दाङ:  दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ ।  बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...

काठमाडौं:   नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ ।       आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । राष्ट्र बैंकद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ ।       “नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो ।  साथै, अर्को व्यवस्था नभएसम्मका लागि सोही ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ”, विज्ञप्तिमा भनिएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले २०८१ पुस ११ देखि उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ ।       राष्ट्र बैंकले उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।  व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ‘ड्यु डेलिजेन्स अडिट’ सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ । न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंकÞा भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नेकोलगायत कारण देखाएर राष्ट्र बैंकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।  संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिइराख्दा निक्षेपकर्ताको रकम सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ । न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएपछि राष्ट्र बैंकले एक महिना अघि गत मङ्सिर ११ गते थप निक्षेप सङ्कलन र कर्जा प्रवाहमा रोक लगाएको थियो ।  संस्थामा देखिएका सबै समस्या हल गर्न सुधारात्मक कारवाहीसहित राष्ट्र बैंकले छ महिनाको समय दिएको थियो । तर बैंकमा थप समस्या देखिने अवस्था आएपछि समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो ।

भक्तपुर:    जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन ।        त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आउनु भएको थियो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य । तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताउनु भयो उहाँ ।         सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत अबस्थामा फेला परेका बाबु कूलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या अभियोगमा प्रहरीले जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई मङ्गलबार काठमाडौँ महाराजगञ्जबाट पक्राउ गरेको छ ।         सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोवाइलसमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा  छुट्टाछुट्टै कोठामा मृत अबस्थामा भेटिएका थिए ।         कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बिभत्स तरिकाले टाउँकोमा सिलौटाले प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।         बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आउनुभएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घट्नापछि दिक्तेलबाट बालकोट आइपग्नु भएकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होईनन्, आचार्यको सिङ्गो परिवार र आफन्तजन सोमबार देखिनै शोकाकुल बनेका छन् ।         मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ति दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बनेको देखिन्थ्यो ।        घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अबस्थामा माया गर्ने आफ्नै बाबु र भाइको बिभत्स तरिकाले कसरी हत्या गर्नसक्छ भन्ने प्रश्नले यो परिवारलाई पटकपटक चिमोटिरहेको बताउनुहुन्छ मृतक परिवारका आफन्त दीपक पाण्डे ।      कान्छो छोराको घरमा बस्दै आउनु भएका बुबा खडानन्द र आमा तुलसासँगै हुनुहन्थ्यो गत शनिवार साँझसम्म कुलप्रसाद । साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरुको कोठामा पुग्नुभएको थियो उहाँ ।  