काठमाडौं: सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गर्नुभयो । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो । उहाँले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताउनुभयो । मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताउँदै उहाँले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गर्नुभयो । संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताउनुभयो । उहाँले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरुको हकहित संरक्षणमा सधँै प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताउनुभयो । राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गर्नुभयो । त्यसअवसरमा गैरआवासीय नेपाली सङ्घ र युएईस्थित नेपाली समाजका प्रतिनिधिसहित युएईमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो । साथै गैरआवासीय नेपाली सङ्घ युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले पनि आआफ्ना धारणा व्यक्त गर्नुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रममा श्रमसम्बन्धी अन्तक्र्रिया पनि आयोजना गरिएको थियो । वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो । यसैबीच, गत माघ २९ देखि यही फागुन १ गतेसम्म युएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा मन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । उक्त समिटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा एक सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तरराष्ट्रिय तथा क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसहित छ हजार जनाको सहभागिता थियो । उक्त समिटमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि भाग लिनुभएको थियो ।
गलकोट: बागलुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आउनुभएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका शारीरिक तथा मानसिक रूपमा कमजोर वृद्ध अहिलेसम्म पहिचानविहीन हुनुहुन्छ । करिब ९० वर्षीय उहाँको नाम, ठेगाना र आफन्त नखुल्दा राज्यले दिने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । लामो समयदेखि भकुण्डेका विभिन्न घरमा आश्रय लिएर बस्दै आउनुभएका उहाँलाई स्थानीयले ‘धान्द्रुके बाजे’ भनेर बोलाउने गरेका छन् । सानै उमेरदेखि भकुण्डेमा आएर बाँसको चोयाका सामग्री बनाएर पेट पाल्दै आउनुभएका उहाँको उमेर बढ्दै जादा पछिल्लो समय हिँड्डुलमा समेत बाधा पुग्न थालेको देखिन्छ । स्पष्ट बोल्न नसक्ने उहाँ अहिले स्थानीय नरमाया थापाको घरमा आश्रय लिएर बस्नुभएको छ । उहाँ भकुण्डेका परिचित व्यक्ति भए पनि नाम, ठेगाना खुल्न सकेको छैन । राज्यले पहिचानका रूपमा दिने नागरिकता पाउन नसक्दा उहाँ पहिचानविहीन हुनुभएको छ । “हाम्रो घरमा बस्न लागेको थुप्रै वर्ष भयो, मेरो विवाह भएर आउँदा यही हुनुहुन्थ्यो, अहिले मेरै उमेर ६० पुग्यो, उहाँलाई धान्द्रुके बाजे भने पनि धान्द्रकुमा उहाँको कोही आफन्त पत्ता लागेको छैन, नागरिकता बनाउन वडामा आयोजित शिविरमा पनि लगेका थियौँ, पहिचान नखुलेको भन्दै नागरिकता दिइएन, बुधबार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का उहाँलाई भेट्न आउनुभएको थियो, नगरपालिकाको पहलमा नागरिकता बने बुढेसकालमा सहाराविहीनको नामकरण होला”, थापाले भन्नुभयो । उहाँको उमेर ९० वरपर भएको भकुण्डेका पूर्वगाविस अध्यक्ष तथा संविधासभा सदस्य नरबहादुर थापाले बताउनुभयो । उहाँलाई नागरिकता दिनसके उहाँको पहिचान खुल्ने र सामाजिक सुरक्षा भत्ता पाउने बताउनुभयो । जैमिनीको बिजुवामा जन्मेको र आमाले छोडेपछि धान्दु्रक बसाइँ सरेको भन्नेमात्र सुने पनि अहिलेसम्म आफन्त पत्ता लगाउन नसकिएको र उहाँ बोल्न नसक्ने भएकाले समस्या भएको थापा बताउनुहुन्छ । धेरै वर्षदेखि भकुण्डेमा बस्दै आउनुभएका वृद्ध रेश, सिगाना र रायडाँडासम्म पुगेर चोयाका सामग्री बनाउने गरे पनि अहिले शारीरिक रूपमा कमजोर भइसक्नुभएको छ । वृद्धको अवस्था बुझ्न बुधबार भकुण्डे गएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काले