गलकोट:  बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियाम...

 कञ्चनपुर :     पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाषी–सुडा खण्डमा आज बिहान बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।   महेन्द्रनगरबाट बर्दियातर्फ गइरहेको ना ४ ख ८०७७ नं को बसले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका–६ बस्ने ३० वर्षीया बिमलादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते हुनुभएकी जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।   दुर्घटनापछि आक्रोसित स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय प्रशासन राजमार्ग खुलाउन प्रयासरत रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बलमेले बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । 

काठमाण्डौँ :       शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।    मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताउनुभो । टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिनुभयो ।

  म्याग्दी :        म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । “यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उहाँले भन्नुभयो “बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।”   माघको अन्तिम साता धुले ब्याड राखेर जमाएको धान चैत १२ गते रोपिएको थियो । करिब तीन रोपनी क्षेत्रफलमा लगाएको धानको बाला राम्रो लागेको र पाकेर भित्र्याउने तयारी गरेको मल्लले बताउनुभयो । बर्खामा लगाउने गौरी, जेठोबुढो जत्तिकै उत्पादन भएको उहाँको भनाइ छ ।    बर्खे धान जत्तिकै पुष्ट दाना र पराल सफा भएको मल्लले बताउनुभयो । रणवाङ समुन्द्री सतहदेखि एक हजार ५० मिटर उचाइमा अवस्थित छ । सम्मा फाँट भएको यहाँ हालसम्म वर्षमा एकबाली मात्र धान खेती हुन्छ । मङ्गला गाउँपालिकाको कृषि शाखाका प्रमुख तारा बानियाँ ९जगत०ले पालिका क्षेत्रमा रणवाङमा पहिलो पटक चैते धान उत्पादन भएको बताउनुभयो ।    “सम्भव नहुने ठानेर चैते धानको खेतीतर्फ कसैको ध्यान पुगेको थिएन”, उहाँले भन्नुभयो “परिक्षण सफल भएकाले चैते धानखेती विस्तारको कार्यक्रम बनाउँछौ ।” तराइ, भित्री मधेश र केही पहाडी जिल्लामा चेतै धान खेती हुने गरेको छ ।    म्याग्दीको बेनी नगरपालिका–१ को ढोडेनी, सारेमारे र सिममा मात्र चैते धानखेती हुने गरेको थियो । रणवाङ भन्दा केही कम उचाइमा अवस्थित पिपलबोट, सेराफाँटका कृषकले केही वर्षअघि चैते धान खेतीको प्रयास गर्दा सफल भएको थिएन् । सिँचाई सुविधा भएकाले रणवाङमा चैते धान खेती गर्न सम्भव भएको हो ।    हावापानी, तापक्रम र मौसम अनुकुल भएकाले चैते धान खेती सफल भएको कृषक मल्लले बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले चैते धानखेतीको सम्भाव्यता अध्ययन गरिने बनाउने बताउनुभयो ।

खोटाङ :      ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो ।   अभियानका क्रममा ज्याकराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँसलगायत ५०० बिरुवा रोपिएको छ । गुरुयोजना तयार गरी अभियान थालिएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताउनुभयो ।    धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजना छ । मझुवागढी र कालिका भगवती मन्दिर आसपासको खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल बनाइने भएको छ ।    फूलैफूलको डाँडा बनाएर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न अभियान थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । “सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिन्छन्”, उहाँले भन्नुभयो । मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ ।    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदलयात्रापछि पुगिने मझुवागढीमा १८०४ सालसम्म राजा रणवीर हाङले शासन गरेको बताइन्छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न र साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्न व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।   मझुवागढीको उत्तरतर्फ बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा  छ । गढीको बीचमा मौली छ । त्यो बेला रणवीर राजाका रैतीहरूले दशैँ मान्नका लागि ल्याएका राँगा–बोका राख्ने ठाँउलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।    गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ तथा गढीवरिपरि बम्कर घेरासमेत छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । मन्दिरमा अहिले पनि दैनिकजसो बलि दिने गरिन्छ । मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतका चाडपर्वमा ठूलो मेला लाग्छ ।    मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पर्यटकलाई लक्षित गरी यहाँ फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र पानीको व्यवस्था छ । यहाँबाट हिमशृङ्खला र तराईका समथर भू–भागको दृष्यावलोकन गर्न सकिन्छ ।   मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ । चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी राखिएको बताइन्छ ।  

