काठमाण्डौँ: आन्तरिक राजस्व विभागले सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई समष्टिगत विवरण अनिवार्य ‘कोपोमिस’ प्रणालीमा प्रविष्ट गरेपछिमात्र कर चुक्ता प्रमाण पत्र दिने निर्णय गरेको छ । राजस्व विभागले गत महिनाको २८ गते (मंगलबार)सुचना प्रकाशित गर्दै सोबारे जानकारी दिएको हो । शाखा अधिकृत प्रदीप रेग्मीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ, ‘सहकारी क्षेत्रको तथ्याङ्क प्राप्तिको लागि सम्बन्धित संघ संस्थाहरुले समिष्टगत रुपमा ‘कोपोमिस’ प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्नेछ र सोही प्रणालीमार्फत सिर्जना हुने दाखिला नम्बर आन्तरिक राजस्व कार्यालयमा पेश भएपछि मात्र करचुक्ता प्रमाण पत्र दिइने छ ।’ प्रकाशित सुचनामा ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यलयलाई सबै सहकारी संघ संस्थाहरुले प्रणालीमा प्रविष्ट गरेपछि मात्र करचुक्ता प्रमाण पत्र दिन अनुरोध गरिएको छ ।
काठमाण्डौँ: विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उहाँ विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिरहनुहुन्छ । खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ । उहाँ विगका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो सातासम्म खेतबारीमै हुन्थ्यो । असारे झरीमा लुथ्रक्कै झिज्दै बिहानीको उज्यालोको झिसमिसमै खेतबारी पुग्नुहुन्यो र बेलुका गोधुली साँझसम्म खेतबारीमै हुन्थ्यो । जुनेली रातमा पानीको कुलो फर्काउन खेतमा पुग्नुहुन्थ्यो तर अहिले उहाँ ६५ वर्ष पुग्नुभयो । उहाँलाई विस्तारै बूढेसकालले छुँदै गयोे । हुर्किएकी तीन बहीनी छोरी विवाह गरेर गइसक्यो । परिवार घट्दै गयो । खेतबारी पनि बाँझो हुँदै गयो । विगतमा ८० मुरीदेखि ९० मुरी धान फलाउँने तर अहिले उहाँको धेरैजसो खेतबारी बाँझो हुन पुकेको छ । उहाँले भन्नुभयो, “पहिले त बेठी लगाएर नौमती बाजासहित धान रोप्थे तर अहिले कसैले बेठी लगाउँदैन । विस्तारै खेतीपाती गर्न छोड्दै गए । बरु खेतबारी बाँझो राखेर विदेशतिर जाने बढ्दै गयो ।” गाउँमा खेतीपाती गर्ने खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । फक्ताङलुङ गाउँपालिका–२ खेजिमिका दिलकुमार पतङवा विगत तीन वर्ष अगाडिको समयमा खेतबारीमा हिलोले लत्पतिएर खेतको आली लगाउनुहुन्थो, कहिले खेतबारीमा गोरु नार्दै गरेको भेटिन्थ्यो तर अहिले उहाँ अलैँची बगानमा अलैँची स्याहादै गरेको भेटिन्छ । उहाँले खेतबारी मासेर अलैँची लगाएको हो । केही वर्ष अगाडि ३० मुरी धान फलाउँदै आएको पताङवा अहिले भने एक दाना पनि फलाउँदैन । धान रोप्ने खेतबारीहरुमा सुन्तला, किबी, कफी र अलैँचीजस्ता फूलदेखि नगदे बाली लगाउन थालेको तिन वर्ष भयो । उहाँले गाउँगाउँमा सडक खन्ने काम सुरु भएसँगै खेतमा धान रोप्न छोडेर अलैँची तथा अन्य खेतीपाती गर्न तिर लागेको उहाँले जानकारी दिनुभयो । गाउँगाउँमा सडक खन्न थालेसँगै पहिरोको उच्च जोखिम बढ्दै गएर पछि खेतबारीमा धान रोप्न छोडेर अलैँची बगान हुर्काउन थालेको पतङवाको भनाइ छ । उहाँले भन्नुभयो, “सडकले गाउँका खेतबारी चिराचिरा बनाएको छ । बर्खाको समयमा घरमा बस्नसमेत जोखिम छ । यस्तो समयमा खेतमा झन पानीको कुलो लगायो भने गाउँ पहिरोको उच्च जोखिम हुन्छ । त्यसैले रुखको बिरुवासँगै अलैँची बगान लगाउन थालेको छु । अलैंची एक पटक रोपे पछि आठ नौ वर्ष रोप्नुपर्दैन । फल दिइरहन्छ । अलैँचीलाई शीतलता दिनका लागि रुख चाहिन्छ । रुख बिरुवा हुर्कायो भने पहिरो जानबाट रोकिन्छ । पहिरो गएन भने गाउँमा पहिराको जोखिम पनि हुँदैन भन्ने उद्देश्यले खेतबारी मासेर अलैँची बगान लगाउन थालेका पतङवाको भनाइ छ । फक्ताङलुङ–६ मादिबुङ गाउँका सन्तकुमार फेम्बू पाँच वर्ष अगाडि गाउँकै सबैभन्दा धेरै धान फलाउनेमा पर्नुहुन्र्थो । गाउँका अधिकांश परिवार फेम्बुको खेतबारीमा धान रोप्न नपुगेको कोही पनि हुँदैनथ्यो तर विस्तारै गाउँमा खेतमा काम गर्ने खेताला पाउँन छोड्दै गयो । खेतालाको ज्याला पनि बढ्दै गयो । गाउँका युवा ऋण खोजेर विदेशिन थाले । खेतमा काम गर्ने ज्यालादारी पाउनै मुस्किल हुन थाल्यो । अन्यमा फेम्बुले खेतबारी मासेर अलैँची लगाउनुको विकल्प रहेन । विगतमा असारमा धमाधम धान रोपाइँ हुने खेत अहिले अलँैैैैैैैची बगानमा परिणात भएको छ । सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकका चैतन्य इवारमको करिब १४ रोपनी खेतबारी अहिले बाँझोबारी हुन पुगेको छ । इवारम वैदेशिक रोजगारीमा जानुभयो । उहाँका परिवार पनि सहरतिर बसाइँसराइ सरेर गएसँगै खेतबारी अहिले बाँझो हुन पुगेको हो । इवाारमको मात्र होइन सिरिजङ्गा–४ तेल्लोक र आम्वेगुदिन क्षेत्रमा रहेको खेतबारी धेरै बाँझो हुन पुगेको सिरिजङ्गा–४का वडाध्यक्ष सिंहबहादुर लिम्बूले बताउनुभयो । उहाँका अनुसार विस्तारै खेतीपाती गर्ने बानी हराउँदै गएको छ । मान्छेहरु खेतबारीमा दुःख गरेर खान मान्दैनन् । कसरी हुन्छ सुखको खोजी गर्छन् । गाउँमा रहेका पनि सुख खोज्दै युवा विदेश जाने क्रम बढ्दो छ । गाउँदेखि सहरमा बसाई सर्नेको पनि लर्को उस्तै छ । गाउँका उर्बर जमिन बाँझो हुने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । यी त हुन केही प्रतिनिधि पात्र । पछिल्लो समयमा ताप्लेजुङको अधिकांश खेतबारी बाँझो रहेको भेट्न सकिन्छ । गाउँमा पढाइको सिलसिला, रोजगारी तथा सहरतिर बसाइँसराइले उर्बर खेतबारी बाँझो हुँदै गएको हो ।
डोटी: यहाँका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनुभयो । वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ । यसैगरी जिल्लाकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई रु ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई रु ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक रु दुई हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई रु पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ । सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिनुभयो । जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बिक्री वितरण भइरहेकाले तिनीहरुलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिनुभयो ।
काठमाण्डौँ: बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ । बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन । सुक्खा ठाउँमा भल छोपेर रोपाइँ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए । “पानी परेपछि राहत मिलेको छ”, जैमिनी नगरपालिका–९ का टङ्कप्रसाद शर्माले भन्नुभयोे । यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताउनुभयो । असारको अन्तिम सातायता साउन ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन । किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए । असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ ।
काठमाण्डौँ: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस छ ।
भक्तपुर: झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो । गरिब तथा सामान्य स्वास्थ्य सेवाबाट समेत धेरै मानिस बञ्चित हुनुपरेको देखेपछि स्थानीय बासिन्दाका लागि सहजरूपमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले समाजसेवी, व्यवसायी एवं नेपाली कांग्रेसका नेता राजाराम खड्काले दिवङ्गत आमा झङ्ककुमारी खड्काको स्मृतिमा स्थापना गर्नुभएको प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो । निःशुल्क स्वास्थ्य सेवा कहिल्यै बन्द नगर्ने घोषणा गर्दै प्रतिष्ठानका अध्यक्ष खड्काले भन्नुभयो, “सामान्य औषधि उपचार नपाएर धेरै व्यक्ति पीडित भएको देखेँ, कोही पनि व्यक्ति स्वास्थ्य जाँच गराउन नपाएर, औषधि नपाएर रोग पालेर बस्न नपरोस्, ज्यान गुमाउन नपरोस् भनेर आमाको स्मृतिमा झङ्ककुमारी स्मृति प्रतिष्ठान सञ्चालन गरी विगत डेढ वर्षदेखि चाँगुनारायणका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य जाँच सञ्चालन गरेको थियो, अब यो सेवा विस्तार गर्दै निःशुल्क स्वास्थ्य सेवा र औषधि वितरण सुरु गरेका छौँ ।” उहाँले अबदेखि दैनिक निःशुल्करूपमा स्वास्थ्य सेवा तथा औषधि वितरण गर्ने जनाउँदै यसलाई अझै विभिन्न स्वास्थ्य उपकरण जडान गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो । हुनेले नहुनेका लागि सहयोग गर्न आह्वान गर्दै उहाँले सन्तोष भट्टराईले रु एक लाख ५० हजार बराबरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको बताउनुभयो । अध्यक्ष खड्काले यो संस्थालाई कांग्रेसको संस्थाका रूपमा नहेर्न आग्रह गर्दै यहाँका सबै जनताको स्वास्थ्य संस्थाका रूपमा