काठमाडौं: गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तन र वातावरणीय संरचनाका कारण नेपाल प्राकृतिक एवं मानव सिर्जित विपद्को उच्च जोखिममा रहेकाले यसबाट बच्न सामूहिक प्रयासको खाँचो रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रकोप पूर्वतयारी सञ्जाल, नेपाल ९डिपिनेट० द्वारा आज यहाँ आयोजित तेस्रो विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन गर्दै मन्त्री लेखकले जलवायु परिवर्तनले निम्ताउने प्राकृतिक समस्याहरूको जोखिम थप बढाउँदै लगेकाले विपद् जोखिम न्यूनीकरण हाम्रो विकल्प नभई आवश्यकता हो भन्नुभयो । मन्त्री लेखकले अनुसन्धान, नवीनता र प्रविधिको प्रयोग गरी विपद् व्यवपस्थापनका प्रयासहरूलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै पूर्वसूचना प्रणाली, भूगर्भीय विश्लेषण, कृतिम बौद्धिकताको प्रयोग र डिजिटल नक्साङ्कनले जोखिमको सही आँकलन गरी सर्तकताका उपायहरू अपनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले तीनै तहका सरकारमा रहेका संरचनाहरूलाई सबल बनाउँदै विशेषगरी स्थानीय समुदायको क्षमता विकास गर्न सकिएमा मात्रै विपद् जोखिम न्यूनीकरणका प्रयास सार्थक हुने भन्दै सोहीअनुसार नीति, योजनाहरू परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो । विपद् व्यवस्थापनसँग सम्बन्धित विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नसके जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्दै मन्त्री लेखकले जोखिमका क्षेत्रहरू पहिचान तथा निगरानी, विपद्सम्बन्धी जनचेतना अभिवृद्धि, नागरिकलाई विपद् प्रतिरोधी जीवनशैलीमा सुधार गर्न सूचना प्रवाहमा जोड दिनुपर्ने दिनुभयो । गृहमन्त्री लेखकले विपद् जोखिमका क्षेत्रसँग सम्बन्धित क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूसँग बसेर यस क्षेत्रमा भएका प्रयासहरूको समीक्षा र आगामी दिनमा गर्नुपर्ने पहलहरूका बारेमा अन्तरक्रिया गर्न आफूले प्रत्येक महिना ‘गृहमन्त्रीसँग विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रममा गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव डा भीष्मप्रसाद भुसालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता र कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने विभिन्न उपायहरूका बारेमा प्रकाश पार्नुभएको थियो । डिपिनेट नेपालका अध्यक्ष डा राजु थापाले विपद् व्यवस्थापनमा नेपालले हासिल गरेका अनुभव, सिकाइहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा राख्न सरोकार भएका निकायबीच छलफल गरी साझा धारणा तयार गर्ने उद्देश्यले हरेक वर्ष यस किसिमका सम्मेलनको आयोजना गरिँदै आइएको बताउनुभयो । डिपिनेट नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर थापाले विपद् जोखिम न्यूनीकरणसम्बन्धी संविधान, नीति, कानुनहरूमा विभिन्न व्यवस्था गरिए पनि तिनको कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको उल्लेख गर्नुभयो ।डिपिनेट नेपालका महासचिव सुरज गौतमले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको औचित्य र अपेक्षाका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको प्राविधिक सत्रमा वरिष्ठ भूगर्भविद् प्रा विद्यानाथ उप्रेतीले भौगोलिक हिसाबले मात्र नभई विकास निर्माणका नाममा जथाभावी ढङ्गबाट गरिएका कार्यले पनि विपद्का घटनालाई बढाएको बताउँदै यस क्षेत्रमा भएका असल अभ्यासहरूलाई अनुशरण गर्दै आगामी दिनमा विपद्जन्य घटना न्यूनीकरण गर्न सामूहिक पहल हुनुपर्नेमा जोड दिनुभयो । जल तथा मौसम वित्रान विभागका वरिष्ठ मौसमविद् शान्ति कडेलले सन् १९८० पछि यस वर्ष देशमा भारी वर्षा भएको र त्यसबाट ठूलो जनधनको क्षति भएको विवरण प्रस्तुत गर्नुभयो । खानी तथा भूगर्भ विभागका शिव बाँस्कोटाले प्राकृतिक र मानव सिर्जित कारण विपद्बाट वर्सेनि जनधनको क्षति हुने क्रम बढ्दै गएकाले यसतर्फ सामूहिक पहलको आवश्यकता औँल्याउनुभयो । चट्याङ विज्ञ डा श्रीराम शर्माले सन् २०२० सम्म चट्याङ प्रमुख प्राकृति विपद्को रूपमा रहेको उल्लेख गर्दै यसमा पूर्वसूचना प्रणालीको अभ्यास सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको सामना गर्न जुट्नुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रकृतिलाई स्वच्छ राख्न र दिगो संरक्षणका लागि एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उल्लेख गर्दै उहाँले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालयसँगै अरु निकायले पनि जागरण फैलाउनुपर्ने बताउनुभयो ।मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्ने उहाँको भनाइ थियो । “हामीले विश्व तापमान वृद्धिका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ, तर त्यसको मार खेप्न बाध्य भएका छौँ । नबिराएको काममा सजाय भोग्नुपरेको छ । नेपाल प्रभावित हुनु हाम्रो मात्रै होइन, यो विश्वव्यापी मुद्दा हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिमालय जलवायुको मुद्दा हिमालको मात्रै होइन, हिमालसँग विश्वको तापमान प्रणाली जोडिएको छ । हावालाई चिसो पार्ने क्षमता हिमालसँग छ । यस क्षमताको हस हुनु जलवायु चुनौती हो । त्यसकारण हामीले हिमालदेखि समुद्रसम्म रक्षाको अवधारणामा जानुपर्छ ।” नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा पनि सशक्तरुपमा राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले २४ प्रतिशत भू–भाग संरक्षित गरेको उल्लेख गर्नुभयो । कोप–२९ को समिक्षासहित अहिलेदेखि नै कोप–३० को तयारी थाल्न उहाँले आग्रह गर्नुभयो । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारुप महासन्धीका पक्ष राष्ट्रको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो । सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायुु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा समीक्षा गरिएको हो । उक्त सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सङ्घीय सांसद, संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि, नीति निर्माता, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताउनुभएको छ । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण आजको आवश्कता भएको बताउनुभयो । “मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक दृष्टिकोणले विविधतायुक्त छ, यहाँको भू–भाग, जलवायु र वातावरणीय संरचनाले हाम्रो देशमा प्राकृतिक र मानव सिर्जित विपद्को सम्भावना धेरै छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी छ ।” सङ्घदेखि स्थानीय तहका वडासम्म विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।मुलुक विपद् जोखिमको उच्च जोखिममा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्ने बतानुभयो । “देशभरका बहुक्षेत्रीय र बहुआयामिक साझेदारहरूलाई एकै ठाउँमा ल्याएर विपद्का चुनौतीहरूको विश्लेषण र समाधानका रणनीति तयार गर्ने यो सम्मेलन आफैँमा महत्वपूर्ण रहनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक र मानवीय कारणले सिर्जित विपद् जोखिमका लागि संसारकै उच्च संवेदनशील मुलुकमध्ये एक हो । हिमाल, पहाड र तराईजस्ता विविध भूगोलले भरिएको छ, जसले हामीलाई प्राकृतिक सम्पदामा धनी बनाए पनि जोखिमको दृष्टिकोणले संवेदनशील बनाएको इतिहास छ ।” जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएका बाढी, पहिरो, चट्याङ र अन्य जलवायुजन्य विपद् झन् जटिल हुँदै गएको गृहमन्त्री लेखकले बताउनुभयो । “विपद्ले हामीलाई जलवायु परिवर्तनका चुनौतीप्रति थप संवेदनशील बनाएको छ”, उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि हाम्रो दृष्टिकोण बहुआयामिक र वैज्ञानिक हुनु आवश्यक छ ।”गृहमन्त्री लेखकले समुदायमा आधारित दृष्टिकोण, विपद् जोखिम न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । “स्थानीय तहमा विपद् व्यवस्थापन योजना निर्माण, क्षमता अभिवृद्धि र जनचेतना अभियानलाई प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो, “प्रकोप व्यवस्थापनसम्बन्धी नीति तथा ऐनलाई बलियो बनाउनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक छ ।” प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सकिने प्रविधि र सूचना प्रणालीलाई सुदृढ गर्दै विपद्बाट हुने क्षति न्यून गर्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो । नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नीति निर्माण र संरचनात्मक सुधारमा उल्लेखनीय प्रगति गरेको उहाँले जानकारी दिनुभयो ।
चितवन: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरुपमा स्वतन्त्र रुपमा अघि बढेको बताउनुभयो । “कानुन सबैका लागि समान हो । कानुनअनुरुप हुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्मा रहेका सबै दलसँग परामर्श भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन गर्न निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एउटा पार्टीले गरेर मात्र हुँदैन । यो काम संसद्मा रहेका सबै दलसँगको परामर्शमा दुई तिहाइ बहुमतबाट गर्नुपर्ने हुन्छ ।” अहिलेको सरकारले अघिल्ला सरकारहरुले गरेका कामलाई विशेष ध्यान दिँदै व्यवस्थित गरेर अघि बढेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा जोड दिँदै उहाँले कांग्रेस र एमालेबीचको समझदारीअनुसार सरकार अघि बढेको बताउनुभयो । फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले मेला महोत्सवबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले गरेका यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
