काठमाडौं:   खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्।  सोमबार राति ११ः३० बजे कतारको दोहा...

 झापा :      नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ ।   आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताउनुभयो । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।   शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।

काठमाण्डौँ :     देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।    उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना छ ।    रातको समयमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस छ । 

 पोखरा :      पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।   कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ ।   शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार केन्द्रका डा पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाई, डा माया लामा, डा जुजु श्रेष्ठ र डा अमृत केसीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो ।   यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । प्रतिष्ठानलाई यही असार ३ गते प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभाग मातहतको मानव अङ्ग प्रत्यारोपण समन्वय सचिवालयबाट अनुमति प्राप्त भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । प्रतिष्ठानले यसअघि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति उपलव्ध गराउने सम्बन्धमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरेको थियो ।   पहिलोपटक प्रत्यारोपण गरिएको बिरामीको सबै उपचार खर्च निःशुल्क गरिएको अस्पतालले जनाएको छ । पोेखरामा मिर्गौला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना अस्पतालको छ । पोखरामा दैनिक डायलासिस गर्न आउने मिर्गौलाका बिरामीको सङ्ख्या ५०० हाराहारी रहेको बताइएको छ ।

बाँके :       बाँकेको बैजनाथ गाउँपालिका १ गाभरभ्यालीमा विगत ९ वर्षदेखि सामुदायिक घरबास संचालन हुँदै आएको छ ।    कोहलपुरदेखि करिब साढे ८ किलोमिटरको दुरीमा अवस्थित सो होमस्टेको सुरुवात कृष्ण चौधरीले २०७० सालमा एक्लै गरेका थिए । अहिले २५ घर समितिमा आवद्ध भई सेवा प्रदान गर्दै आएका होमस्टे संचालक रमेश प्रसाद जैसीले बताए । उनका अनुसार एक रात घरबास सुविधाको लागि प्रतिव्यक्ति १५ सय देखि २ हजार खर्च हुने गर्छ ।    समितिमा दर्ता भएपनि होमस्टेले प्रदान गर्ने सेवा सुविधाको आधारमा शुल्क तिर्नुपर्ने जैसीले बताए । उनका अनुसार चौधरी, ब्राह्मण र क्षेत्री लगायतका समुदायले होमस्टे संचालन गर्दै आएका छन्  । गाभरभ्याली सामुदायिक होम्स्टेमा पोखरा, बुटवल, काठमाडौं, रुपन्देही लगायतको स्थानबाट पाहुनाहरु आउँने गर्दछन ।  हेरौं तस्वीरहर  :                                                  

विराटनगर :     विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी  चलाउँनुहुन्छ । उहाँले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको छ ।    यस वर्ष कक्षा १० को एसइई परीक्षा दिनुभएका राउतले कक्षा ८ देखि नै विद्यालय समयबाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै आउनुभएको छ ।     परिवारको आर्थिक अवस्था कमजोर रहेकाले राउतले यही कामबाट परिवारको भरणपोषणमा सहयोग गर्नुभएको छ । राउतको यो मेहेनती कार्यको छिमेकीहरु पनि प्रशंसा गर्दछन् ।    बुवाको काम गर्ने उद्योगमा लडेर हात भाँच्चिएपछि राउत सानै उमेरदेखि परिवारको पालनपोषणका लागि सिटी सफारी चलाउन लाग्नुभएको हो । यो कायमको थालनीमा निकै कठिनाइ भएको उहाँको अनुभव छ ।    स्कुलमा हुँदा सिटी सफारी चलाएर दैनिक रु ५०० देखि ८०० सम्म आम्दानी गर्नुभएका राउतले अहिले दैनिक रु एक हजार २०० सम्म कमाउने बताउँनुहुन्छ । विराटनगरस्थित जनपथ माविमा अध्ययन गर्नुभएका राउत कक्षामा प्रथम हुँदै आउनुभएकोमा अहिले सामाजिक काममा रुचि देखाउन थाल्नुभएको छ । विभिन्न परोपकारी अभियानमा उहाँ लाग्नुभएको छ ।    “मेरो मात्र कुरा छैन, घरमा आमाबुवा पाल्नुपर्छ, मसँगैका दुई भाइलाई पढाउनु पर्दा खर्च बढ्ने भएकाले व्यवस्थापन पढ्ने निर्णयमा पुगेको छु”, उहाँले भन्नुभयो ।  एउटा भाइ कक्षा १० र अर्को कक्षा ६ मा अध्ययनरत रहेकोले उनीहरुलाई शिक्षा दिन आफूले दिनरात मेहेनत गरेको उहाँको भनाइ छ ।    घर खर्चको लागि साहुसँग लिएको ऋण चुक्ता गर्नुपर्ने भएकाले बुबा र आमालाईसमेत ठेला किनिदिएर व्यवसायमा लगाउनुभएको छ । अहिले आँपको मौसम भएकाले आमा र बुवा यही व्यवसायमा आबद्ध भएको उहाँले बताउनुभयो । उहाँ विराटनगरका युवानेता एवं समाजसेवी वासिम आलमको नेतृत्वमा सञ्चालित विपन्नलाई निःशुल्क खाना, लुगा वितरणलगायतका समाजसेवाका अभियानमा समेत सक्रिय भएर लाग्नुभएको छ ।