सञ्चालन भई सबै जनतालाई सेवा दिने संस्थाका रुपमा हेरेर सेवा लिइदिन सबैमा आग्रह गर्नुभयो । निःशुल्क स्वास्थ्य सेवा एवं औषधि वितरणको नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन गर्नुभयो । उहाँले राज्यले गर्नुपर्ने काम आमाको स्मृतिमा सञ्चालन हुनु खुसीको कुरा भएको चर्चा गर्दै निःशुल्क स्वास्थ्य सेवाबाट आम नागरिक लाभान्वित हुने बताउनुभयो । त्यस्तै निःशुल्क सेवाका बारेमा स्थानीयवासी एवं बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले निःशुल्क स्वास्थ्य सेवा सबैका लागि सुरु भएकामा खुसी व्यक्त गर्दै स्वास्थ्य सेवा लिँदा कांग्रेस, एमाले वा अरु पार्टीका मान्छे भनेर नहेरी सबैलाई सेवा दिनु पर्ने बताउनुभयो । बागमती प्रदेश उद्योग वाणिज्य राज्यमन्त्री रजनी जोशी, कांग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, प्रतिष्ठानका सचिव यादव अधिकारीलगायतले स्वास्थ्य सेवाको पहुँचलाई जनजनमा पु¥याउन यस्तो संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिष्ठानले दैनिक डा अनिल त्यातमार्फत बिरामीको स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य परामर्श दिने र औषधि वितरण गर्ने व्यवस्था गरेको छ ।
काठमाण्डौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । –––
काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि आज प्रतिनिधिसभाले पारित गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । त्यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले ज्येष्ठ नागरिकको अवस्था जटिल हुँदै गएकाले उनीहरुलाई राज्यका तर्फबाट संस्थागत रुपमा सहयोग उपलब्ध गराउने प्रयास गरिएको बताउनुभएको छ । नेपाली समाजमा प्रचलित ‘मातृ देवोः भव, पितृ देवोः भवको अवस्था’ मा क्रमशः खण्डित हुँदै गएको उल्लेख गर्दै उहाँले घरमै बस्ने वातावरण बनाउनका लागि सरकारले प्रयास गरेको बताउनुभयो । स्थानीय तहको सरकारलाई जिम्मेवार बनाउनका लागि ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ लाई द्रुतगतिमा पारित गरेर कार्यान्वयन गर्न खोजिएको मन्त्री रेग्मीको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उहाँले ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई मुलुकको विकास र समृद्धिका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । ज्येष्ठ नागरिकका बारेमा अन्य देशमा राज्यले नै जिम्मेवारी लिएको तथ्य पेस गर्दै उहाँले सकारात्मक सोच राख्ने छोराछोरी पनि साथमा नहुन सक्ने अवस्था रहेकाले पनि समस्या बढेर गएको उल्लेख गर्नुभयो । ढल्कँदो उमेरमा ज्येष्ठ नागरिकलाई चाहिने स्याहारसुसार प्राप्त हुन नसकेको तथा सँगै रहेका सन्तानले पनि अपहेलना गरेको पाइएकाले सरकारले ‘केयर गिभर’को तालिम दिएर जनशक्तिको प्रबन्ध गर्ने व्यवस्था चालु आवको बजेटमा गरेको मन्त्री रेग्मीको भनाइ छ ।
काठमाण्डौँ: राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बबाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा उहाँले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन सम्बन्धित निकायले परीक्षण गर्नुपर्छ भन्नुभयो । अर्का सदस्य राधेश्याम पासवानले समावेशी समानुपातिक सिद्धान्त संविधानमा व्यवस्था गरिएको भए पनि यसको सबै स्थानमा कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सुशासनका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याउनुभएको थियो सदस्य उदयबहादुर बोहराले कृषि प्रधान देश नेपालले केही दशक अगाडि खाद्य वस्तु निर्यात गर्ने गरेकामा अहिले अधिकांश वस्तु आयात गर्नुपर्ने स्थिति दुःखद भएको भएको बताउनुभयो । सदस्य विमला राईले बजेट निर्माणका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । सदस्य महेश महराले अर्थतन्त्रमा सङ्कुचन आइरहेको बेला विशिष्ट व्यक्ति तथा उच्च तहका कर्मचारीहरुको सरकारी सुविधा कटौती गर्न माग गर्नुभयो । बैठकको शून्य समयमा सदस्य नरबहादुर विष्ट काठमाडौँ महानगरपालिकाको फुटपाथका व्यापारीलाई करको दायरामा ल्याएर व्यवसाय गर्न दिनुपर्ने विचार व्यक्त गर्नुभयो । बैठकको शून्य समयमा सदस्यहरु भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर लगायतले बेरुजुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

