बागलुङ: नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिन भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताउनुभएको छ । सम्पत्ति खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरू समस्यामा पर्ने बताउँदै उहाँले ऋण तिर्दिन भन्न नपाइने बताउनुभयो । “सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर सडकमा आन्दोलन गर्ने अराजकलाई सरकारले ठेगान लगाउन आवश्यक छ”, नेता पौडेलले भन्नुभयो । आज बागलुङ बजारमा सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रहनुभएका पौडेलले एउटा केही बदमासी गर्ने सहकारीका कारण समग्र सहकारीहरू बदनाम भएको बताउनुभयो । सहकारीका ऋणीहरूलाई ऋण तिर्ने कसिलो नीति सरकारले बनाउने उहाँको भनाइ छ ।
काठमाडौं: प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा यहाँ आयोजित ‘पत्रकार भइरहन कति सहज रु’ विषयक अन्तरक्रियामा उहाँले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । “पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन । नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ”, प्रथम राष्ट्रपति डा यादवले भन्नुभयो, “आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ । यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ । तपाइँहरू जहाँ हुनुहुन्छ । व्यावसायिक धर्म नछोड्नुस् ।” पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी चरित्रको संविधान बनेको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सबै क्षेत्रको उत्तिकै दायित्व हुने उल्लेख गर्नुभयो । १ अर्को प्रसङ्गमा प्रथम राष्ट्रपति डा यादवले आज संसारमा प्रजातन्त्रको क्षयीकरण भइरहेको सन्दर्भमा आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहदाँ करिब ८३ वर्षको उमेरमा लोकतन्त्रमाथि खतरा छभन्दा असाध्यै दुःख लाग्ने गरेको सुनाउनुभयो । उहाँले संविधानको सफल कार्यान्वयनका लागि सानातिना गुनासालाई सम्बोधन गरेर सचेतनापूर्वक अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकास गर्नेतर्फ महासङ्घ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । नेता रिजालले सातबुँदे सहमतिको भावनाअनुरूप सरकार सफल रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यथेष्ट सहमतिका साथ देखिएका निराशालाई चिर्दै सबै राजनीतिक दलसँगको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पत्रकारिता व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताको विस्तार मात्र नभई नागरिकमा सचेतना र सकारलाई खबरदारी गर्ने महत्त्वपूर्ण माध्यम रहेको भन्दै यसको महत्त्व र प्रतिष्ठालाई जोगाउन स्वयम् पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्रमा पत्रकारिता समाजनको निरन्तर आन्दोल भएको भन्दै लोकतन्त्रलाई गति दिन आत्माका रूपमा पत्रकारिताले काम गरिरहेको बताउनुभयो ।नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको संरक्षणका साथै श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक मुद्दा प्राथमिकतासाथ उठाउने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय पत्रकारको समाचारसँगको पहुँच सङ्कुचन भइरहेको र त्यसमा सरकार, राजनीतिक दलले सूचना प्रणालीलाई चुस्त र दुरूस्त बनाउनुपर्ने अपरिहार्य भएको उहाँले उल्लेख गर्नुभयो । महासङ्घका पूर्वअध्यक्ष बिपुल पोखरेलले महासङ्घलाई सशक्त बनाउन र लेख्ने पत्रकारको संस्थाका रूपमा विकास गर्न प्रतिष्ठान प्रदेश समितिको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारका धेरै मुद्दा थाती रहेकाले तिनको पैरवी गर्न नयाँ नेतृत्वले सफल हुनुपर्छ भन्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले निर्वाचनपछि महासङ्घ साझा चरित्रको भएको भन्दै थाती रहेका पत्रकारको सदस्यता शुद्धीकरण र पत्रकारितामा देखिएका अविश्वास कम गर्न महासङ्घले पैरी गर्नुपर्ने उल्लेख गर्नुभयो । पत्रकार एवं लेखक मोहन मैनालीले पत्रकारिताको व्यावसायिक धर्म र आचरणलाई जोगाएर पत्रकारिताप्रति नागरिक र सरोकारवालाको भरोसा कायम राख्न पत्रकार क्रियाशिल हुनुपर्ने बताउनुभयो । प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारीले साढे तीन वर्षको कार्यकालमा पेसागत दक्षता र सङ्गठनलाई चुस्त बनाउनाका साथै पत्रकारलाई क्रियाशील बनाउन थोरै भए पनि प्रतिष्ठानले दायित्व निर्वाह गरेको बताउनुभयो । सो अवसरमा महासङ्घका नवनिर्वाचित केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई प्रतिष्ठानका तर्फबाट प्रथम राष्ट्रपति डा यादवले सम्मानपत्र प्रदान गर्नुभयो । साथै प्रतिष्ठानका निर्वाचित कार्यसमित र मतदान अधिकृतलाई प्रसंशापत्रद्वारा सम्मान गरियो ।
