तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

काठमाडौँ:     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अङ्कले ओरालो लाग्यो ।    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अङ्कले ओरालो लागेर दुई हजार ८८.१६ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९९ अङ्कले घटेर ३९८.३९ मा ओर्लिएको छ । कूल २२२ कम्पनीको ८७ लाख ४० हजार ५५७ कित्ता शेयर रु तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ मूल्यमा खरिद बिक्री भए ।     नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ २५.२८, व्यापार ५०.५७, होटल तथा पर्यटन ७८.८७, विकास बैंक ११४.४१, जलविद्युत् ४८.३१, वित्त ५३.३४, निर्जीवन बीमा १०३.५१, उत्पादन ९४.१६, अन्य ५७.४९, लघुवित्त ११०.४९, जीवन बीमा १३३.७१, सामूहिक लगानी कोष ०.१९ र लगानी १.७७ अङ्कले ओरालो लागेको छ ।      मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ८१ अर्ब ७६ करोड ३९ लाख २० हजार १६ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३६ लाख ६७ हजार २६० बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर कम्पनी रु १५ करोड ५७ लाख आठ हजार ४०३, अरुण भ्याली हाइड्रो पावर रु १० करोड २४ लाख ५० हजार, हिमालयन डिस्टिलरी रु नौ करोड ८० लाख ५९ हजार १९६ र राधी विद्युत् कम्पनी रु आठ करोड ३५ लाख २९ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।      नेप्सेका अनुसार मल्टीप्रपोज फाइनान्स कम्पनी ९.३२, सूर्योदय बोमी लघुवित्त ६.७२, युनाइटेड मोदी हाइड्रोपावर ६.१९, समृद्धि फाइनान्स कम्पनी ३.२३, बलेफी हाइड्रोपावरका लगानीकर्ताले ३.१५ प्रतिशतले कमाए । त्यस्तै, गणपति लघुवित्त ६.८२, रिभर फल्स पावर ५.९९, सप्तकोसी लघुवित्त ५।१३, पोखरा फाइनान्स ५.१० र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५.०३ प्रतिशतले गुमाए । 

काठमाण्डौं: मोडिफाई गरी चर्को आवाज निकाल्ने रोयल इन्फिल्डको बुलेट मोटरसाइकलमाथि ट्राफिक प्रहरीले निरन्तर निगरानी गरिरहेको छ । हिजोमात्रै ३७ बुलेट नियन्त्रणमा लिएर कारवाही गरेको प्रहरीले आज थप ७९ बुलेटचालकलाई काठमाण्डौंमा कारवाही गरिएको छ ।    उपत्यका ट्राफिक प्रहरीले आफुखुशी मोडिफाई गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई चालकलाई कारवाही गरेको जनाएको छ । नियन्त्रणमा लिइएको मोटरसाइकलले ध्वनी प्रदुषण बढाउनुकासाथै अन्य प्रदुषणसमेत बढाएको ट्राफिक प्रहरीले जनाएको हो ।    ‘रोयल इनफिल्ड  (बुलेट) मोटरसाइकलको  साइलेन्सरको पछाडी  पातामा रबर  राखी  ठूलो अवाज निकाल्ने  ८९ जना मोटरसाइकल  चालकहरुलाई कारवाही गरिएको छ’ उपत्यका ट्राफिकले भनेको छ ।    नियन्त्रणपछि उक्त मोटरसाइकलबाट साइलेन्सर पाइप झिकिएको छ भने चालकलाई जरिवाना गरिएको छ । साथै, आइन्दा मोडिफाइ नगर्न चेतावनीसमेत दिइएको छ । 

  काठमाडौं:   यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।   ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले जानकारी दिए । एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ । खेलाडी छनोट साउन २० गतेसम्ममा सकिने राईले जानकारी दिए ।   श्रेष्ठले २०१६ मा प्रशिक्षणमा ‘ए’ लाइसन्स् प्राप्त गरेका थिए । उनले २०२१ मा थ्री स्टार क्लबको जिम्मेवारी लिएका थिए । उनले जिम्मेवारी लिएपछि थ्री स्टारले बाग्मती गोल्डकप फुटबलको उपाधि जितेको थियो ।

