पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

काठमाडौं:   थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो ।        गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पु¥याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।       राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेर विदेश नजान पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।       बैंककस्थित नेपाली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कम्बोडिया, लाओस, म्यानमार र कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि मापदण्ड विपरीत नजान दूतावास सबैमा अनुरोध गर्दछ । साथै आमनागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी योगदान गरिदिन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।”

काठमाडौं:  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।   कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम म्ुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं: ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।      सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।      नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।      यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको  छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ ।      समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी,  नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ ।      सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो ।  सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

नवलपरासी:  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।      आगलागीबाट सोही स्थानका इद्रिस अलीकी श्रीमती सतारुल नेसा, निजामोदिन मियाँ र तैमुरदिन मियाँ घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिनुभयो ।  उहाँका अनुसार सतारुलको अनुहार, टाउको र हात जलेको छभने निजामोदिनको दुवै हात र खुट्टा जलेका छन्, तैमुरदिनको भने सामान्य हात जलेको छ ।      आज दिउँसो विद्युत्को मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँचजना दाजुभाइ इद्रिस अली, कसिम अलि, नुर महमद अलि, मो शेख आलम मियाँ, अफताव अलिको घर जलेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो ।  आगलागीबाट खद्यान, लत्ताकपडा, भाडा, बोइरल कुखुरा, चार थान मोबाइल, फर्निचरका सामान, गरगहना तथा नगद गरी रु २७ लाख २९ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो ।      आगोलाई बर्दघाट नगरपालिका र रामग्राम नगरपलिकाको दमकल तथा प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रण लिइएको थियो । 

काठमाडौं:   सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ ।  मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकभित्र के–कस्तो रोजगार आवश्यक छ, त्यसका लागि कस्तो शीप चाहिन्छ । उद्यमशीलताका आधारमा उत्पादन बढाउने र रोजगारी प्रदान गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।” शीपको अभावमा मानिस बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारको विकल्प आन्तरिक रोेजगार नै हो । नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ भन्ने सन्देश सम्मेलनमार्फत दिऔँ ।” उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुहुनेछ ।   वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जना नीतिगत र कानुनी व्यवस्थाका लागि सम्मेलनमा सुझाव प्राप्त हुने मन्त्रालयको विश्वास छ । वैदेशिक रोजगार ऐन र राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन तथा सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि गठित कार्यदलको प्रतिवेदनउपर समेत सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दशवर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयको भनाइ छ । सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्तारविज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता रहने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।  नेपालको रोजगारीको क्षेत्रमा देखापरेका सङ्कुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न आवश्यक नीति र कार्यक्रम तर्जुमाका लागि ठोस राय सुझाव प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य रहने मन्त्रालयको भनाइ छ ।   वैदेशिक रोजगारी अर्थतन्त्र र समाजको अभिन्न अङ्ग भएकाले वैदेशिक मुद्रा आय आर्जनको प्रमुख श्रोत भएको छ । विप्रेषणलाई के कसरी मुलुकको रूपान्तरणमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा बहस हुनेछ । वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिने गरिएको छ । सामाजिक न्यायसहितको समावेशी विकास गर्नेगरी सोह्रौँ योजनाले लिएको लक्ष्य प्राप्तिका लागि यस मन्त्रालयले विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्दै आएको छ । मुलुकमा आन्तरिक रोजगारीमा नेपाली श्रमिकको उपयुक्त प्रशोचन हुन नसक्दा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको तथा आर्थिक वर्ष २०८०र०८१ मा कूल ७ लाख १४ हजार २९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिएको सो अवसरमा जानकारी दिइयो । वैदेशिक रोजगारीले नेपालको रोजगार व्यवस्थापन तथा वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष सहयोग गरे पनि मुलुकको दीर्घकालीन सामाजिक र आर्थिक विकासमा यसको प्रभाव न्यून रहेको मन्त्रालयको भनाइ छ ।

काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा यही फागुन २५ गतेदेखि राजधानीमा सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगितामा कुल ९१ वटा खेल सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा देशभरका १४ क्लबको सहभागिता रहने छ । जसमा आरसिटी क्लब, श्री भगवती क्लब, टुसाल युथ क्बल, ब्रिगेड व्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब र बाँसबारी क्लब सहभागी छन् ।  त्यसैगरी श्रीकुमारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्बल र प्लानिङ युनाइटेड क्लब रहेका छन् । एन्फाले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसी स्पोर्टस्लाई प्रदान गरेको छ । उक्त प्रतियोगिताको टिकट दर दशरथ रङ्गशालामा साधारण प्याराफिटतर्फ रु एक सय र भिआइपी प्याराफिटतर्फ रु तीन सय तोकिएको छ । त्यस्तै सातदोबाटोमा सामान्य प्याराफिटर्फ रु एक सय कायम गरिएको छ । प्रतियोगिताको विजेताले रु १५ लाख प्राप्त गर्ने छ भने उपविजेताले रु १० लाख पाउने छ । त्यसैगरी तेस्रो हुने टोलीले रु पाँच लाख पाउने छ । प्रतियोगितामा फेयर प्ले टिमले रु एक लाख, उत्कृष्ट गोलकिपरले रु ५० हजार, सर्वाधिक गोलकर्ताले ५० हजार र प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले रु सात हजार पाँच सय पाउने छ । त्यसैगरी हरेका खेलका विजयी हुने टोलीले रु २५ हजार तथा बराबरी भएमा टोलीले रु १० हजार पाउने छ । उक्त प्रतियोगिताको सञ्चालनका लागि कुल रु तीन करोड ९३ लाख एक हजार आठ सय १३ लाग्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने छ ।

पोखरा:  पोखरामा आयोजित महिला संवादमा महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिइएको छ ।  नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पोखराका प्रमुख नितु गर्तौलाले महिलाका विषयमा पुरुष जानकार नभएसम्म महिलाले न्याय नपाउने उल्लेख गरिन् ।  महिला घरयासी काममा सिमित हुनुपर्छ भन्ने पुरुषको गलत सोंचाइका कारण घर छाडेर पर काम गर्न जाने महिलाले हिंसा भोग्नु परेको उनले भनाइ थियो ।  महिला अधिकार विषयमा प्रस्तुति दिने क्रममा कार्यालय वा बाहिर महिलाहरुलाई अझै ढुक्कसँग काम गर्ने वातावरण नभएको उनले सुनाइन् । यसको न्यूनिरकरणका लागि पत्रकारको कमल र क्यामेरा चल्नुपर्नेमा उनले जोड दिइन् । महिला संवादकी अर्की प्रस्तुतकर्ता किताबखाना तथा प्रदेश सञ्चार समन्वय शाखा, गण्डकी प्रदेशकी प्रमुख पार्वती लामिछानेले श्रमिक महिलाहरुको अधिकारका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।  महिलाहरु दोहोरो अधिकारको लडाईमा परेको बताइन् । उनका अनुसार महिला अधिकारको लडाइमा रहेकाहरु श्रमिक महिलाको हक, अधिकारका लागि जुध्नुपरिरहेको छ ।  यस्तो अवस्था समाधानका लागि पुरुषहरु नै जागरुक र महिला अधिकारका विषयमा जानकार हुनुपर्ने उनको भनाइ थियो । उनले कार्यक्रममा श्रमिक महिला दिवस र महिलाका सवाल विषयमा प्रस्तुतिकरण राखेकी थिइन् । महिला संवादमा नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा वर्षाले पत्रकार महिलाका अवसर र चूनौतिका विषयमा प्रस्तुति राखेकी थिइन् ।  उनले पत्रकारिता क्षेत्रमा महिलाका लागि अवसर धेरै भएपनि हिंसा लगायत अन्य घटनाका कारण यो क्षेत्रमा टिक्न सक्ने अवस्था रहेको बताइन् ।  मिडियाका क्षेत्रमा पनि केही हिंसाका उजुरी परिरहेकाले पत्रकारिता क्षेत्रका श्रमिक महिला पनि समस्यासँग जुध्न बाध्य रहेको उनको भनाइ थियो । यसका लागि सम्बन्धित क्षेत्र नै कडा कानुन बनाएर लाग्नुपर्नेमा उनको जोड थियो ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सरला ढकाल, ब्रोडकास्टिङ एसोसियशन अफ नेपाल (बान) का उपाध्यक्ष दुर्गा अधिकारी, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारी लगायतले महिलाका मुद्दामा राज्यसँगै पुरुष जानकार भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।  महिला अधिकारसँगै श्रमिक महिलाका अधिकारको पक्षमा पत्रकारको कलम र क्यामेरा धेरैभन्दा धेरै चल्नुपर्नेमा उनीहरुको जोड थियो ।  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाल बरालको अध्यक्षतामा भएको महिला संवादमा उपाध्यक्ष माधव रेग्मीले स्वागत र कार्यक्रम संयोजक तथा उपाध्यक्ष कञ्चन थापाले सञ्चालन गरेकी थिइन् ।  कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशले सहयोग गरेको थियो ।   