धरान: अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुनेभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्ले जानकारी दिनुभयो ।धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छि«न्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने जनाइएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्षले बताउनुभयो । प्रतियोगिता रु ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने रु १ करोड दुई लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताउनुभयो । प्रतियोगितामा उपविजेताले पाउने रु ५ लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहनुभएको अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताउनुभयो ।प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाडौं विजेता र जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएका थिए ।
पाल्पा: इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ । कार्यालयमा यही पुस ३ गतेदेखि राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा थप गरिएको थियो । तर कर्मचारी अभावमा काम गर्न समस्या भएको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको अभाव भए पनि हामीले निकै कष्टका साथ सेवा दिएका छौँ, हालसालै राहदानी तथा परिचयपत्र सेवा थपिएको छ तर हामीसँग जनशक्ति छैन, दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा कार्यालयको कामकाजमा समस्या छ ।” राहदानी सेवाका लागि तीनवटा कम्प्युटर आवश्यक पर्छ तर कार्यालयमा हाल एउटा मात्रै कम्प्युटर छ । कार्यालयमा एक कार्यालय प्रमुख, एक नायब सुब्बा, दुई खरिदार, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटरको स्थायी दरबन्दी छ । तर हाल १ कार्यालय प्रमुख, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटर स्थायी दरबन्दीमा र दुईजना कार्यालय सहयोगी, एक सरसफाइ कर्मचारी कार्यरत छन् । रामपुर नगरपालिकाले प्रशासन कार्यालयको सेवालाई सहज बनाउन एक जना कर्मचारी काजमा खटाएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागबाट यही पुस ३ गतेदेखि एकजना कम्प्युटर अपरेटरको व्यवस्था गरिएको छ । कार्यालयमा दैनिक औसत एक सयजना सेवाग्राही आउने गरेका छन् । अहिले दैनिक नेपाली नागरिकता ४० देखि ४५, राष्ट्रिय परिचयपत्र ३५ देखि ४०, सेवा शुभारम्भ भएको दिनदेखि हालसम्म दशवटा राहदानी सेवा दिइएको कार्यालयले जनाएको छ । रामपुर–४ भीमसेनटोल बस्ने विष्णुमाया केसीले गाउँघरमा नै सेवा पाउँदा स्थानीयलाई धेरै राहत पुगेको बताउनुभयो । कार्यालयमा राहदानी तथा राष्ट्रिय परिचय सेवा थालनी भएपछि पहिलो सेवाग्राहीका रुपमा राहदानी सेवा लिनुभएकी केसीले खुसी व्यक्त गर्दै यहीँबाट सेवा विस्तार गर्न पहल गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । “सानो बच्चाका कारणले राहदानी बनाउन सदरमुकाम तानसेन जान सकिरहेकी थिइन्, अहिले भने गाउँमा सेवा सुरु गरेपछि हामीलाई सजिलो भयो” उहाँले भन्नुभयो । यही पुस ३ गते कार्यालयको नवनिर्मित भवन उद्घाटन, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा विस्तार कार्यक्रममा सरिक हुँदै गृहमन्त्री रमेश लेखकले प्रशासन कार्यालयमा कर्मचारी तथा कुनै उपकरण, सामग्रीको अभावमा सेवा अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो । नागरिकलाई सरल किसिमले सेवा दिनु सरकारको पहिलो दायित्व भएकाले यस कार्यालयमा जनशक्ति, सामग्री अभावले सेवा रोकिने वातावरण नहुन नदिने गृहमन्त्री लेखकले विश्वास दिलाउनुभयो । रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा अवस्थित प्रशासन कार्यालयको चौध कोठासहितको साढे दुई तलाको नयाँ भवन निर्माण गरी सञ्चालनमा छ । रु चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ बराबरको लागतमा गत असारमा भवन निर्माण सम्पन्न भएको हो । आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै सुरक्षा कर्मचारी गृह (गार्ड हाउस), चमेनागृह तथा पर्खाल निर्माण गरिएको छ ।सेवा विस्तारसँगै राहदानी र राष्ट्रियपत्रका लागि सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता सधाका लागि हटेको छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । विसं २०७३ मा तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय स्थापनाको शुभारम्भ गरी सेवा प्रारम्भ भएको हो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।