  गुल्मी:    गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँड्नुभयो । उहाँ आफू मात्रै हिँड्नुभएन, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर जानुभयो । छविकला आउने आशामा परिवारले झन्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् । जेठ ४ गते देवर भीम बहादुरले जिल्ला प्रहरी कार्यालयमा भाउजू हराएकाले खोजिदिन निवेदन दिनुभयो । भाउजू आफूखुसी भागेर हिँडेको पीडकको निवेदनमा उल्लेख थियो । छविकलालाई परिवार, स्थानीयवासिन्दा एवम् प्रहरीले हराएको सूचीमा राखेर खोजी गरिरहे पनि अहिलेसम्म उहाँ फेला पर्नुभएको छैन ।       रेसुङ्गा नगरपालिका–८ की ईश्वरी कार्की पनि गत जेठ ८ गते घरबाट हिँड्नुभयो । चौँतीस वर्षीया उहाँले पनि दुई वर्षीया छोरीलाई सँगै लिएर जानुभयो । सोही दिन नै श्रीमान् नारायण कार्कीले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिनुभयो । ईश्वरी हराएको दुई महिना हुँदा पनि अहिलेसम्म अत्तोपत्तो छैन । उहाँलाई प्रहरी र आफन्तले खोजिरहेका छन् ।       थापा र कार्की त हराएर नभेटिनेमध्येका केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३३९ जना हराएका थिए । आर्थिक वर्ष २०७६/७७ देखि ०७८/७९ सम्म उक्त सङ्ख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएकामध्ये पनि २२ जना अझै भेटिएका छैनन् । बाँकी ३२४  जना सम्पर्कमा आएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कुल १०८ जना हराएका थिए । हराएकामध्ये सबै सम्पर्कमा आएका थिए।      आर्थिक वर्ष ०७७/७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी कूल ९२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सातजना अझैसम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आव०७८/७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी एक सय ३९ जना हराएका थिए । तीमध्ये १० महिला, नौ बालक र तीन बालिका गरी १५ जना अझैसम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो । हराएकामध्ये अधिकांश १७ देखि ४० वर्षसम्मका महिला थिए ।       श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उहाँले  बताउनुभयो । त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारणले महिलाहरु हराउने गरेको पाइएको छ ।       यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने सङ्ख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो ।  । हराएका मानिसहरु पत्ता लगाउनका लागि उनीहरुको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोतहरु परिचालन  गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

काठमाडौँ:    नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ ।सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थाबाट उद्धार गरेर आश्रमको संरक्षणमा राखिएका व्यक्तिलाई अस्पतालले उपचार गर्ने सम्झौतामा उल्लेख छ  ।सम्झौतापत्रमा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरीक्त महानिरीक्षक डा आशा सिंह र आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।   सम्झौता पश्चात् अस्पतालले विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत आश्रमको संरक्षणमा रहेका व्यक्तिलाई तीन शैय्या उपलब्ध गराउने भएको छ । उक्त सम्झौतापछि अब बेसहारा नागरिकलेसमेत निःशुल्क रुपमा उपचार प्राप्त गर्न सक्ने छन् ।साथै अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीका लागि भर्ना भइसकेपश्चात् औषधिलगायत सामग्री निःशुल्क उपलब्ध गराइने भएको छ । मेडिकल डाइरेक्टर सिंहले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।    “जीवनरक्षाका लागि कार्य गर्दै आइरहेका थियौँ । यसमा थप सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिको जीवन पनि बचाउन पाउनु हाम्रा लागि पनि खुसीको कुरा हो । आगामी दिनमा उक्त आश्रमको सेवामा संस्थागत र व्यक्तिगत रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिबद्ध छु ।,” उहाँले थप्नुभयो ।   अस्पतालसँगको सहकार्यले यस आश्रमको काममा सहजता हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । “सडकपेटीबाट उद्धार गरिएका व्यक्ति विभिन्न क्यान्सर, एचआइभी एड्स, हेपाटाइटिस, मिर्गौलाले काम नगर्नेजस्ता रोग लागेका व्यक्ति छन् ।  अस्पतालको साथले हामीमा थप हौसला बढेको छ,” उहाँले भन्नुभयो,   “यो सम्झौता एक वर्षका लागि रहेको र  दुवै पक्षको सहमतिमा  नवीकरण गर्न सकिने छ ।”आश्रमले हाल सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा शाखा स्थापना गरी सहयोगापेक्षी सडकआश्रित व्यक्तिको उद्धार एवं संरक्षण गरिरहेको छ । अहिले आश्रमको संरक्षणमा करिब एक हजार ५०० आश्रित छन् भने संस्थाको स्थापनादेखि १० वर्षको अवधिसम्म आइपुग्दा सातहजार २०० बढीको उद्धार भइसकेको छ ।

