काठमाडौं:   खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्।  सोमबार राति ११ः३० बजे कतारको दोहा...

पोखरा:  ललितपुर मुख्यालय भइ पोखराको नयाँगाउँमा शाखा कार्यालय रहेको ’ग्लो सँस्था’ ले पोखरा –१५ फलेपाटन स्थित श्री सिद्ध उच्च माविका ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।   सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत ५२ जना विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस् भन्दै झोला, स्कुल ड्रेस, जुत्ता कापी, किताब लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।     कार्यक्रममा बोल्दै सँस्थाका संयोजक आगमन राज पौडेलले वार्षीक रुपमा सँस्थाले शैक्षिक सामग्रीहरु वितरण गर्दै आइरहेको बताए । उनले बालबालिकाका लागि मात्र नभएर सीप सिकेर आत्मनिर्भर बन्न चाहने विपन्न तथा बेरोजगार महिला दिदीबहिनीहरु र एकल महिलाका लागि आगामी साउन महिनादेखि निशुल्क सिलाई तालिम शुरु गर्न लागिएको बताए ।   यस्तै, विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले ग्लो सँस्थाले विद्यालयमा धेरै सहयोगका कार्यक्रमहरु ल्याएको भन्दै कार्यक्रम मार्फत विभिन्न विद्यालय, विद्यालय प्रशासन, विद्यार्थी तथा अभिभावकसँग सम्बन्ध जोड्ने काम गरेको बताए ।   सँस्थाले यसअघि पनि विद्यार्थीहरुका लागि जाडोमा न्यानो लुगा, स्टेशनरी सामाग्री, जुत्ता, पोशाक, खाजा तथा कम्प्युटर सिक्नका लागि कार्यक्रमहरु संचालन गरेको भन्दै यस्ता सेवा लिएका विद्यार्थीले अझ लगनशिल, मिहेनत र इमान्दारिताका साथ पढाईमा ध्यान दिएर भविष्यमा योग्य नागरिक बन्नुपर्नेमा जोड दिए ।      शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिकाको पढ्न पाउने अधिकार पूरा गर्ने बताए । २०५२ सालदेखि उक्त सँस्थाले विद्यालयमा विभिन्न सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा त्यसको निरन्तरता स्वरूप केहीवर्ष देखि छात्रवृत्ति कार्यक्रम शुरु गरेकोमा उनले खुशी व्यक्त गरे।   बानियाँले शैक्षिक सामग्री पाएका बालबालिकाका अभिभावकहरुले पनि अब जिम्मेवार भएर आफ्ना बाबुनानीहरुको पढाई, उनीहरुको आनिबानी र संगतका बारेमा ध्यान दिँदै अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा जोड दिए।   कार्यक्रममा वडाध्यक्ष तोरण बहादुर बानियाँ र कार्यपालिका सदस्य मन्दिरा परियारले ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए भने, व्यवस्थापक सरस्वती गिरी, संयोजक आगमन राज पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालाले सामग्री वितरण कार्यमा सहयोग गरेका थिए ।  

