काठमाण्डौँ: वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ । बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले आजदेखि रड निर्यात गर्न लागेको हो । रुपन्देहीको सेमरहवामा सञ्चालित उक्त उद्योगले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ । उद्योगका सञ्चालक राजेश अग्रवालले आजदेखि औपचारिक रुपमा रड भारत निर्यात गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सरकारले निर्यातमा सहजीकरणको घोषणा गरेसँगै रड निर्यात सुरु गर्न लागिएको बताउनुभयो । तत्कालीन अर्थमन्त्री जनादन शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित क्षेत्र पहिचान गरी निर्यात प्रवद्र्धन गर्ने व्यवस्था बजेटमा गर्नुभएको छ । त्यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने गरी बजेट सार्वजनिक गर्नुभएको थियो । बजेटमार्फत नै सरकारले निर्यातमा सहजीकरण गरेपछि सिमेन्ट, रड उद्योगीले निर्यात गर्न थालेका हुन् । पहिलो चरणमा परीक्षणस्वरुप ५० टन रड निर्यात गर्न लागिएको छ । नेपालको व्यापार घाटा कम गर्ने उद्देश्यका साथ भारतीय बजारमा रड पठाउन लागेको उद्योगीले जानकारी दिएका छन् । उहाँले श्री स्टिलले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति पाएसँगै परीक्षणका लागि रड निर्यात सुरु गरिएको जानकारी दिनुभयो । सरकारले निर्यातमा नगद छुटको घोषणा गरेसँगै यसअघि तानसेन सिमेन्ट उद्योगले नेपाली सिमेन्ट भारत निकासी सुरु गरिसकेको छ । सोसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्टले नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेका छन् । उक्त उद्योगहरुले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पखाईमा रहेको जनाएका छन् । भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिनै १५ महिनाभन्दा बढी समय लगाएको भन्दै व्यवसायीले दुई देशका सरकारबीच समन्वय गरेर सहज रुपमा अनुमति दिनुपर्ने माग राखेका छन् ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन । उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिनुभयो । स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो गैँडा मारेको आशङ्का रहेको छ । अर्को एक भने चोरीसिकारीले मरेको पुष्टि भएको छ । मरेका गैँडामध्ये १८ भाले, १४ पोथी र पहिचान नभएका पाँच रहेको उहाँले बताउनु्भयो । मरेका गैँडामा एक महिनादेखि ३५ वर्ष उमेर सम्मका रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा यी गैँडा मरेका हुन् । बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि एकै ठाउँमा धेरै गैँडा हुँदा एकापसमा जुध्ने गरेको बताइन्छ । नौ सय ३२ वर्गमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार ४९७ हेक्टर क्षेत्रफल घाँसे मैदान छ । सो क्षेत्रभित्र ४२५ ठाउँमा घाँसे मैदानको व्यवस्थापन गरिएको छ । पछिल्लो समय यी घाँसे मैदान नासिँदै गएका छन् । निकुञ्ज स्थापनाताका २० प्रतिशतसम्म रहेको घाँसे मैदान अहिले घटेर १० प्रतिशतभन्दा तल झरेको छ । सन् २०२१ को गैँडा गणनाअनुसार नेपालमा ७५२ गैँडा रेकर्ड भएका छन् । यीमध्ये ६९४ चितवनमा रहेका छन् । यो सङ्ख्या अघिल्लो गणना सन् २०१५ को तुलनामा ८९ भन्दा बढी हो । सन् २०१५ मा ६०५ र सन् २०११ मा ५०३ गैँडा भेटिएका थिए । प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले टोली खटाएर अध्ययनसमेत गरेको थियो ।
हेटौंडा: मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले आज तोडफोड गरेका छन् । आफूहरुलाई खानतलासी गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले तोडफोड गरेका हुन् । अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ ।
विराटनगर: विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार बालिकाको उद्धार गरिएको र विस्तृत विवरण सार्वजकि गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन राखिएको बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
काठमाण्डौँ: पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । राजमार्ग सञ्चालन भएपछि मुग्लिनतर्फ पोखरा आउँदै गरेका र डुम्रेतर्फबाट चितवन र काठमाण्डौँ जाँदै गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरा खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
सिरहा: सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । सो अवधिमा रु १० करोड ५१ लाखको डिएपी र रु सात करोड ८१ लाखको युरिया बिक्री गरेको छ । आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल बिक्री गर्ने लक्ष्य रहेकामा चार हजार ९५४ मेट्रिक टन युरिया र दुई हजार ३५५ मेट्रिक टन डिएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिनुभयो । गत आवमा युरिया चार हजार ९५४ मेट्रिक टन र डिएपी दुई हजार ३४८ मेट्रिक टन बिक्री भएको प्रमुख पौडेलले बताउनुभयो । यसअघि आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले रु १९ करोड ६५ लाख ६३ हजारको रासायनिक मल बिक्री गरेको थियो । अघिल्लो आवको भन्दा आव २०७८÷७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको थियो । यसरी बर्सेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको प्रमुख पौडेलको भनाइ छ । प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल आवश्यक भएकामा हाल एक बोरा पनि युरिया मौज्दात छैन । डिएपी मल ६ मेट्रिक टन मात्र मौज्दात छ । मल नहुँदा दैनिक किसान रित्तो हात फर्किन बाध्य रहेको प्रमुख पौडेलले बताउनुभयो । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आए लगत्तै कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिने कार्यालयले जनाएको छ । बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख पौडल बताउनुहुन्छ । सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्टट्रेडिङले गाउँ–गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्रीवितरण गर्दै आएको छ । धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलले बताउनुभयो । डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक–पटक पत्राचार गरे पनि बर्सेनि घट्दै गएकाले समस्यामा परेको प्रमुख पौडेलको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलको समस्या भइरहेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताउनुभयो । मागअनुसार मलको आपूर्ति नहँुदा बर्सेनि किसान मलका लागि भौँतारिने गेका छन् । कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये सिरहामा यस वर्ष करिब ५५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो । यस वर्ष समयमा वर्षा नभएकाले एकातिर धान रोपाइँ कम भएको र अर्कातिर सहजरूपमा मल उपलब्ध नहुँदा किसान मारमा परेको उहाँको भनाइ छ ।
नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो । सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८/७९ को बजेटबाट नगरपालिकाले प्रतिबस रु १८ लाख अनुदान दिएको छ । विद्यालयको लागत रु पाँच लाख मात्र रहेको छ । “हामीले नगरपालिकाको करिब ८० प्रतिशत अनुदानमा सामुदायिक विद्यालयलाई बस प्रदान गरेका छौँ”, पाण्डेले भन्नुभयो, “बसमा विद्यालयको लागत अनिवार्य गरेका छौँ ।” नगरपालिकाले मध्यविन्दु–३ को जनता मावि, मध्यविन्दु–११ को वीरेन्द्र मावि, मध्यविन्दु–१२ को यादव मावि, मध्यविन्दु–१३ को सरस्वती मावि र मध्यविन्दु–१५ को ज्ञानोदय माविलाई अनुदानमा बस प्रदान गरेको हो । नगरपालिकाले हालसम्म नगरका १० सामुदायिक माध्यमिक विद्यालयलाई बस प्रदान गरिसकेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाभित्र १३ वडामा १३ सामुदायिक माध्यमिक विद्यालय छन् । वडा नं ९ को नेपाल लोकसेवा माविलाई भने स्थानीय सामुदायिक वनले सहयोग गरेर बस प्रदान गरेको छ । पन्ध्र वडा रहेको मध्यविन्दुको वडा नं १ र ५ मा सामुदायिक माध्यमिक विद्यालय छैनन् । विद्यालय यातायात व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत नगरभित्रका सामुदायिक माविलाई बस उपलब्ध गराइएको हो ।
पोखरा: पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अभिषेक यादवको अध्यक्षतमा चौथौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की , श्रद्धा बञ्जारा ,सचिवमा जगदिश भण्डारी,सह सचिवमा संदेश श्रेष्ठ,सदस्यहरुमा लोकेन्द्र चन्द ,दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला, तृष्णा देवकोटा,दिनेश चापागाईं साथसाथै वोमन कोर्डिनेटरमा दीपा तिवारी , एड्भाइजरी कमिटीमा प्रशान्त भुसाल ,विकल बराल ,भुपेन्द्र भट्ट ,संदेश रेग्मी चयन गरेको जानकारी पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष भुपेन्द्र भट्टले जानकारी दिए। " पोखरा विश्विद्यालयको क्रिकेट क्लव लाई आफ्नो कार्यकालमा थप उचाइ दिने र क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता र आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेट लाई उजागर गर्ने जानकारी "पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निर्वाचित अध्यक्ष अभिषेक यादव ले भने।
काठमाण्डौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गाडी छोडेर विद्युतीय माइक्रोबसमा यात्रा गरेका छन । एमाले अध्यक्ष ओली सुन्दर यातायात प्रालीले सञ्चालनमा ल्याएको विद्युतीय माइक्रोबसमा भक्तपुरको बालकोट देखि ललितपुरको च्यासलमा रहेको पार्टी कार्यालयसम्म पुगेका हुन । सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबस देखेपछि आफ्नो गाडी छाडेर सुन्दर यातायातको माइक्रोबस चडेका हुन । एमाले अध्यक्ष ओली युवा संघका नेतालाई साथमा लिएर च्यासल पुगेका हुन । ओलीका अंगरक्षक माइक्रो बसमै बसे भने स्कर्टिङ गाडी पछि पछि लाग्यो । काठमाडौं देखि सिन्धुली हुँदै धनुषा रुटमा चल्ने माइक्रोबसमा सवार गरेर पार्टी कार्यालय पुगेका ओलीले वातावरण संरक्षण र पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सार्वजनिक यातायात आवश्यक रहेको बताएका छन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि पनि बुटवल भैरहवा रुटमा सुन्दर यातायात प्रालिले सञ्चालनमा ल्याएको विधुतिय बसमा सवार गरेका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकै बेला नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक यातायात नेपालमा सञ्भालनमा ल्याइएको थियो ।

