पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

काठमाण्डौँ :    प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।   प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँले माध्यमिक विद्यालयका पाठ्यपुस्तक अहिलेसम्म नपुगेको विषयमा गम्भीर ध्यान दिन आग्रह गर्नुभयो । नेता भट्टराईले शैक्षिक शत्र सुरु भएको एक महिना १३ दिन बितिसक्दा पनि देशभरका माध्यममिक विद्यालयका झण्डै ५० प्रतिशत पाठ्यपुस्तक नपुगेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न सुझाउनुभयो ।   उहाँले माध्यमिक तहमा करिब ८० लाख विद्यार्थी भर्ना भएका र तीमध्ये करिब ७५ प्रतिशत विद्यार्थी सामुदायिक तथा अन्य निजी विद्यालयमा अध्ययनरत रहेको जानकारी दिनुभयो ।    “हरेकवर्ष पुस्तक अभावको समस्या झेलिरहेका छौँ, यो विषय गीतका वर्षमा पनि उठाउँदै आएको र अहिले पनि जारी छ, सरकारले पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइएको छ”, उहाँले भन्नुभयो, “आजसम्म निजी क्षेत्रबाट वितरण हुने कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक पुगेका छन्,  त्यसभन्दा माथिका पाठ्यपुस्तक अहिलेसम्म पनि विद्यार्थीले पाएका छैनन् ।    भट्टराईले हालै आफूले गरेको १६ विद्यालयको सर्वेक्षणले करिब ५० प्रतिशत पुस्तक नपुगेको, काठमाडौँकै दरबार हाइस्कुलमा अझै ३० प्रतिशत पाठ्यपुस्तक नपुगेको पाइएको तथा बागमती प्रदेशमा पनि झण्डै ४० प्रतिशत पुस्तक नपुगेकोे पाइएको भन्दै अन्य प्रदेशको अवस्था कस्तो होला भनी प्रश्न गर्नुभयो ।

काठमाडौँ :      लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ ।       गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टेटस सार्वजनिक भएको थियो ।       उक्त स्टेटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टेटसभन्दा घटना प्रकृति निक्कै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ ।       जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ । उहाँले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।      “घटना शङ्कास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ”, मैनालीले भन्नुभयो । गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ परे पनि नाम खुलाइएको छैन । प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ । त्यसैले अहिले घटनामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलेसमेत अनुसन्धान थालेको छ ।       सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शनिबार बिहान काठमाडौँको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।     गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाव दिन थालेका छन् । उनीहरुले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानविनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिनुभयो । अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताउनुभयो ।       प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पुर्याएको छ । “न्यायपूर्ण ढङ्गले छानबिन होस् र दोषीलाई कारवाही होस् भनेर नै हामी प्रहरीमा आइपुगेका हौँ”, बिजीले भन्नुभयो ।       गायिका सुनारको स्टेटसमा आफैँले घटना घटाएकाले कसैलाई दोष नदिन भनिए पनि त्यो दबावमा लेखिएको वा अरुले नै लेखिदिएको हुनसक्ने आशङ्का गरिएको छ । अध्यक्ष बिजीले भन्नुभयो, “मोबाइल नभेटिएकाले मृत्युपछि स्टेटस अरुले नै लेखेको पनि हुनसक्छ या मृत्यु अघि धम्क्याएर लेख्न लगाएको पनि हुनसक्छ त्यसबारे गम्भीर अनुसन्धान हुनु जरुरी छ ।”       सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय गायिका हुनुहुन्थ्यो । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समय अघि काठमाडौँमा आयोजना गरेको छैठौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित हुनुभएको थियो । गायिका सुनार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको सदस्य हुनुहुन्थ्यो । 

काठमाण्डौँ :       धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको टिप्पणी छ ।       नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४.९२ अङ्कले उकालो लागेर एक हजार ९५६.९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७.९३ मा पुगेको छ ।       कूल २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर रु दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।    बैंकिङ ३५.५, व्यापार १२१.०८, होटल तथा पर्यटन १४०.९३, विकास बैंक २५७.१४, जलविद्युत् १५६.९२, वित्त १०२.४३, निर्जीवन बीमा २६२.८८, उत्पादन २८४.५३, अन्य ९६.०३, लघुवित्त २३१.०३, जीवन बीमा ३६६.७८, सामूहकि लगानी कोष ०.५ र लगानी ५.१९ अङ्कले उकालो लाग्यो ।            शेयर कारोबार हुने साताको पहिलो दिन आज आइतबार रु २७ खर्ब ९० अर्ब १६ करोड ५५ लाख ५४ हजार ८८८ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ६४ लाख ३८ हजार ९५३ बराबरको कारोबार भयो । हिमालयन बैंक रु आठ करोड ३७ लाख ९२ हजार ९३६, ङादी ग्रुप पावर रु आठ करोड ३३ लाख ५३ हजार, नबिल बैंक रु छ करोड ७६ लाख २७ हजार ८५८ र शिवम् सिमेन्ट रु पाँच करोड ४१ लाख ७० हजार ६६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।    २१ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो       नेप्सेका अनुसार  आज कारोबार भएकामध्ये कूल २१ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ३१ कम्पनीको शेयर मूल्य भने ९ प्रतिशत बढीले वृद्धि भएको छ । नेप्सेका अनुसार नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, गुह्यश्वरी मर्चेन्ट बैंक, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एचआइडिसिएल, सिनर्जी पावर, घलेम्दी हाइड्रोपावरलगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।      यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र २.१६, एनसिसी बैंकको ऋणपत्र २, आइसिएफसी फाइनान्स २, गुडविल फाइनान्स १.८१ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले ०.२१ प्रतिशतले गुमाए ।   

काठमाण्डौँ :       ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन ठेलागाडामा रोक लगाइएको हो ।       बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलिने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फैलन सक्छ ।”       कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताउनुभयो ।   महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ । एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिनुभयो । 

काठमाण्डौँ :     उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताउनुभएको छ ।             प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै उहाँले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव गम्भीर रहन्छ भन्ने पक्षलाई ध्यान दिएको स्पष्ट गर्नुभयो ।       उहाँले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु १९९ बाट रु २० र डिजेलमा प्रतिलिटर रु १९२ बाट रु २९ घटाउने निर्णय नेपाल आयल निगमले कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।       उहाँले पेट्रोलियम पदार्थमा मूल्य समायोजन, निगमको व्यवस्थापनलगायत समग्र पक्षमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिएकाले सोको प्रतिवेदन आएपछि थप निर्णय लिइने बताउनुभयो ।     मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि मूल्य बढ्ने र घट्दा घटाइने प्रणालीलाई निरन्तरता दिइएको उल्लेख गर्दै सदन, सडक र जनस्तरबाट आएको आवाजलाई सम्बोधन गरेर पछिल्लो समयमा वृद्धि भएको पेट्रोलको मूल्यमा करको दर घटाएर प्रतिलिटर रु २० घटाइएको जानकारी गराउनुभयो ।       उहाँले सर्वसाधारण जनताले प्रयोग गर्ने ग्यासमा सहुलितयत दिने र मूल्य घटेपछि उपभोग्य वस्तुमा मूल्य घटाउन सम्बन्धित मन्त्रालयका तर्फबाट तत्काल पहल गरिने बताउनुभयो ।       आगामी आर्थिक वर्षदेखि सिंहदरबारबाट ग्यास प्रयोगको वैकल्पिक व्यवस्था एवं घरायसी प्रयोगका लागि ग्यासको अलग मूल्य कायम गर्न पनि कार्यदलले दिने सुझावको कार्यान्वयन गरिने जनाउनुभयो । उहाँले बजारको महँगी नियन्त्रणका लागि अन्य मन्त्रालय र निकाय एवं पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।              मन्त्री बडूको जवाफमा स्पष्टीकरण माग गर्दै सांसदहरुले खाना पकाउने ग्यासमा मूल्य किन नघटाइएको, दैलेखको पेट्रोलियम खानी उत्खननको कार्यलाई किन तीव्रता नदिइएको, धेरै मूल्य बढ्ने र थोरौ घट्ने किन हुन्छ, बजारको महँगी किन नियन्त्रण नगरिएको जस्ता प्रश्न गर्नुभएको थियो ।

काठमाण्डौँ :     प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।              संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्नुभएको हो । बैठकमा अहिले राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

  सुर्खेत :   सुर्खेतकी दिलमाया काठमाडौंको तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित सर्वोत्तम श्रेष्ठको साढे दुई तले घरमा मृत फेला परेकी हुन्। उनी त्यहाँ कोठा भाडामा बस्थिन्।  उनी खाटमा उत्तानो परेको अवस्थामा फेला परेकी थिइन्।  मृत भेटिनुअघि उनको फेसबुकमा एउटा स्टाटस लेखिएको छ। शनिबार बिहान १ : २० बजे ‘सुसाइड नोट’ पोष्ट भएको देखिन्छ। सुसाइड नोटमा के कारणले आत्महत्या गर्न लागेको भन्ने उल्लेख गरिएको छैन।   घरबेटी सर्वोत्तमका अनुसार गायिका दिलमायाले ‘सुसाइड नोट’ लेखेको देखेपछि उनका ‘फ्यान’हरूले फोन गरेका थिए। तर उनको फोन भने अफ थियो। त्यसपछि घरबेटी सर्वोत्तम श्रेष्ठलाई पनि फोन आयो उनलाई भनियो दिलमायाले यसरी स्टाटस लेख्नुभएको छ। फोन पनि अफ छ। एकचोटी गएर हेरिदिनु न। त्यस्तो खबर आएपछि सर्वोत्तम दिलमायाको कोठामा पुगे। कोठाको ढोका खुल्ला नै थियो। ढोका खोलेर हेर्दा उनी मृत भेटिइन्।   ‘मलाई फोन आएपछि म हेर्न भनेर गएको थिएँ। कोठा खुल्लै थियो। चुकुल लगाएको थिएन,’ उनले भने। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरी वृत्त बालाजुको टोली घटनास्थलमा पुगेको थियो।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थल पुग्यो।    प्रहरीले यस घटनामा उनले आत्महत्या गरेको हो वा हत्या गरेको हो भन्ने खुलाएको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले यस घटनाको अनुसन्धान भइरहेको बताए। ‘यो घटना शंकास्पद छ,छैन भन्ने अनुसन्धान भइरहेको छ,’ उनले भने। घटनाका केही कुराले भने शंका गर्ने ठाउँ छाडेको छ।   प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। आवश्यकताअनुसार अरू व्यक्तिहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ। प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति दिलमायाको कोठामा आउजाउ गरिरहन्थे।    घरबेटी सर्वोत्तमले पनि ती व्यक्ति दिलमायाका श्रीमान् भएको बताए। दिलमायाको अघिल्लो श्रीमानसँग डिभोर्स भएपछि उनीसँग बस्न थालेका थिइन्। तर उनी त्यस घरमा बस्दैनथे। उनले अर्को पनि विवाह गरेको खुलेको छ।   ‘आइरहने पुरूष आफ्नो श्रीमान् हो भन्नुभएको थियो। दक्षिणकालीमा गएर दोस्रो विवाह गरेको, हामी बुढाबुढी हौं भन्नुभएको थियो,’ घरबेटी सर्वोत्तमले भने। प्रहरीले भने ती व्यक्ति दिलमायाका  श्रीमान् हुन् वा होइनन् भन्नेबारे पनि बुझिरहेको छ।केही महिनाअघि पनि दिलमायाले आत्महत्याको प्रयास गरेको घरबेटी सर्वोत्तमले बताए।    ‘विवाह गरेको लगभग दुई(तीन महिना नै उहाँले आत्महत्याको प्रयास गरिसक्नुभएको थियो। श्रीमानसँग त्यस्तै के कुरा भएर हो,’ उनले भने,‘दोस्रो विवाह भएदेखि उहाँ डिप्रेसनमा हुनुहुन्थ्यो। दुःखको मात्रै कुरा गर्नुहुन्थ्यो। बुढा घर आएन। फोन गर्दा पनि रिसाएर मात्रै उल्टै गाली गर्छ  भन्नुहुन्थ्यो।’    सर्वोत्तमका अनुसार दिलमायाले ती पुरूषलाई लोकदोहरीको कार्यक्रममा भेटेकी थिइन्। दोहोरी साँझमा काम गरूञ्जेल उनको मानसिक अवस्था सामान्य नै भएको उनले बताए। तर अर्को विवाह भएपछि भने उनी डिप्रेशनमा गएको उनको भनाइ छ। विवाहपछि उनले काम समेत गर्न छाडेकी थिइन्।    ‘उहाँ गायिका भन्ने मलाई पहिल्यै थाहा थियो। उहाँ दोहोरीमा काम गर्नुहुन्थ्यो। दोहोरीमा काम गर्दासम्म ठिकै थियो,’ उनले भने,‘जब उहाँको अर्को विवाह भयो त्यसपछि काम गर्न नजा बरू यही बस् भनेर भनेका रहेछन्। मैले सोधेको थिएँ। त्यसरी काममा नगएपछि दिनभरी घरमा बसेर त्यस्तो भएको हो।’    दिलमाया मृत फेला पर्नु अघिल्लो रात पनि ती पुरूष पनि उनको कोठामा पुगेको देखिन्छ। सुरूमा प्रहरीले उनीसँग सोधपुछ गर्दा उनले आफू मध्यराति १२ बजेतिर निस्केको बताएका थिए।  पछि अनुसन्धान गर्दा भने उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ। ‘यहाँको सिसिटिभी फुटेज हेर्दा उहाँ १२ बजेचाहिँ आएर बिहान साढे ४ बजे निस्किएको देखिएको छ,’ घरबेटी सर्वोत्तमले भने।    घटनास्थलबाट प्रहरीले दिलमायाको मोबाइल फोन पनि फेला पारेको छैन। अहिले फोन गायब भएको हुँदा पनि थप शंका गर्ने ठाउँ छ।अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनको हराएको फोन पनि खोज्ने काम भइरहेको छ। उनको फेसबुक आइडीबाट राति नै आत्महत्या गर्न लागेको सुसाइड नोट देखिए पनि कोठाबाट कुनै विषको बट्टा फेला नपारेको प्रहरीले बताए।    ‘घटना यही हो भनेर भन्न सकिने अवस्था छैन। उनी आफ्नै खाटमा उत्तानो परेको अवस्थामा शव भेटिएको हो। हामीले त्यहाँको मुचुल्का गरी शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाएका छौं,’ ती प्रहरीले भने,‘पोष्टमर्टमबाट केही कुरा खुल्नसक्छ।’ उनका अनुसार दिलमायाको घाँटीमा निलडाम पनि देखिएको छ।‘शरीरमा सानोतिना दाग देखिएका छन्। हामी हेर्दैछौं,’ उनले भने। घटनाको थप अनुसन्धान प्रहरी वृत्त बालाजुले गरिरहेको छ।

काठमाण्डौँ :    विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ ।    विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखौँ पर्यटक आउने गर्छन् । सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, हरितालिका पर्व, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नव वर्षारम्भ (वैशाख १गते) जस्ता पर्वमा एकै दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्छ । लाखौँ भक्तजनको उपस्थितिबीच पशुपतिनाथ मन्दिर मुख्य क्षेत्रलाई सफा र स्वच्छ राख्न पशुपति क्षेत्र विकास कोष लागि परेको छ ।    मन्दिरलाई २४सै घण्टा सफा राख्ने उद्देश्यले कोषले सफाइ कर्मचारीलाई १० दिने सफाइ व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो । तालिममा कोषका ६७ कर्मचारी सहभागी रहेको प्रशिक्षक मनऋषि धितालले जानकारी दिनुभयो । पशुपतिनाथ जस्तो पवित्रस्थललाई सधैँ सफा र स्वच्छ राख्न तालिम, प्रशिक्षणजस्ता उत्प्रेरणा, आधुनिक उपकरण र नियमित अनुगमनको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ । प्रशिक्षार्थीलाई १६ समूह बनाएर अलग अलग ठाउँमा काममा पठाइएको थियो । तालिमको सुरुमा काम लगाउँदा परम्परागत शैलीमा मात्र हुने गरेको सफाइ उपकरणको प्रयोगले समूह कार्यको अभ्यास गराएपछि प्रभावकारी देखिएको थियो ।    कोषले लाखौँ रुपैयाँ लगानी गरेर बनाएका भौतिक पूर्वाधारका संरचनामा समेत सही तरिकाले सफाइ हुन नसकेको भेटिएको प्रशिक्षक धितालले सुनाउनुभयो । “सफाइ कर्मचारीमा आधुनिक उपकरणको प्रयोग गरी काम गर्ने क्षमताको विकास नहुनु मुख्य कमजोरी पाइयो, तालिमपछि सफाइ कर्मचारीमा नयाँ शैलीले काम गर्ने क्षमताको विकास भएको छ, यसलाई निरन्तरता दिन कोषले उपकरणको पर्याप्त व्यवस्थाका साथै नियमित अनुगमन गर्नुपर्छ”–उहाँले भन्नुभयो ।    विसं २०४४ मा स्थापना भएको कोषका कर्मचारीका लागि पहिलोपटक प्रशिक्षण कार्यक्रम राखिएको हो । विसं २०५० भदौदेखि पशुपति क्षेत्रमा सफाइ काम गर्दै आउनुभएकी तारादेवी घिमिरे पहिलो पटक तालिम पाएको बताउनुहुन्छ । तालिमपछि उपकरण प्रयोग गरेर नयाँ शैलीमा सफाइ गर्न सकिने उहाँको विश्वास छ । पशुपति क्षेत्र २६४ हेक्टरमा फैलिएको छ । पशुपति क्षेत्रमा केही भाग वनसमेत छ । मुख्य मन्दिर क्षेत्र रहेको भागमा पनि नियमित सफाइ नभएको गुनासो भक्तजनले गर्दैआएका छन् ।     कोषका प्रवक्ता रेवतीरमण अधिकारी पशुपति क्षेत्रमा सफाइका लागि १०० कर्मचारी परिचालन गरिएको बताउनुहुन्छ । कोषका तर्फबाट ४०, नेपाल इन्भेष्टमेन्ट बैङ्कका तर्फबाट ४० तथा नेपाल आयल निगम र नेपाल एसबिआई बैङ्कका तर्फबाट १०/१० कर्मचारीको पशुपति क्षेत्रमा सफाइका लागि व्यवस्था गरिएको छ । निगमले कोषलाई सफाइमा उपयोग गर्ने गरी केही उपकरणसमेत उपलब्ध गराएको छ ।       पशुपति क्षेत्रको सफाइमा ‘मब बकेट’ उपकरण प्रयोगमा ल्याइएको छैन । बाल्टीलाई मात्र प्रयोग गर्दा समस्या हुने गरेको सफाइ कर्मचारीको भनाइ छ । यस्ता उपकरण प्रयोगमा नल्याउँदा फोहरबाट सङ्क्रमण फैलन सक्छ । एक वर्षदेखि पशुपति क्षेत्रका सफाइमा काम गरिरहनुभएकी कविता उप्रेती पर्याप्त मात्रामा आधुनिक उपकरण नहुँदा समस्या हुने गरेको स्वीकार्नुहुन्छ । तालिममा सहभागीलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले पशुपति क्षेत्रको सफाइ पुण्य काम भएकाले मन लगाएर गर्न आग्रह गर्नुभयो ।    कार्यक्रममा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अध्यक्ष खेम लकाइलगायतले तालिमपछि पशुपति क्षेत्रको सफाइमा सुधार हुने तथा यसको नियमित अनुगमनसमेत गरिने बताउनुभयो ।

काठमाण्डौँ  :     राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् ।   राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा काठको व्यवस्थापन हुन नसकेको भन्दै काठ आयातलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।        सांसद डा विमला राई पौड्यालले भन्नुभयो, “रुखले प्रविधिक पाएन, धेरै रुख त्यसै सडेर गएका छन, धोद्रो भएर गएका छन् अनि हामीले काठ आयात गरिरहेका छौँ, आयातित काठलाई प्रतिस्थापन गर्ने सरकारको योजना के छ ।”       सांसद गङ्गा कुमारी बेल्वासेले निकुञ्ज ऐन, २०२९ लाई संशोधन गरी समयानुकुल बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसदद्वय खिमलाल देवकोटा र सुरेशकुमार आले मगरले बजेट कार्यान्वयनमा जोड दिनुभयो ।      छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन नियमावली र वन ऐन अन्तर्गत नै रहेर खानी उत्खनन गर्ने काम भइरहेको प्रस्ट पार्नुभयो । उहाँले कर्मचारी अभावले वन क्षेत्रमा प्राविधिकको कमि भएको उल्लेख गर्दै जतिसक्दो चाँडो प्राविधिकको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।       उहाँले भन्नुभयो, “कोभिड–१९ बाट थलिएको पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा आरक्षणमा पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ, जैविक विविधता संरक्षणमा मन्त्रालययको प्राथमिकता छ ।”