तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

  कास्की:    कास्कीको मादी गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष देवीजंग गुरुङ गाउँपालिकाकै कान्छा वडाध्यक्ष हुनुहुन्छ । उमेरले ३० वर्ष पुगेका उहाँ यसअघि सिक्लेस युवा क्लबलगायतका सामाजिक संस्थामार्फत क्रियाशील हुँदै आएकामा अहिले भने जनताको अभिमत पाएर वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो । उहाँसहित निर्वाचित जनप्रतिनिधि यतिखेर जनताका काममा क्रियाशील हुनुहुन्छ ।      सिक्लेस कास्कीको पर्यटकीय गाउँ पनि हो । नेपालकै ठूलो गुरुङ गाउँका रुपमा रहेको सिक्लेसको पर्यटकीय विकास त उहाँहरूकोे प्राथमिकतामा छँदैछ ,उहाँ भौगोलिक विककटताका कारणले सहजरुपमा सेवा लिन नसक्नेका लागि विभिन्न कार्यक्रमका साथ जनतामाझ पुग्ने कार्यक्रम लिएर अघि बढ्नुभएको छ ।     राज्यले ज्येष्ठ नागरिकलगायत समाजका विभिन्न वर्ग र समुदायलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा कतिपयले शारीरिक अवस्थाका कारण वडा केन्द्रमा आएर सेवा लिन सकेका छैनन् । यही अवस्थालाई दृष्टिगत गरी गुरुङले आफू निर्वाचित भएसँगै टोलटोलमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाउनुभयो नै त्यसको कार्यान्वयनमा पनि जुट्नुभएको छ ।     “हामीले टोलटोलमा पुगी सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेका छौँ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “भौगोलिक अवस्थिति आदिका कारण वडा केन्द्रसम्म आउन नसक्ने ज्येष्ठ नागरिक एवं सर्वसाधारणका लागि सोही टोलमा पुगेर भत्ता वितरण गरिरहेका छौँ ।” वडाको क्षेत्रफल ठूलो भएका कारण यहाँका सोँदा, खिलाङ, नयाँ गाउँलगायत टाढाटाढाका गाउँबाट सामाजिक सुरक्षा लिन वडा केन्द्र सिक्लेस पुग्नुपर्ने बाध्यता अन्त्य भएको खिलाङका ९३ वर्षीय रनसिरि गुरुङ बताउनुभयो ।     सामाजिक सुरक्षाभत्तासँगै वडाका तर्फबाट ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य समस्याअनुसार सरकारबाट प्राप्त हुने औषधि निःशुल्करुपमा उपलब्ध गराउने गरिएको उहाँको भनाइ थियो ।       समाजमा सबै वर्ग र समुदायको शिक्षामा समान पहुँच पुग्नुपर्छ भन्ने उद्देश्यका साथ वडाभित्रबाट एसइई उत्तीर्ण हुने दलित समुदायका विद्यार्थीलाई यसै वर्षदेखि १२ कक्षासम्म निशुल्क पढाउने आफूहरूको योजना रहेको उहाँको भनाइ छ ।      मादी गाउँपालिका–१ भित्र दुई वटा माध्यामिक विद्यालय रहेका छन् । वडाको सोँदास्थित दूधपोखरी मावि र सिक्लेसस्थित अन्नपूर्ण माविमा यहाँका विद्यार्थी अध्ययन गर्दै आएका छन् । वडाभित्र अध्ययन गर्ने दलित समुदायका विद्यार्थीबीचमा नै पढाइ छाड्ने गरेको बताउँदै उहाँले उनीहरूलाई पढाइप्रति अभिप्रेरित गर्न यो योजना अघि सारिएको बताउनुभयो ।     “जनताको दैनिकीसँग जोडिएका विषय नै हाम्रा प्रमुख प्राथमिकता हुन्”, उहाँले भन्नुभयो, “पाँचवर्षे कार्यकालमा यस क्षेत्रमा पर्यटन विकासका योजना ल्याउने, यातायातको सहज व्यवस्थालगायतका कामलाई प्राथमिकताका साथ अघि बढाउने हाम्रो योजना छ ।”     पर्यटकीय गाउँ सिक्लेसदेखि मनाङसम्म पदमार्ग विकास गर्न प्रयास गर्ने बताउँदै उहाँले भन्नुभयो, “यहाँबाट माछापुच्छे्र गाउँपालिकासँग जोडिने टिइँ भन्ने ठाउँ एक दिनमा पुग्न सकिन्छ, त्यहाँ जाने पदमार्गलाई प्रवद्र्धन गर्ने योजना बढाएका छौँ ।” टिइँबाट माछापुच्छ्रे, अन्नपूर्ण दुई, लमजुङ, मनास्लुलगायतका हिमाल नाङ्गो आँखाले देख्न सकिने उहाँले बताउनुभयो ।    पछिल्लो समयमा चर्चामा रहेको कपुचे हिमताल पनि यही वडामा पर्ने जनाउँदै वडाध्यक्ष गुरुङले सिक्लेसबाट उक्त तालमा पुग्न आठ घण्टा लाग्ने जानकारी दिनुभयो । उक्त मार्गको हुगु भन्ने ठाउँ नपुग्दासम्म छ घण्टाबीच बास बस्ने ठाउँ र टि सप नरहेका कारण पर्यटकलाई सहज हुने गरेर रुटको कुनै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।      उहाँका अनुसार सिक्लेसदेखि कपुचेसम्म घोडाबाट यात्रा गराउने योजनाका साथै त्यसबीचमा केही पूर्वाधार बनाउने लक्ष्य राखिएको छ । मादी गाउँपालिका वडा नं १ बाट ठूलो सङ्ख्यामा सर्वसाधारण पोखरामा रहेकाले वडा कार्यालयबाट प्रदान गरिने सबै किसिमका सेवा दिने गरी प्रत्येक दुई÷दुई महिनामा घुम्ती सेवा दिन थालिएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिसलगायतका वडाबाट हुने काम घुम्तीसेवामार्फत पाउँदा धेरै सर्वसाधारण लाभान्वित बनेको सिक्लेस पार्चे समाज पोखराका अध्यक्ष क्या शमशेर गुरुङले बताउनुभयो ।       वडाले गत असारको ३०, ३१ र यहीसाउनको १ र २ गते पोखरामा घुम्ती सेवा सञ्चालन गरेको छ । “घुम्ती सेवाका कारण वडा केन्द्र सिक्लेससम्म पुग्न नसक्ने सर्वसाधारण लाभान्वित बनेका छन्”, उहाँले भन्नुभयो, “जनताको सेवालाई लक्षित गरी वडाका तर्फबाट गरिएका यी काम अरु स्थानका जनप्रतिनिधिका लागि पनि अनुकरणीय छन् ।”

