रुपेन्देही: महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउने क्रम बढ्दो रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । ‘अफ सिजन’ मानिने यो समय मोदी भ्रमणसँगै भारतीय पर्यटक बढेको कोषले जनाएको छ । भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनामा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बनी आएको कोषको सूचना शाखाले जनाएको छ । यो विगत वर्षभन्दा राम्रो सङ्ख्या हो । लुम्बिनी विकास कोषमा आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएका छ । पछिल्लो एक महिनामा ३९ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । कोभिड–१९ को त्रासका कारण पर्यटक आगमन कमी आएको लुम्बिनीमा भारतीय प्रधानमन्त्री आगमनसँगै भारतीय पर्यटक मात्र नभएर आन्तरिक पर्यटक र तेस्रो मुलुकका पर्यटकमा उत्साहजनक आगमन भएको लुम्बिनी होटल एशोसियशनले जनाएको छ । मोदी भ्रमणको व्यापक प्रचार, प्रसारका कारण संसारभरबाट पर्यटक लुम्बिनी आउन आतुर रहेको लुम्बिनी होटल एशोसियसनका अध्यक्ष गोविन्द ज्ञवाली बताउनुहुन्छ । अध्यक्ष ज्ञवालीका अनुसार लुम्बिनी आउने पर्यटका लागि सरकारले पनि विशेष सुविधा र सहयोग गर्नुपर्दछ । लुम्बिनीमा आध्यात्मिकका साथै घुमन्ते पर्यटक आउने गर्दछन् । धार्मिक र आध्यामिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गर्न आउँछन् भने घुमन्ते पर्यटक यहाँको सौन्दर्यतासँग रमाउन आउने गरेको देखिन्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा सीमा क्षेत्रमा पर्यटक आगमनमा सहजताका कारण अहिले लुम्बिनी घुम्न आउने पर्यटकले पर्यटन व्यवसायीलाई उत्साह दिएको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउनुहुन्छ । करिब तीन वर्ष कोभिडका कारण चहलपहल नभएको लुम्बिनीमा अहिले भने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकको आगमनले रमाइलो बनाएको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटन व्यवसायी मात्र नभएर यहाँका अन्य क्षेत्र पनि चलायमान देखिन्छन् ।
बैतडी: केही दिनदेखि भइरहेको वर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबाली क्षति पुर्याएको छ । जिल्लाको सुर्नया, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले क्षति पुर्याएको हो । घोगा लाग्ने बेलाको मकैबालीमा क्षति पुगेको किसानले बताएका छन् । दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्याइएको स्थानीय हरिश जोशीले जानकारी दिनुभयो । वर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी नै हुने हो कि भन्ने चिन्तामा यहाँका किसान परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुगेको किसानले बताएका छन् । नगरपालिकाका वडा नं १ र ७ मा हावाहुरीसहितको वर्षाले मकैबालीमा व्यापक क्षति पुर्याइएको स्थानीय जनक ऐरले बताउनुभयो । मकैबाली ढलेर नष्ट भएपछि आफूलाई निकै समस्या भएको सुर्नयाका स्थानीय किसान नरेन्द्र विष्टले बताउनुभयो । वर्षा नहुँदासम्म कीराले मकैबालीमा क्षति पुर्याएको र वर्षापछि मकै ढलेर झन क्षति भएको छ । यसैबीच जिल्लाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको उत्पादन घट्दै गएको छ । बैतडी मकै जोन क्षेत्र भए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको छ । मकैबालीमा फौजीकीरा, विभिन्न जङ्गली जनावर, विभिन्न प्रकोपले मकैबालीमा क्षति पुग्दै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बैतडीमा १४ हजार ५०० हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको भए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुने गरेको छ । मकै उत्पादनका हिसाबले जिल्लामा राम्रो उत्पादन हुने गरेकोमा विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले बताउनुभयो । पछिल्लो दुई तीन वर्षयता मकैमा