काठमाण्डौँ : भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले यहाँस्थित नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । “नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा ठूलो मात्रामा चिनी फेला पारेका हौँ”, उहाँले भन्नुभयो । बाँकेमा विशेष गरी सेटिङमै जमुनाह, हिरमीनिया, साइगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिणाममा चिनी तस्करी हुँदै आएको बताइएको छ । भारतबाट तस्करी गरी ल्याइएको चिनी चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, दाङलगायतका पहाडी जिल्लामा वितरण गरिन्छ ।
पोखरा : गण्डकी प्रदेशमा संसदीय पत्रकारितामा क्रियाशील पत्रकारले बिहिबार लुम्बिनी प्रदेशसभा सचिवालय पुगी स्थलगत अवलोकनसँगै त्यहाँका सभामुख, आन्तरिम मामिला तथा सञ्चारमन्त्रीलगायतसँग छलफल एवं अन्तक्र्रिया गरेका छन् । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवं गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा क्षमता अभिवृद्धिका लागि अध्ययन, अवलोकन र अनुभव आदानप्रदानसहितको तालिमका क्रममा दुईवटै प्रदेशका प्रदेशसभाका गतिविधिलगायतमा छलफल गरिएको थियो । छलफलमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको यो कार्यकाल सकिनै लाग्दा यसबीचमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । सीमित साधनस्रोतसँगै अनुभव आदिको कमीका बाबजुद यस अवधिमा सङ्घीयताको महत्वपूर्ण पक्षका रुपमा रहेको प्रदेशका आधारभूत संरचना तयार भएको अनुभव उहाँले सुनाउनुभयो । यसबीचको अभ्यास तथा उपलब्धिले आगामी दिनमा धेरै सहज हुने र यो अवधि सङ्घीयताको अभ्यासको महत्वपूर्ण दस्तावेज बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेशसभाको यस अवधिमा प्रदेशको आधार तयार भएको जनाउँदै यो अभ्यासले भावी दिनका लागि महत्वपूर्ण सहयोग पु¥याउने धारणा राख्नुभयो । लुम्बिनीमा संसदीय मामिलामा क्रियाशील पत्रकारसँग राम्रो समन्वय गर्दै अघि बढिएको बताउँदै उहाँले प्रदेशसभा एवं सरकारका गतिविधि बाहिर ल्याउन पत्रकारजगत्को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णी थारुले लुम्बिनीले यस अवधिमा ६७ कानुन बनाएको जानकारी दिनुभयो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले लुम्बिनी प्रदेशसभाको भौतिक संचनासँगै भइरहेका प्रयासबारे जानकारी गराउनुभयो । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष अमृत सुवेदीले प्रदेशसभा स्थापनाको समयदेखि नै त्यहाँका गतिविधिलाई संसदीय पत्रकारले निरन्तर सम्प्रेषण गरिरहेको जनाउँदै यस अवधिका भोगाइ र अनुभवबारे प्रकाश पार्नुभयो । संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष विष्णुप्रसाद घिमिरेले लुम्बिनीमा प्रदेशसभाको नया अभ्यास सुरु भएकै समयमा युनडिपीको सहयोगमा संसदीय पत्रकारिता तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
काठमाण्डौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले ५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान गरेको छ । विभागले सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका वस्तुका साथै अन्य वस्तु तथा उद्योगलाई इजाजतपत्र प्रदान गरेको हो । विभागले चालु आर्थिक वर्षमा सिमेन्ट, टीएमटी छड, रङ, एचडीपीई पाइप, सीपीभीसी पाइप, यूपीभीसी पाइप, जस्मिन हाइजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढेको बताउनुभयो । “अघिल्ला वर्षको तुलनामा यसवर्ष नेपाल गुणस्तर इजाजतपत्र लिनेको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो । चालु आवमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा नेपाल गुणस्तर चिह्न लिने उद्योगी व्यवसायीको सङ्ख्या बढेको महानिर्देशक मिश्रको भनाइ छ । सरकारले सिमेन्ट, छड, एलपीजी सिलिण्डर, रेगुलेटर, ग्यास पाइप, जीआई वायर, पीभीसी केबुललगायत १५ वस्तुमा नेपाल गुणस्तर अनिवार्य गरेको छ । विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार इजाजतपत्र प्रदान गर्दै आएको छ । विभागको कार्यक्षेत्र धेरै भए पनि कर्मचारी कम हुँदा काम गर्न समस्या भएको विभागले जनाएको छ । ८९ कर्मचारीको दरबन्दी रहेको उक्त विभागमा हाल ६५ जना कार्यरत छन् । विभागमा हाल विभिन्न वस्तुको गुणस्तर मापन गर्नका लागि केमिकल, फिजिकल र टेक्साइल प्रयोगशाला छन् । पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिह्न लिने उद्योगी व्यवसायीको सङ्ख्या बढे पनि कामदारको सङ्ख्या कम हुँदा काममा समस्या भइरहेको विभागका प्रवक्ता एवं सहसचिव ज्योति जोशी भट्टले बताउनुभयो । यो बाहेक सरकारले नापतौल, मिटर ट्याक्सीको भाडा समायोजनलगायत काम गर्दै आएको छ ।