हेटौँडा:     हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो ।    खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिनुभयो । हेटौँडामा  खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उहाँले बताउनुभयो ।   उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ ।     खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ । हाल बोर्डले उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ ।

  काठमाडोैँ:      सानै उमेरमा विदेश गएर धेरै दुःख पाउनुभएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुआत गर्नुभएको छ । उहाँलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदोरहेछ भन्ने लागेको छ ।    उहाँसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ । दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७÷१८ लिटरदेखि लिएर ४०÷५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पुर्याउने गरेको उहाँले बताउनुभयो ।   यस्तै सिस्ने –६ की निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिइ थोरै लगानीबाट सुरु गर्नुभएको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ । खेती गरिएको सबै जमिन शाहीले लिजमा लिनुभएको हो । व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आफूलाई लागेपछि तरकारी खेती सुरु गर्नुभएका शाहीले अहिले आफ्नी श्रीमानलाई समेत स्वदेश फर्काउनुभएको छ ।   कृषिमै भविष्य देख्नुभएकी शाहीले दुई–चार वर्ष विदेश बस्नुभएका श्रीमानलाई  स्वदेश फर्काएपछि अहिले दुवै जना एकअर्कालाई सहयोग गर्दै कृषि कर्ममा रमाइरहनुभएको छ । रुकुमपूर्वकै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि सामूहिक बङ्गुरपालन सुरु भएको छ । वडा नं १२ कोलमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत सामूहिकरूपमा बङ्गुरपालन सुरु गरिएको हो । अहिले कोलमा उन्नत जात र स्थानीय जातको बङ्गुरपालन गरिएको छ । बङ्गुरपालन व्यवसायबाट आम्दानी राम्रो हुने स्मार्ट कृषि कोलगाउँका अध्यक्ष प्रेमकुमार गुरुङले बताउनुभयो । उहाँहरुजस्तै अन्य व्यक्तिले पनि व्यावसायिक कृर्षितर्फ पाइला अघि बढाउनुभएको छ ।   अहिले जिल्लामा उहाँहरूले कृषि पेशालाई अँगालेर जुन खालको मेहेनत गरिरहनुभएको यो साँच्चिकै उदाहरणीय छ । मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि गाउँमा काम छैन भनेर सहरबजार केन्द्रित हुँदै गर्दा कृषिबाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उहाँहरुले सन्देश दिनुभएको छ ।    युवा जमात सबै विदेशिँदा जन्ती र मलामी भेट्नै गाह्रो परेको छ ।  स्वदेशमै भएकाहरू पनि सहरबजार केन्द्रित छन् । विदेशबाट फर्केर स्वदेशमै आइ केहीले फरक तरिकाबाट पैसा कमाउने सपना देखेका छन् । 