बागमती: हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको रु ४ करोड ५७ लाखको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो । प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनःनिर्माण गरिएको सो सुरुङमार्ग आज औपचारिक रुपमा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको छ । हस्तान्तरण लगत्तै सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने उपमहानगरका प्रमुख मिनाकुमारी लामाले जानकारी दिनुभयो । सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो । सुरुङमार्ग अवलोकनका लागि आउने नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १ सय २०, विद्यार्थीलाई प्रतिव्यक्ति रु २० र ५ वर्षमुनीका बालबालिका, जेष्ठनागरिक र आपाङता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ । पुनःनिर्माण गरिएको उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेहरुका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो । मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारी साधनहरु सञ्चालन हुँदै आएको थियो ।जिर्ण भएको सो सुरुङमार्गको गत २०७९ साल वैशाख १९ गते जिर्णोद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । सुरुङमार्ग पुनःनिर्माण भएपनि त्यसको सञ्चालन कसले गर्ने भने अन्यौलताका कारण लामो समयदेखि बन्द थियो । उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिनुभयो । कुल एक सय ९८ मिटर लम्बाई उक्त सुरुङमार्ग पुनःनिर्माण पश्चात दुई सय २५ मिटरको पुगेको जनाएको छ ।
तेह्रथुम: तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ ।म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिनुभयो । सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो ।तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फे को भनाइ छ । पुल जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः ‘सोइल टेष्ट’ गरेर ‘रिडिजाइन’ गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको सांसद सीता गुरुङले बताउनुभयो । गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा पुरानै डिजाइनमा पुल बनाउने सहमति भएपछि निर्माण कार्यले निरन्तरता पाएको उहाँको भनाइ छ । सबै पक्षको सहयोग रहे आउने असारसम्ममा पुल निर्माणको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीका साइड इञ्चार्ज विजय लामिछानेले बताउनुभयो । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाको सदरमुकाम सबैभन्दा छोटो दूरीमा जोडिने छन् । पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङबाट १९ किलोमिटरको दूरी रहेको तमोर नदीमाथिको उक्त पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाका नागरिकलाई आवातजावतमा सहज हुने म्याङलुङ–२ का विश्वराज तुम्बाहाङफेले बताउनुभयो । पाँचथरको कुम्मायक गाउँपालिकाका भुल्के, खाल्ले, स्यावरुम्बालगायतका गाउँबाट करिब आठ घण्टाको पैदलयात्रा गरी हप्तैपिच्छे पिठ्यूँमा बोकेर कृषिउपज तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटियामा बिक्री गर्न ल्याउनुपर्ने बाध्यता छ । पुल निर्माण भएपछि म्याङलुङदेखि लुमुघाट हुँदै तमोर करिडोर भएर छोटो दूरीमै सुनसरीको धरान र प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तेह्रथुमबाट पूर्वी तराईसँगको दूरी घटाउने भएकाले पनि उक्त मोटरेबल पुल निर्माणले महत्व राख्ने जनाइएको छ ।
रसुवा: उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ । उक्त विद्युत् गृहमा जडित ३३÷३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । ३ वटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो । सो आयोजना कूल लागत रु १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ । रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा रु ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर ४ हजार १ सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् । चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।
काठमाडौँ: मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र गृहसचिवस्तरको सोही दिनको निर्णयबाट प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पाँच जना गरी पदोन्नति भएका ७ जना प्रहरी अधिकृत दर्ज्यानी चिह्न प्रदान गरिएकाे छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा उहाँरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेकाे केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा रहेका छन् । यस्तै प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा.राम प्रसाद शर्मा, डा.नविन लागेजु, डा.समृद्धि कार्की, डा.अन्जली तण्डुकार र प्रदिन ताम्राकार रहेका छन् ।