बुबा र दुईभाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद घट्ना कसरी भयो रु किन भयो रु मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।           शनिवार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढी आमा तुलसाको आँखा ओभाएका छैनन् । अर्कोतिर छोरा र नातिको अकास्मात भएको मृत्युको पीडाले बुबा खडानन्द छटपटाइरहनुभएको छ । मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन ।  “मरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइका हत्या ग¥यो भनेर मैले कसरी पत्याउनु, मरो छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु ।” भन्दै भावविव्हल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अबस्था नरहेको पाण्डे बताउनुहुन्छ । यतिखेर मृतकका आफन्तजनलाई पीडित आचार्य परिवारलाई संहाल्न सकस परेको छ ।         परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाट तथा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो ।  कान्छो छोरा प्रवीण सूचना प्रबिधिमा स्नातक अध्ययन गरिरहेका थिए । बिभिन्न प्रतियोगिताहरुमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए । मृतक कूलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडियोमा अभिनय गरेका जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने तयारी गरेको बताउनुभयो ।         मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा बिवाह भएर जीवन अगाडि बढिरहेको र कान्छी छोरी गएको तिहार मानेर पत्रकारितमा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । शिक्षिकाबाट अवकासप्राप्त मृतककी पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घमा सक्रिय हुनुभएकी नेकपा एमालेले जनाएको छ । मृतकका भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरुको भविश्य बनाउने विषयमा दाजुभाउजूले कुनै कमीकन्जुस्याईं नगरेको बताउनुहुन्छ ।         घट्ना हुनुभन्दा दुई दिन अघिमात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले बुबा कुलप्रसादलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिवार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर त्यही दिन राति किन त्यस्ता घट्ना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् ।        पक्राउपछि मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिनुभयो ।         प्रहरी बृत्त थिमिमा जाहेरी दिन र घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पगेका मृतकका परिवारजन र आफन्तले जाहेरी दिनुभएको छ ।  प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महशुस भइरहेको र लोक सेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाब बढेकाले दुबै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने बयान मिलनबाट आएको छ ।         यसैगरी शनिवार राति बुबा र भाइको हत्या आइतबार बिहान करिब ३ बजेतिर कोठामा ताल्चा मारेर बाहिरिएको र स्कुटर लिएर गएपछि प्रहरीले चौतर्फी खोजी गर्नेक्रममा मङ्गलबार महाराजगञ्जमा मिलनलाई पक्राउ गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

काठमाडौं:   खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “नागरिकल महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।” मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभयो ।  उहाँले भन्नुभयो, “नागरिकका समस्या समाधान गर्नु हाम्रो दायित्व हो, काठमाडौँमा मेलम्चीको पानी ल्याउने समयमा हेलम्बुका नागरिकसँग विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्छ ।”  जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो । साथै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उहाँले बताउनुभयो । गत असोज ११ गतेदेखि आएको बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री यादवले निर्देशन दिनुभयो ।  