काठमाडौं:   खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्।  सोमबार राति ११ः३० बजे कतारको दोहा...

काठमाण्डौँ  ः      पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ ।    मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष पुसमा भारमापन केन्द्र स्थापना गरिएको थियो । पनौती नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई हाल भरमापन गर्न÷गराउनसमेत आग्रह गरेको छ ।     भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा गत वर्ष फागुनमा जारी पत्रानुसार स्थानीय तहले हालैमात्रै भारमापन कार्यलाई कडाइ गरेको हो । सोही निर्देशिकाअनुसार विभागको अनुमतिमा जिल्लामा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।    “दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि मालवाहक सवारीसाधनमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो”, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय प्रदीप पौडेलले भन्नुभयो । गत वर्ष पुसमा काभ्रेपलाञ्चोकको तीन स्थानमा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।    बनेपा–पनौती सडकको नैकिन्टार, अरनिको राजमार्गअन्तर्गत पाँचखालस्थित केराघारी र बिपी राजमार्गको नमोबुद्ध नगरस्थित भकुण्डेमा तौलपुल स्थापना गरिएको छ । ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले पाँचखाल र पनौतीमा तथा कोट कालिका मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले नमोबुद्धमा तौलपुल सञ्चालन गरेको होे ।   मालवाहक सवारीसाधनले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजका सरोज कुइँकेलले बताउनुभयो । उहाँका अनुसार सबै मालवाहक सवारीसाधनले भारमापन गर्ने हो भने सडक सुरक्षामा मद्दत पुग्नेछ । निर्देशिकाअनुसार ६ पाङ्ग्राभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीसाधनले रु १५० तिर्नुपर्दछ ।   बनेपा–खोपासी सडक तथा अरनिको र बिपी राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारीसाधन चल्ने गर्छन् । मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकमा क्षति पुग्ने गरेको छ । 

   काठमाण्डौँ :        हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।   उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश नं १ मा आङ्शिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आङ्शिक बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   काठमाडौँमा बिहानैदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ ।  दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आङ्शिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका केही, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २८ दशमलव सात र न्यूनतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

काठमाण्डौँ :     चालु आर्थिक वर्ष २०७८र७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो ।   गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा नेपालले रु १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेको छ ।    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार २९ दशमलव ५ प्रतिशतले बढको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले रु १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।   साढे १७ खर्बको आयात   चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिनामा नेपालमा साढे १७ खर्ब बढीको विदेशी वस्तुको आयात भएको छ । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले रु १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ ।   यसैगरी, नेपालले चालु आर्थिक वर्षको ११ महिनामा रु एक खर्ब ८५ अर्ब ८३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।   साढे २ खर्बको पेट्रोलियम पदार्थको आयात   चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै साढे दुई खर्ब बढीको नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सारको तथ्याङ्क अनुसार डिजेल, पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको आयातमा रु दुई खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४३ हजार नेपाली रुपैयाँ बहिरिएको हो । जसमा सबैभन्दा धेरै डिजेल आयातमा रु एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार, पेट्रोलमा रु ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार र एलपी ग्यासको आयातमा रु ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार बढी बाहिरिएको छ ।   एघार महिनाको अवधिमा नेपालमा रु ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार बराबरको पाम आयल, रु ४८ अर्ब ७८ करोड ४६ लाख ८७ हजार बराबरको स्टिल आइरन र रु ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार बढीको मोबाइल आयात भएको छ । यस्तै, एघार महिनाको अवधिमा नेपालबाट रु एक खर्ब ९० अर्ब २३ करोड ८६ लाख ३२ हजार बढीको सोयाबिन तेल, रु ६६ अर्ब ८६ करोड ८९ लाख ७२ हजार बढीको पाम आयलको निर्यात भएको छ ।