   रोल्पा :      रोल्पामा एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् ।    विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।    विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्यूटीपार्लर तालिममा सहभागी थिइन् ।  उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।

बैतडी :      बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो ।   यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप देखापरेको छ ।    दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको छ । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न स्थानबाट किसानले फोन गरेर फौजी किराको प्रकोप देखिएको जानकारी दिने गरेका छन् । हामीले विषादी छर्किन सुझाव दिएका छौँ ।”   मकैको पकेट क्षेत्रमै किराले नोक्सान गरेको छ । तीन वर्षयता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको छ । दोगडाकेदार गाउँपालिका–२ का अधिकांश किसानले लगाएको मकै फौजी किराले सखाप पारेको स्थानीय दीपिका कार्कीले बताउनुभयो । मकैबाली लगाएदेखि नै फौजी किराले क्षति पुर्याउन थालेको छ ।     “किराले मकै बाली नष्ट गर्न थालेपछि समस्यामा छौँ । किरा मार्न विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो । दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख रामबहादुर विष्टले किराको प्रकोपबारे जानकारी आएको र वडास्तरबाटै कृषि प्राविधिक पठाउन पहल भइरहेको  बताउनुभयो ।    मकै बालीमा किराको प्रकोप देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत चन्दले जानकारी दिनुभयो । केन्द्रले इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । सबै बारीमा विषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने उहाँको भनाइ छ । बैतडीमा १३ हजार हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ । 

धनुषा :      भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।   रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताउनुभयो ।   भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ । भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइने छ । 

काठमाण्डौँ  ः      पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ ।    मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष पुसमा भारमापन केन्द्र स्थापना गरिएको थियो । पनौती नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई हाल भरमापन गर्न÷गराउनसमेत आग्रह गरेको छ ।     भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा गत वर्ष फागुनमा जारी पत्रानुसार स्थानीय तहले हालैमात्रै भारमापन कार्यलाई कडाइ गरेको हो । सोही निर्देशिकाअनुसार विभागको अनुमतिमा जिल्लामा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।    “दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि मालवाहक सवारीसाधनमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो”, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय प्रदीप पौडेलले भन्नुभयो । गत वर्ष पुसमा काभ्रेपलाञ्चोकको तीन स्थानमा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।    बनेपा–पनौती सडकको नैकिन्टार, अरनिको राजमार्गअन्तर्गत पाँचखालस्थित केराघारी र बिपी राजमार्गको नमोबुद्ध नगरस्थित भकुण्डेमा तौलपुल स्थापना गरिएको छ । ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले पाँचखाल र पनौतीमा तथा कोट कालिका मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले नमोबुद्धमा तौलपुल सञ्चालन गरेको होे ।   मालवाहक सवारीसाधनले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजका सरोज कुइँकेलले बताउनुभयो । उहाँका अनुसार सबै मालवाहक सवारीसाधनले भारमापन गर्ने हो भने सडक सुरक्षामा मद्दत पुग्नेछ । निर्देशिकाअनुसार ६ पाङ्ग्राभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीसाधनले रु १५० तिर्नुपर्दछ ।   बनेपा–खोपासी सडक तथा अरनिको र बिपी राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारीसाधन चल्ने गर्छन् । मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकमा क्षति पुग्ने गरेको छ । 

   काठमाण्डौँ :        हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।   उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश नं १ मा आङ्शिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आङ्शिक बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   काठमाडौँमा बिहानैदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ ।  दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आङ्शिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका केही, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २८ दशमलव सात र न्यूनतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।