काठमाडौं:      काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८  स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ ।  दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती ...

काठमाडौं:    भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस। जयशङ्करबीच आज दिउँसो नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।           उहाँहरुबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । मन्त्री डा राणालाई भारतीय विदेशमन्त्री एस जयशङ्करले स्वागत गर्नुभएको थियो ।       भारतीय विदेशमन्त्री एस। जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुने तालिका छ । 

काठमाडौं:    विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी गरेको छ । एक सय ८५औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।  ‘जब हिमाल मुस्कुराउँछ’ नाराका साथ गरिएको फोटो प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरुले विभिन्न समयमा कैद गरेका हिमशृङ्खलाका ५० भन्दा बढी तस्बिरहरु राखिएका छन् ।      प्रदर्शनीको उद्घाटन गर्नुहुँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले यस्ता प्रदर्शनीले फोटोग्राफरहरुको क्षमता प्रस्फुटनमा ऊर्जा थप्ने बताउनुभयो ।  “यो प्रदर्शनीले धेरै कुराहरूलाई सहयोग पु(याएको छ, प्रदर्शनीमा राखिएका तस्बिरमा हाम्रा हिमालहरुको प्राकृतिक महत्वलाई उजागर गरेको छ, हाम्रा हिमालको अहिलेको अवस्थालाई चित्रण गरेको छ, जलवायु परिवर्तनको असरका बारेमा हामीलाई सुसूचित गरेको छ, एउटा तस्बिरले हजार शब्दमा व्यक्त गर्न नसकिने तथ्यहरुलाई व्यक्त गर्छ भनिन्छ, यो प्रदर्शनी धेरै दृष्टिकोणबाट महत्व राख्ने खालको छ,” उहाँले भन्नुभयो ।      प्राकृतिक मनोरम दृश्यले पर्यटकको आकर्षक बढाउने हुँदा यस्ता प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ । उहाँले जलवायु परिवर्तनको असरले हिमालमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न काम गर्नुपर्ने सन्देश तस्वीर मार्फत् देखाएको बताउनुभयो ।      हरेक वर्षको अगस्त १९ तारिखलाई विश्व फोटोग्राफी दिवसको रुपमा संसारभरका फोटोग्राफहरुले उत्सवका रूपमा मनाउँदै आएका छन् । नेपालमा सन् १९९७ मा राष्ट्रिय फोटो पत्रकार समूहको स्थापना भएसँगै प्रत्येक वर्ष विश्व फोटोग्राफी दिवस मनाइँदै आएको छ । फोटोग्राफीको इतिहास बुझाउन, अग्रज फोटोकारको सम्मान र अनुजलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।      विश्व फोटोग्राफी दिवसको सन्दर्भ पारेर विश्वमा जलवायुको असरका कारण परेको असर र त्यसका कारण हाम्रा हिमालहरु पग्लिँदै गइरहेको अवस्थालाई दृष्टिगत राख्दै हिमाल बचाउ अभियानलाई सार्थकता दिन प्रदर्शनी आयोजना गरिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।      “नेपालका हिमाल र हिमाली क्षेत्रका पर्यटन, सांस्कृतिक र सामाजिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले यो प्रदर्शनी राखिएको हो, नेपाललाई विश्वसामु चिनाउन, पर्यटन प्रवद्र्धन गर्नाका साथै फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिमा प्रदर्शन महत्वपूर्ण हुने विश्वास छ, व्यावसायिक फोटोग्राफरहरुका लागि हौसला प्रदान गर्न सहयोग मिल्नेछ भन्ने विश्वास छ,” अध्यक्ष वन्तले भन्नुभयो ।      फोटोग्राफी क्यामेराको जननी मानिने ‘क्यामेरा अब्स्क्युरा’ बाट सुरु भएको थियो । विश्वमा श्यामश्वेत छविचित्र अनि फोटो ट्रान्समिटरका ती उदेकलाग्दा पर्खाइ छिचोल्दै फोटोग्राफी हरेक मान्छेको पहुँचमा आइपुगेको छ ।  विश्वमा फोटोग्राफीसम्बन्धी कल्पनाको उदय भएको झन्डै दुई सय वर्ष हुँदा फ्रान्समा यस क्षेत्रमा निकै अनुसन्धान र प्रयोगहरू भएका थिए । अँध्यारो कोठामा झ्यालढोकाको मसिनो प्वालबाट बाहिरको घामको किरण छिरेपछि उत्पन्न आकृति देखेका वैज्ञानिकहरूले ती आकृति सधैँका लागि कैद गर्ने प्रयासमा लागे ।       यसैबीच, सन् १८२६ मा जोसेफ निसेफोर नियप्सले आफ्नो घरको कौसीबाट देखिने दृश्यको फोटो करिब आठ घण्टा लगाएर खिचे । त्यही फोटो विश्वको पहिलो फोटोग्राफिक आकृति बन्यो । अस्पष्ट देखिने त्यो फोटोमा केही आकार र प्रकार मात्र देखिन्छ । पछि आएर सन् १८३८ मा लुइस डेगुरेले अझ प्रस्ट देखिने फोटोको आविष्कार गर्न सफल भए । त्यसबेलाको फोटो अहिलेको झैँ स्थायी रूपमा रहिरहने खालको थिएन । त्यो कालखण्डमा तस्बिर खिच्न आठ घण्टा लाग्थ्यो ।      