काठमाण्डौँ :      नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले पार्टीलाई एकताबद्ध गर्ने सद्भाव विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ ले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।   “पार्टीभित्र सद्भाव विकास गर्न नसके गतिशीलता कायम हुनसक्दैन”, उहाँले भन्नुभयो, “स्थानीय तहमा भएका मतभिन्नता बिर्सेर एकजुट भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ ।” त्यसैगरी महिला, दलित र जनजातीलाई पार्टीभित्र ल्याएर अगाडि बढाउनुपर्नेमा नेता साउदले जोड दिनुभयो । उहाँले जनजाती र दलित समुदायको हकअधिकार रक्षाका लागि आफूले पहल गर्ने बताउनुभयो ।    “दलित र जनजातीलाई पार्टीभित्र गोलबन्द गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यहाँका सुकुम्वासी, आरक्ष पीडितको समस्या समाधानका लागि पनि पहल गर्नुछ ।” यहाँको निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिन उक्त कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

पोखरा :      सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई सरकार अक्षुण्ण राख्न चाहन्छ, अझ समृद्ध गर्न चाहन्छ ।”    कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा यो सरकारले दण्डित नगरेको र नगर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । दक्षिण एसियामा नै स्वतन्त्र प्रेसको नमूना देशका रूपमा नेपाललाई विकास गर्नका लागि सरकार कानुनी, संरचनागत व्यवस्था गर्न सधँै तयार रहेको मन्त्री कार्कीले बताउनुभयो ।   महँगी केवल सरकारको हातमा मात्र नरहेको र हाल पेट्रोलको मूल्य वृद्धि भएको बताउँदै उहाँले पेट्रोललाई विस्थापित गर्न भइरहेको ऊर्जाको विकासलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । मन्त्री कार्कीले देशमा उत्पादित ऊर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिइने बताउनुभयो ।   शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने बताउँदै उहाँले आगामी दिनमा नेपालीलाई सम्पन्न बनाउनेतर्फ राज्यको जोड रहने स्पष्ट गर्नुभयो । आगामी पुस्तालाई समृद्धपुस्ता बनाउने गरी लाग्नुपर्ने बताउँदै मन्त्री कार्कीले पूँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले अपार जलस्रोतको उपयोग गर्न सके मात्रै पनि त्यसले यहाँको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।   अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँदै साञ्चारमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।   अमेरिकन स्टेट पार्टनरशिप प्रोग्रामलाई अघि नबढाउने सरकारले निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो । एक्लै हिँडेर कहीँ पुग्न नसकिने र सबैको सहयोगमा अघि बढेमा यो मुलुकको भविष्य सुन्दर रहेको उल्लेख गर्दै मन्त्री कार्कीले भाषणमा मात्र नभई व्यवहारमा आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सकेको अवस्थामा १० वर्षमा नेपाल दक्षिण एसियाको धनी मुलुक बन्ने दाबी गर्नुभयो ।    सो अवसरमा दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ बाट मन्त्री कार्कीले पत्रकार बबिता बस्नेतलाई सम्मानपत्रसहित रु एक लाख एक हजार १११ ले सम्मान प्रदान गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिताका माध्यमबाट सचेतना, महिला जागरण आदिमा महत्वपूर्ण योगदान गरेका कारण बबिता बस्नेतलाई सम्मान गरिएको बताउनुभयो ।   प्रतिभा छनोट समितिका संयोजक एवम् नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले समाजको रुपान्तरणका साथै प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेका दयाशङ्कर पालिखेको स्मृतिमा स्थापित पुरस्कार तथा सम्मान आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकारितामा निर्भिक रुपमा कलम चलाउने बबिता बस्नेतको सक्रियता, योगदान आदिका आधारमा उहाँलाई सम्मान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।   कार्यक्रममा सम्मानित व्यक्तित्व बबिता बस्नेत, पुरस्कार संस्थापक परिवारका तर्फबाट विश्वशङ्कर पालिखे, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष राजकाजी गुरुङ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायतले  पत्रकारिताबारे आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । 