दाङ:    घोराही उपमहानगरपालिका–१३ कलमघारीका रेशमबहादुर राणासँग १५० माहुरीका घार छन् । उहाँले ८३ घारबाट माहुरीपालन सुरुआत गर्नुभएको हो । पहिला माहुरीपालनबाट मेहनतअनुसार कमाई ठिकै थियो । त्यही अवस्थाबाट उत्साहित हुँदै राणाले  माहुरीका घार थप्नुभयो ।       “घार थपेसँगै मह उत्पादन बढेको छ, तर मह बिक्री हुन सकेको छैन”, राणाले भन्नुभयो । जिल्लामै विगत वर्षभन्दा यस पटक मह उत्पादन बढेको छ । मह नबिकेपछि किसान निराश छन् । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसानले मह घरमै भण्डारण गरी बजार खोज्न थालेका छन् ।     “बजारमा मह खपत हुन सकेको छैन, घरमा यत्तिकै राख्नु परेको छ,” राणाले भन्नुभयो, “फेरि मह उत्पादन हुने याम सुरु भएको छ, बिक्रीकोृ चिन्ता हुन थालेको छ ।” उत्पादन राम्रो भए पनि महले बजार नपाएपछि निराश बनेको तुलसीपुरका मौरीपालक किसान उमेश थापा बताउनुहुन्छ ।    खपत हुन नसक्दा घरमै मह राख्नुपर्ने अवस्था आएको घोराही–१८ अम्बापुरका मोहन खत्रीको भनाइ छ । किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । जिल्लामा हाल पाँच सयभन्दा बढी व्यावसायिक रुपमा मौरीपालक किसान रहेको नेपाल मौरीपालक महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । “मह नबिक्दा मौरीपालक किसान के गर्ने भन्ने अन्यौलमा छन्”, उहाँले भन्नुभयो । जिल्लामा हाल १५० टन मह बिक्री नभएर थन्किएको तथ्याङ्क महासङ्घसित छ ।    “मह बिक्री नहुँदा लागत खर्च उठाउन समस्या भएको छ”, श्रेष्ठले भन्नुभयो । आयातीत महले पनि स्थानीय महको बजार प्रतिस्थापन गरेको छ । महको स्थानीय ब्रान्डलाई स्तरीय बनाउन जरुरी रहेको उहाँको भनाइ छ । दाङको मह पोखरा, काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । भारतीय बजारबाट आउने सस्तो मूल्यको महका कारण उपभोक्ताले स्थानीय महमा चासो दिएका छैनन् ।    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरीजोनकी प्राविधिक सहायक नारायणी घर्ती मौरीपालक कृषकलाई मौरीको नस्ल सुधारदेखि व्यावसायिक रुपमा मह उत्पादनमा अनुदानलगायत सहयोग गर्दै आएको बताउनुहुन्छ । “बजारीकरणको काम कृषक आफँैले गर्ने गरेका छन्”, उहाँले भन्नुभयो । यस पटक औसतमा प्रतिघार १२ दशमलव ८३ किलो मह उत्पादन भएको घर्तीले बताउनुभयो । मौरीजोनमा घोराहीका १०१, तुलसीपुरका ४५ र बङ्गलाचुलीका ११ फार्म सूचीकृत छन् ।    उत्पादित मह सहकारीमार्फत बेच्ने तयारी छ । बजारीकरणमा समस्या भएपछि यहाँका किसान सङ्गठित रुपमा एकद्वार प्रणालीमार्फत मह बिक्री गर्ने तयारीमा जुटेका छन् । मह उत्पादक किसानलाई सहकारी संस्थामा आबद्ध गराउँदै एकीकृत रुपमा मह बिक्री गर्ने तयारी छ । 