धनुषा : पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाले मिलेर घाँटी थिची हत्या गरेको भन्दै मृतक गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दत्रा गराउनुभएको थियो । सोही जाहेरीको आधारमा दुवै जनालाई भारतको लदनियाबाट पक्राउ गरी नेपाल ल्याइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
काठमाण्डौँ : गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लाग्नुभएका हजयात्रीको बिदाइ गर्नुभएको छ । गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लाग्नुभएका ११३ हजयात्रीलाई बिदाइ गर्नुभएको हो । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउनुभयो । हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार हुने उहाँले बताउनुभयो । हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलगायतको उपस्थिति थियो । यही असार ६ गतेदेखि दैनिक एयर अरेबियाको जहाजबाट टोली हज गर्न जाने गरेको थियो ।
रोल्पा : रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन् । यसरी दायर भएका २२७ मुद्दा फछ्र्यौट हुँदा ९५ फछ्र्यौट हुन बाँकी छन् । दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका हुन् । धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, विहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ । गत वर्ष २२६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १५६ वटा फछ्र्यौट भएका छन् । सो अवधिका ७० मुद्दा फछ्र्यौट हुन बाँकी छ । आर्थिक वर्ष २०७६÷७७ मा १६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १२३ वटा फछ्र्यौट भएका थिए । सम्बन्ध विच्छेद गर्नेमध्ये अधिकांश २७ वर्ष मुनिका छन् । चौध वर्ष उमेरका बालबालिका पनि सम्बन्ध विच्छेदका लागि आउने गरेको रोल्पा जिल्ला अदालतका केशव श्रेष्ठले जानकारी दिनुभयो । “विवाह भएको चार महिनामै सम्बन्ध विच्छेद गर्न आउने गरेको तथ्याङ्क छ”, उहाँले भन्नुभयो । अंश दाबीबिना सम्बन्ध विच्छेद गरी पाउ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको पाइएको । अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी गर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको श्रेष्ठले बताउनुभयो । सम्बन्ध विच्छेदको मुख्य कारण बालबिवाह भएको रोल्पा जिल्ला अदालतका श्रेस्तेदार प्रेम खड्काको भनाइ छ । “सानै उमेरमा विवाह गर्छन्, परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गराउन आउँछन्”, उहाँले भन्नुभयो । सम्बन्ध विच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपोग, मादक पदार्थको सेवन, कुटपिटलगायत हिंसालगायत रहेको छ । महिला अघिकारकर्मी तीर्था आचार्य भन्नुहुन्छ, “वैदेशिक रोजगारीले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको छ ।” सम्पत्ति नलिएरै सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या धेरै छ । सम्पत्ति माग दाबीसहित गरिने सम्बन्ध विच्छेदको प्रक्रिया लामो हुन्छ । यसरी सयौँ परिवार विखण्डन हुँदा सामाजिक विग्रह पनि बढ्दै गएको आचार्यले बताउनुभयो । सम्बन्ध विच्छेद गरेकाहरुका छोराछोरीको शिक्षा, स्वास्थ्य तथा पालनपोषण प्रभावित हुने गरेको पाइएको छ ।
महोत्तरी : महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।
झापा : नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताउनुभयो । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो । शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।
काठमाण्डौँ : देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना छ । रातको समयमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस छ ।