उहाँले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन निर्देशन दिनुभएको हो ।  उहाँले भन्नुभयो, “खानेपानीका चुहावट भएका पाइप मर्मत गरौँ, अत्यावश्यक रूपमा रहेको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याआँै ।” मन्त्री यादवले खानेपानीको समस्या उत्पन्न भएका ठाउँमा तत्काल जनशक्ति खटाएर समस्या समाधान गर्न मातहतका सबै निकायलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पानीको समस्याका विषयमा गुनासो आएका ठाउँमा तत्काल थप जनशक्ति परिचालन गरी समस्या समाधान गर्नु होला ।” ललितपुरको धोबीघाटस्थित प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारी भएकामा गत असोज ११ गते आएको बाढीले त्यहाँ रहेका भौतिक संरचना तथा उपकरणमा क्षति पु¥याएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धोबीघाटमा निर्माणाधीन प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारीमा थियो । असोजमा आएको बाढीले संरचना र उपकरणका क्षति पु¥याउँदा अहिले समस्या भएको हो ।”  

तेह्रथुम:     गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौर । रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरु । बाहाँ, सिकुवा, आँगन । बिना कङ्क्रिड ढुङ्गैढुङ्गा जोडेर बनाइएका फलैंचा र सिँढीमार्ग । मुन्धुममा वर्णन गरिए झै उभ्याइएका अग्लाअग्ला ढुङ्गाका स्तम्भ ।  सिङ्जाङ्गो (धसिङ्गरे), फुन्जिङ्बा (पैंयू), तेरलासे (केरा) लिरुसिङ् फा (मलिबाँस) जस्ता हुर्किरहेका मुन्धुममा वर्णित वनस्पतीहरुले तेह्रथुमको पर्यटकीय बजार वसन्तपुर छेउको चोत्लुङ पार्क पुग्ने जो कोहीलाई पनि लोभ्याउँछ ।  यहाँको सुन्दरतामा हरेक दिन पर्यटकहरु रमाइरहेका भेटिन्छन् । चोत्लुङ पार्कमा भेटिएका सुनसरी धरानका रनबहादुर सुब्बाले झण्डै तीन दशक अघिको याक्थुङ (लिम्बू) गाउँ पुगेको अनुभूति भएको सुनाउनुभयो । ‘अहिले त गाउँघरले पूरै रुप फेरिसक्यो’’ उहाँले भन्नुभयो ‘‘यहाँ बनाइएका घर र अन्य संरचनाहरुले उहिलेको गाउँघरको याद दिलायो ।’’चोत्लुङ पार्कमै भेटिएका इलामका चञ्चल लिम्बूले पनि यहाँ पुग्दा आफूले फरकपनको महसुस गरेको सुनाउनुभयो ।  अन्य ठाउँहरुमा घुम्दा आधुनिकताको सिको गर्दै बनाइएका संरचनाहरु देखिन्थे । तर चोत्लुङ पार्क पुग्दा भने मौलिक तरिकाबाट पनि पर्यटकीय पूर्वाधारहरु बनाउन सकिने रहेछ भन्ने लागेको उहाँले बताउनुभयो ।           लालिगुराँस नगरपालिका–३ मा रहेको यो ठाउँ २०७४ साल अघिसम्म यस्तो थिएन । वन क्षेत्रभित्रको एकान्तमा पर्ने यहाँ हमेसा मानिस नै पुग्दैनथे । पर्यटक आउने त कुरै भएन । यहीँ ठाउँमा चोत्लुङ पार्क निर्माण गरिएपछि अहिले हरेक दिन सयौंको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।         चोत्लुङ पार्कमा रहेका प्रकृतिमैत्री, कलात्मक र रैथाने शैलीका पर्यटकीय पूर्वाधारहरुको अवलोकन गरेर यहाँ पुग्ने पर्यटक आनन्दित हुन्छन् । छोरीको नामको पूजा गर्न पहिलोपल्ट चोत्लुङ पार्क पुगेकी धरानकी चन्द्रा लिम्बूले उहिलेको पहाडी गाउँले जनजीवन र जीवनशैलीको याद आएको बताउनुभयो ।  ‘‘यी घर, सिकुवा, आँगन, फुलबारी, गोरेटा, फलैंचा र कुवाले मलाई पुराना दिनहरुको सम्झना दिलायो’’ उहाँले भन्नुभयो । मौलिकताको संरक्षण गर्दै पर्यटन विकास गर्ने शैली उहाँलाई निकै मन परेको छ ।         मुन्धुमविद् एवं याक्थुङ (लिम्बू) इतिहासका अध्येतासमेत रहनुभएका लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङकै परिकल्पनामा चोत्लुङ पार्क निर्माण गरिएको हो ।विसं २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएपछि उहाँले पार्कको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बनाएर निर्माणको काम अघि बढाउनुभएको थियो ।         