काठमाडौँ:   प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीमा मनाइँदैछ ।   चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीमा नेवार समुदायले मनाउँछ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।    संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाइ दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । स्थान एवं कूल परम्परा अनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ ।    यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।   यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्छन् ।

म्याग्दी:      म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पुर्याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो ।    गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा  खानेपानी पुर्याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पुर्याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । चौधवटा खानेपानी योजनामार्फत धारा निर्माण गरिएको हो ।    आर्थिक वर्ष २०७८/७९ मा एक हजार ३४७ घरमा धारा निर्माण गरिएको छ । “स्थानीयवासीले स्वच्छ र सफा खानेपानी उपभोग गर्न पाएका छन्”, पौडेलले भन्नुभयो । विसं २०७५ देखि गण्डकी प्रदेश सरकारले हरेक घरमा सफा र स्वच्छ  खानेपानी सुविधा विस्तार गर्न ‘एक घर एक धारा’ कार्यक्रम अघि सारेको हो । जिल्लाभर २९ हजार ४९९ घरमा आधारभूत खानेपानीको पहुँच पुगेको पौडेल बताउनुहुन्छ । आयोजनाले ९६ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच पु¥याउने लक्ष्य लिएको छ ।   प्रदेश सरकारको बजेटबाट अन्नपूर्ण गाउँपालिका–८ मा थावन खानेपानी योजना, रघुगङ्गा गाउँपालिका–१ मा बेगखोला खानेपानी योजना, बेनी नगरपालिका–९ मा गलेश्वर पम्पिङ खानेपानी योजना, निलदह खानेपानी योजना र वडा नं ४ मा सिङ्गा खानेपानी योजना सम्पन्न भई घर–घरमा धारा निर्माण गरिएका छन् ।    यस्तै अन्नपूर्ण गाउँपालिका–६ मा घारा खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–२ मा हिदी खानेपानी योजना, वडा नं १ मा कुहुँ खानेपानी योजना र मालिका गाउँपालिका–२ रुममा सेतखोला खानेपानी योजना सम्पन्न भएको इञ्जिनीयर राजेश उलकले जानकारी दिनुभयो ।     त्यसैगरी बेनी नगरपालिका–२ मा ज्यामरुककोट अर्जम रत्नेचौर खानेपानी योजना र मालिका गाउँपालिका–५ मा देवीस्थान खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–१ मा भर्जुला सल्यान खानेपानी योजना र अन्नपूर्ण गाउँपालिका–६ घारामा नेपाने खोनेपानी योजना सम्पन्न भएको छ। जिल्लामा सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका १० र प्रदेश सरकारका २२ खानेपानी योजना सञ्चालित छन् । सङ्घीय सरकारबाट हस्तान्तरण भएका दुई सम्पन्न तथा ८ योजना निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारका १८ योजना हाल निर्माणाधीन अवस्थामा छन् । 

