उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लावारीले गत मङ्गलबार ८ जना थुनुवा लिएर विराटनगर हिँडेको गाडी पथरीशनिश्चरेको जय चौक नपुग्दै बिग्रियो । अघिल्लो दिन मात्रै मर्मत गरी चलाएको बा १ झ ६४५० नम्बरको गाडी बाटोमै बिग्रिएपछि प्रहरीलाई थुनुवा अदालत पुर्याउन समस्या भएको थियो र बाटामै बिचल्लीमा परेको थियो । समयमै थुनुवालाई अदालतमा हाजिर गराउन नसक्दा समस्या हुने गरेको प्रहरीले जनाएको छ । उर्लाबारीबाट विराटनगरको दूरी एकतर्फी ७० किलोमिटर छ । प्रहरीले दैनिकजसो थुनुवा लिएर अदालतमा म्याद थप्न जानुपर्छ । तर,पुराना गाडी बाटैमा बिग्रिन्छन् । कहिले नगरपालिकासँग गुहार माग्नुपर्छ । कहिले बाटैबाट निजी गाडी भाडमा लिएर अदालत जानुपर्छ । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा दुई वटा सवारी साधन छन् । २० वर्ष पुराना दुई वटै सवारी साधन बारम्बार बिग्रिरहँदा प्रहरीलाई थुनुवाको म्याद थप्न लान र ल्याउन समस्या भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीमा अर्को बा १ झ ७३५९ नम्बरको पनि गाडी छ । त्यो गाडी मर्मतका लागि विराटनगर पु¥याएको २ महिना भयो । तर, मर्मत भएर आएको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले भन्नुभयो, विभागसँग माग गरेका छौं । तर, गाडी प्राप्त भएको छ । हामीले भएको स्रोत साधन प्रयोग गरेर काम गर्ने हो । मर्मतका लागि पनि स्थानीय सरकारले सहयोग गरिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । इलाका प्रहरी कार्यालय उर्लाबारीले मिक्लाजुङ र उर्लाबारी नगरपालिकाको सुरक्षा व्यवस्था हेर्ने गर्छ । मिक्लाजुङ गाउँपालिका धनकुटा, पाँचथर र इलामसँग जोडिएको पहाडी क्षेत्रमा पर्छ । प्रदेश १ को सरकारले दुई करोड १५ लाख रुपियाँ खर्चेर इलाका प्रहरी कार्यालयको भव्य भवन निर्माण गरिदियो । सुविधा सम्पन्न भवन निर्माण भए पनि गाडीको प्रबन्ध मिलाइदिन न प्रदेश सरकारले चासो गरेको छ, न सङ्घीय सरकारले ।
पोखरा: आठौं मिस एसईई २०२२ को उपाधि म्याग्दीकी लिया पुनले जितेकी छन् । शनिबार पोखरामा भएको प्रतियोगितामा १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बेनी स्थित न्यू वेस्ट स्कूलकी पुनले उपाधि जितेकी हुन् । उपाधिसगैँ उनले हिरोको स्कुटर र चाँदीको ताज प्राप्त गरिन् । यस्तै प्रतियोगितामा शिशु निकेतन स्कुल पोखराकी कलस पौडेल दोस्रो र मदरल्याण्ड स्कुलकी दिक्षा कोइराला तेस्रो भए । उनिहरु दुबै जनाले चाँदीको ताज प्राप्त गरेको आयोजक इभेन्ट फरयु का अध्यक्ष तथा कार्यक्रम संयोजक बिशाल गुरुङले जानकारी दिए । सो प्रतियोगितामा डोल्पा, म्याग्दी, चितवन र पोखराका युवतीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकहरुमा पत्रकार दिपेन्द्र श्रेष्ठ, मदरल्याण्ड स्कुलका फाउन्डर त्रिभुवन शर्मा, पोखरा जेसिसका अध्यक्ष मिनराज खड्का, लायन्स कल्ब अफ पोखरा मेट्रो सिटीका अध्यक्ष सरोज वाग्ले, इभेन्ट अर्गनाइजर चितवनकी मिना झा, सामाजिक अभियन्ता दुर्गा घिमिरे, मिस एसईई पोखरा २०१६ कि प्रेरणा पराजुली र २०१८ कि श्रेया अधिकारी रहेका थिए । कार्यक्रमको कोरियोग्राफी द ¥याम्पका डाइरेक्टर जयनसुब्बा मान्नधरले गरेकी थिइन् ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य धनमाया लामाले आफ्नो जेठाजुको स्मृति कोषमा ५० लाख बजेट विनियोजन गरेको पाइएको छ । गण्डकी प्रदेश सभा सदस्य लामाले जेठाजु भिमसेन पोखरेलको नामको भिमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख विनियोजन गरेका हुन् । गोरखाको सिरानचोक गाउँपालिका ५ स्थित राष्ट्रियस्तरको ‘ १० वर्षे माओवादी जनयुद्ध, मधेस आन्दोलन लगायतका युद्धका विषय समेटेर युद्ध संग्रहालय बनाउने उद्धेश्यले बजेट सिफारिस गरेकी थिइन् । यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबा गोबद्र्धन शर्माको स्मृतिमा तनहुुँको व्यास नगरपालिकामा स्थापित कोषलाई ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबाआमाका नाममा स्थापित पुननारायण– धनकुमारी श्रेष्ठ परोपकारी कोषमा ५० लाख रुपैयाँ र सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुुन जोशीका पिता अमृत जोशीको स्मृति पार्कका लागि २० लाख रुपैयाँ, सोही नगरपालिकाका पूर्वउपप्रमुख सीता काफ्लेका दिवंगत पतिको नाममा स्थापित डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैयाँ, सांसद विनोद केसीका सहोदर दाइका नाममा म्याग्दीको बेनी नगरपालिका– ७ मा स्थापित सहिद मदन केसी स्मृति भवन निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ । बागलुङकी सांसद पियारी थापाको सिफारिसमा काठेखोला गाउँपालिका–४ स्थित जिमाक सांस्कृतिक संग्रहालयका लागि ६० लाख रुपैयाँ विनियोजन भएको छ । स्थापित कोषलाई बजेट खर्च नदिने गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको सबैतिर विरोध भएपछि आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानका नाममा विनियोजन बजेट खर्चलाई प्राथमिकता नदिने निर्णय भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत मुख्यमन्त्री,मन्त्री, सांसदहरुको आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानका नाममा विनियोजन बजेट खर्चलाई प्राथमिकता नदिने निर्णय भएको उल्लेख गरिएको छ ।
तनहुँ: जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएरतनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागिमद्धत गर्नु भएको छ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत दुईछात्राको एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क ३२ हजार रुपियाँ सहयोग गर्नुभएको हो । लायन्स क्लब अफ तनहुँका अध्यक्ष समेत रहनु भएका दाहालले क्याम्पसमा सोमबार एक कार्यक्रमका बीच क्याम्पस छात्रवृद्धि कोषको संयोजक तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई सो रकम प्रदान गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष बह्मादत्त तिमिल्सिना, व्यास नगरपालिकाका प्रथमप्रमुख तथा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, कक्षा ११ र १२ का संयोजक चिरञ्जिवी बस्नेत लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने जरुरी रहेको औँल्याउनुभयो । गत वर्ष पनि समाजसेवी दाहालले जन्मदिनको अवसर पारेर जेहेन्दार विद्यार्थीको अध्ययनको लागि २७ हजार रुपियाँ सहयोग गर्नु भएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । कार्यक्रममा दाहालले अध्यनको कुनै अप्ठ्यारो परेको जानकारी गराएमा आफ्नो तर्पबाट भविष्यमा मा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । दाहालले जन्मदिनमा फजुल खर्च कटाएर विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने तथा आश्रममा । रहेका जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेर मनाउने गर्नुहुन्छ । फाटो क्याप्सन– समाजसेवी दाहालद्धारा रकम प्रदान गर्नुहुँदै । (खाँदा लगाएको व्यक्ति)
पोखरा: गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी गराए । उनले भने, ‘हामीले महसुस गरेका छौं, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको भनाइ राखे । उक्त अवसरमा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेश भित्र जन्मिएर यहाँकै श्रीवृद्धिको लागि योगदान गरेकाहरुबाट नामहरु छनोट गरिएको बताए । छनोट समितिले ३ जनालाई छान्नसक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको जानकारी उनले दिए । गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्था मन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ । विभूषण ग्रहणपछि महावीर पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण पेस गरे । उनले भने, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।’ अनुसन्धान आफैमा कठीन काम भएको भन्दै उनले १ सय वटा अनुसन्धानमध्ये १०/१५ वटा मात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने भनाइ राखे । ‘हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्, तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन,’ उनले भने । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविश्कार केन्द्र खोलेकामा आफू उत्साही भएको उनले बताए । गण्डकीमा आविश्कार केन्द्रकै खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको पनि उनले खुलाए । विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा २०११ सालमा जन्मेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोन, लगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । पुन रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन् । गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ । कार्यक्रममा छनोट समितिका संयोजाथमा क मन्त्री कुमार खड्कासहित मन्त्रीहरु, प्रदेश सभाका सदस्य, प्रमुख सचिव, सचिवहरुसहित निजी तथा सरकारी क्षेत्रका प्रतिनिधि सहभागी थिए । साथमा तस्बिरहरु छन् ।