विसं २०७९ मा भएको दोस्रो स्थानीय तह निर्वाचनबाट पनि उहाँ नै नगर प्रमुख निर्वाचित भएपछि चोत्लुङ पार्कले करीब करिब पूर्णता पाएको छ । नगर प्रमुख माबुहाङले त्यतिबेला आफ्नो योजना सुनाउदा इन्जिनियरले खरले छाउने घरको नक्सा बनाउन मानेका थिएनन् ।  ‘‘जबरजस्ती नक्सा बनाउन लगाइयो’’ उहाँले भन्नुभयो, ‘‘अहिले यहीँ हेर्न मान्छे आएको देख्दा र धेरैले यहीँ कामको प्रशंसा गरेको सुन्दा खुसी लाग्छ ।’’चोत्लुङ पार्कमा युमा सङ्ग्रहालय छ ।सङ्ग्रहालयमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्काजस्ता ऐतिहासिक र दुर्लभ कागजात सुरक्षित गरेर राखिएका छन् ।  याक्थुङ (लिम्बू) जातिसँग सम्बन्धित पुराना भेषभूषा, गरगहना, हातहतियार र विभिन्न उपकरण सङ्ग्रहालयमा सुरक्षित गरिएको छ । २०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सङ्ग्रहालयको उद्घाटन गर्नुभएपछि सर्वसाधारणका लागि अवलोकन गर्न खुल्ला गरिएको हो ।           यहाँ रहेका ऐतिहासिक कागजात, दस्तावेज र अन्य वस्तुहरुले लिम्बुवानको इतिहास र सभ्यतालाई जीवन्त राख्ने नगर प्रमुख माबुहाङले बताउनुभयो । उहाँका अनुसार तत्कालीन लिम्बुवान क्षेत्रका विभिन्न ठाउँहरुबाट धेरै दुःख गरेर यी ऐतिहासिक कागजात र सामग्री सङ्कलन गरिएका हुन् ।  समयक्रमसँगै हराएर जाने वा नष्ट भएर जाने खतरा बढेकाले यी वस्तुहरुलाई सुरक्षित र व्यवस्थित गरिएको छ । सङ्ग्रहालयले संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई ठूलो सहयोग पु¥याउने म्याङलुङ बहुमुखी क्याम्पस तेह्रथुमका उप प्राध्यापक दिपक कट्टेलले बताउनुभयो ।  यसबाट भावी सन्ततिले आफ्नो इतिहास, संस्कृति, समाज र समाज विकासका चरणबारे जानकारी प्राप्त गर्ने उहाँको भनाइ छ । यस किसिमका अन्य विभिन्न जातजातिका धर्म, संस्कृति रीतिरिवाज झल्काउने सङ्ग्रहालयहरु समेत निर्माण गरिए संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई अझ ठूलो सहयोग पु¥याउने उपप्राध्यापक कट्टेलको भनाइ छ ।        सङ्ग्रहालय, मौलिक संस्कृति र सभ्यता झल्काउने प्रकृतिमैत्री पूर्वाधार, स्वच्छ परिवेश र सुन्दर प्रकृति चोत्लुङ पार्कको मुख्य आकर्षण हुन् । किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले चोत्लुङ पार्क गुराँसे पाखामा फुलेको रैथाने फूल भएको टिप्पणी गर्नुभयो ।  चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तेह्रथुमको लालिगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजार छेउमा रहेको चोत्लुङ पार्क सवारी साधनबाटै सहजै पुग्न सकिन्छ ।  लालिगुराँसको राजधानी घोषणा गरिएको तिनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्र प्रवेशद्वारको रुपमा रहेको वसन्तपुरमै रहेको छ, चोत्लुङ पार्क । त्यसैले पनि चोत्लुङ पार्कमा पर्यटकीय चहलपहल भइरहन्छ ।  गुराँस फुल्ने समयमा त चोत्लुङ पार्कमा पर्यटहरुको ठूलो घुइँचो लाग्ने गर्छ । तिनजुरे–मिल्के–जलजले जाने पर्यटक जाँदा वा फर्किदा चोत्लुङ पार्क पुगेर मात्र फर्किन्छन् । यस क्षेत्रमा ३२ प्रजातिकामध्ये २८ प्रजातिका गुराँस पाइन्छ ।  फुल्ने यामबाहेक अन्य समयमा पनि चोत्लुङ पार्कमा दैनिक दर्जनौं पर्यटक आउँछन् । पूर्वी नेपालका सबैजसो जिल्ला तथा भारतको सिक्किम, दार्जलिङ र कहिलेकाहीँ अन्य विदेशी पर्यटक पनि चोत्लुङ पार्क पुग्ने गरेका पार्कका साम्बा ९पुजारी० रुद्रबहादुर तिलिङ लिम्बूले बताउनुभयो ।   ‘चोत्लुङ’ याक्थुङ (लिम्बू) भाषाको अर्थ ‘सिद्धि’ अर्थात ‘पूर्णता’ हुन्छ । त्यसैले सिद्धीस्थलको रुपमा चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङ बताउनुहुन्छ । पार्क निर्माणका लागि हालसम्ममा लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजनाको कार्यालय वशन्तपुर तेह्रथमु र अन्य निकाय अनि मनकारी सहयोगीहरुको गरी दुई करोड बढी रकम खर्च भएको नगर प्रमुख माबुहाङले बताउनुभयो ।  पार्क सञ्चालनका लागि नगरपालिकाले रु।५० रुपैंयाँ प्रवेश शुल्क तोकेको छ । सङ्ग्रहालय समेत अवलोकन गर्न चाहनेहरुले भने रु १ सय तिर्नुपर्छ । पार्क र सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटकबाट वार्षिक रु १३ लाख राजश्व संकलन हुने गरेको नगरपालिकाले जनाएको छ ।  गाउँ बनाउने अवधारणाअन्तर्गत चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङले बताउनुभयो । ‘‘अहिले सबै शहर बनाउनेतिर लागेका छन्, गाउँ बनाउने एजेण्डा कसैसँग छैन’’ उहाँले भन्नुभय।े  ‘‘त्यसैले गाउँको सम्भावनाहरुलाई मर्न नदिन र उपेक्षामा परेको गाउँप्रति मानिसहरुलाई आकर्षित गर्न यो काम गरिएको हो ।’’  चोत्लुङ पार्कले पछिल्लो समय पर्यटकहरुलाई पूर्वी पहाड उकाल्ने काम त गरेको छ नै, स्थानीय सरकारले पहलकदमी लिन सके केही गर्न सकिन्छ भन्ने उदाहरण पनि पेश गरेको छ ।   

काठमाडौं:    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसंग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ ।   मंगलबार भएको सो भेटवार्तामा उहाँहरु बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए ÷गरेका कामका बारेमा राजदूतलाई सङ्क्षिप्त जानकारी गराउनुभएको थियो ।  उहाँले नगरपालिकाबाट भैराखेको फोहरमैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराउनुभएको थियो ।         सो अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिनुभयो ।  उहाँले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको जानकारी दिनुभयो । सोही अवसरमा  कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।  सो अवसरमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी,  वडाध्यक्षहरु नरेन्द्र श्रेष्ठ, घनश्याम लुइँटेल, प्रल्हाद रिजाल ,श्रीकृष्ण खत्री एवं शिक्षा शाखा प्रमुख सुजन खनाल ,प्रशासन प्रमुख दामोदर रिजाल लगायतको सहभागिता रहेको थियो ।  नगरपालिकाद्वारा प्रवर्धन गरिएका स्थानीय उत्पादन प्रदर्शनीमा हस्तकला, काष्ठकला,खानाका परिकार लगायत राखिएका थिए ।  

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ ।   इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।     ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’ – शुभकामना सन्देशमा उल्लेख छ ।   इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी एकता, विश्वास र प्रेमको भावनालाई थप गाढा बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ ।

तेह्रथुम:    लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ ९लिम्बू० संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ । गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा , सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ । पार्कमा मुन्धुमी सभ्यता प्रतिविम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताउनुभयो । युट्युब र फेसबुकमा चोत्लुङ पार्क देखेर घुम्न आएको उहाँले सुनाउनुभयो । त्यसैगरी धरानबाट आफ्नो छोरीका लागि पूजा गर्न चोत्लुङ पार्क आएको चन्द्रा लिम्बूले बताउनुभयो । चोत्लुङजस्तो पवित्र स्थानमा पूजा गर्दा बिरामी छोरीले स्वस्थ्यलाभ गर्ने विश्वासमा पूजा गर्न आएको उहाँले बताउनुभयो ।  चोत्लुङ पार्कमा लालीगुराँस नगरपालिकाले एक पुजारी राखेको छ ।चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ । सङ्ग्रहालय गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्कालगायत ऐतिहासिक कागजात र दस्तावेज सङ्ग्रहित छन् ।  लिम्बूहरूसँग सम्बन्धित पुराना गरगहना, वेशभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्कालगायत महत्त्वपूर्ण सामग्री पनि  सङ्ग्रहालयमा सुरक्षित छन् । सङ्ग्रहित वस्तु लिम्बूको इतिहास र संस्कृतिसम्बन्धी खोज, अनुसन्धाताका लागि उपयोगी हुने किरात याक्थुङ चुम्लुङका सचिव राजकुमार तेयुङले बताउनुभयो ।  ‘चोत्लुङ’ याक्थुङ (भाषाको अर्थ ‘सिद्धि’ र ‘पूर्णता’ हुने तथा चोत्लुङ जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा मुन्धुममा रहेको म्याङलुङ–२ का लिम्बू संस्कृतिका जानकार बलदेव तुम्बाहाम्फेले बताउनुभयो ।