बागलुङ :       स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   कार्यालयका अनुसार भरतपुर महानगरपालिका–४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ आउँदै गरेको ना३३प ३६६६ नंको मोटरसाइकललाई आज बिहान  ठक्कर दिएको थियो ।   ठक्करबाट मोटरसाइकल पछाडि सवार घाइते थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक बाग्लुङको हरिया गाउँपालिका निवासी ३४ वर्षीय आयुस बोहोरा गम्भीर घाइते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काठमाण्डौँ :      युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गहतराजले योगलाई खेलकुदकै प्रमुख अङ्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।    पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्रीले खेलकुद, शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयानुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

काठमाण्डौँ :        धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक उकालो लाग्दा खडेरीमा पानी परे जस्तै भएको लगानीकर्ताको टिप्पणी छ ।    नेपाल स्टक एक्सचेञ्जका अनुसार ३९.९३ अङ्कले उकालो लागेर एक हजार ९२४.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ८.९० अंकले उकालो लागेर ३७५.०९ मा पुगेको छ ।    कूल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर रु एक अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१५ बराबरको कारोबार भयो । कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १७.१४, व्यापार ४२.०३, होटल तथा पर्यटन ५०.५७, विकास बैंक ११५.७७, जलविद्युत् ६१.८१, वित्त ४८.९८, निर्जीवन बीमा १५४, उत्पादन ९१.८४, अन्य ३८.२७, लघुवित्त ९१.८८, जीवन बीमा २०३.१८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.८५ अङ्कले उकालो लागेका छन् ।    नेप्सेका अनुसार आँधीखोला लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त ८.९८ र रिभर फल्स पावरका लगानीकर्ताले ८.८८ प्रतिशतले कमाए । नबिल ब्यालेन्सफ फण्ड २.९३, तेह्रथुम पावर कम्पनी २.८७, एनआइसी एशिया ब्यालेन्स फण्ड २.५९, लक्ष्मी इक्विटी फण्ड २.५० र एनएमबी–५० का लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

कास्की:  पोखरामा महिला विरुद्धका भेदभाव उन्मूलन गर्न प्रदेश स्तरीय संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   आदिवासी जनताति महिला मञ्च र नेपाल आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धि महासन्धि (सिड) को निष्कर्ष सुझाव कार्यान्वयनको लागि प्रदेश स्तरीय संवाद कार्यक्रम आज (मंगलबार) सम्पन्न भएको हो ।   उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गरे ।    सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले महिला सशक्तिकरण आजको आवश्यकता रहेको धारणा व्यक्त गरे । मन्त्री श्रेष्ठले महिला विरुद्धको भेदभाव उन्मूलन गर्न संविधानले व्यवस्था गरेको अधिकारहरु अक्षरश कार्यान्वयन हुनुपर्ने बताए ।    पुरुषप्रधान देशको राष्ट्रपति महिलानै भएको बताउदै उनले महिलाले पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने उल्लेख गरे । महिला सशक्तिकरणको लागि आफ्नो मन्त्रालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै आगामी दिनमा समेत सधै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।    एक दिने उक्त संवाद कार्यक्रममा सहजकर्ताका रुपमा अधिवक्ता सुरेन्द्र थापामगर र महिला अधिकारकर्मी सोनी लामाले सहजीकरण गरेका थिए ।   पोखरा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमलाई IWGIA ले सहयोग गरेको आयोजक संस्थाका पूर्व अर्थसचिव श्याममाया राना पुनले जानकारी दिएकी थिइन् ।  ‘विदेशी संस्थाले सहयोग गरेको हाम्रो कार्यक्रममा पोखरा महानगरपालिकाको विभिन्न वडामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरेका हौं,  उनले भनिनन्, ‘यसको उद्देश्य भनेकै महिलाहरुलाई धेरै क्षेत्रमा भेदभाव गरिन्छ । अब समान अवसर दिइनुपर्छ र भेदभाव हटाइनुपर्छ भन्ने हो ।’   उक्त कार्यक्रमले महिलाहरुको क्षमता अभिवृद्धि गर्न सघाउ पुग्ने बताउदै विगत लामो समयदेखि अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी दिएकी थिइन् ।