मोरङ: कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहनुभएको छ । शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गर्नुभएको छ । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उहाँले खेती गर्नुभएको छ । “चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक१० क्विन्टलभन्दा बढी उत्पादन भयो”, राई भन्नुहुन्छ । कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो रु ९० का दरले बिक्री हुने गरेको छ । फ्रेस चेरीलाई ‘पल्पिङ’गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो रु ४ सय ५० देखि ५ सय ६० सम्ममा बिक्री हुने गरेको छ ।राज एग्रीकल्चर फार्म नै सञ्चालन गर्नुभएका राईले “खाली जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ”, भन्नुभयो, “वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ”, राईले जस्तै सोही वडाका १ सय २० परिवारले कफीको व्यावसायिक खेती गरेका लेटाङ– ७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताउनुभयो । जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको छ अध्यक्ष राईले बताउनुभयो ।वडा नम्बर ७ जस्तै वडा १ मा पनि व्यावसायिक कफीखेती सुरू भएको छ । यो वडामा पनि १ हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरूवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगर बताउनुहुन्छ । “यस अभियानमा स्थानीय दुई सय घरवपरिवार किसान आबद्ध छन्, जसले कृषि क्षेत्रको विकासमा सघाएको छ”, अध्यक्ष मगर बताउनुहुन्छ । लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती बताउनुहुन्छ । नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेका उहाँले बताउनुभयो । किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाउनुहुन्छ ।
रौतहट: फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो । विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताउनुभएको छ । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उहाँको गुनासो छ । स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उहाँले गुनासो गर्नुभयो । अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताउनुभयो । अहिले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने पटेलले बताउनुभयो । बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताउनुभयो । हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताउनुभयो । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उहाँको बुझाई छ । सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाउनुभएको थियो । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताउनुभयो । विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उहाँले गुनासो गर्नुभयो । सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताउनुभयो । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उहाँ खिन्न हुनुहुन्छ । साउनदेखि खाजा खुवाउन सकेको छैन पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिनुभएको छ । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गर्नुभयो । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् । यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसापिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ । सात वर्षदेखि तलबविहीन सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गर्नुभयो । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताउनुभयो । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताउनुभयो । सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिनुभयो । फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिनुभएको छ । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ । ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ । इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै आइएको छ । राष्ट्रपति पौडेलले इसाई धर्मावलम्बीहरूको यस पर्वले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
काठमाडौं: गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिजुली उत्पादन सुरु भएको छ । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहमध्ये सबैभन्दा ठूलो सो आयोजनाले आज साँझदेखि पुनः बिजुली उत्पादन सुरु गरेको हो । कूल चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको सम्बन्धित आयोजनाले जनाएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७ः४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी एक सय २० मेगावाट विद्युत् उत्पादन गरिएको छ । अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहरमा क्षति पुर्याएको थियो । गोङ्गरस्थित विद्युतगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूलठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो । दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समय तालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ । पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकी मर्मतसम्भार भइरहेको छ । उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ । जलविद्युत् केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि। सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले गत मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो । कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताउनुभयो । बाढी पहिरोकाकारण डिस्याण्डरमा ढुङ्गा, लेदोलगायत थुप्रिएको थियो, पहिरोमा परी दुईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुई जना सैनिकले ज्यान गुमाएकाले त्यहाँ खटिएका कर्मचारीमा डरत्रास थियो, उक्त स्थलसम्म पुग्ने पहुँचमार्गसमेत थिएन । विद्युत् आपूर्ति बन्द थियो, यस्तो अवस्थामा मर्मतसम्भार अगाडि बढाउनु ज्यादै चुनौतीपूर्ण अवस्था थियो, उक्त चुनौतीलाई सबैको साथ र सहयोगबाट सामाना गर्दै मर्मतसम्भार सम्पन्न गरी आंशिक रुपमा विद्युत् उत्पादन गर्न सफल भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो, केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत् आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ । कम्पनीका प्रमुख कार्यकारी निर्देशक मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञसमूहबाट विद्युत्गृह सञ्चालन गर्न प्राप्त सुझावलाई समेटेर मर्मत सम्भारका उपायहरु अबलम्बन गरी कार्ययोजनाका साथ काम अगाडि बढाइएको र त्यसको नियमित अनुगमनबाट तोकिएको दिनभन्दा अगाडि नै विद्युत् उत्पादन गर्न सफल भएको बताउनुभयो । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वान भइसकेको उहाँले उल्लेख गर्नुभयो । जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बिमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बिमाबाट प्राप्त रकमबाट बेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको रु एक अर्ब ७८ करोड बराबरको प्रारम्भिक बिमा दाबी गरेको थियो । कम्पनी र बिमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रुपमा हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बिमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनामा बिमा गरिएको छ । बिमा सम्झौतामा उल्लेखित सर्तवमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने छ ।
काठमाडौं: क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताउनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।
गण्डकी: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा पेस गराइएकामा प्रतिवादी छविलाल जोशीको बयान आज सकिएको छ । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (डीआइजी) समेत रहनुभएका जोशीको जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा दुई दिन लगाएर बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जोशीको बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाइको बयान सुरु गरिएको उहाँले बताउनुभयो । पछाइको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने सूचना अधिकारी अधिकारीले बताउनुभयो । सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने जनाइएको छ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो ।
काठमाडौं: विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो । निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ । प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो । उहाँले ताकेता गरेर सकेसम्म चाडै विमान उडान सेवा सञ्चालन गरिने बताउनुभयो । “प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउण्डेड भएको हो”, उहाँले भन्नुभयो,“समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउण्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ ।” निगमले काठमाडौँ र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् ।
काठमाडौं: नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो । एकजना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ । नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ ।
बुटवल: सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि सञ्चालित यहाँस्थित बालविद्या मन्दिरमा यसक्षेत्रका सुस्तमनस्थिति रहेका बालबालिकाले सेवा लिइरहेका छन् । सो विद्यालयका अध्यक्ष समेत रहनुभएका लोकनाथ भुसालले विद्यालयमा अध्ययनरत बालबालिकालाई जीवन उपयोगी सीप सिकाउने गर्नुभएको छ । उहाँका अनुसार यो विद्यालय सुस्तमनस्थिति भएका बालबालिकाकै अभिभावक मिलेर स्थापना गरिएको हो । उहाँले सुस्तमनस्थिति भएका बालबालिकालाई सेवा दिन समस्या भए पनि उनीहरुको भविष्यलाई ध्यानमा राखी काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा सक्नेलाई सीप सिकाइन्छ, नसक्नेलाई जीवन उपयोगी व्यवहार सिकाइन्छ ।” कमजोर बालबालिकाकालाई खाद्यान्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिने गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो । विसं २०५१ मा स्थापना भएको यस विद्यालय सञ्चालनमा लाग्ने खर्चका लागि अभिभावकहरुले पनि सहयोग गरेका छन् । बुटवल उपमहानगरपालिकाले हाल वार्षिक रु चार लाख अनुदान दिएको छ । यस विद्यालयमा भर्ना गरेपछि अपाङ्गता भएको १६ वर्षीय छोरामा धेरै सुधार भएको बुटवल उपमहानगरपालिका–७ की गङ्गा कुँवरले बताउनुभयो । छोरालाई बालविद्या मन्दिरमा ल्याएपछि आएको परिवर्तनले धेरै खुसी लागेको उहाँ बताउनुहुन्छ । यस विद्यालयमा भर्ना गरेपछि तिलोत्तमा–२ शङ्करनगरकी खिमा रेग्मी पनि १२ वर्षकी छोरी आकृष्टामा सुधार देखिएको बताउनुहुन्छ । दुई वर्षअघि विद्यालय भर्ना गरिएकी आकृष्टा हाल अरुको साहारामा हिँड्नसक्ने हुनुभएको खिमाले बताउनुभयो । गङ्गा र खिमामात्र होइनन् । उहाँहरु जस्ता धेरै अभिभावकहरु यस विद्यालयले प्रदान गरेको सेवा र अध्यापनबाट सन्तुष्ट हुनुहुन्छ । हाल यस विद्यालयमा ८० जना बालबालिका अध्ययनरत छन् । दिवा समयमा ५० जना बालबालिका विद्यालयमा आउँछन् भने ३० जना विद्यालय आउन नसक्नेलाई गृहभेटमार्फत सेवा दिइरहेको छ । बालविद्या मन्दिर विद्यालयका प्रधानाध्यापक मीना भुसालले शारीरिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई नियमित फिजियोथेरापी गराउने गरेको बताउनुभयो । राष्ट्रिय अपाङ्गता महासङ्घका केन्द्रिय सदस्य एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका सदस्य सावित्रा घिमिरे दिनप्रतिदिन बौद्धिक अपाङ्गता बढ्दो क्रममा रहेकाले सुस्तमनिस्थितिका बालबालिकालाई अभिभावकले पहिचान गर्न जरुरी रहेको बताउनुहुन्छ ।