फौजी कीराले नोक्सानी पुर्याउने गरेको छ भने वर्षातको समयमा पनि क्षति हुनेगरेको छ । जङ्गली जनावरबाट मकै जोगाउन निकै मुस्किल भएको किसानले बताएका छन् ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलंकाकै स्थितिमा देश पुग्ने देश चेतावनी दिएका छन् । देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि उनले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गर्न आह्वान गरेका छन् । ‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार(सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट( स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।’
काठमाण्डौँ: गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उहाँहरूका चर्चा चुलिनु स्वभाविक थियो । सामान्य साइकलमा हिँड्ने राइको जीवनयात्राले धेरै नेपालीको मन जित्यो । अहिले पनि राई नगरका सामान्य काममा आफैँ खटिएका दृष्य सामाजिक सञ्जालमा देखिँदा उहाँप्रति सकारात्मक भाव बढ्दो छ । दुवै मेयरले समग्र नगरको विकासमा कसरी योगदान गर्नुहोला ? त्यो मूल्याङ्कन हुने समय आइसकेको छैन । यता चित्रकार रामकृष्ण थापा (आरके थापा) र प्रकाश थापा (प्रथा) ले उहाँका मुहार उतारेर कोरेको क्यारिकेचरले नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान (नाफा) को कला प्रदर्शनस्थलमा पनि उत्तिकै स्थान पायो, जति चुनावका बेला पाएको थियो । प्रथाले लामालामा कपालमाथिले नेपाली ढाका टोली पहिरिएका र पुक्क फुकेको गालासहितको राइको क्यारिकेचर बनाउनुभएको छ भने आरके थापाले आँखामा कालो चस्मा र झुम्म दारीलाई केन्द्रमा राखेर शाहको क्यारिकेचर बनाउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शित ‘नेपाली क्यारिकेचर २०७९’ शीर्षकमा प्रस्तुत गरिएको उहाँ(काठमाडौँ महानगरका प्रमुख शाह र धरान उपमहानगरपालिकाका प्रमुख राई) का क्यारिकेचर चित्र आकर्षक बन्न पुगेको छ । आगन्तुक दर्शकले क्यारिकेचर नियाल्दै निर्वाचनको चर्चालाई पुनःस्मरण गर्नुभयो । क्यारिकेचरले समाजसँग प्रत्यक्ष सम्बाद गर्छ । त्यसैले समाज रुपान्तरणको सम्बाहक पनि हो क्यारिकेचर । कार्टुनभित्र हुने क्यारिकेचर सन्देश प्रवाहको सशक्त माध्याम हो । कार्टुन विधालाई गहकिलो बनाउन क्यारिकेचर महत्वपूर्ण भूमिका खेल्ने अग्रज कलाकारको प्रतिक्रिया छ । प्रदर्शनमा राखिएका क्यारिकेचरले पनि समसामयिकतालाई उजागर गर्ने प्रयास गरेको पाइन्छ । क्यारिकेचर र विषयको तालमेल भएन भने अर्थ दिँदैन । सही कार्टुनका लागि विषय र क्यारिकेचरको तालमेल हुनैपर्नेमा कलाकार एकमत छन् । हास्य वा विचित्र प्रभाव सिर्जना गरी व्यक्तिको मुहारलाई विशिष्ट नक्कल गरी बढाइचढाइ गरिनु नै क्यारिकेचर हो । बोलेर वा चित्र कोरेर पनि क्यारिकेचर गरिन्छ । बोल्दा आवाज र हाउभाउलाई ध्यान दिइन्छ तर लेख्य विधामा भने उसको पहिचान र व्यक्तित्व उतार्न सकियो भने मात्रै त्यो सफल क्यारिकेचर हुन्छ । मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर हो । कलाभित्रको तिखो व्याङ्ग्य कार्टुन हो भने त्योभन्दा फरके व्यक्तिलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्ने विधा भने क्यारिकेचर हो भन्नुहुन्छ, कला समीक्षक रमेशनाथ खनाल । उहाँका अनुसार नेपालमा प्रताप मल्लको पालादेखि नै गाईजात्राका अवसरमा दिवङ्गत आत्मा शान्तिका लागि भनेर प्रदर्शन गरेर हिँड्ने परम्परालाई क्यारिकेचरको रुपमा लिइन्छ । नेपालमा परिस्कृत क्यारिकेचरको विकास भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लबअफ नेपालको स्थापनापछि भएको हो । कला समीक्षक खनाल चित्रगत स्वस्थता, रङ्गत सुन्दरता, भावगत सम्प्रेशण र पूर्णताको प्रभावले मात्रै राम्रो क्यारिकेचर बन्ने बताउनुहुन्छ । क्यारिकेचरबारे बताउँदै नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्नुहुन्छ, “अनुहारको