चितवन: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताउनुभएको छ । यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन । बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन् ।” आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गर्नुभयो । फरक प्रसङ्गमा उहाँले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताउनुभयो । सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो ।
चितवन: तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो । यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ । महोत्सवमा मह बिक्रीसँगै महको फाइदाका बारेमा परामर्शसमेत दिँदै आइएको छ । मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन् । उद्योग वाणिज्य सङ्घ खैरहनीका अध्यक्ष कुमार खनालले खैरहनीलगायत पूर्वी चितवन महको प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले यस पटकको महोत्सवमा महलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “मह स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ, यसको उपभोग बढाउन, व्यवसाय प्रवर्द्धन गर्न तेस्रो खैरहनी महोत्सवमा विशेष प्राथमिकता दिएका छौँ ।” महोत्सव आयोजक समितिका संयोजकसमेत रहनुभएका खनालले चितवनको खैरहनी, राप्ती र कालिका नगरपालिकामा पर्याप्तमात्रामा मौरीपालन गरिँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार खैरहनीमा मौरी पकेट कार्यक्रम पनि लागू छ । यसैबीच खैरहनी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज अस्मिता अधिकारीसहित राष्ट्रिय तथा स्थानीय कलाकारले साङ्गितिक प्रस्तुती दिनुहुने मेला सांस्कृतिक समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिनुभयो । पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।
सर्लाही: सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।
इलाम: जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् । पछिल्लो समय आफ्नो मौलिक संस्कृति लोप हुने अवस्था सृजना भएको भन्दै लिम्बू समुदायका युवापुस्ता कला, संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । याक्थुङ युवा मञ्चले १ सय जना लिम्बू युवालाई आफ्नो समुदायको मौलिक च्याब्रुङ नाच (केःलाङ) सिकाइरहेको छ । लिम्बू जातिको कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाममा १५ दिने च्याब्रुङ नाच प्रशिक्षण पनि सञ्चालन गरेको छ । लिम्बू समुदायको कला, संस्कृति र परम्परा लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि युवा पुस्तालाई जागरुक गराउन च्याब्रुङ नाच प्रशिक्षण आयोजना गरिएको याक्थुङ युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताउनुभयो । “आफ्नो संस्कृतिका बारेमा युवा पुस्तालाई सचेत गराएर मात्र संस्कृति जोगाउन सकिन्छ”, अध्यक्ष योङहाङले रासससँग भन्नुभयो, “हामी त्यही अभियानमा छौँ ।” याक्थुङ युवा मञ्चका सहसचिव एवं प्रशिक्षण संयोजक उमेश सेलिङ लिम्बूले इलाममा लिम्बू समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । “जिल्लामा हुने विभिन्न सभा–सम्मेलनमा च्याब्रुङ नृत्यका लागि अनुरोध हुन थालेको छ”, उहाँले भन्नुभयो, “कला र संस्कृतिको संरक्षण र विकासमा लाग्दा आम्दानी पनि हुने भएकाले त्यसतर्फ युवा पुस्ता आकर्षित भएका छन् ।” च्याब्रुङ सिक्न माङसेबुङ गाउँपालिका–२ बाट इलाम आउनुभएकी सावित्रा लिम्बूले “हाम्रा अग्रजले बचाएको मौलिक कला र संस्कृति हाम्रो पहिचान हो”, उहाँले भन्नुभयो, “यो पहिचानलाई बचाउन हाम्रो पुस्ता लाग्नुपर्छ ।” पाँचथरको फिदिम नगरपालिबाट च्याब्रुङ सिक्न आउनुभएका अर्का प्रशिक्षार्थी नोगेन लिम्बूले मौलिक संस्कृति र परम्पराप्रति युवा पुस्ताको चासो कम हुँदै गएकाले त्यसप्रति उनीहरुलाई आकर्षित गर्न प्रशिक्षणमा सहभागी भएको बताउनुभयो । च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रमले आदिवासी लिम्बू समुदायको कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नयाँ पुस्तामा पुस्तान्तरणमा सहयोग पुग्ने किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष पदम ताम्लिङले बताउनुभयो ।