  पोखरा  :  बिहान पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ।   पोखरा विमानस्थलबाट काठमाडौँ उड्नेवित्तिकै नाइन एन एएनजी कलसाइन भएको जहाजको इन्जिनमा समस्या देखिएको पाइलटले जानकारी गराएका थिए। उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो। ‘८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो,’ उनले भने, ‘बायाँ इन्जिनमा समस्या देखिएपछि अन्य जहाज रोकेर उक्त जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको छ।’ उक्त जहाजमा ४५ जना यात्रु थिए।

म्याग्दी  :  म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तलाको बिरुवा बिक्री नहुँदा उनीहरु निराश भएका छन् । नयाँ नर्सरी बढे पनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा परेका छन् । रघुगङ्गा गाउँपालिका-२ को भगवती कृषि फार्मका सञ्चालक बालकृष्ण कटुवालले स्थानीय तहको नीतिगत कमजोरीले बिरुवाले बजार नपाएको बताउनुभयो ।    “स्थानीय तहका कृषि शाखाले सस्तो भनेर बाहिरी जिल्लाबाट ल्याएर बाँडेका बिरुवा हावापानी नमिलेर मरेका छन्”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका बिरुवा बिक्री नभएर उखेलेर फाल्नुपर्ने अवस्था आएको छ ।” कूल ४७ हजार सुन्तलाका बिरुवा उत्पादन गरेका कटुवालले सोमबार १८ हजार बिरुवा ल्याएर मौवाफाँटस्थित गाउँपालिका कार्यालय अगाडि फालेर विरोध जनाउनुभएको थियो ।    पछिल्लो समय नर्सरी स्थापना हुनेक्रमसँगै म्याग्दीमा सुन्तला जात बिरुवाको उत्पादन बढेको छ । बजार बिस्तार हुन नसकेकाले बिरुवा नबिकेको अन्नपूर्ण गाउँपालिका-३ फगामका कृषक दुर्गादत्त सुवेदीले बताउनुभयो । वडा सदस्यसमेत रहनुभएका सुवेदीका अनुसार फगाममा उत्पादन भएकामध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएको छैन ।    बेनपा–९ र १० नम्बर वडाका चार फार्ममा टिमुरका ५० हजार र वडा नं ३ मा दुई लाख ३० हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानियाँले बताउनुभयो ।  “म्याग्दीमा उत्पादन भएको बिरुवाले गण्डकी प्रदेशलाई पुग्न सक्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने कृषकमुखी नीति बनाउन नसके कृषक पलायन हुने अवस्था आउँछ ।”   जिल्ला दरअनुसार प्रति सुन्तलाको बिरुवाको मूल्य रु २५ छ । स्थानीय तहका कृषि शाखाले प्रतिस्पर्धामार्फत रु २० को हाराहारीमा बिरुवा खरिद गरेका छन् । बाहिरा जिल्लाबाट ल्याइने बिरुवा सस्तो भए पनि हावापानी नमिलेर मर्ने र रोगकिरा भित्रने गरेको कृषकले बताएका छन् ।    रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा सस्तो दरमा कबोल गर्ने फार्मसँग बिरुवा आपूर्तिको सम्झौता गरिएको र उसले उपलब्ध गराएका बिरुवा हावापानी नमिल्ने भएको पुष्टि भए कारबाही गरिने बताउनुभयो ।      वर्षा पर्याप्त हुने भएकाले असार, साउन र भदौमा सुन्तलाका बिरुवा रोप्ने गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत विक्रम बस्यालले डेढ वर्षका बिजु बिरुवा रोप्न योग्य हुने बताउनुभयो । कृषकलाई सङ्गठित बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । 