सन् १८३९ मा मात्र व्यावहारिक रूपमा सफल फोटोको आविष्कार भयो । त्यसबेला खिचिएको सडकको दृश्यचित्रलाई प्रथम प्रस्ट चिनिने आकृतिसहितको सही फोटो मान्न सकिन्छ । वीरशमशेरका पालामा डम्बरशमशेरले नेपालमा फोटोग्राफीको सुरुआत गरेको मानिन्छ ।  बालकृष्ण समका छोरीपट्टिका नाति नवीनप्रकाशजङ्ग शाहका अनुसार, डम्बरशमशेरलाई वीरशमशेरले पुरस्कारस्वरूप बेलायत र जर्मनीबाट जति पनि सामान भन्सार छुट गरी झिकाउने सुविधा दिएका थिए । त्यो बेलादेखि सुरु भएको नेपाली फोटोकारिता अहिले धेरै अगाडि बढिसकेको छ । यसमा नेपालका धेरै फोटोग्राफरहरूको महत्वपूर्ण भूमिका छ ।

काठमाडौं:     सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।      निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो ।  गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो ।      दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरुप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ ।  निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले यही भदौ १ गतेदेखि लागू हुनेगरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निणय नभएसम्मका लागि मूल्यमा कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।      अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । गत साउन ३१ गते प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बैठक बसेको थियो । उक्त बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल गरेको  जनाइएको छ ।      संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको छ ।      सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विसं २०८३ भदौसम्म नलिने जनाएको छ ।      उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्य योजना बनाइएको छ । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरका लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।        गत साउन १८ गते प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको थियो ।  उक्त छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गर्नुभएको थियो । उहाँले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिनुभएको थियो ।      निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रुपमा लिन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थियो ।      यसैबीच, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायु सेवा सञ्चालकहरुले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गर्नुभयो ।      प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिनुभएको थियो । यस क्षेत्रमा देखिएका समस्या समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गर्नुभएको थियो । उहाँले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो राख्नुभएको थियो ।       युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानलाई ‘सेफ्टी’ सूचीमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गर्नुभएको थियो ।      नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले थाई एयर एसियालाई थाइल्यान्डबाट नेपाल उडान गर्न अनुमति दिएको छ । क्यानले थाई एयर एसियालाई सातामा चार उडान भैरहवाबाट र तीन उडान काठमाडौँबाट गर्ने स्वीकृति दिएको हो । उक्त एयरलाइन्सले आगामी असोज ४ गतेदेखि उडान गर्नेगरी अनुमति लिएको जनाइएको छ ।       कुवेतको जाजिरा एयरले पनि आगामी असोज ९ गतेदेखि गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्नेगरी क्यानसमक्ष कागजात पेस गरेको विमानस्थलले जनाएको छ । उक्त एयरलाइन्सले सातामा तीन उडान गर्नेगरी अनुमति मागेको छ । एयरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । भैरहवामा केही समय अन्तर्राष्ट्रिय उडान भए पनि पोखरा विमानस्थलमा चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले   रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम्  रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।       राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।       राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गर्नुभएको थियो । 