काठमाण्डौँ :      नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । रु तीनदेखि रु दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको जनाइएको छ ।    आज सुरु भएको प्रदर्शनी यही असार १९ गतेसम्म प्रतिष्ठानको भानुभक्त कक्षमा चल्ने छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ५०० थरिका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।   नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोषमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि व्यवस्थापक सुधीर ढङ्गेलले दिनुभयो । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोषको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो ।    यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले वर्षमा कम्तीमा तीन पटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असारमा प्रदर्शनी आयोजना हुने गरेको छ ।    प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेका छन् । दैनिक ३०० सयभन्दा बढी पाठक प्रदशर्नी अवोकन गर्न आउने गरेका छन् । दैनिक रु २० हजार बराबरका पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो ।    यसपटकको प्रदर्शनीमा प्रतिष्ठानले हालै प्रकाशनमा ल्याएका ‘आधुनिक नेपाली नारी कथा’, ‘पूर्वी नेपालका मालिक लोकभाका’, विशेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ को अङ्ग्रेजी संस्करण, यादव खरेलको ‘यस्तै रहेछ यहाँको चलन’, विष्णुप्रसाद शर्मा पराजुलीको ‘कर्णालीमा प्रचलित दर्शन परम्परा’,केशवशरण अर्यालले तात्पर्य चण्डिका व्याख्यासहित नेपाली अनुवाद गर्नुभएको   ‘प्रशस्तपादभाष्य’, डा सर्वराज आचार्यको ‘भानुभक्तको जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण’, अनुवादक गोपाल अश्क र सम्पादक प्रा डा उषा ठाकुरको ‘प्रज्ञा नेपाली समालोचना’ को हिन्दी अनुवाद पुस्तक पनि प्रदर्शनीमा राखिएको छ ।   यसैगरी पुरुषोत्तम चौधरीको ‘थारु अभिचार पद्दति’, डा मुकुन्द शर्माको ‘नेपाल भाषाको दाफा भजन’ र नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीले लेख्नुभएको तथा नारद बज्राचार्यले अनुवाद गर्नुभएको ‘विपात्र’ उपन्यास पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानले जनाएको छ ।   प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हरेक नेपालीका हात हातमा पुस्तक पु¥याउन प्रदर्शनी आयोजना गरी प्रचारप्रसार गरिएको जानकारी दिनुभयो । यस्ता प्रदर्शनीले पठन संस्कृतिलाई जोड दिन सहयोग गर्ने उहाँको भनाइ छ ।    प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ ।

काठमाण्डौँ :       सत्तारुढ नेकपा(माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन हुनुभएको छ । राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा प्रेम खनाल चयन हुनुभएको छ ।      महासङ्घले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महासङ्घको कूल १५५ सदस्यीय केन्द्रीय समिति रहेको छ । स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासङ्घले जनाएको छ ।       आज बिहान मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको थियो । उहाँले सङ्घीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध सङ्घर्ष गर्न आग्रह गर्नुभएको थियो ।      महासङ्घका फ्याक्सन इञ्चार्जसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमान्दार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो । देशभरका कर्मचारीको ट्रेड युनियनमध्ये महासङ्घ पनि एक हो । 

भरतपुर​ :      चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०र१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।     मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका निर्माणाधीन सवस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । ‘ग्यास इन्सुलेटेड सवस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सवस्टेसनका अधिकांश उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ । अब ती उपकरणको जडान मात्र बाँकी छ । सवस्टेसनमा १६०र१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् ।      पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मर जडान गर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवस्टेसन निर्माणस्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।      आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीसँग निर्माण प्रगति बेहोरिरहेको समस्यालगायतका विषयमा छलफल गरी दुई महिनाभित्र सवस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग करिब दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो ।     कोभिड–१९ को महामारीका कारण सवस्टेसन निर्माण प्रभावित भएको थियो । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना पनि नयाँ भरतपुर सवस्टेसनमा नै जोडिनेछ । मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो ।     प्रसारण लाइनबाट करिब एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेशनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।       दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेशन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सवस्टेसन निर्माण भइरहेको छ । यस प्याकेजअन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ । 