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।   भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेलाको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।   ‘वीर गोर्खालीकै कारण नेपाल कहिल्यै कसैको उपनिवेश हुन परेन । विदेशी मुद्रा आर्जनको श्रोत गोर्खा सैनिकहरु नै छन् ।’ उहाँले भन्नुभयो – ‘नेपालीहरुले गोर्खाको नाममा बेलायती र भारतीय सेना तथा सिंगापुर प्रहरी फौजमा गरेको लामो र अति विशिष्टिकृत सेवाले यी मुलुकहरुसँग शताब्दी लामो मित्रताको आधार बनेको छ ।’   भट्टले गोर्खाहरुले जीवनका उर्जाशील वर्षहरुलाई विदेशी भूमिमा विभिन्न ओहदामा खर्चेर अवकाश प्राप्त गरी मातृभूमि नेपालमा फर्केर आफ्नो सीप र दक्षतालाई आयमूलक काम र सामाजिक योगदानमा समर्पित गरिरहेको पाएको उल्लेख गर्नुभयो ।   प्रदेश प्रमुख भट्टले गोर्खाहरुले शताब्दीदेखि ब्रिटिश र भारतीय सेनाका लागि धेरै योगदान गरेको बताउँदै सम्बन्धित देशहरुले गोर्खाहरुको योगदान र बलिदानीको सम्मान गरी कुनै भेदभाव विना समान सेवासुविधा प्रदान गर्दै आफ्नो मुलुकको सुरक्षामा गरेको योगदानको कदर गर्नुपर्नेमा जोड पनि दिनुभयो ।   सेवा गरिएका देशमा स्थायी बसोबास गरेका भूपू गोर्खाहरुको नागरिकता निरन्तरताका सवालमा संविधानको मर्म र गोर्खाहरुको भावनालाई सम्बोधन गर्दै साझा निश्कर्षमा पुग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।     ‘विदेशी मुद्रा आर्जन र व्यापार घाटा कम गर्नमा ठूलो योगदान पुर्‍याउँदै आएको भूपू गोर्खा सैनिकको पैतृक र आर्थिक सम्पति विदेश पलायन हुन नदिनेतर्फ पक्कैपनि राज्य सहज र सचेत हुनुपर्दछ ।’ उहाँले भन्नुभयो । ‘आफ्नोपन आफ्नै पहिचान, सबल नेपाल हाम्रो अभियान’ मूल मन्त्रका साथ स्थापित गोर्खा कम्युनिटी पोखराले १५ वर्षदेखि गोर्खाहरुको हितमा आफूलाई समर्पण गरिरहेको जनाएको छ । विदेशमा कमाएको धन र सिकेका सीपलाई नेपाली माटोमा परिचालन गरी आत्मनिर्भरको मार्गमा हिँड्न प्रेरित गरेकोमा प्रदेश प्रमुख भट्टले धन्यवाद दिनुभयो ।   

