बागलुङ: ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल । टोलमा परम्परागत घर नै रहेका छन् । तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका । साथै टोलमा केही गर्भवती पनि रहेका छन् । ढोरपाटन–१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’ । आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ । यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्नुहुन्छ । उमेरले हजुरआमा पुस्ताकी उहाँ आमा पुस्ताभन्दा कम हुनुहुन्न । यो समूह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरूको सुरक्षा र बालबालिका तथा आमाको पोषणका विषयमा छलफल गर्न बनेको हो । त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमा जम्मा भएर स्वास्थ्यका विषयमा छलफल गर्छन् । समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन् । स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देश सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन् । पोषणयुक्त खाना खान्छन् । तिनै खाना बनाउने अभ्यास गर्छन् र महिनाभरिको तालिका बनाउँछन् ।मिलीजुली स्वास्थ्य आमा समूहकी सदस्यसचिव चन्द्रकलाले हरेक महिना आमा र शिशुका लागि स्थानीय उत्पादनबाट बनेको पोषणयुक्त खाना निःशुल्क खुवाउने गर्नुभएको छ । “म आफैले कहिले फर्सीको हलुवा त कहिले चना अण्डा बनाउँछु, कोदो, फापर, मकै भटमास गाउँमै फलेका पोषणयुक्त उत्पादनबाट खाना तयार गरेर महिनामा एक दिन निःशुल्क सबैलाई खुवाउँछु”, उहाँ भन्नुहुन्छ्, “आमाले शिशुलाई खुवाउने विषयमा सिकुन् भन्ने लाग्छ, उनीहरू सबैले घरमा त्यसैगरी खुवाउने गरेका छन् ।” समूहका आमामध्ये ३५ जनाका स–साना बालबालिका छन् । हरेक महिना एक–दुईजना बाहेक सबै समूहमा आउँछन् र चन्द्रकलाले तयार गरेको खाना खान्छन् । “यी सबै मेरा छोराछोरी हुन्, उनीहरू कुपोषणबाट जोगिए हाम्रो समज बलियो हुन्छ”, उहाँले भन्नुभयो, “धेरथोर खर्च त हुन्छ तर म अन्य व्यवसायबाट त्यसको व्यवस्थापन गर्छु ।” चन्द्रकलाले दिने पोषणयुक्त खानाले आफूहरूलाई बालबालिकाका लागि खुवाउने पोषणयुक्त खाना बनाउन सहज भएको स्थानीय सृजना कुँवरले बताउनुभयो । ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उहाँलाई प्रारम्भिक तालिम दिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका अनुसार उक्त टोलमा कोही पनि बालबालिका कुपोषित छैनन् । आमा समूहमा हुने छलफल, पूर्वतयारी र सक्रियताले आमा तथा बच्चाको स्वास्थ्य रक्षामा सहयोग पुगेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
ताप्लेजुङ: जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन् । सिदिङवा गाउँपालिका–४ साब्लाखुका जुमप्रकाश गौतम अहिले ९० वर्ष पुग्नुभयो । गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड उहाँले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्नुहुन्थ्यो । अहिले उहाँका सहकर्मी कालिगड सबैको निधन भइसक्यो । गाउँमा झिँगटीको छाना लगनाउने उहाँ मात्र हुनुहुन्छ । तर उहाँ अहिले अन्यको साहारामा बाँच्नुपरेको छ । गाउँमा उहाँले नै बनाएको झिँगटीको घरसमेत चुइन थालेका छन् । धेरैले त भत्काएर अर्को घर बनाएका छन् ।सोही गाउँका मदन बरालको बुबाले २००४ साल अर्थात् ७७ वर्ष अगाडि झिँगटी छानो भएको घर निर्माण गर्नुभएको थियो । लामो समयपछि छानोबाट पानी चुइन थाल्यो । घरमा प्रयोग भएका काठ मक्किएर काम नलाग्ने हुन थाल्यो । तर मदनको बुबाले बनाएको घर भत्काउन मनले मानेन । संरक्षण गर्न झिँगटीको छानोमाथि त्रिपालले छोपेर राख्नुभयो । त्यो दीर्घकालीनका लागि नभएपछि बराल झिँगटीको छाना लगाउने कालिगड खोजी कार्यमा लाग्नुभयो । अन्तिममा कालिगड नपाएपछि घर भत्काउनुबाहेक अन्य विकल्प उहाँसँग रहेन । आफ्नो पुस्ताले पसिना बगाएर बनाएको घर भत्काउन मन नभए पनि घर भत्काएर अहिले अर्कै नयाँ घर बनाइएको छ । विसं २००३ अगाडि ताप्लेजुङमा प्रायः झिँगटीको घर बनेको स्थानीयको भनाइ छ ।