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आज  बिहानीका करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग व्यतित गर्नुभएको छ ।  प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले  कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताए ।  प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले दुुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीको प्रगति, चाहना र मागबारे आफू जानकार रहेको बताउनुभयो ।  उहाँले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु तीन लाख दिने निर्णय गरेको जानकारी गराउनुभयो । खेलाडीहरुले  त्यसका लागि प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका थिए । भलिबल खेलको विकासका लागि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गर्नुभयो ।  “सरकारको ढुकुुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने काम गर्नेछौँ । आगामी खेलमा जित्छौँ, जुन तपाईंहरुको मनोबल छ, त्यो साकार होस्”, उहाँले भन्नुुभयो, “हामीले खेल खेल्ने जित्नकै लागि हो, त्यसकारण जित्छु भन्ने आशा बोकेर लाग्नुुस् । सफलता पक्कै मिल्नेछ ।’’ प्रधानमन्त्री ओलीले गत महिना रुसी महिला भलिबल खेलाडीहरुले आफूसँगकोे भेटमा नेपाली टोलीको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टोलीको सम्भावना लुकेको छ, भन्नुभयो ।

बाँके:    बाँकेस्थित नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रङ्गशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो ।  राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो । निरन्तरको वर्षासँगै  ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि स्थानीयवासीले उक्त ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरमाथि प्रश्न उठाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गर्नुभयो ।   “निर्माण सम्पन्न भएको एक महिनामै ट्रयाक उप्किनु भनेको एकदमै कम गुणस्तरको सामान प्रयोग भएको भन्ने बुझ्नुपर्दछ”, उहाँले भन्नुभयो । ठेकेदार कम्पनीले उक्त ट्रयाक राखेपलाई हस्तान्तरण गर्न बाँकी छ ।  ‘सेन्थेटिक ट्रयाक’ निर्माणका क्रममा राखेपले केन्द्रबाटै इञ्जिनियर तथा कर्मचारी टोली खटाएको थियो । लुम्बिनी प्रदेश र जिल्लास्थित खेलकुदका पदाधिकारीका अनुसार निर्माण गर्ने छुट्टै अनुगमन समिति नहुँदा ठेकेदार कम्पनीले मनपरी काम गर्दै आएको छ ।  राष्ट्रिय खेलकुद परिषद, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख महेश चन्दले सेन्थेटिक ट्रयाक निर्माणका क्रममा खटिएका प्राविधिक टोली काठमाडौँमा रहेको र आफु यस विषयमा अनविज्ञ रहेको बताउनुभयो ।  “कामको प्राविधिक भाग हेर्ने निकाय काठमाडौँमा हुनुहुन्छ । हामीले यहाँ हेर्दा ठेकेदारले काम गरेकै देखिन्थ्यो । कहाँनेर के कुरा नमिलेर ट्रयाक उप्कियो, हामी पनि अनविज्ञ छौँ”, उहाँले भन्नुभयो, “यो खेलप्रेमीका लागि मात्र नभई राखेप लजिज्त हुनुपर्ने विषय बन्न पुग्यो ।” ट्रयाक उप्किएको विषयमा राखेप केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो विषयमा राखेपलाई जानकारी गराई सकेको छु । माथिबाट विज्ञ टोली आएर छानविन गरेपछि वास्तविक पत्ता लाग्ला ।”    जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले खेल क्षेत्रको विकासका लागि राखेप जिम्मेवार नभएकै कारण संरचना नबन्दै भत्कने गरेको बताउनुभयो । “एक महिनामै ‘सेन्थेटिक ट्रयाक’ उप्कनुले राखेपको गैरजिम्मेवारीपन प्रष्ट दखिएको छ” उहाँले भन्नुभयो, “करोडाँैको ठेक्कामा गुणस्तरलाई मध्यनजर गर्न आवश्यक थियो । गुणस्तरमा ध्यान नदिएकै कारण आज नेपालगञ्ज रङ्गशालाको यो दुर्दशा हुन पुगेको हो ।”   राखेपले सन् २०२३ मार्च २३ मा उक्त ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न रु नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ मा ठेक्का सम्झौता गरेको थियो । सो कम्पनीले सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको हो । 