काठमाडौं:   चीन  सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ ।        मिनभवनस्थित अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका पूर्वउपमन्त्री चुइ लीको नेतृत्वमा रहेको टोलीले ती उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा आँखा परीक्षण गर्ने माइक्रोस्कोप, कम्प्युटर, स्क्यान मेसिन, क्यामेरालगायत छन् ।        त्यसअवसरमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीनबीच प्राचीनकालदेखि नै बहुआयामिक, मैत्रीपूर्ण र घनिष्ट सम्बन्ध रहेको बताउनुभयो । चीनसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै उहाँले चीनले नेपालमा लगानी प्रवद्र्धनका साथै सडक पूर्वाधार, विद्युत् विकासलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दैआएकोमा धन्यावाद ज्ञापन गर्नुभयो ।        साङ्घाई सहयोग सङ्घसँग सम्बिन्धित छिमेक सहयोग नियोगनका उपाध्यक्ष एवं चीनका पूर्वउपमन्त्री चुइ लिले नदी र पहाडले जोडिएको नेपाल–चीनबीचको सम्बन्ध  सरकारी  तहमा मात्र नभई जनस्तरमासमेत न्यानो, मितवत् र बहुआयामिक रहेको बताउनुभयो ।  उहाँले चीन सरकारले लिएको नीति तथा कार्यक्रमलाई सघाउने उद्देश्यसहित  छिमेकी देशहरूको सम्बन्धलाई अझ सुदृढ र घनिष्ट बनाउन बनाउन साङ्घाई सहयोग सङ्घ क्रियाशील रहेको स्पष्ट गर्नुभयो ।   फाउण्डेसनका अध्यक्ष तामु यु चुङले चिनियाँ सरकारको सहयोगमा नेपालमा सञ्चालित निजामती अस्पतालको क्षमता विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।         निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले चीन सरकारको लाइफ लाइन एक्सप्रेस संस्थामार्फत अस्पतालका आँखा विभागका लागि रु दुई करोड मूल्य बराबरको आँखा उपचारसँग सम्बन्धित   उपकरण प्राप्त भएको जानकारी दिँदै आँखाका उपचारलाई प्राथमिकता दिई विशिष्टीकृत सेवा प्रदान गर्ने पक्षमा अस्पताल रहेको बताउनुभयो ।        आँखा रोगसम्बन्धी रोगको उपचारका लागि पहिलो चरणमा उपकरण उपलब्ध हुनेछ भने त्यसपछि चिकित्सकलाई तालिम र प्रशिक्षणको व्यवस्था चीनले गर्ने भएको छ ।  तालिमपश्चात दुवै देशका चिकित्सकले शल्यक्रियासहितका उपचार सेवा प्रदान गरी बिरामीलाई सहयोग पु¥याउने सन्दर्भमा सम्झौता भएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । सो सम्झौतापत्रमा कार्यकारी निर्देशक पौडेल र लाइफलाइन एक्सप्रेस हङ्कङ फाउन्डेशनका अध्यक्ष ताम यु चुङले हस्ताक्षर गर्नुभएको छ ।        उक्त अस्पताल चीनको सहयोगमा १६ वर्षअघि निर्माण भई सञ्चालन छ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई एसियाकै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट केन्द्रका रुपमा विकास गर्दै लैजाने योजना बनाएको छ । करिब तीन सय शय्याको निजामती अस्पतालमा दैनिक सरदर एक हजारको सङ्ख्यामा बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो ।        गुणस्तरीय स्वास्थ्य सेवाका कारण अस्पतालमा अहिले बिरामीको ठूलो चाप देखिन्छ । निजी क्षेत्रका अन्य अस्पतालका तुलनामा निजामती अस्पतालले कम शुल्कसहित गुणस्तरीय सेवा उपलब्ध गराइरहेको अस्पतालको दाबी छ ।        अस्पतालमा पुग्ने जोकोही बिरामीले सजिलै विशेषज्ञ चिकित्सकसँग परामर्श र परीक्षण गर्न पाउने भएकाले पनि अस्पतालमा बिरामीको चाप बढेको कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।        वरिष्ठ नेत्र विशेषज्ञ डा प्रज्ञा बस्नेतले अस्पतालको आँखा विभागका लागि अतिआवश्यक मानिएका  आँखा परीक्षणसम्बन्धी अत्याधुनिक उपकरणहरु चीन सरकारबाट सहयोगस्वरुप प्राप्त भएपछि बिरामीले गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।        अस्पतालका नेत्ररोग विशेषज्ञ डा राजेश भूर्तेलले आँखाको माइक्रोस्कोप, आँखाको पर्दा, मधुमेह र प्रेसरको परीक्षण तथा राख्नुपर्ने लेन्स अनुमान गर्ने उपकरण प्राप्त भएको जानकारी दिनुभयो ।