  चितवन:    चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।    माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालासँगको अन्तक्र्रियामा प्रहरी उपरीक्षक अधिकारीले पछिल्ला वर्षहरूमा यौनजन्य घटनामा वृद्धि हुँदै गएको जानकारी दिनुभयो । उहाँले जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका ५१ घटना दर्ता भएकामा आव २०७७/७८ मा ६० तथा आव २०७८/७९ मा ६३ पुगेका जानकारी दिनुभयो । त्यस्तै बाल यौन दुरुपयोगका घटनामासमेत उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ ।   प्रहरी उपरीक्षक अधिकारीले आव २०७६/७७ मा पाँच बाल यौन दुरुपयोगको घटना भएको जनाउँदै आव २०७७/७८ मा १० तथा आव २०७८/७९ मा १७ घटना दर्ता भएका जानकारी दिनुभयो । बाल यौन दुरुपयोगका घटनामा विद्यालयका शिक्षकसमेत पीडक हुने गरी उजुरी आउन थालेका प्रहरीको भनाइ छ । त्यस्तै जिल्लामा मानव बेचबिखनका घटनामा भने कमी आएको कार्यक्रममा जानकारी दिइएको थियो ।    प्रहरीका जिल्लामा आव २०७६/७७ मा छवटा मानव बेचबिखनका घटना दर्ता भएको थियो । त्यस्तै आव २०७७/७८ मा चार तथा आव २०७८/७९ मा तीनवटा घटना मानव बेचबिखनसम्बन्धी दर्ता भएका थिए । जिल्लामा बालाअवस्थामै लागुऔषध सेवनकर्ताको सङ्ख्या बढेको भन्दै प्रहरी उपरीक्षक अधिकारीले बालश्रम शोषणका विभिन्न घटनासमेत हुने गरेको बताउनुभयो ।   जिल्ला प्रहरी कार्यालयले बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, दुव्र्यसनी घटनाउने उद्देश्यले जनचेतनामूलक पाठ्यसामग्री तयार पारेको छ । ती पाठयक्रमलाई विद्यालयमा पढाउने गरी तयारी भइरहेको उल्लेख गर्दै उहाँले स्थानीय तहहरूसँग सहकार्य भइरहेको जानकारी दिनुभयो ।   कार्यक्रममा माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जिल्लामा बाल यौन शोषण र महिला बालबालिको बेचबिखनको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । सस्थाले महिला तथा बालबालिका, यौन हिंसा न्यूनीकरणका लागि काम गर्दै आएको उहाँले बताउनुभयो । अप्ठ्यारोमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षा प्रदान गरी अभिभावकत्व ग्रहण गर्दै संरक्षण गृहमा राख्ने गरिएको सस्थाले जनाएको छ ।    सस्थाले सात वर्षको बालिकालाई भरतपुरकै एसओएस विद्यालय, एक बालकलाई हेटौँडाको मामाघर तथा तीन बालिकालाई टेरेसा एकेडेमी काठमाडौँमा भर्ना गराएको कार्यक्रममा जानकारी दिइएको थियो ।  हिंसापीडित छ महिलालाई ब्यूटीसियन तालिममा सहभागी गराएको बालविवाह न्यूनीकरण तथा बालिबालिकामाथि हुने हिंसा रोकथाममा पनि सस्था सक्रिय रहेको छ । सस्थाले बालिकाको संरक्षण तथा उनीहरूमाथि हुने हिंसाको सामना गर्दै न्याय दिलाउन नेदरल्याण्ड सरकारको सहयोगमा ‘फ्रि अ गर्ल’ परियोजना सञ्चालन गरेको छ ।   सन् २०२१ को अप्रिलबाट सुरु भएको परियोजना २०२२ को डिसेम्बरमा सकिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा कानुनी सहायता परियोजनाका गोमा न्यौपाने, देवघाटको रामजानकी आश्रमका अध्यक्ष सावित्री टण्डन, ट्रान्सपरेन्सी इन्टरनेशन चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।