काठमाण्डौँ :       धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ ।       यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको छ । कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर रु एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ मूल्यमा खरिद बिक्री भए । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तैदेखि ओरालो लागेको नेप्से परिसूचक थामिने कुनै लक्षण देखाएको छैन । बजारले ‘बियरिस  ट्रेण्ड’ समातिरहेको छ ।      नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १२.६, व्यापार ३०.८२, होटल तथा पर्यटन ४७.५, विकास बैंक १२४.१२, जलविद्युत् ८७.४७, वित्त ५१.७३, निर्जीवन बीमा १५४.८३, उत्पादन ३२.१८, अन्य ५३.६९, लघुवित्त ६५.०२, जीवन बीमा १२२.६८, सामूहिक लगानी कोष ०.४५ र लगानी १.४३ अङ्कले ओरालो लागेका छन् ।    आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ५७ अर्ब ५६ करोड १३ लाख ५२ हजार ३४३ बराबर रहेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ ।       सो कम्पनीको रु १० करोड २९ लाख ८९ हजार ७६१ बराबरको कारोबार भयो । यस्तै एनसिसी बैंक रु पाँच करोड ६४ लाख ६३ हजार ८८५, सेञ्चुरी बैंक रु चार करोड ८२ लाख २८ हजार, नवील बैंक रु चार करोड सात लाख ३९ हजार ३८२ र एनआइसी एशिया बैंक रु चीन करोड २४ लाख १४ हजार ३९० बराबरको कारोबार भयो ।      नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्रभु लाइफ ४.०५, सिवाइसी नेपाल लघुवित्त ४.०२, राष्ट्र उत्थान लघुवित्त २.१५ र इमर्जिङ नेपालका लगानीकर्ताले २.०१ प्रतिशतले उकालो लाग्यो । त्यस्तै रिभर फल्स पावर ९.५६, बलेफी हाइड्रोपावर ८.१९, मितेरी डेभलपमेन्ट बैंक ७.६८, माउण्टेन हाइड्रो नेपाल ७.३३ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.२४ प्रतिशतले गुमाए । 

काठमाण्डौँ :      अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गर्नुभयो ।     “नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उहाँले भन्नुभयो । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिनुभएको थियो । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ ।     सन् १९६९ मा १६।९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । विश्व बैंकसँग हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताउनुभयो ।     “विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ”, मन्त्री शर्माले भन्नुभयो । सो अवसरमा आर्थिक वर्ष २०७९र८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उहाँले जानकारी गराउनुभएको थियो । “मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुका रुपमा उल्लेख गरेको छु”, उहाँले भन्नुभयो ।     सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकामा खुसी लागेको बताउनुभयो । उहाँले नेपालको विकास साझेदारका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराउनुभएको थियो । 

चितवन :          चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन ।   निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो ।    निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ ।   निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ । झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो ।    कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ । हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ । आचार्यले भन्नुभयो, “तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन । भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन ।” यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो ।   चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो । दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । उहाँका अनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ । बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो ।   बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ रहेको थियो । यस वर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।