पोखरा  :  नेपाली चलचित्र प्रकाश समाजको यथार्थप्रदक कथा भएका नायक प्रदीप खड्काले बताएका छन् । फिल्म प्रोमोशनका लागि पोखरा आएका खड्काले यस्तो बताएका हुन् । बिहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले प्रकाशले आफुलाई कलाकार बनाएको अभिव्यक्ति दिए ।  उनले चलचित्र प्रकाशमा आफु संलग्न हुन पाउँदा खुशी लागेको बताए । ‘चलचित्र प्रकाश समाजको यथार्थ प्रदक कथा हो । यो फिल्ममा मुख्य भूमिकामा आफुले अभिनय गर्न पाउँदा खुशी लागेको छ ।’ उनले चलचित्र जुम्लामा छायाँकन गरिएको भएता पनि नेपालका हरेक ठाउँको समस्यालाई कथामा दर्शाउन खोजिएको बताए ।  चलचित्रलाई सफल बनाउन पोखराले सहयोग गर्नेमा उनी आशावादी देखिन्छन् । चलचित्रमा जुम्लाको गरिब परिवारको एक सदस्यले आफ्नो सपना पुरा गर्न गर्नुपर्ने विविध संघर्षको कथालाई प्रस्तुत गर्न खोजिएको उनले बताए ।  चलचित्रका निर्देशक दिनेश राउतैले ‘प्रसाद’ पश्चात लामो समयको अन्तरालमा ‘प्रकाश’ निर्देशन गरेको जानकारी गराए । आफु राम्रो कथाको खोजीमा रहेको र चाहे जस्तो कथा पाएकाले पनि ‘प्रकाश’ निर्देशनका लागि तयार भएको उनले बताए । समाजको यथार्थप्रदक कथालाई समेत व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।  नायिका दिया मास्केले कुनै पनि सक्सेस पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने सन्देश आफ्नो भूमिका मार्फत प्रस्तुत गर्न खोजिएको बताइन् । उनले पोखरा आफ्नो घर भएकाले पनि पोखराबाट माया मिल्नेमा आशावादी रहेको बताइन् ।  चलचित्र लेखक विकास सुवेदीले आफु पत्रकारिता क्षेत्र हुँदै चलचित्रमा प्रवेश गरेको बताए । उनले पत्रकारिता गर्दा समाजमा थुप्रै समस्या देखेको र सोहि समस्यालाई लिएर चलचित्रमा उतारिएको जानकारी गराए । उनले चलचित्र एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको संघर्षलाई चलचित्रम , प्रस्तुत गर्न खोजिएको बताए ।  उनले ‘प्रकाश’ सबैको कथा भएको उल्लेख गरे । जीवन संघर्षको पहाड भएको विषयलाई समेत चलचित्रले प्रष्ट पार्न खोजेको तर्क उनको छ । २ करोडमा चलचित्रको निर्माण भएको जानकारी उनले गराए । चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडा लगायतको कलाकारको अभिनय रहेको छ । भदौ १० बाट प्रदर्शनमा आउने चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । चलचित्र बिनिस इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण भएको हो ।

  काठमाडौँ:   तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् ।   निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी  पार्टी दर्ता गराएका हुन्। पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिह्न हो ।   आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो ।  सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले जानकारी  दिएका  हुन् । 

  काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट १६ सय १० ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।   फ्लाई दुबईको उडानद्वारा बुधबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक युसुफ हारुनलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।   प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र घर्ति क्षेत्री जीसीले विमानस्थलमा ओर्लिएपछि हारुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरी विमानस्थलद्वारबाट उनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।   उहाँका अनुसार हरुनलाई जाँच गर्दा भित्री वस्त्रमा लुकाई राखेको अवस्थामा प्लास्टिकसहित अन्दाजी १६१० ग्रामका दुई थान सुनको पोका देखिएको हो ।   हारुनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक जीसीले बताउनुभयो ।

काठमाडौँ   :  राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो।   विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो। विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने, ‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’   बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ।