेरिएको छ ।

म्याग्दी: पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।  सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।   जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको छ ।

सुर्खेत: जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ ।  घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।  घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिनुभयो । 

ढोरपाटन:   बागलुङमा रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनुभएको हो ।       उहाँहरुले बागलुङ नगरपालिका–४ स्थित डाँडाखेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधा सम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् ।  प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहने युवाहरुलाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जङ्गबहादुर पुनले जानकारी दिनुभयो ।       बागलुङ, म्याग्दी र पर्वतका युवाहरु बेलायत र सिङ्गापुरको लाहुरेमा भर्ती हुनका लागि पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरुलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।       जैमिनी नगरपालिका–३ दमेकका बेलायती सेनाका भुतपूर्व लाहुरे पुनले तीन वर्ष पहिलेबाट प्रशिक्षण केन्द्र निर्माण सुरु गरेको जानकारी दिनुभयो ।  डाँडाखेतमा ६ रोपनी जग्गा खरिद गरी निर्माण सुरु गरिएको तालिम केन्द्रमा एक सयजना युवाहरुलाई एक साथ राखेर तालिम प्रदान गर्न सकिने पुनको भनाइ छ ।      उहाँले भन्नुभयो, “बागलुङ, म्याग्दी र पर्व क्षेत्रका धेरै युवाहरु लाहुरे बन्न बढी चासो देखाउँछन्, यस क्षेत्रका कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा अहिले हामीहरुले सञ्चालनमा ल्याएका हौँ, हालसम्म तालिम केन्द्रमा साढे पाँच करोड रुपैयाँ लगानी भइसकेको छ ।”      अठार वर्षदेखि २१ वर्ष उमेर समूहका युवाहरु सिङ्गापुर र बेलायती सेनामा भर्ती हुनका लागि योग्य हुने भए पनि तालिममा भने १६ वर्षपछिनै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । राना सिङ्गापुर पुलिसबाट अवकासप्राप्त व्यक्ति हुनुहुन्छ । अहिले काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रुपमा खट्नुभएको छ ।

तनहुँ: बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् ।  स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको करिब रु  तीन करोड मूल्य पर्ने जग्गा दान गर्नुभएको हो ।       मङ्गलबार जिल्ला मालपोत कार्यालय, तनहुँमा अधिकारी परिवारले यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीलाई लालपुर्जा हस्तान्तरण गर्नुभयो ।  यसअघि पनि अधिकारी दम्पतीले बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि आठ आना जग्गा दान गर्नुभएको थियो । “जग्गा दान गर्न पाउँदा निकै खुसी लागेको छ, गाउँ र समाजको सेवाका लागि काम गर्न पाउँदा हर्षित छु”, कृष्णराज अधिकारीले भन्नुभयो ।      जग्गा यातायात कार्यालयलाई दिएकामा खुशी व्यक्त गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उहाँलाई सम्मान गरिने बताउनुभयो ।  कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध भइसकेको र भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी मन्त्रालयसँग बजेट माग गरिने जिल्ला मालपोत कार्यालयका प्रमुख ओलीले बताउनुभयो । 

काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

गण्डकी: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुुवान प्रान्तको छेन्दुुमा व्यावसायिक चार्टर उडान भएको छ ।  विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलोपटक व्यावसायिक चार्टर उडान गरिएको हो । पहिलोपटक भएको अन्तरराष्ट्रिय उडानको प्रत्यक्ष साक्षी बन्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ का कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत एक सय २६ सदस्यीय पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली छेन्दु आई पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम अघि बढाएको छ । महानगर प्रमुखसहितको पोखरेली टोलीलाई छेन्दु विमानस्थलमा चीनका लागि नेपाली महावाणिज्यदूत सुरेश राउत, सिचुवान प्रदेशका उच्चपदस्थ अधिकारी, सिचुवान एयरलायन्सका प्रतिनिधिलगायतले भव्य स्वागत गर्नुभएको थियो । उक्त अवसरमा महानगरप्रमुख आचार्यले २०२३ को जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट उद्घाटनको दुई वर्षसम्म पनि अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा महानगरपालिका, पोखरा पर्यटन परिषद्सहितको निरन्तरको प्रयासबाट पहिलो व्यावसायिक चार्टर उडान गरिएको बताउनुभयो । पोखराको पर्यटकीय विकास सम्बन्धमा चिनियाँ राजदूतावासबाट पनि दुई देशका पर्यटन व्यवसायीबीच ‘बिटुबी’ गर्ने सम्बन्धमा छलफल भएको उल्लेख गर्दै उहाँले यसै अभियानमा पनि बिटुबीलगायतका कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । छेन्दुबाट एक हजार दुई सय ५० पर्यटक विभिन्न उडानमार्फत पोखरा जाने तय भएको जानकारी दिँदै महानगरप्रमुख आचार्यले त्यहाँबाट पनि पर्यटक पठाउने कार्यमा लाग्ने बताउनुभयो ।