व्याङ्ग्यात्मक हाउभाउ, रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्र नै क्यारिकेचर हो ।” यसपटक नाफा र कार्टुनिष्ट क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई समेट्ने प्रयासस्वरुप गएको पुसमा प्रशिक्षण दिएको थियो । त्यहाँबाट उत्पादन भएका र पुराना गरी ४१ चित्रकारका क्यारिकेचर तीनदिने प्रदर्शनमा राखिएको छ । विसं २०७४ देखि नै नियमित रुपमा क्यारिकेचर कला प्रदर्शनी हुँदै आएको छ । कोरोन महामारीका समयमा भने भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो । अध्यक्ष क्षितिज नेपालमा पछिल्लो समयमा क्यारिकेचरको महत्व बढेर गएको स्मरण गर्नुहुन्छ । यसपटकको प्रदर्शनीमा समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरू छनोट गरी क्यारिकेचर बनाइएको छ । जसमा कलाकार हरिवंश आचार्य, केदार घिमिरे (माग्नेबुढा) का चार वटासम्म क्यारिकेचर समावेश छ । अन्य कलाकार नीर शाह, भुवन केसी, सन्तोष पन्त, सुनिल थापा, सिताराम कट्टेल (धुर्मस) देखि शताब्दी पुरुष सत्यमोहन जोशी, अग्रज कलाकार किरणमानन्धर तथा अन्य कलाकार तथा पत्रकारका क्यारिकेचर चित्र प्रदर्शनीमा देख्न पाइन्छ । कूल ४१ कलाकारमध्य १७ नयाँ कलाकारले आफ्नो कला प्रस्तुत गर्नुभएको छ ।
काठमाण्डौँ: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८र७९ मा ६२.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आव रु ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले शनिबार राति १२ बजेदेखि चालु आवको भुक्तानी निकासा बन्द गरिएको बताउनुभयो । आर्थिक कार्यविधि नियमावलीमा आव समाप्त हुनुभन्दा कम्तीमा एक साता अघि भुक्तानी निकासा बन्द गरी खर्च विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । महालेखा नियन्त्रक कार्यालयले आजदेखि प्रदेशको भुक्तानी प्रणाली बन्द गरी गरिसकेको छ । फ्रिज नहुने शीर्षकका रकमको भुक्तानी निकासा भने बन्द गर्नुपर्दैन । प्रदेश लेखा नियन्त्रक बमले प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय, कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ रु नौ अर्ब १२ करोड ८१ लख २४ हजार ३४८ तथा पुँजीगततर्फ रु १४ अर्ब ७५ करोड १७ लाख ८५ हजार ४२६ खर्च भएको जानकारी दिनुभयो । कर्णालीमा चालु आवमा प्रदेश व्यवस्थापिकाले ७८ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ७४, मुख्यन्यायाधिवक्ता कार्यालयले ९५, प्रदेश योजना आयोगले ३७ प्रतिशत बजेट खर्च गरेका छन् । मन्त्रालयतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६७, सामाजिक विकास मन्त्रालयले ७३, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ४७, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७५, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ७२, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६५, आर्थिक मामिला तथा योजना मन्त्रालयले ७१ प्रतिशत बजेट खर्च गरेका छन् ।
काठमाण्डौँ: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेलमा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ । राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेश भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । आर्थिक वर्ष २०७९/८० को बजेट जेठ १५ गते सङ्घीय संसद्मा पेश भएको थियो । मौद्रिक नीतिमा अल्पकालीन कर्जाको व्याजदर, मुद्रा आपूर्ति, मुद्रास्फीति नियन्त्रण गर्ने तथा मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउन लक्ष्य लिने नीति हो । कुनै पनि मुलुकको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैंकले निर्माण गर्छ । अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने विषय मौद्रिक नीतिले निर्धारण गर्छ ।