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ ।  मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा दु्रत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।  “नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिदैन”, उहाँले भन्नुभयो ।  उहाँले मङ्कीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताउनभयो । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो ।  उहाँका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ ।  मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालिन् घोषणा गरेको छ ।  सर्ने तरिका मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, ¥यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।  लक्षण मङ्कीपक्स सङ्क्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।  मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मङ्कीपक्स सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ । 

सुर्खेत:    जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।  उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो ।  इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताउनुभयो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै  छ । 

गण्डकी:    “तुल, ब्यानर र झण्डाले गाउँ नै राताम्मे थियो, तत्कालीन जनमुक्ति सेनाले पहरा दिएको थियो”, शिक्षक गेहेन्द्र गुरुङले विगत सम्झँदै भन्नुभयो, “सिक्लेस गाउँमा माओवादी शीर्षनेता शिविरमा बसेका थिए ।”  यो विसं २०६३ जेठको अन्तिम साताको कुरा हो । कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को केन्द्रीय प्रशिक्षण चलिरहेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायत उच्च तहका नेताहरु प्रशिक्षणमा सहभागी थिए । “अध्यक्ष दाहाललगायत नेताहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भवनमा बस्नुभएको थियो, अन्य नेता, कार्यकतासहित समाजघरमा बाँडिएर बसेका थिए”, शिक्षक गुरुङले भन्नुभयो ।  माओवादी र तत्कालीन सात राजनीतिक दलबीच विसं २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीपछि शान्ति प्रक्रियाको जग बसेको ठानिए पनि दुईपटकसम्म भएका शान्तिवार्ता असफल भएका थिए । तथापि १२ बुँदे समझदारीलाई निष्कर्षमा पुर्याउन माओवादी र सात राजनीतिक दलका नेताहरू प्रतिबद्ध थिए । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीसँगको वार्तालाई सघन रूपमा अगाडि बढाइरहेको थियो । सोही सिलसिलाको एउटा महत्त्वपूर्ण कडीका रूपमा लिने गरिन्छ सिक्लेस वार्तालाई । अध्यक्ष दाहाल भूमिगत जीवनबाट पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो ।  हेलिकप्टर लिएर सिक्लेस पुग्नुभएका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासहितको सरकारी वार्ता टोली र माओवादी अध्यक्ष दाहालसहितका नेताबीच पर्यटकीय गाउँ सिक्लेसमा विसं २०६३ जेठ २८ मा भेटवार्ता भएको थियो ।  अध्यक्ष दाहाल र नेता भट्टराई त्यसको दुई दिनअघि नै सिक्लेस पुग्नुभएको थियो । जेठ २८ को सिक्लेस वार्ता नै दशवर्षे द्वन्द्वको बैठान र शान्तिको प्रस्थानबिन्दुका रूपमा चिनिन पुग्यो । सिक्लेस वार्ताको सफलतापछि माओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराई विसं २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक हुनुभएको थियो ।  सोही दिन बालुवाटरमा माओवादी र सात राजनीतिक दलबीच भएको आठ बुँदे सहमतिका आधारमा विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । विस्तृत शान्ति सम्झौतापछि संविधानसभा हुँदै मुलुक लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । शान्ति सम्झौतामार्फत द्वन्द्वलाई शान्तिमा रुपान्तरण गरेको माओवादी मूलधारको राजनीतिमा आएको पनि १८ वर्ष बितिसकेको छ ।  बालुवाटारमा पहिलोपटक सार्वजनिक हुनुपूर्व तत्कालीन गृहमन्त्री सिटौलासँग अध्यक्ष दाहाल र नेता भट्टराईबीच सिक्लेसमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सभाकक्षमा भेटवार्ता भएको थियो ।  त्यो बेला जनमुक्ति सेनाबाट नेताहरूको सुरक्षार्थ सिक्लेसमै खटिनुभएका नेकपा (माओवादी केन्द्र) कास्कीका इञ्चार्ज दीपक कोइरालाले वार्ता सफल भएपछि विसं २०६३ असार २ गते अध्यक्ष दाहाल र नेता भट्टराई बालुवाटारमा सार्वजनिक भएको बताउनुभयो ।  “वार्तामा समझदारी जुटेपछि गृहमन्त्री सिटौला काठमाडौँ फर्किनुभयो, पुन असार २ गते उहाँ आएपछि अध्यक्ष दाहालसहितका नेताहरु पोखराको लामाचौरबाट हेलिकप्टरमा काठमाडौँ जानुभएको हो”, उहाँले भन्नुभयो । इञ्जार्च कोइरालाले अध्यक्ष दाहालसहितका नेताहरू सिक्लेसबाट हिँडेरै पोखरा महानगरपालिका–१६ मा पर्ने लामाचौरमा आएको सुनाउनुभयो । जनमुक्ति सेनाको सुरक्षा घेराबीच सिक्लेस वार्ता भएको उहाँले बताउनुभयो । पार्टी प्रशिक्षण र सांस्कृतिक कार्यक्रमको सुरक्षार्थ जनमुक्ति सेना सिक्लेसमा खटिएका थिए । माओवादी अध्यक्ष दाहालले सिक्लेसमा सार्वजनिक मञ्चबाट पहिलोपटक भाषण गरेको इञ्चार्ज कोइरालाले बताउनुभयो ।  “शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा सिक्लेस बिर्सन नहुने ठाउँ हो, त्यहाँ भएको वार्ताले विस्तृत शान्ति सम्झौतासम्मको बाटो तय गरेको थियो”, इञ्चार्ज कोइरालाले भन्नुभयो, “राजनीतिक दलहरूबीचको बृहत् सहमतिका साथ टिआरसी विधेयक पारित भएकाले अब शान्ति प्रक्रियाका बाँकी कामले छिट्टै निकास पाउनेछ र देश दिगो शान्ति र स्थिरतामार्फ अगाडि बढ्नेछ ।”  बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन ९टिआरसी० विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएसँगै शान्ति प्रक्रिया निष्कर्षतिर अगाडि बढेको छ ।  तत्कालीन सरकार र नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय निरुपण टुङ्गोमा पुग्ने अवस्था बनेको हो । मादी गाउँपालिका–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सिक्लेसबाट सुरु भएको शान्ति स्थापनाको पहलले अन्तिम रूप लिन लागेकामा खुसी व्यक्त गर्नुभयो । “शान्ति वार्ता हुँदा म भर्खर ७ कक्षामा पढ्दै थिएँ, माओवादीले विद्यार्थीलाई पनि कार्यक्रममा लैजान्थे, एक किसिमको त्रास त थियो, तर सिक्लेसमा  ततकालीन द्वन्द्वका समयमा कुनै अप्रिय घटना भने भएन”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण परिघटनाको साक्षी सिक्लेस गाउँ र यहाँका बासिन्दा पनि हुन् ।” जोखिमका बीच पनि गाउँलेले माओवादीका नेता, कार्यकर्तालाई आतिथ्यता दिएर महत्त्वपूर्ण योगदान गरेको उहाँको भनाइ छ ।   “माओवादी कार्यकर्ताले स्थानीय बासिन्दाको काममा पनि सघाउने गर्थे, कोदो रोप्दा, रोपाइँमा साथ लागेर काम गर्थे”, वडाध्यक्ष गुरुङले भन्नुभयो । सिक्लेस भएको वार्ताको स्मरण र शान्ति प्रक्रियाको प्रारम्भस्थलको प्रतीकका रूपमा वार्ता भएकै ठाउँमा शान्ति स्मारकसमेत निर्माण गरिएको उहाँले बताउनुभयो ।  मादी गाउँपालिकाको आर्थिक सहयोग र जनश्रमदान जुटाएर ‘एक्याप’को कार्यालय परिसरमा निर्माण गरिएको शान्ति स्मारकको विसं २०७५ मङ्सिर २४ गते माओवादी अध्यक्ष दाहालले नै अनावरण गर्नुभएको थियो । तत्कालीन गृहमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक सिटौला पनि शान्ति स्मारकको अनावरणमा पुग्नुभएको थियो । शान्ति स्मारकछेउ गुरुङ संस्कृति झल्काउने गोलघर पनि निर्माण गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । उक्त गोलघरलाई शान्ति सङ्ग्रहालयका रूपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । सिक्लेस पुग्ने पर्यटकका लागि शान्ति स्मारकले पनि नयाँ आकर्षण थपेको उहाँले बताउनुभयो ।  स्मारक अनावरणका क्रममा सिक्लेस आउँदा माओवादी अध्यक्ष दाहालले सिक्लेसको विकासका लागि पहल लिने प्रतिबद्धता जनाए पनि अपेक्षित उपलब्धि हासिल नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले त्यो बेला सिक्लेसलाई शान्ति प्रक्रियासँग जोडिएको ऐतिहासिक महत्वको स्थलका रूपमा विकास गरिने बताउनुभएको थियो । शान्ति प्रक्रियालाई सम्झाउने सिक्लेस पर्यटकीय दृष्टिले उत्तिकै महत्त्वपूर्ण छ । हिउँचुलीको काखमा झुरुप्प परेको बस्तीले सिक्लेसलाई मनप्रिय बनाएको छ । वरिपरि हरिया वनपाखा र खर्क त्यहाँका आकर्षण हुन् । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादीखोला । सिक्लेसको भूगोल आफैँमा चित्रमय लाग्छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यो गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिको सङ्गम हो । ग्रामीण पर्यटनको अनुपम धरोहर हो । पर्यटकीय राजधानी पोखराबाट ४१ किमी दूरीमा पर्ने सिक्लेस पदयात्राका लागि बढी लोकप्रिय छ । पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेकसम्म पुग्ने गरेका छन् । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । वडाध्यक्ष गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताउनुभयो ।  उहाँका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन् । सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस उद्यान, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दूरीको पदयात्रा तय गर्छन् । पोखराबाट दुई÷अढाइ घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बन्दै गएको छ ।