विसं २०७४ देख निर्माण सुरु भएको चोत्लुङ पार्क १ सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ ।  चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा रु २ करोड बढी खर्च भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताउनुभयो । आन्तरिक मात्र नभएर बाह्य पर्यटकको चासोको केन्द्रका रूपमा पार्क स्थापित भइरहेको प्रवक्ता खड्काले बताउनुभयो । उहाँका अनुसार देशभित्र मात्र नभएर सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीनलगायत देशबाट अवलोकनका लागि आउने गरेका छन् ।  पर्यटकलाई पार्क अवलोकनका लागि रु ५० र सङ्ग्रहालय अवलोकनका लागि रु १०० शुल्क लिने गरिएको छ । पार्क घुम्न आउने पर्यटकबाट मात्र गत वर्ष रु १४ लाख राजस्व सङ्कलन भएको छ । चोत्लुङ पार्क गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टिएमज) क्षेत्रको प्रवेशद्वारमा अवस्थित छ  । टिएमजे भ्रमण गर्नेहरू चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कने गरेका छन् । मध्यपहाडी लोकमार्गको वसन्तपुर बजार नजिक रहेको यो पार्क  प्रचारप्रसारको अभावमा ओझेल परेको छ ।   

चितवन:    सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका ९ सय ५० विपन्न परिवारलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ । इच्छाकामना गाउँपालिका–१ का तीनवटा चेपाङ बस्तीका छ सय ५० घर र रत्ननगरका तीन सय परिवारलाई सुधारिएको चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले बताउनुभयो ।  मङ्गलबार रत्ननगर वडा नं ८ का चौधरी समुदायका ३२ परिवारलाई चुलो वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।विपन्न समुदायका महिलाको स्वास्थ्य जोगाउन चुलो वितरण गरिएको उहाँले बताउनुभयो ।  चुलोसँगै विपन्न समुदायका बालबालिकालाई पौष्टिक आहार सर्वोत्तम पीठो तथा रत्ननगर वडा नं १ निपनी स्थित ओमशान्ति आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

मोरङ:     कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहनुभएको छ । शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गर्नुभएको छ । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उहाँले खेती गर्नुभएको छ ।  “चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक१० क्विन्टलभन्दा बढी उत्पादन भयो”, राई भन्नुहुन्छ । कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो रु ९० का दरले बिक्री हुने गरेको छ ।  फ्रेस चेरीलाई ‘पल्पिङ’गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो रु ४ सय ५० देखि ५ सय ६० सम्ममा बिक्री हुने गरेको छ ।राज एग्रीकल्चर फार्म नै सञ्चालन गर्नुभएका राईले “खाली  जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ”, भन्नुभयो,  “वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ”, राईले जस्तै सोही वडाका १ सय २० परिवारले कफीको व्यावसायिक खेती गरेका लेटाङ– ७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताउनुभयो ।  जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको छ अध्यक्ष राईले बताउनुभयो ।वडा नम्बर ७ जस्तै वडा १ मा पनि व्यावसायिक कफीखेती सुरू भएको छ ।  यो वडामा पनि १ हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरूवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगर बताउनुहुन्छ । “यस अभियानमा स्थानीय दुई सय घरवपरिवार किसान आबद्ध छन्, जसले कृषि क्षेत्रको विकासमा सघाएको छ”, अध्यक्ष मगर बताउनुहुन्छ । लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती बताउनुहुन्छ । नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेका उहाँले  बताउनुभयो ।  किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाउनुहुन्छ ।