जीवनको उत्तरार्द्धमा आइपुग्दा पनि पहिचानविहीन हुनु दुखद् भएको बताउँदै नागरिकता र अपाङ्गता परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेको बताउनुभयो । खड्काले भन्नुभयो, “उहाँले एउटा परिचय पाउनु भनेको राज्य भएको महसुस गर्नु हो, स्थानीय सरकारका हैसियतले गर्ने आवश्यक समन्वय हामीले गर्छौँ, कुनै नेपाली नागरिक पहिचानविहीन हुनुहुँदैन, संरक्षण लिनुपरे व्यक्तिगत रूपमा मैले नै लिन्छु, उहाँलाई नागरिकता दिलाउन स्थानीय सरकारले जस्तोसुकै जिम्मा लिन सकिन्छ ।” प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले स्थानीय, वडा कार्यालय र नगरपालिकाले सहजीकरण गरे नागरिकता दिन सहज हुने बताउनुभयो । कानुनी विषय अध्ययनपश्चात सहजीकरण गर्ने र अभिभावक नभएको खण्डमा देखे÷जानेकाको भनाइ तथा स्थानीयले संरक्षण लिनसके नागरिकता दिन सकिने प्रजिअ सुवेदीले बताउनुभयो ।
काठमाडौं: ताप्लेजुङको धार्मिक, सांस्कृतिकस्थल पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाले माग गरेका छन् । युमा माङ मुक्कुम्लुङ पाथीभरा संरक्षण समन्वय समितिद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा त्यस क्षेत्रको भौतिक विकासका नाममा मौलिक, धार्मिक, सांस्कृतिक पहिचान मेटाउन लागिएकामा सरोकारवालाले आपत्ति जनाए । विश्वभरका सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थल पाथीभरालाई निश्चित भूगोलको मात्र भनी प्रचार गर्न नहुने उनीहरुको भनाइ थियो । पुजारी र स्थानीय मन्दिर क्षेत्र व्यवस्थापन समितिलाई चुप लाग्न बाध्य बनाइएको मुक्कुम्लुङ संरक्षण अभियन्ता चन्द्रहाङ किरातले बताउनुभयो । पाथीभराको प्रसङ्गले देशभरका धार्मिक, सांस्कृतिक सम्पदा बचाउन सशक्त समूहको आवश्यकता देखिएको धार्मिक क्षेत्रका अनुसन्धानकर्ता भीम पाण्डेले बताउनुभयो । छिमेकी मुलुक केदारनाथ कैलाश मानसरोवरमा केबलकार नचलाइएको उल्लेख गर्दै सहभागीले नेपालमा रहेका पूर्वीय दर्शन र सभ्यता नष्ट गर्ने प्रयत्न भइरहेको आरोप लगाए । वाग्मती प्रदेशका पूर्वप्रदेशसभा सदस्य जीवन डङ्गोलले धार्मिक, सांस्कृतिकस्थलमा अतिक्रमण भइरहेको बताउनुभयो । विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले पाथीभरामा केबलकार निर्माण योजना खारेज गर्न आग्रह गर्नुभयो । हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पाथीभरालगायत देशभरका धार्मिक, सांस्कृतिकस्थलको संरक्षणका लागि सचेत र जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने काम वर्षौँदेखि रोकिनुका साथै पुर्खाले पत्ता लगाएका तामाखानीको संरक्षण नहुँदा सुरुङ पुरिन थालेको हो । पुरानो गाउँन नजिक चुलिको जरामा रहेको तामाखानीको एउटा सुरुङ पुरिएको स्थानी बताउँछन् । यस ठाउँमा परम्परागत रूपमा तामाखानीका दुई वटा सुरुङ रहेपनि अहिले एउटा पुरिएको र अर्को पनि पुरिने अवस्थामा पुगेको स्थानीय मन छन्त्यालले बताउनुभयो । “गाउँ वरपर तामाखानीका धेरै भग्नावशेष छन्, सुरुङ वरपर प्रशस्त मात्रामा तामाका धाउ फेला पर्छन्, तर खानी खन्ने पेसा बन्द भएसँगै अहिले खानीको अवशेषसमेत मेटिने जोखिम बढेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ठाँडाखानी गाउँको शिरमा पर्ने रुमाले गाउँको भीर, इच्छिमाझ भीरलगायत ठाउँमा तामाखानीका दर्जनबढी सुरुङ रहेका छन् । अधिकांश ठाउँका सुरुङमा अहिले पनि तामाका धाउ प्रशस्त मात्रामा देखिने बताउँदै छन्त्यालले सुरुङको संरक्षण नहुँदा पहिरो र भलबाढीका कारण पुरिन थालेका उल्लेख गर्नुभयो । “तत्कालीन समयमा तामाखानी उत्खनन गरेबापत सरकारलाई बुझाउनुपर्ने भेजा ९कर० बढाएपछि यस क्षेत्रमा खानी उत्खनन गर्न छाडेर कतिपयले बस्ती अन्यत्र सारे भने कतिपयले पेसा परिवर्तन गरेका थिए”, उहाँले भन्नुभयो । ठाँडाखानीको पुरानो गाउँमा हुने खानी उत्खनन सरकारले बन्द गराएपछि कृषि पेसालाई अङ्गाल्न बस्ती स्थानान्तरण भएको पाइएको रघुगङ्गा गाउँपालिका–६ का वडासदस्य टेकजीत छन्त्यालले बताउनुभयो । “हाम्रो पुर्खाको इतिहास खेती पाती गर्ने र पशुपालन गर्ने होइन, जहाँ खानी छ, त्यही गएर बस्ने र खानी खनेर जीविका चलाउने हो, तर पछि सरकारले कर लगाउन थालेपछि स्थानीयले कर तिर्नसक्ने अवस्था नबनेपछि खानी खन्ने पेसा सङ्कटमा परेको हो”, उहाँले भन्नुभयो । गाउँमा रहेका घरका भग्नावशेषसँगै खानीबाट ल्याइएका धातु पगालेर तामा निकालेपछि फालिएका तामाका धाउ पाखैभरि अहिले पनि देख्न सकिन्छ । परम्परागत आरनमा आगोले धातु पगालेर धाउलाई पाखामा छाडेकाले पुरानो गाउँमा खेतीपाती हुँदैन भने रुखबिरुवा पनि उम्रन मुस्किल पर्ने स्थानीयको भनाइ छ । आफ्नो पुख्र्यौली पेसा बन्द भएको र खेती किसानी गर्नुपर्ने भएपछि पुरानो गाउँबाट करिब १५ मिनेटकोे दूरीमा रहेको हालको ठाँडाखानीमा करिब एक सयवर्ष अघि सिङ्गो गाउँ सरेर आएको स्थानीयबासी बताउँछन् । तत्कालीन समयमा छन्त्याल समुदायले माटो र भिरको ढुङ्गा सुँघेर धातु भए÷नभएको पत्ता लगाउने गर्दथे । औजार र उपकरणसमेतको विकास नभएको अवस्थामा कुटो, कोदालो, घन, टुकटुके र छिनाजस्ता घरेलु औजारले पहाडभित्र सुरुङ बनाउने र सुरुङ भित्र निङ्गालाको भाङ बालेर धातु खन्ने काम गरिने स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी खन्ने भएपनि सरकारले कर बढाएपछि उक्त पेसा छाडेर अन्य पेसामा लाग्नुपरेको ठाँडाखानीस्थित मालिका आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक खिममाया छन्त्यालले बताउनुभयो । “यस्ता भिर तथा पहाडमा कुनै प्रविधिको प्रयोग र खोज अनुसन्धान नगरी धातुका खानी पत्ता लगाउनुले हाम्रो पुर्खाको विज्ञतालाई झल्काउँछ, अहिले पनि यस क्षेत्रमा खोज अनुसन्धान गर्ने हो भने प्रशस्त मात्रामा खानी पाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो । पुराना खानी भग्नावशेष भइसकेका छन्, उत्खननका लागि सरकारी स्तरबाट कुनै पहल भएको छैन”, पूर्व प्रअ छन्त्यालले भन्नुभयो । ठाँडाखानीसँगै म्याग्दीमा छन्त्याल समुदायको परम्परागत बसोबास रहेका कुइनेखानी, चौरखानी, मङ्गलेखानी, गुर्जा खानी, मल्कबाङ, मच्छिम, ओखर बोटलगायत बस्ती नजिक प्रशस्त मात्रामा तामाखानीका सुरुङ छन् । खानी बन्द भएलगत्तै तत्कालीन समयमा छन्त्याल समुदायका युवा भारतीय र बेलायती सैनिकमा भर्ती हुनेक्रम उच्च रहेको थियो भन्दै अहिले वैदेशिक रोजगारीदेखि व्यापार व्यवसायको क्षेत्रमा आबद्ध भएको उहाँले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले परम्परागत खानी आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताउँदै खानी उत्खनन गर्न सकेमा राज्यलाई आम्दानी हुने र स्थानीयलाई रोजगारी सिर्जना हुने बताउनुभयो । “सरकारले पुराना खानी उत्खनन गर्ने नीति लिएको छ, तर अहिलेसम्म स्थानीय सरकारले कस्तो भूमिका खेल्ने स्पष्ट भइसकेको छैन । सङ्घ र प्रदेश सरकारले खानी उत्खननका लागि स्पष्ट अवधारणसहित स्थानीय सरकारलाई अधिकार दिने हो भने बन्द भएका खानीलाई पुनःसञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
रौतहट: लामो समयदेखि बिरामी भएर रौतहटको वन क्षेत्रमा घुमिरहेको पर्सा राष्ट्रिय निकुन्जको ‘एमगज’ नामक हात्तीको आज जङ्गलमा उपचार गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका डा अमिर सडौलाको नेतृत्वमा आएको टोलीले आज बिहान बिरामी हात्तीको उपचार गरेका जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार हिलेखोला वन क्षेत्रमा हात्ती देखिएको खबर पाएपछि डा सडौलाको टोलीसहित सशस्त्र वन रक्षकको टोली, वन कर्मचारी सो क्षेत्रमा पुगेर हात्तीको उपचार गरेका हुन् । हात्तीको दाया खुट्टामा चोट लागेको भन्दै गोली वा भाला प्रहारबाट घाइते भएको हुनसक्ने डा सडौलाले बताउनुभयो । “हात्तीलाई बेहोस बनाएर उपचार गरिएको हो । उपचारपछि पुन होसमा ल्याएर सोही जङ्गलमा छाडिएको छ”, उहाँले भन्नुभयो । हात्ती बिरामी भएको खबर पाएपछि उपचारका लागि आएको उक्त टोलीले करिब दुई घण्टा लगाएर हात्तीको उपचार गरेको थियो । एमगज केही दिनअघि रौतहटको चन्द्रपुर–२ जुडिबेला गाउँमा घुमिरहेको थियो । स्थानीयले हात्ती बिरामी भएको खबर समाजिक सञ्जालमा हालेका थिए । हात्तीले रौतहटको उत्तरी