काठमाण्डौँ :       धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अङ्कले ओरालो लागेर एक हजार ८४८.२८ मा ओर्लेको छ ।   यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०६ अङ्कले ओरालो लागेर ३६२.०९ मा ओर्लेको छ । कूल २३७ कम्पनीको ५० लाख आठ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४९ करोड ९७ लाख नौ हजार ६३५ बराबरको कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ३५ अर्ब १७ करोड ९६ लाख १८ हजार बराबर रहेको छ ।   नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २१।२९, व्यापार ३९.३९, होटल तथा पर्यटन ६७.१३, विकास बैंक ११९.८६, जलविद्युत् ८६.३६, वित्त ४७.१, निर्जीवन बीमा २१८.०५, उत्पादन ९५.९७, अन्य ३३.१९, लघुवित्त १०२.१५, जीवन बीमा १४३.३८, सामूहिक लगानी कोष ०.२५ र लगानी २.२३ अङ्कले ओरालो लागेको छ ।   कारोबारका आधारमा कुमारी बैंक शीर्षस्थानमा छ । सो बैंकको रु नौ करोड ५३ लाख १२ हजार ५१० बराबरको कारोबार भयो । यस्तै लक्ष्मी बैंक रु छ करोड ३६ लाख ८५ हजार ३७५, नबिल बैंक रु पाँच करोड ५३ लाख ६९ हजार ६८७, हिमालयन डिस्टिलरी रु चार करोड ५२ लाख ४२ हजार २८८ र एनआइसी एशिया बैंक रु चार करोड १५ लाख ५९ हजार ४९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।   नेप्सेका अनुसार घटेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै एनआइसी ब्यालेन्स फण्ड ३.९४, विन नेपाल लघुवित्त २.७० र गुर्खाज फाइनान्सका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।   यस्तै शिवश्री हाइड्रोपावर ९.५६, लिवर्टी इनर्जी ९.२१, सामलिङ पावर ८.५०, एनआइबिएल प्रगति फण्ड ८.३२ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.०६ प्रतिशतले गुमाए ।

काठमाण्डौँ :    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुनसक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पार्नुभएको थियो ।   “गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमान्दारीतापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्”, उहाँले भन्नुभयो, “तर अनुदान भने वास्तविक र साना किसानसम्म पुगेन ।  त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौँ ।” उहाँले आगामी आर्थिक वर्षको बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।   किसानको उत्पादन बजारसम्म सहजै पु¥याउनका लागि कृषि एम्बुलेन्सको सुरुआत गरेको उहाँले बताउनुभयो । उहाँले  वार्षिक रु साढे तीन खर्बभन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि बताउनुभयो ।   “आयात प्रतिस्थपानका लािग कृषि उपजको उत्पादन बढाउने, औद्योगिक वस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो । जमिन, पानी वन तथा समग्र प्राकतिक स्रोतहरुको अधिकतम् उपयोग गरी राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि जानकारी गराउनुभएको थियो ।   बजेटले लिएको नीतिकै कारण भारतको हैदरावादमा रहेको दुईवटा सूचना प्रविधिसम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको थियो । उहाँले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु उपयुक्त भएको बताउनुभएको थियो ।

सुर्खेत :      सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो ।    एक सयबढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । पशुपन्क्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको जानकारी दिनुभयो । बर्डफ्लु पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ ।   पशुपन्क्षी विकास निर्देशनालयले पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटरसम्म क्षेत्रमा पालिएका पंक्षीलाई नष्ट गर्ने तयारीमा रहेको जनाएको छ । बर्डफ्लु फैलिएको फर्ममा सानाठूला गरी करिब एक हजार ५०० बढी टर्की छन् ।    प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले पालेको पंक्षीमा शंकास्पद लक्षण देखिएमा उपभोग तथा बिक्री वितरण रोकेर पशु चिकित्सकलाई खबर गर्न आग्रह गरेका छौँ ।”

काठमाण्डौँ :      प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक प्राप्त नभएको भन्दै प्रश्न उठाएपछि दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अगाडि बढ्न सकेन ।   बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ र ‘लोकसेवा आयोग विधेयक, २०७५’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।   सांसदहरूले ती विधेयक आफूहरूले प्राप्त नगरेको भन्दै आपत्ति जनाएपछि कार्यसूचीबाट ती विषय हटाइयो । त्यसपछि वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौता सदनमा पेश गर्नुभयो ।   सन् २०१२ मा ब्राजिलको  रियो दि जेनेरियोमा सम्पन्न जलवायु सम्मेलनपछि सो इन्स्टिच्युट स्थापना भएको हो । सो इन्स्टिच्युटको केन्द्रीय मुख्यालय दक्षिण कोरियाको सियोलमा छ । त्यसका हालसम्म ४३ देश सदस्य छन् । त्यसको विधानअनुसार सदस्य लिँदा कुनै पनि आर्थिक भार तथा योगदान गर्नु नपर्ने मन्त्री यादवले जानकारी दिनुभयो ।   आर्थिक विकासका लागि जैविक विविधता संरक्षण, वातावरण र विकासबीच  सन्तुलन बनाउने सन्दर्भमा त्यस संस्थामार्फत काम गर्न सकिनेछ । दिगो विकासका लागि मूर्तरुप प्रदान गर्दै विकास र वातावरणबीचको सन्तुलन कायम गर्न पनि त्यसबाट सहयोग लिन सकिने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।   नेपालले जलवायुका सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्न सहयोग पुग्ने तथा  लगानी वृद्धि गर्न सहयोग पुग्ने एवं विश्वव्यापीरूपमा सफल अभ्यासको आदान–प्रदान गर्न पनि उपयुक्त माध्यमका रूपमा लिन सकिने भएकाले सो सम्झौता अनुमोदन आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो ।   नेपालले सदस्यता प्राप्त गर्दा कुनै आर्थिक भार नपर्ने र आरक्षणको व्यवस्थासमेत नरहेको उहाँको भनाइ थियो । मन्त्रिपरिषद्को २०७७  भदौ १ को बैठकले सो सम्झौता अनुमोदनका लागि वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक आजै ३ः४० बजे बस्ने गरी स्थगन भएको छ ।