रुपन्देही: रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । गत वर्ष रु २५ हजार प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो । उहाँले प्राकृतिक प्रकोप, बेमौसमी वर्षात्का साथै भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावले इँटा उद्योगलाई असर पारेको जानकारी दिनुभयो । महासचिव गुप्ताले भन्नुभयो, “इँटा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ । नेपाली इँटा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इँटा उद्योग बन्द गर्ने मनसायमा इँटा उद्योगी पुगेका हुन् ।” जिल्लामा करिब ४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् तर पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नाका साथै सोचेअनुसार इँटाको माग नहुँदा सञ्चालित इँटा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताको भनाइ थियो । त्यस्तै लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका सदस्य दीपक पौडेलले इँटा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाउनुभयो । उहाँले कोइला आयतमा नेपाल सरकारले सहजीकरण गर्नाका साथै जिल्लामा उत्पादित इँटाको माग बढाउनुपर्नेमा जोड दिनुभयो । रुपन्देहीमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौँ, अर्घाखाँची, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ । छिमेकी राष्ट्र भारतमा पनि इँटा व्यवसायीले इँटा उत्पादनको लागत थेग्न नसकेर एक लाख इँटा उद्योग बन्द गर्ने अखिल भारतीय इँटा एवं टायल व्यवसायी महासङ्घले घोषणा गरेको र यसको असर नेपालमा समेत पर्ने अनुमान गरिएको छ ।
काठमाडौं: गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ । आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् । यस्तो दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा छन् । उनी १८औं नम्बरमा सिफारिसमा परेका हुन् । विष्टका ब्याजी सबै एसएसपी भइसकेका छन् ।
काठमाण्डौँ: विश्वकप फुटबल प्रतियोगिताको आयोजनाले बाह्य समर्थन र पयर्टक बढ्छन् । साथै, आयोजक राष्ट्रको आम्दानी पनि ह्वात्तै बढ्ने गर्छ । युरोप, उत्तर र दक्षिण अमेरिकाका साथै दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुँदा त्यहाँका यौन व्यवसायलाई स्वतन्त्रता प्रदान गरिएको थियो । यसबाट ती आयोजक राष्ट्रहरूले नगण्य धन पनि कमाए । तर, यसपटकको विश्वकप आयोजक राष्ट्रले विदेशी पयर्टक तथा समर्थकबाट यौन व्यवसायबाट आम्दानी गर्नेछैन । यसपटक विश्वकप कतारमा हुँदै छ । आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा हुने विश्वकपमा हजारौँ विदेशी समर्थक तथा पयर्टक आउने पक्का छ । यद्यपि, विदेशी पाहुनाहरूले कतारमा आफूले मन लागेको जस्तो कार्य गर्न पाउनेछैनन् । इस्लामिक राष्ट्र कतारले विश्वकप दौरानमा गर्न हुने र नहुने नियम अगाडि नै सार्वजनिक गरिसकेको थियो । कतारले हालै मात्र एउटा अचम्मको नियम सार्वजनिक गरेको छ । कतारले सेक्स पूर्ण रूपमा प्रतिबन्ध लगाउने भएको छ । एक महिनासम्म चल्ने विश्वकपमा सेक्स प्रतिबन्ध हुँदा प्रतियोगिता नै खल्लो हुने अनुमान गरिएको छ । कतारको प्रचलित कानुनअनुसार पति–पत्नीबाहेक अन्यलाई सेक्स गर्नबाट वञ्चित गरिएको छ । यो नियम पूर्ण रूपले लागू हुँदा विदेशी समर्थक तथा पयर्टकले फुटबलको मात्र मज्जा लिएर घर फर्कनुपर्ने हुन्छ । धेरैजसो समर्थक तथा पयर्टक यौन आनन्द लिन पनि विश्वकप हुने राष्ट्रमा पुग्छन् । अघिल्ला विश्वकप आयोजक राष्ट्रहरूले विश्वकप दौरानमा यौन व्यवसायलाई छुट दिएका थिए । ती विश्वकप आयोजक राष्ट्रहरूले यौन व्यवसायबाट राम्रो आम्दानी गरेका थिए । यसपटकको आयोजक राष्ट्र कतारले आफ्नो इस्लामिक नियम सबैले पालना गर्नुपर्ने जनाएको छ । कतारको कानुनले विवाहअघिको सेक्सलाई अपराध मानेको छ । यसैकारण विश्वकपमा पति–पत्नीबाहेक अन्य प्रेमी–प्रेमिकाले सेक्स गर्न पाउनेछैनन् । सम्बन्धित निकायले नियमभन्दा बाहिर गई अनैतिक कार्य गरेको भेट्टाउँदा उनीहरूलाई कम्तीमा सात वर्षसम्म जेल सजाय भोग्नुपर्ने निर्देशन दिएको छ । कतारले इस्लामिक नियम पालना गराउन विदेशी फुटबल समर्थकलाई कडा चेतावनी दिएको छ । ‘ विश्वकपमा परस्त्रीसँग यौन सम्पर्क राख्दा सात वर्षको सजाय हुन सक्नेछ,’ कतारी सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पति–पत्नीका रूपमा हुनुहुन्छ भने यसमा कुनै नियम लागू हुँदैन, तर परस्त्रीसँग अनैतिक कार्य गर्दा प्रचलित नियमअनुसार सजायको भागीदार हुनुपर्नेछ ।’ परस्त्रीसँगको यौन सम्पर्कबाहेक कतारले पार्टी र मदिरा सेवनमाथि पनि प्रतिबन्ध लगाएको छ । कतारले आफ्नो मौलिक संस्कृतिअनुसारै विश्वकपमा नियम बनाएको जनाएको छ । ‘हाम्रो संस्कृतिभन्दा बाहिर जाने जोकोहीलाई दण्डित गर्ने व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वकप फुटबल हेर्न आउने समर्थकहरूले नियमको पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।’
काठमाण्डौँ: नेकपा माओवादी केन्द्रले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम चलाउने भएको छ । पार्टीको शनिबार बनेको स्थायी समिति बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महरा अनुसार पार्टीले साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ । त्यस्तै पार्टीले आगामी चुनावसम्मका लागि प्रदेश कमिटी र केन्द्रबीच समन्वय गर्न एउटा समिति बनाउने निर्णय गरेको छ । प्रदेश इन्चार्जको नेतृत्व बन्ने सो प्रदेश समन्वय समितिमा केन्द्रीय सदस्य तथा प्रदेशका सबै पदाधिकारी सदस्य रहनेछन् ।
काठमाण्डौँ: माओवादी केन्द्रको स्थायी कमिटीका निर्णय नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजक समेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट घात(अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरूले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको बताए। उनले छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको बताए। प्रवक्ता महराले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको पनि बताए।
दमक: झापामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत सेवा लिन समस्या हुन थालेपछि स्थानीय तहहरुले बीमाको उपचारमा सहजताका लागि विशेषज्ञसहितको अस्पताल बनाउने कार्यलाई प्राथमिकताका साथ आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न थालेको पाईएको छ । विशेष गरेर झापाको दमकमा रहेको स्थानीय सरकारी दमक अस्पतालमा कन्काईपु्लको वारी क्षेत्र अर्थात दमक शिवसताक्षी नगरपालिका, कमल गाँउपालिका, गौरीगन्ज गाँउपालिका लगायतका पालिकाहरुका विरामी आउने अवस्था रहेको छ । यहाँ दैनिक एक हजारभन्दा बढी विरामीको चाप रहने गरेको छ । स्थानीय तहहरुले विपन्न समुदायको स्वास्थ्य विमालाई प्राथमिकतामा राख्दै उपचारका लागि आफ्नै पालिकामा अस्पताल बनाउने कार्य अघि बढाएको पाइएको हो । हामीले आर्थिक वर्षको शुरुवातदेखि नै कम्तिमा पाँच बेडका लागि आवश्यक विशेषज्ञसहितको अस्पताल शुरु गर्दैछौँ, गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईले भन्नुभयो । बीमाको उपचारका लागि आवश्यक स्वीकृति पनि गाँउपालिकाले पाइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताउनुभएको छ । यहाँ अस्पतालबाट सेवा शुरु भएपछि अन्यत्र राम्रो अस्पताल रेफर भएर जाने विरामीका लागि दमक अस्पताल जानु पर्ने बाध्यता टर्नेछ । गौरादह नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा आगामी एक वर्षभित्रमा नै कम्तिमा पनि पाँच बेडको अस्पताल शुचारु गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । तीन जना विशेषज्ञ चिकित्सक सुविधासहितको अस्पताल शुरु गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनुभयो । गौरादहको स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा सुचारु गरिने भएको हो । यहाँ ल्याव, एक्स–रेलगायतका आधारभूत स्वास्थ्य उपकरणहरु तत्कालै व्यवस्थापन गरिने पनि जनाइएको छ । अस्पतालमा उपचार हुन नसक्ने र बाहिर ठूला अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको सुवेदीको भनाइ छ । यसैगरी, गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछीमा रहेको गौरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालको रूपमा सञ्चालन गरिने र यसका लागि आवश्यक प्रक्रिया सकिएको गाउँपालिका उपाध्यक्ष पुजन कुँवरले बताउनुभएको छ । आर्थिक वर्ष २०७९÷८० को साउन १ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको गौरीगंज अस्पतालको रूपमा स्वीकृति पाएर सञ्चालन हुने उहाँका भनाइ रहेको छ । बीमाका विरामीहरुले यही उपचार पाउने अवस्था रहनेछ, उहाँले भन्नुभयो । अस्पतालका लागि डिजिटल भिडियो एक्स–रे मेसिन र एम्बुलेन्सको व्यवस्थापन हुने जनाइएको छ । गाँउपालिकाले अति विपन्नहरुको स्वास्थ्य बीमालाई आफ्नो नीति तथा कार्यक्रममा महत्वका साथ स्थान दिएको छ ।
काठमाण्डौँ: चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका दमक–३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका–१३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कनकाई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताउनुभयो । हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मारेको छ । भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १३ यहीको जङ्गलमा रैथाने भएर बसेका छन् । झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत नरोकिएको हात्ती संरक्षणकर्ता शङ्कर लुइँटेलको भनाइ छ । बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा करिब आठ वर्ष र अर्जुनधारा नगरपालिका–४ दहीझोडा सामुदायिक वनभित्र रहेको खोला किनारमा २५ वर्षको हात्ती यसै हप्ताभित्र मृत भेटिएको सहायक वन अधिकृत खत्रीले जानकारी दिनुभयो । अर्जुनधारामा मृत भेटिएको हात्तीको वरिपरि विद्युतीय तारबार भेटिएको हुँदा सो हात्तीलाई स्थानीयवासीले नै करेन्ट लगाएर मारेको हुनसक्ने आशङ्का गरिएको उहाँको भनाइ छ ।
काठमाण्डौँ: खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातीत उत्पादनले विस्थापित गरेको किसानको पीडा छ । सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा समस्याले बाहिरबाट आएका उत्पादनले आफूहरुको तरकारी उत्पादनलाई विस्थापित गरेको गैडहवा गाउँपालिका–७ का किसान विजयसिंह केवट बताउनुहुन्छ । आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्ममा जिल्लाको भैरहवा भन्सार नाकाबाट १० हजार ५६९ मेट्रिक टन हरियो तरकारी नेपाली बजारमा भित्रिएको देखिन्छ । यसको अलावा खुला सीमाको फाइदा उठाउँदै मोटरसाइकल र साइकलमा तरकारी दैनिक नेपाल भित्रिने गरेको छ । भारतमा कृषि उत्पादनमा सरकारले बीउ, मल, प्रविधि, विद्युत्लगायतमा सहयोग पुर्याउँदा कृषि उत्पादन लागत नेपालभन्दा निकै सस्तो हुने गर्दछ । नेपालमा मल, बीउ, प्राविधिक सहयोग, बजारीकरणको अभाव हुँदा बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको जिल्लाको तिलोत्तमा नगरपालिका–१४ का किसान पन्नेलाल केवट गुनासो गर्नुहुन्छ । नेपालमा तरकारी बजारमा विचौलियाको समेत बढी प्रभाव हुने गरेको छ । यसले नेपाली किसान विस्थापित हुने गरेको सिद्धार्थनगर नगरपालिका–१२ का किसान राधेश्याम लोध बताउनुहुन्छ । सङ्घ र प्रदेश हुँदै स्थानीय सरकारले नेपाली किसानलाई कृषि उत्पादनमा सहयोग र उत्पादन भएको वस्तु बजारीकरणमा व्यवस्थापन गर्नुपर्ने रुपन्देही कृषि उद्यमी बताउँछन् । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले नगर क्षेत्रमा तरकारी खेती उत्पादन गर्ने किसानका लागि अब विशेष प्याकेज ल्याउने भन्दै भारतीय तरकारीको विकल्प खोज्ने बताउनुभएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्र्याक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्र्याक्टर पल्टिएर ट्र्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो । ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । ६६ वर्षीय भण्डारीको गए राति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरीचौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्र्याक्टर ‘लोडपिन’ अचानक भाँचिन गई रोडको बायाँतर्फ पल्टिइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