भेगमा दर्जनौँको घर भत्काएको छ भने लाखौँको अन्न बालीमा क्षति पुर्याएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा जानकारी गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकमा मन्त्री अधिकारीले रासायतिक मलको मौज्दात, कृषि लगानी दसक (२०८१–२०९१), राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषद्को पुनःसंरचना, मासु निर्यातका लागि भैँसी पाडापालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जालगायत विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गर्नुभयो । उहाँले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गर्नुभयो । मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिकटन मलका लागि रु २७ अर्ब ९५ करोड रकम विनियोजन गरिएको छ । हालसम्म दुई लाख ४० हजार मेट्रिकटन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिकटन बिक्री भइसकेको छ । यस्तै हाल ३० हजार मेट्रिकटन युरिया मल आयात हुने क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ‘ग्लोबल टेण्डर’का लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले बैठकमा प्रधानमन्त्रीलाई अवगत गराएकोे छ । प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमानरुपमा अनावश्यक भएका संरचनाहरु थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गर्नुभयो । यस्तै बैठकमा आगामी २०८१ चैत २६ र २७ गते काठमाडौँमा हुने बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० कृषिमन्त्रीस्तरीय बैठकको तयारी भव्यरुपमा गर्न छलफल भएको छ । प्रधानमन्त्री ओलीले यस्ता मञ्चमा सहभागिता प्रभावकारी र वस्तुगत बनाउन तथा नेपालको समृद्धिको अपेक्षा पूरा गर्ने योजनामा सहयोग पुग्ने गरी प्रस्तुत हुन निर्देशन दिनुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा गोविन्द शर्मा र डा राजेन्द्रप्रसाद मिश्रसमेत बैठकमा सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्रीको नाम हटाउन पनि बैठकमा स्मरण गराउनुभयो ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गएरातिदेखि मर्मतको सुरु गरिएको हो । करिब २० घण्टापछि मर्मत सकिएको छ । अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।” विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग आवश्यक समन्वय गरी काम गर्नुपर्नेमा मन्त्री यादवले जोड दिँदै आउनुभएको छ । बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो ।
काठमाडौं: काठमाडौंको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् । उनीहरु उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो । उनीहरु तीनै जना विद्यार्थी हुन् । दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अहिले दुईको केएमसी अस्पतालमा, नौको एनएमसी अस्पतालमा, एकको मेडिसिटी अस्पतालमा, दुईको शिक्षण अस्पताल महाराजगञ्जमा, एकको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोहराले जानकारी दिनुभयो । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो ।
काठमाडौं: अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग संकलन गरिरहेका छन । कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चना लगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिनुभयो । महासचिव भुसालका अनुसार हालसम्म ७०० बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन् । सवारी साधन भएका विद्यार्थीले नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्नसक्ने र सवारी साधन नभएका विद्यार्थीलाई उनीहरुको ठेगानामा पुर्याउने व्यवस्था मिलाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्ममा छापा मारिरहेको छ । सोही क्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र (वर्क पर्मिट) भएका बाहेकले व्यावसायिक फर्ममा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्काशन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कअनुसार हाल अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।