पछिल्लो समय कालिगड अभावकै कारण झिँगटीका घर लोप हुँदै गएको छ । बरालका अनुसार मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल–ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई सङ्कटमा पार्दै लगेको छ । सिदिङवा गाउँपालिका–४ का दिलकुमार ताम्लिङ काठमाडौँ बसाइँ सर्नुभयो । तर उहाँका पुर्खाले करिब ८१ वर्ष पहिले बनाएको झिँगटीको घर भने केशव पन्दाकले रेखदेख गर्दै आउनुभएको छ । अहिले यस गाउँमा झिँगटीको घर भनेकै उहाँकै घरमात्र बाँकी छ । आठराई त्रिवेणी गाउँपालिकाका विभिन्न गाउँमा झिँगटीको छाना र मल्लकालीन शैलीका कलात्मक झिँगटी घर प्रशस्त देख्न पाइन्थ्यो । त्यस समयका घरमा बनेका काठका बुट्टा, ढोका, झ्यालमा कुँदिएका कलाले नेपालको प्राचीन वास्तुकलाको झल्को दिने घर देख्न पाइन्थ्यो । यस्ता संरचनालाई मात्र होइन, आफ्ना पुर्खाको सम्पत्ति र गौरवको रूपमा लिने गर्दथ्यो । यो वास्तुकला शैलीको संरक्षण गरिनुपर्नेमा अधिकांश स्थानीय सहमत भए पनि बदलिँदो समयका कारण उहाँहरूले झिँगटीको छाना हटाएर अन्य संरचना प्रयोग गर्न थालेको आठराई त्रिवेणी गाउँपालिका–५ लक्षुमन राईले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा गाउँमा झिँगटी छानाका ठाउँमा आरसिसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ । स्थानीयवासी घरलाई आधुनिक बनाउन र दीर्घकालीन मजबुत बनाउने उद्देश्यले परम्परागत शैलीलाई विस्थापित गरिरहेका छन् । यो परिवर्तनले परम्परागत कला लोप गराइरहेको छ, ताप्लेजुङको मौलिकतालाई पनि खतरा पु¥याइरहेको छ ।ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिता बोकेका घर लोप हुँदै गएका छन् । झिँगटी घर मर्मतको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस प्रकारको कलाको विस्तार छैन । कला, सीप र स्थानीय परम्परा नै लोप हँुदै गएको छ । झिँगटी घरले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए । स्थानीय बासिन्दाले पुराना झिँगटी घरको संरक्षण र संवद्र्धन आवश्यक देखेका छन् । तर संरक्षणका लागि आवश्यक जनशक्ति अभाव तथा सहयोग नपाउँदा धेरै पुराना घर विस्तारै हराउँदै गएका छन् ।
काठमाडौं: सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो । आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको मन्त्रालयले सूचनामार्फत स्मरण गरिएको छ । पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ । यस्तै, रोजगारदाताले राहदानी खोसिदिने, १२/१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने÷गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ । रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यान्मा ल्याई बन्दी बनाएर काम गर्न लगाएको पाइएको तथा सामाजिक सञ्जालहरूमार्फत विभिन्न स्थानका एजेन्टद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जालमा प्रचार गरिएका नक्कली रोजगारीको प्रलोभनमा नपर्नसमेत आग्रह गरिएको छ । “वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी र रोजगारदाताको वेबसाइट जाँच गर्नुहुन अनुरोध गरिन्छ”, सूचनामा भनिएको छ ।
काठमाडौं: सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ । कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ । विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यदललाई सशस्त्र प्रहरीद्वारा सञ्चालित अस्पतालका हकमा अध्ययन गर्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । कार्यदलले विज्ञ तथा सरोकार भएका निकायसँग छलफल गरेर कार्यविधि तयार पार्नेछ । कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका अलावा सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारी सदस्य छन् । आमनागरिकलाई सरकारी स्वामित्वका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउनका लागि प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
हुम्ला: हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभयो । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उहाँले बताउनुभयो । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गर्नुभएको छ ।
गण्डकी: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ । प्रतिवादी लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा आज जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको उहाँले बताउनुभयो । “आज एक जना प्रतिवादीको मात्र बयान लिइएको छ, अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुन्छ”, सूचना अधिकारी अधिकारीले भन्नुभयो, “सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनचेकको बहस र आदेश हुन्छ ।” यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उहाँले बताउनुभयो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिनुभयो । सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसार बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटकर्वमा ल्याइ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।
