काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालले पनि न्यून राजस्व सङ्कलन र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण सिर्जित समस्या भोगिरहेको बताउनुभएको हो । “राजस्वको अधिकांश भाग सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकास गतिविधिमा सरकारको लगानी सङ्कुचित हुने देखिएको छ । यसले दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्पलाई टाढा धकेल्ने जोखिम बढेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । ‘दिगो विकासको लक्ष्य हासिल गर्ने अभियानमा कोही पनि नछुटुन्’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घले विकासका लागि वित्त परिचालन गर्न जोड दिँदै आएको छ । विकासोन्मुख र अल्पविकसित मुलुकमा लगानीका लागि स्रोतको कमी मुख्य चुनौतीका रुपमा देखापरेको अर्थमन्त्री पौडेलले बताउनुभयो । जलवायु परिवर्तनको प्रभावबाट ती मुलुक बढी प्रभावित बनेका छन् । उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको घट्दो प्रवृत्तिले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा रहेको अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो । विकास वित्तका नवीन तथा वैकल्पिक उपायहरुको उपयोग गर्नुपर्ने देखिएको पनि उहाँको भनाइ छ । आन्तरिक स्रोतको अलावा निजी पुँजी तथा विकास सहयतालगायत सम्भाव्य सबै स्रोतको अधिकतम उपयोग गर्नेगरी विकास वित्तको खाका तय गर्नुपर्ने आवश्यकता पौडेलले औँल्याउनुभयो । कूल गार्हस्थ्य उत्पादनको तुलनामा राजस्वको अनुपात तुलनात्मक रुपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको उहाँको भनाइ छ । “प्रत्यक्ष वैदेशिक लगानी र बाह्य क्षेत्रबाट हुने पुँजी प्रवाह तुलनात्मक रुपमा न्यून छ । सार्वजनिक ऋण सुरक्षित तहमा नै भए पनि आगामी दिनमा यसमा चुनौती थपिने देखिन्छ । उच्च व्यापार घाटा र न्यून आर्थिक वृद्धिदर र लामो समयदेखि संरचनात्मक समस्याका रुपमा अर्थतन्त्रमा विद्यमान छन्”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट प्रत्यक्ष रुपमा प्रभावित भएको छ । हामीले कार्बन उत्सर्जनमा नगन्य योगदान रहे पनि हामीलाई गैरअनुपातिक असर परेको हुँदा अनुकूलनमा निकै ठूलो रकम छुट्याउनु पर्नेछ । यसैले नेपाल विकास वित्तका लागि नयाँ स्रोत र उपकरण जुटाउनुपर्ने पक्षमा उभिएको छ ।” विकास साझेदारहरुसँग यी विषयमा पर्याप्त अन्तरक्रिया गरी अगाडि बढ्न सरकार दृढ रहेको पनि उहाँले बताउनुभयो । अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई नेतृत्वदायी भूमिकामा राखेको पनि उहाँले उल्लेख गर्नुभयो । “सोह्राँै आवधिक योजनाले निजी क्षेत्रको भूमिकालाई अधिक महत्व दिएको छ । निजी क्षेत्र सरकारको साझेदार हो । हाम्रा लक्ष्य अलग छैनन् । सरकार निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आवश्यक वातावरण बनाउन प्रतिबद्ध छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “निजी पुँजी आकर्षित गर्नेगरी विकास वित्तको खाका निर्माण तथा प्रतिफलयुक्त आयोजनाको सूची तयार गरी लगानी जुटाउनु आवश्यक छ ।” स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयत्नरत रहेको पनि उहाँले उल्लेख गर्नुभयो । सरकारी र निजी लगानी बढाउनसकेमा स्वदेशमा नै कामका अवसर बढाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । आन्तरिक मात्र नभई वैदेशिक लगानी भित्र्याउनका लागि पनि सरकारले सहजीकरण गर्ने पौडेलको भनाइ छ । “नेपालको विकास प्रयासमा स्वदेशी पुँजी र प्रविधि मात्र पर्याप्त पर्याप्त छैन । सरकार विदेशी पुँजी र प्रविधि भित्र्याउन सबै नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न कटिबद्ध छ । कानुनी सुधार र नीतिगत स्पष्टताका लागि थप कामहरु गर्दै लगिनेछ”, उहाँले भन्नुभयो । सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नत हुने लक्ष्य रहेको तथा त्यसका लागि सङ्क्रमणकालीन रणनीति विकास गरिसकेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले विकासोन्मुख मुलुकमा देश उक्लिएपछि अवसरहरूको उपयोग गर्न र थप लगानी आकर्षित गर्न देशले चाँडै नै सार्वभौम साख मूल्याङ्कन ‘सोभरेन क्रेडिट रेटिङ’ गर्न लागेको बताउनुभयो । सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नीतिगत प्रयास थालिएको उहाँले उल्लेख गर्नुभयो । मौजुदा कर व्यवस्थालाई थप प्रगतिशील बनाउने, करका आधारहरू सुदृढ र विस्तार गर्ने, राजस्व प्रणलीलाई विद्युतीकरण गरी विनियोजन र खर्च क्षमता बढाउनेलगायतका काम सरकारले गरिरहेको उहाँको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था निकै कमजोर रहेको बताउनुभयो । “प्रत्यक्ष वैदेशिक लगानी हाम्रो कूल गार्हस्थ्य उत्पादनको शून्य दशमलव दुई प्रतिशत मात्रै छ । हाम्रो जस्तो देशका लागि यो एकदमै न्यून सङ्ख्या हो । वैदेशिक अनुदान पनि लक्ष्यअनुसार आएको छैन”, उहाँले भन्नुभयो, “यो अवस्थाले ऋणमा निर्भरता बढाएको छ । सार्वजनिक ऋण पछिल्लो नौ वर्षमा दोब्बर भएको छ । ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा दिगो हुँदैन र यसले हाम्रो आर्थिक स्थायित्वमा ठूलो जोखिम खडा गर्छ ।” हाम्रो देश अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा ऋणमा बढ्दो निर्भरताले अरु चुनौती थप्ने उहाँले बताउनुभयो ।
दाङ: लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सङ्घमा सत्ता समीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ ।
रुकुमपश्चिम: रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको नेतृत्वमा आज बिहान प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना शङ्कास्पद देखिएपछि प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको खुलेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । “प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बुढाले मादक पदार्थ सेवन गरेर सन्तोषकी श्रीमतीलाई अपशब्द बोलेर हातपात गरेको र त्यसको प्रतिकार गर्ने क्रममा सन्तोषकी श्रीमतीले दाउराको चिर्पटले प्रहार गर्दा बुढाको मृत्यु भएको खुलेको छ”, प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “यसमा सन्तोषको पनि संलग्नता देखिएको छ, थप अनुसन्धानबाट खुल्नेछ ।” घटनास्थलको प्रारम्भिक अनुसन्धान सकाएर शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।
चितवन: पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको हो । पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताउनुभयो । मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी बताउनुभयो ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले भारी वर्षाको पनि सम्भावना रहेका स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
कैलाली: बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति रु एक लाख दिने घोषणा गरेको छ । आज यहाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो । यही भदौ २ गते राति १ बजे परेको अविरल बर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा निज धामीको ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, छ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो । मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौं: भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ । प्रवक्ता कार्कीकानुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपद्मा परी घाइते भएका छन् । सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । बाढीका कारण आजसम्म तीन सय ८४ घर डुवानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
काठमाडौं: नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत निर्यात गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । दश जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् विहारलाई र दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप एक सय २५ दशमलव ८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीलाई बिक्री गरिनेछ । प्राधिकरणले हरियाणा राज्यलाई हाल एक सय नौ मेगावाट विद्युत् बिक्री गरिरहेको छ । नेपालमा खपत गरी अतिरिक्त भएको बर्खायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विहार र हरियाणालाई बिक्री गरिनेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीलाई बिक्री गरिने विद्युत्को परिमाण तीन सय ६० मेगावाट पुगेको छ । आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारु) रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिइएको एक सय नौ मेगावाटको प्रतियुनिट दर आठ रुपैयाँ ४० पैसा (५ दशमलव २५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने प्राधिकरणले व्यहोर्नुपर्ने छैन । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ । भारतबाट स्वीकृति पाएसँगै अब विहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै विहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने जानकारी दिनुभयो । “स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ, थप दुई सय मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ, छिट्टै स्वीकृति पाउनेमा विश्वस्त छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । विद्युत् निर्यातको परिणाम बढ्दै जानेछ, चालु आवमा रु २५ अर्ब बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । विवरणअनुसार ११ दशमलव ६४ मेगावाटको दोर्दी–एक, कूल १४ दशमलव ४५ मेगावाटको मायाखोला, नौ दशमलव ९९ मेगावाटको तल्लो पिलुवा, १० दशमलव ६७ मेगावाटका तल्लो खारे, ११ दशमलव ६४ मेगावाटको माथिल्लो खिम्ती, छ दशमलव आठ मेगावाटको माथिल्लो खिम्ती–दोस्रो, १४ दशमलव चार मेगावाटको मोदी, १४ दशमलव छ मेगावाटको गण्डक, १९ दशमलव २१ मेगावाटको माथिल्लो सोलु र ११ दशमलव ६४ मेगावाटको दूधकुण्ड जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् विहारमा निर्यात हुनेछ । विहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ । यस्तै, ७५ मेगावाटको लिखु–एक र ५० दशमलव ८९ मेगावाटको लिखु–२ बाट उत्पादित एक सय २५ दशमलव ८९ थप विद्युत् हरियाणा राज्यमा बिक्री गरिनेछ । प्राधिकरणले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८९ करोड युनिट अर्थात् रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरेको थियो । तर यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १७ अर्ब ६ करोड आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात भएको थियो । गत आवबाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले विगत १८ वर्षदेखि थाती रहेको शान्तिप्रक्रिया निष्कर्षमा पु(याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ‘चौपातो नेपाल’द्वारा आज कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शान्तिप्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । मुलुकका प्रमुख दुई राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार देशमा दिगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । “राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को समीकरण बनेको हो”, उहाँले भन्नुभयो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको गृहमन्त्री लेखकको भनाइ थियो । “सरकार निर्माणका क्रममा विभिन्न राजनीतिक दल सम्मिलित समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव पर्न थाल्यो । विधिको शासन सुनिश्चित गर्न वर्तमान सरकार गठन गर्न आवश्यक भयो,” उहाँले भन्नुभयो । शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको गृहमन्त्री लेखकले स्पष्ट गर्नुभयो । “सामान्यतया संसद्मा रहेका ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक देखिँदैन । कतिपय अवस्थामा स्वाभाविक मानिँदैन”, गृहमन्त्री लेखकले भन्नुभयो, “तर मुलुकमा महत्वपूर्ण ‘एजेन्डा’ अगाडि आउँछन् । त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा देशका ठूला पार्टी एक ठाउँमा उभिएका हाम्रो इतिहास छ ।” सुदूरपश्चिम प्रदेशलाई भारत र चीनसँग जोड्न चाँडै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापन गर्ने सरकारको योजना रहेको गृहमन्त्री लेखकले बताउनुभयो । महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्त्वपूर्ण परियोजना अगाडि बढाएर छिमेकी देश भारत तथा चीनसँग जोड्न लागिएको उहाँको भनाइ थियो । “तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरी तेस्रो मुलुकका नागरिकलाई कैलाश मानसरोवर जाने बाटो बनाउने योजना अगाडि बढाएका छौँ । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्छौं । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्छ”, उहाँले भन्नुभयो । सो अवसरमा सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिएका आरडी प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा योगदान दिएकी विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, नेपाली शास्त्रीय गीत–सङ्गीतको क्षेत्रका तिलकसिंह पेला, प्रशासन क्षेत्रमा योगदान पु¥याएका डा हरिदत्त पाण्डेय र साहित्यमा योगदान दिएका हेमबाबु लेखकलाई सम्मान गरिएको थियो । यस्तै सुदूरपश्चिमको भाषामा योगदान दिएका डम्बर शर्मा बडूलाई मरणोपरान्त सम्मान गरिएको छ ।