काठमाण्डौँ: खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो भन्नुभएको छ । गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा आज पूर्वप्रधानमन्त्री स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताउनुभएको हो । भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गर्नुभएको स्मरण गर्दै सो पहल गरेकाले उहाँको सालिक यहाँ निर्माण गर्न लागिएको बताउनुभयो । गत स्थानीय तहको चुनावअघि नै मन्त्रिपरिषद्को निर्णयबाट सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको सालिक बनाउने निर्णय भएको थियो । सोही निर्णयानुसार मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा पार्कसहितको सालिक बनाउन लागेको हो । विकास समिति साउनदेखि खारेज हुने भए पनि त्यसको संरचना जुन निकायलाई हस्तान्तरण हुन्छ सोही निकायले निर्माण गर्ने गरी शिलान्यास गरिएको हो । पूर्वप्रधानमन्त्रीले सुन्दरीजलमा खानेपानीको उद्घाटन गर्दै गर्दा कृष्णप्रसाद भट्टराईको नामसमेत उच्चारण नगरेकामा दुःख व्यक्त गर्नुभयो । मन्त्री चौधरीले मेलम्चीको बाढीपछि बन्द भएको खानेपानीलाई पुनःसञ्चालन गरेको बताउँदै बर्खा सकिनेवित्तिकै पुनःसञ्चालनमा आउनेसमेत बताउनुभयो । मेलम्चीको पानी झर्ने सुन्दरीजलमा भट्टराईको पूर्ण कदको सालिकसहित पार्क निर्माण गर्न लागेको खानेपानी मन्त्रालयका सचिव मणिलाल गेलालले बताउनुभयो ।
काठमाण्डौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । चारदिने नेपाल भ्रमणमा रहनुभएका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपरान्ह अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता छ । भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो । उक्त विधेयकउपर बैठकमा छलफल भई उठेका प्रश्नको कानूनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो । यौन हिंसासम्बन्धी विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभएको थियो । नेपालको संविधानको धारा ९४ मा सङ्घीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न नपाइने प्रावधान छ । सांसद रावलको नियमापत्तिपछि सभामुख सापकोटाले ३ मिनेट जनाउ घण्टी बजाएर सांसदहरुको सङ्ख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । सांसदहरुको सङ्ख्या कम्तीमा ६९ हुनुपर्नेमा गणना गर्दा ७७ सांसदको उपस्थिति रहेको पाइएपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
काठमाण्डौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुआत गर्नुभएको छ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उहाँहरूले आज सो परियोजनाको सुरुआत गर्नुभएको हो । त्यसअवसरमा मन्त्री भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि आर्थिक विकास अपरिहार्य छ । त्यसका लागि हामीलाई चीनको सहयोग आवश्यक छ ।” सो अवसरमा मन्त्री भुसालले नेपालको औद्योगिकीरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । शताब्दीऔँदेखि नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ । यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चाशीलका आधारमा स्थापित छ ।” खासगरी चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणका क्षेत्रमा पनि चीनको सहयोग रहेको बताउनुभयो । चीनले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर दिँदै आएको उहाँले स्मरण गर्नुभयो । चीन नेपालको सुखदुःखको साथी रहेको भन्दै मन्त्री भुसालले २०७२ सालमा गएको भूकम्प र कोभिड–१९ महामारीमा चीनले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । सो अवसरमा विदेश विभाग प्रमुख जियानचाओले नेपाल चीनको असल छिमेकी भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महान् मुलुक नेपाल चीनको असल छिमेकी साझेदार हो, हाम्रो जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ ।” बालबालिकाहरू देशको भविष्य भएको उल्लेख गर्दै लिउले भन्नुभयो, “बालबालिका नेपाल–चीन मितेरीका भविष्य हुन् । बालबालिकाको खुसीले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्न सहयोग गर्छ, सम्बन्धलाई अझ मजबुत बनाउँछ । उहाँहरू नेपाल–चीन सम्बन्धको नयाँ बीउ हो ।” ग्लोबल डेभलपमेन्ट तथा साउथ–साउथ कोपरेशन फण्डमार्फत नेपालको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने उहाँले विश्वास दिलाउनुभयो । कार्यक्रममा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना नेपालका ३५ विद्यालयमा लागू भएको र त्यसबाट पाँच लाख बालबालिका लाभान्वित भइरहेको जानकारी दिइयो ।