म्याग्दी :       म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाडीमा परिणत हुँदै गएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा ग्रामीण विपन्न वर्ग समस्यामा पर्दै गएका छन् । उनीहरूलाई साँझ, बिहान हातमुख जोड्न पनि मुस्किल हुँदै गएको छ ।      सुविधा भोगी प्रवृत्ति, बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझिएको हो । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएको भए पनि जिल्लाका युवा भने पाए युरोप–अमेरिका नपाए खाडी मुलुक भए पनि जान बाध्य छन् ।     चुनावका समयमा कृषि क्रान्तिका भाषण गर्ने राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवाला सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले भू–उपयोग नीतिलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा भएको जग्गा जमिन बाँझै राखेर चर्को मूल्यमा आयातित खाद्यान्न किनेर खान बाध्य हुनु परेको छ । युवा विदेशिने र सहर पलाएन हुनेक्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो ।       बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा, जमिन बाँझै छाडेका छन् । युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ । स्थानीय तहको निर्वाचनका लागि सहरबाट गाउँ आएका युवा केही दिनका पाहुना जस्तै मात्र भएका छन् । दसैँ, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरे पनि सहज अवस्थामा भने गाउँ युवा विहीन हुने गरेको बेनी नगरपालिका–२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।      गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझै रहेको स्थानीय टेकबहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “खेती गर्न जनशक्ति पाइँदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गा, जमिन बाँझै छाड्न बाँध्य छौँ ।”      यहाँका बासिन्दाले आफ्नै जग्गा, जमिन भएर पनि सदरमुकामदेखि खाद्यान्न सामग्री किनेर ल्याउने गर्दछन् । सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका–५ का हेमबहादुर किसानले बताउनुभयो । अहिले यहाँ भएका युवा पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उहाँले बताउनुभयो ।      ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ । गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाझिँदै जान थालेपछि अन्न उत्पादन पनि घट्दै गएको छ । शिक्षित वर्ग र पुँजी भएका सहर झरेका छन् भने रोजगारका लागि विदेशिएका परिवार पनि सुविधा खोज्दै सहरमा बसाईं गर्न थालेपछि गाउँका घरमा बुढाबूढी मात्रै देखिन्छन् । वर्षांैदेखि भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिएको र घरहरु जीर्ण हुँदै गएका छन् ।       भूकम्पले भत्काएको घरको पुनःनिर्माण नगरी सहर बजारमा डेरामा बस्न थालेका छन् । एकातिर कामदारको अभाव छ भने अर्कोतर्फ खेतीयोग्य जमिनलाई पल्टिङ गर्नेक्रम उत्तकै बढेको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको मारमा परेका छन् । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकाले बाहिरबाट निर्यात गनुपर्ने भएकाले मूल्यवृद्धि हुने गरेको व्यापारीको भनाइ छ ।       “खेतबारीमा वनमारा र सिरु फुलेको छ, गाउँले बजारको आयातित चालम र खाद्यान्न किनेर खाने गरेका छन्”, मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिनेक्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरलगायत ठाउँमा पनि जमिन बाँझै छ  ।      धान उत्पादन हुने सिंगा, बगरफाँट, डाँडाखेतलगायत ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् । यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ । कृषि कार्यालय र स्थानीय तहले किसानलाई प्रोत्साहनका लागि खाद्यान्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीलगायतमा अनुदान दिने, बीमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन ।     भूकम्पपछि गाउँबाट सहर झर्नेक्रम बढेसँगै खेतीयोग्य जमिनलाई घडेरीका रुपमा बेच्न भन्दै पल्टिङ गर्न थालिएकाले जमिन बाँझो हुनेक्रम उत्तिकै बढेको हो । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर ५० थानभन्दा बढी जग्गा किनबेच हुने गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

तनहुँ :     जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।        रातको समयमा शौच गर्न पनि बाहिर जान डर हुने गरेको स्थानीयवासीको भनाइ छ । मञ्चमाया सारुले भन्नुभयो, “सहर बजारको घर भए पो घरभित्रै शौचालय निर्माण गरिएको हुन्छ, तर गाउँघरतिर प्रायः शौचालय बाहिर नै बनाइन्छ”, उहाँले भन्नुभयो, “बाँच्नु त पर्यो नि बाहिर निस्कन डर लाग्छ ।”      चितुवाले आफ्नो करिब रु ३० हजार मूल्य बराबरको खसी खाइदिएर क्षति बनाएको उहाँले दुखेसो पोख्नुभयो । एक सातामा उक्त क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान जानुका साथै एक बालिकासहित तीन मानिस घाइते भएका छन् । चितुवाको आक्रमणबाट पाँच वर्षीय सुप्रिम बगाले बगरको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षीय रियाना थापा, ३४ वर्षीय मिलाल बरायाञ्जा र एक महिला घाइते भएका छन् ।      चितुवाका आक्रमणबाट मानवीय क्षति भएपछि स्थानीय छपेली सामुदायिक वनमा तीन वटा खोर राखेर पासो थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै सुरक्षित भएर बस्न स्थानीय बासिन्दालाई आग्रह गरिएको उहाँले बताउनुभयो । चितुवाका लागि खोर राखिए पनि हालसम्म चितुवा पासोमा पर्न सकेको छैन । जिल्लामा हालसम्म चितुवाको आक्रमणबाट बाह्र जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।      चितुवा देखिएमा तत्काल खबर गर्न स्थानीय बासिन्दालाई आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । साँझ र बिहानको समयमा सुरक्षित भएर हिँड्डुल गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।