काठमाण्डौँ: थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा तीन हजार ४५ नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार सात सयजनाको पिसिआर परीक्षण गर्दा एक सय चारजना संक्रमित भेटिएका छन् भने एक हजार तीन सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ। आइतबारसम्मको तथ्यांकअनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या चार सय ७१ पुगेको छ। सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३१ छ। संक्रमितमध्ये ६ सय ६२ जना होम आइसोलेसनमै छन् भने अन्य १६ जना संस्थागत आइसोलेसन छन्। कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका सातजनाको आइसियू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ११ लाख २० हजार नौ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दाङ: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने आफ्नो दायित्व भएको बताउनुभएको छ । रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अझैसम्म पनि नागरिकले पाउने आधारभूत सेवा पनि सहज पाउन नसकेको भन्दै यसलाई सहज बनाउन पहल गर्ने बताउनुभयो । यसका लागि तीनै तहका सरकारसँग छलफल गर्नेसमेत बताउनुभयो । राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवालाई थप विस्तार गर्ने समेत बताउनुभयो । उहाँले कोरोनाको समयमा योगदान गरेका कर्मचारीको नवीकरणमा पहल थाल्नेसमेत बताउनुभयो । त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने कुरा अघि सारेको अवस्थामा अझै पनि धेरै पालिकामा ती अस्पताल निर्माणको काम अघि बढ्न नसकेको भन्दै यसलाई पनि पूर्णता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रादेशिक अस्पतालको अनुगमन राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अवलोकनसमेत गर्नुभएको छ । त्यस अवसरमा राप्ती प्रादेशिक अस्पताल प्रदेशस्तरीय भएकाले प्रदेशले त्यसलाई हेर्ने जिम्मा पाएको मन्त्री केसीले बताउनुभयो । “अस्पतालको पनि जिम्मेवारी बाँडफाँट भएको छ, प्रतिष्ठान सङ्घीय सरकार मातहत हुन्छ, यो अस्पताल प्रदेश सरकार मातहत छ, प्रदेश सरकारले पनि अस्पतालका लागि धेरै काम गरेको छ”, उहाँले भन्नुभयो “सङ्घीय सरकारको तर्फबाट हामीले जे–जे गर्नुपर्छ, त्यसमा प्रतिबद्ध भएर लाग्ने छौँ ।” त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालको जनशक्ति व्यवस्थापनका लागि सर्वेको काम अघि बढाउन पहल थालि दिनका लागि अनुरोध गर्नुभयो । प्रादेशिक अस्पतालको आलोचना गर्ने गरिएको भन्दै यसलाई सुधार गर्न दक्षजनशक्ति आवश्यकपर्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले बताउनुभयो । अस्पतालको छुट्टै आम्दानी नभएकाले पनि आफैले कर्मचारी थप गर्नसक्ने अवस्था नभएको उहाँको गुनासो थियो । “अस्पतालमा एमआरआई बाहेक भिडियो एक्सरे, सिटी स्क्यान, एक्सरेजस्ता ठूला सेवा सञ्चालनमा छन्, त्यसले गर्दा बिरामीको चाप बढिरहेको छ”, उहाँले भन्नुभयो “त्यो अनुसार अब जनशक्ति चाहिन्छ ।”
काठमाण्डौँ: नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रदेशको बजेटले संघीयताको धज्जी उडाएको बताएका छन्। नेता पौडेलले फेसबुकमार्फत यस्तो प्रतिक्रिया लिएका हुन्। उनले प्रदेशका बजेट पहुँचका आधारमा वितरण हुने गरेको र यसको निरन्तरताबाट आर्थिक विकास सम्भव नहुने उनको भनाइ छ। ‘प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्राथमिकताको फेहरिस्तले संघीयताको ध्वजी उडेको छ। व्यक्तिका नाममा आफूखुसी बजेट विनियोजन गर्ने, पहुँचका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न सधैँ बजेटलाई कनिकाजस्तो छर्ने। यस्तै निरन्तरता हुने हो भने सयौँ वर्षमा पनि आर्थिक विकास हासिल गर्न सकिँदैन । बजेटको प्राथमिकता जनताका आधारभूत आवश्यकता पूरा गर्न र उत्पादनमा जोड दिन केन्द्रित हुनुपर्दछ,’ उनले लेखेका छन्।

