लमजुङ:  लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

  धरान:    धरान उपमहानगरपालिकाले मेयर चढ्ने गाडी बिक्री गर्ने निर्णय गरेको छ।   मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाकोे बैठकबाट पारित भएको हो। मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए।   ‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’ मेयर साम्पाङले भने। मेयर निर्वाचित भए पनि साम्पाङ प्रायस् आफ्नो मोटरसाइकल प्रयोग गर्छन्। धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन्।   ‘उहाँले धेरैजसो आफ्नै बाइक प्रयोग गर्ने हो, गाडी चाहिएको छैन, त्यसैले काम लाग्दो अर्को साधन किन्ने निर्णय भएको हो,’ मेयरको सचिवालयले भन्यो, ‘अब बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ।’

  टोकियो:   जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने  पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् ।   आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ । आबे चुनावको दौडानमा थिए । स्थानीय नारा सहरमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।   ६७ वर्षीय आबे लिबरल डेमोक्रेटिक पार्टीमा आवद्ध छन् ।

काठमाण्डौँ:     बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ ।    उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार फलफल भई प्रतिवेशनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेशसभाका सबै सदस्यलाई असार २९ गते हुने बैठकमा सहभागी हुन सूचना सम्प्रेषण गरिएको छ ।    बागमती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो । उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गर्नुभएको थियो ।

तुलसीपुर:   कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।    दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैहुनुहुन्छ । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उहाँले सत्य सावित गर्नुभएको छ ।    रिमबहादुर सानोमा विद्यालय जान पाउनु भएन । विद्यालय जाने उमेरमा उहाँलाई घरको कामले फुर्सद भएन । उहाँले विद्यालयको अनुभूति गर्न पाउनु भएन । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहनुभएको छ । “मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो”, उहाँले भन्नुभयो, “बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।”   आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउनुहुन्छ । “अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन”, उहाँले विगत सुनाउनुभयो । रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना हुनुभएको हो । त्यसयता उहाँ नियमितरुपमा विद्यालय गइरहनुभएको छ । उहाँले बिहान र बेलुकाको समयमा घरको काम भ्याउनुहुन्छ । उहाँले दिउँसोको समयको सदुपयोग गरिरहनुभएको छ ।    “घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु”, रिमबहादुरले भन्नुभयो, “दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु ।” आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो । भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उहाँ बताउनुहुन्छ । रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । “उमेरले पढ्न छेक्दो रहेनछ”, रिमबहादुरले भन्नुभयो, “त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।”   रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी हुनुहन्छ । श्रीमान्को पढ्ने इच्छामा सहयोग गर्ने उहाँले बताउनुभयो । “पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु”, लालमतीले भन्नुभयो । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उहाँको भनाइ छ ।    रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो । “यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ”, उहाँले भन्नुभयो । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउनुहुन्छ । अहिले विस्तारै सबै बानी परेका छन् । “रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो”, प्रधानाध्यापक खत्रीले भन्नुभयो, “अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।”

भक्तपुर:    भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो ।    दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।   प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ । 

काठमाण्डौँ:    आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷ चट्याङसहित वर्षा हुुने भएको छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   हाल देशको प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आङ्शिकदेखि सामान्य बदलीका साथै सोही प्रदेशका थोरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्का वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।   शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही र बाँकी प्रदेशमा आङ्शिकदेखि सामान्य बदली रहनेछ ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

सुर्खेत:   उज्यालो र सुरक्षित सहर बनाउने उद्देश्यले वीरेन्द्रनगरका नौ स्थानमा हाइमार्स लाइट (बढी उज्यालो शक्ति भएको बत्ती) जडान गर्न थालिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा यहाँका नौ स्थानमा सो लाइट जडान गर्न लागिएको हो ।    नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको बजेटअन्तर्गत रेडियो नेपाल, मूलपानी, शिवालय, सहकारी र वीरेन्द्रनगर–१२ को सत्यनारायण, कुमाइ, तीनकुने चोक, मुख्यमन्त्री निवास, बाङ्गेसिमल प्रहरीचौकी क्षेत्रमा बत्ती जडानको काम सुरु भइसकेको छ । नगर प्रमुख मोहनमाया ढकालले थप बत्ती जडानले रात्रिकालीन सहरी सौन्दर्यता, शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन प्रभावकारी हुने बताउनुभयो ।    नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले निर्माण व्यवसायी कम्पनी कोभाल्ट इन्टरनेशनल काठमाडौँले जडानको काम सुरु गरिसकेको जानकारी दिनुभयो । प्रदेश सरकारले बजेट पठाउन ढिलाइ गर्दा बल्ल काम सुरु भएको उहाँको भनाइ छ । यसका लागि प्रदेश सरकारले रु एक करोड रकम पठाएको छ ।     नगरपालिकाले बत्ती जडानका लागि रु एक करोड नौ लाख लागत स्टिमेट गरी ठेक्का आह्वान गरेको थियो । कोभाल्ट इन्टरनेशनलले घटेर रु ६५ लाख ८९ हजारमा बत्ती जडान गर्न ठेक्का पाएको हो । वीरेन्द्रनगर नगरपालिकाले यसै वर्ष १२ स्थानमा रु एक करोड २० लाख लागतमा ‘हाइमार्स लाइट’ जडान गरिसकेको छ ।

  बाजुरा:   बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाका साथ निर्वाचन सम्पन्न  भएको छ। बूढीगङ्गा नगरपालिकाको वडा नम्बर ३ र ९ मा फर्जीमतको विषयलाई लिएर केही समय मतदान गर्ने कार्य रोकिएको थियो। मतदान रोकिएको सो वडामा केही समयपछि पुनः मतदान कार्य सुरु गरिएको थियो।   बूढीगङ्गा नगरपालिकाको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले केही वडामा कार्यकर्ता बीच फर्जीमतको विषयमा सामान्य विवाद भए पनि बेलुका पाँच बजे सबै वडामा मतदान गर्ने काम सम्पन्न भएको बताउनुभयो। गत वैशाख ३० गते भएको स्थानीय सदस्यको निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदानस्थलमा धाँधली हुँदा त्यहाँको मतगणना रोकिएपछि असार २३ गते पुन मतदान भएको हो।   बूढीगङ्गाको वडा नम्बर १ मा  एक हजार ३२६ वडा नम्बर २ मा एक हजार ४४३ वडा नम्बर ३ मा एक हजार ३२० वडा नम्बर ४ मा एक हजार ७०९ वडा नम्बर वडा नम्बर ५ मा एक हजार १४२  वडा नम्बर ६ मा एक हजार ९२ वडा नम्बर ७ मा एक हजार ३०७ वडा नम्बर ८ मा एक हजार ५९ वडा नम्बर ९ मा एक हजार ४८३ र वडा नम्बर १० मा एक हजार ७७८ गरी १३ हजार ६५९ मतदाता सङख्या रहेको थियो।   वडा १ मा ८३१ वडा २ मा एक हजार १ हजार ११९  वडा ३ मा ७६७  वडा नम्बर ४ मा ९७१ वडा नम्बर ५ मा ८१८ वडा नम्बर  ६ मा ७९० वडा नम्बर ७  मा ८८१ वडा नम्बर ८ मा ७०० वडा नम्बर ९ मा ९०३ वडा नम्बर १० मा एक हजार १०९ मत खसेको छ।   १० मतदान केन्द्र र १९ वटा उप केन्द्रमा कडा सुरुक्षाका बीच मतदान गर्ने काम सम्पन्न भएको छ। जसमा ६६।७५ प्रतिशत मत खसेको बूढीगङ्गा नगरपालिकाको निर्वाचन अधिकृत कडायतले बताउनुभयो। बूढीगङ्गा नगरपालिकाको मेयर पदमा उमेदवार नेपाली काँग्रेसबाट रङ्ग खाती उपमेयर रिता शाही र नेकपा एमालेबाट मेयर रामबहादुर बाँनीया उपमेयर माया कुँवर उम्मेदवार हुनुहुन्छ। 

काठमाण्डौँ:     कोरोना भाइरसको सङ्क्रमण ७८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ५१५ परीक्षणमध्ये आज ७८ जनामा सङ्क्रमण देखिएको हो । हिजो असार २२ गते ११३ जनामा सङ्क्रमण देखिएको थियो ।    सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ जना रहेका छन् । विगत २४ घण्टामा २३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५९८ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।    सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । अहिलेसम्म होमआइसोलेसनमा ५०१, संस्थागत आइसोलेसनमा सात, भेन्टिलेटरमा एक र सघन उपचार कक्ष (आइसियु)मा सात जना उपचार भइरहेको छ ।