काठमाडौं: मध्य अफ्रिकी मुलुकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । ‘लाइट इनफेन्ट्री बटालिएन’अन्तर्गत तैनाथ महावीर गण (रेञ्जर)को दोस्रो डफ्फालाई बदली गर्नका लागि युद्धभैरव गणको तेस्रो डफ्फाका दुई सय २५ शान्ति सैनिकको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व सेनानी हुपेन्द्रलाल रेग्मीले गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत दुई सय २५ शान्ति सैनिक स्वदेश फर्केका छन् । उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रज्ज्वल थापाले गर्नुभएको थियो । हाल सो मिसनमा एक हजार दुई सय ४४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।
सिरहा: सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले झण्डै डेढ महिनापछि अनुसन्धान प्रतिवेदन बुझाएको छ । समितिले गत बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी रवीन्द्रकुमार महतले जानकारी दिनुभयो । सूचना अधिकारी महतका अनुसार अनुसन्धान प्रतिवेदन ९० पृष्ठको रहेको छ । उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बिदामा हुनुहुन्छ । सम्भवत उहाँ बिहीबार कार्यालय आउनुहुन्छ । उहाँ आएपछि जिल्ला सुरक्षा समितिको बैठकमा प्रतिवेदन पेस हुन्छ र प्रतिवेदन सार्वननिक हुन्छ ।” गत कात्तिकमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सूचना बाहिरिएपछि सो सम्बन्धमा सम्बन्धमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा कात्तिक २५ गते पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । छानबिन समितिमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहेका थिए ।कारागारका मूल नाइके र अन्य कैदीले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घट्ना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । त्यस्तै कारागारमा ५ गुणासम्म मूल्यमा लागुऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने जानकारी बाहिरिएको थियो । यस प्रकरणमा कारागार व्यवस्थापन विभागले तत्कालै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा निर्देशन दिएको थियो । त्यसपछि गठन भएको छानबिन समितिलाई सुरुमा अनुसन्धान प्रतिवेदनका लागि १५ दिनको समय दिइएको थियो । तर, समयमै अनुसन्धान तथा छानबिनको काम नसकिएपछि जिल्ला सुरक्षा समितिले समय थप गरेको थियो । कारागारको अवलोकन, विद्यमान अवस्थाको अध्ययन, भौतिक संरचना तथा सुरक्षा व्यवस्थाको अवस्था, प्रशासनिक प्रणालीको अध्ययन, कैदीसँग छलफल तथा अन्तरक्रिया, कैदीसँग सम्बन्धित अभिलेख सङ्कलन, नीति नियम तथा निर्देशिकाको अध्ययन, सरोकारवालासँग अन्तरक्रियालगायतका काम गरी प्रतिवेदन तयार गर्न समय लागेको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी महतले जानकारी दिनुभयो ।
नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका ७ वडा कमिटीको दोस्रो वडा अधिवेशनबाट विष्णु चापागाई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न वडा कमिटीको अधिवेशनले चापागाईको नेतृत्वमा १५ सदस्सीय वडा कमिटी निर्वाचित गरेको हो । उक्त कमिटीको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा कमल गुरुङ , उपसचिवमा खुशीमान आले र लिला थापा मगर चयन भए । यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथिसमेत रहेका पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले सामाजिक न्याय , विकास र समृद्धिको लागि सबै जना एमालेको झण्डा मुनी गोलबन्द हुनुपर्ने बताएका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण इन्चार्ज भरत मान गुरुङ, जिल्ला कमिटी सदस्य नविन गिरी, जिल्ला सदस्य एवं वडा इन्चार्ज प्रदिप गुरुङ , अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, पार्टी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष चुडामणी अधिकारी, एमाले नेता श्याम गुरुङ, पुर्व वडा अध्यक्ष घनश्याम चापागाईं, नेपाली कांग्रेस वडा समिति सचिव परित्याग गरि एमाले प्रवेश गरेका ओम बहादुर गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैबीच कार्यक्रममा नेकपा(एमाले) अन्नपूर्णका युवा नेता सन्तोष गुरुङको विशेष पहलमा नेपाली काँग्रेस क्षत्रीय समिति सदस्य केशवराज दुरा , अन्नपूर्ण –७ वडा इकाई सचिव ओम बहादुर गुरुङ र गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट वडा सदस्य उम्मेदवार होम बहादुर थापाको नेतृत्वमा १३ जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए । कमिटीका कार्यबहाक अध्यक्ष महेश कुलुङ राइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सदस्य राम गुरुङले गर्नुभएको थियो ।