तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

  नार्पा भूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ  । गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले बुद्धको त्रिमूर्ति निर्माण गर्न लागेको हो ।      नार्पा भूमिको मेता, च्याखु र नारगाउँमा बुद्धको त्रिमूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन स्थानमा गुरु रिम्बोछे, छेरेसिक, तुम्बा बुद्ध गरी त्रिमूर्ति निर्माण गरिनेछ ।    मनाङमा विशेष गरी गुरुङ जाति तथा बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले धर्म र संस्कृतिको संरक्षणमा गाउँपालिकाले योजनाअनुरुप त्रिमूर्ति निर्माण गर्न लागेकोे उहाँले बताउनुभयो । तीन स्थानमा त्रिमूर्ति निर्माणका लागि गाउँपालिकाले रु २० लाखका दरले बजेट विनियोजन गरेकोे उहाँको भनाइ थियो । बौद्ध धर्मावलम्बीको संस्कार र  संस्कृति संरक्षणका लागि गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति निर्माणका लागि माग भएअनुरुप नै प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरिएको बताइएको छ ।    उनीहरुको धार्मिक कार्यका  लागि  टाढाका बौद्ध गुम्बासम्म पुग्नुपर्ने भएकाले त्यसलाई सहज बनाइनाका साथै संरक्षण गर्न पनि प्रोत्साहन मिल्नेछ । उनीहरुले इच्छाएको स्थानमा गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति बन्ने भएपछि उक्त क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । मूर्ति निर्माणले  संस्कृति संरक्षणमा चासो दिएको भन्दै स्थानीयवासीले स्थानीय सरकार घरघरमा आइपुगेको महसुस भएको बताए । 

  दक्षिण एशियाली मुलुकका पत्रकारको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को ३५ सदस्यीय नेपाल शाखा विस्तार भएको छ । मञ्चको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानले आज विज्ञप्ति गरी समितिमा रहने सदस्यहरुको सूची सार्वजनिक गर्नुभएको हो ।           राष्ट्रिय समाचार समिति (रासस)का प्रकाश सिलवालको संयोजकत्वमा गठित समितिमा अनन्त सुवेदी, विजय दिमदोङ, चिरञ्जीवी अधिकारी, दिपक श्रेष्ठ, दीपेन्द्र प्रजापति, गोपाल सङ्ग्रौला, हेमराज ढकाल, इफ्रान बाबु, जीवन पराजुली, करण ताम्राकार, कौशल घिमिरे, कमल राना, कविता थापा, लक्की चौधरी, लव प्याकुरेल र माधवप्रसाद तिवारी रहनुभएको छ ।    यस्तै नृपेन्द्रलाल श्रेष्ठ, पुष्पा अधिकारी, प्रकाश पण्डित, रुद्रश्रीस मगर, रञ्जित तामाङ, रवीन्द्र काफ्ले, रत्नकाजी महर्जन, सुरेन्द्रभक्त श्रेष्ठ, सुनील महर्जन, सुनील आचार्य, सामना वियोगी, टेकेन्द्र बहादुर महत, उद्धवकुमार कार्की, उत्तम श्रेष्ठ र यमन दनुवार सदस्य रहनुभएको छ । समितिका सदस्यको पहिलो बैठकले आफ्नो कार्य योेजना र पदाधिकारी तय गर्नेछ ।   सार्क क्षेत्रमा व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेशागत हक, अधिकारका लागि सन् २०१९ मा भारतमा स्थापित सो मञ्चले अन्तर्राष्ट्रियस्तरमा पत्रकारिताको गुणस्तर र पहुँचलाई सुदृढ पार्नु पनि उद्देश्य रहेको छ । सङ्गठनको हालसम्म दक्षिण एशियाका मुलुकका शाखा विस्तार भइसकेको छ भने हाल यसको मुख्यालय नेपालमा रहेको छ ।         दक्षिण एशियामा व्यावसायिक पत्रकारिताको विकास र प्रववद्र्धन गर्न, पत्रकारको जीवनस्तर उठाउन, सार्क राष्ट्रहरुका पत्रकारबीच आपसी विश्वास, एकार्काको समस्यालाई बुझ्न र मूल्याङ्कन गर्न मञ्चले  भूमिका निर्वाह गर्नेछ । मञ्चलाई दक्षिण एशियाली सदस्य राष्ट्रको पत्रकारले क्षेत्रीय पत्रकार निकायका रूपमा मान्यता दिइएको छ । यस क्षेत्रमा पत्रकारिताको प्रवद्र्धन, विकास, विस्तार, नीतिगत सुधार र सार्क राष्ट्रमा पत्रकारिता क्षेत्रका साझा उद्देश्य हासिल गर्न मञ्चले काम गर्नेछ ।

टीकापुर  : अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् । बाढीले धान खेती भित्र्याउन नपाएका किसानले यस वर्ष लगानी खेर नफाल्ने भन्दै छिटुवा धान खेती गरेका हुन् ।    टीकापुर नगरपालिका-८ की भुन्टी साउदको १ बिघा जमीनमा छिटुवा धान खेती गरिएको छ । भुन्टीको परिवारले गत वर्ष बाढीले बगाएकाले आफ्नो खेतको धान देख्न पनि पाएनन् । पाकेको सबै धान सबै बाढीले बगाएपछि भुन्टीको परिवारले यस वर्ष खेत रोप्ने आँटै गरेन । उनीहरुले भए खाउला नभए खेती गर्ने रकमले अन्न किनौँला भनेर छिटुवा धान खेती गरे । “धान खेतीमा गरिएको लगानी पोहोर बाढीमा मिसियो, मेहनत, लगानी सबै पानीमा बगेपछि यस वर्ष खेती गर्ने मन लागेन”, भुन्टी भन्नुहुन्छ, “खेती गर्न धेरै खर्च लाग्छ, पूरा परिवार खेतमै जोतिनुपर्छ । त्यसैले बीउमात्र भए पुग्ने भएकाले धान छरेका हौँ ।”   धान रोप्नुको सट्टा उनीहरुको उम्रिएको धान पानी नपाएर सुकेर बिग्रियो । लामो समयसम्म वर्षा नभएपछि उम्रेको धान सुक्यो । “असार महिनाभरि पानी परेन, धान सुकेपछि त्यसैमा मास खेती गरेकी छु”, भुन्टीले भन्नुभयो, “भए खाउला, नभए अब के गर्नु रु खेतीकै भरमा बाँचेका हामी अब यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आउँदैछ ।”   टीकापुर–८ कै मञ्जु साउँदको परिवारले पनि डेढ विघा जमीनमा धान छरेको छ । उनीहरुको समस्या पनि यस्तै हो । बाढीको त्रासले मञ्जुको परिवारले पनि खेती गर्ने हिम्मत गरेन । “डेढ बिघा खेतमा धान खेती गर्न लाखौँ खर्च हुन्छ, खर्च गरेर उत्पादन भित्र्याउने ग्यारेन्टी छैन”, मञ्जुले भन्नुभयो, “हामीमात्र होइन हाम्रा अन्य छिमेकीले पनि यस वर्ष खेती गरेनौँ ।”   बीउ राख्ने, खेत जोत्ने काम गर्नुभन्दा धान छर्नु उत्तम रहेको भन्दै किसानले यस वर्ष छिटुवा धान लगाएका स्थानीय श्यामलाल चौधरीले बताउनुभयो । “गत वर्ष सयौँ किसानको पाकेको धान बाढीले बगायो, यस वर्ष धान खेती गर्न लगानी नगर्ने सोच बनायौँ”, उहाँले भन्नुभयो, “मैले साढे चार बिघामा धान छरेको छु, भए हुन्छ नभए पनि कम लगानी खेर जान्छ । यस्तो महँगो बीउ, मल, जोताइमा के खर्च गर्नु रु बाढीको भर छैन ।” चौधरीले जस्तै अन्य किसानले समेत यस वर्ष लगानी खेर जाने डरले धान रोपाइँ गरेका छैनन् ।   स्थानीय शेरबहादुर साउद ८ नं वडामा करिब डेढ सय बिघा जमिनमा छिटुवा धान खेती गरिएको बताउनुहुन्छ । “नदी नियन्त्रणको काम भएको छैन, बढी वर्षा भएमा नदी बस्तीमा पस्छ, खेतीमात्र होइन मानिसकै बिचल्ली हुन्छ”, साउदले भन्नुभयो, “त्यसैले यहाँका अधिकांशले खेती गरेनन् । खेत भएर पनि यहाँका नागरिकलाई भोकमरीको समस्या हुने अवस्था आएको छ ।”   टीकापुर-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बाढी, कटान र डुवानको समस्या विसं २०३५ देखिकै समस्या रहेको बताउनुहुन्छ । “बाढी र नदी कटानकै कारण साविक धनसिंहपुर गाविसको ९ नं वडा छैन, १ नं वडामा नदी बगिरहेको छ । जुन अहिलेको ८ नं वडामा पर्छ”, उहाँले भन्नुभयो, “नदी कैलालीतर्फ धार परिवर्तन गरेर बगिरहेकाले हामीले रोक्न सक्ने अवस्था छैन । गत वर्ष कात्तिकमा आएको बाढीले ९५ प्रतिशत किसानको धान खेती बग्यो ।”   उहाँले सङ्घर्ष समिति बनाएर नदी नियन्त्रणका लागि दबाब दिने काम गरिरहेको, स्थानीय सरकारले गर्न सक्ने अवस्था नभएको भए पनि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नियन्त्रणको काम गरिरहेको बताउनुभयो । “खेती लगाउने, बगेर जाने समस्याले किसान पीडामा रहेका, खेतीप्रति आकर्षित नभएको अवस्था छ । अहिले एक सातादेखि वर्षा भइरहेकाले छिटेको धान पनि डुबेको अवस्था छ”, उहाँले भन्नुभयो, “हामीले आवश्यक बीउ, मलजस्ता कार्यमा सघाउँदै आएका छौँ । प्रविधिका लागि सिँचाइ आयोजनाले सघाइरहेको छ ।”  

टारी खेतबाहेक तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ ।    असारमा राम्रै वर्षा भएकाले टारी खेतबाहेक अन्य क्षेत्रमा रोपाइँ भएको हो । जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइँ भए पनि लामो समय बर्सात नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यस वर्ष किसानले युरिया र डिएपी मलको प्रयोगबिना नै धान रोप्न बाध्य भएका छन् । अवैधरुपमा व्यापारीले ल्याएका मल सीमित किसानले चर्को मूल्य तिरेर भए पनि खेतमा प्रयोग गरेका थिए ।    जिल्लामा मलको आपूर्ति ठप्प भएपछि वैकल्पिक उपाय अवलम्बन गर्न सुझाव दिएको केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । किसानले खेत रोप्ने समयमा मल नपाएपछि धान उत्पादनमा कमी आउन सक्ने देखिएको छ । अहिले अधिकांश किसानले उन्नत जातको बीउ प्रयोग गर्ने हुँदा रासायनिक मलको आवश्यकता पर्ने उहाँले बताउनुभयो ।    तनहुँमा गत फागुनदेखि नै युरिया मलको मौज्दात सकिएको कृषि सामग्री संस्थान दमौलीले जनाएको छ । तनहुँ र लमजुङका कृषकका लागि मल उपलब्ध गराउँदै आएको संस्थानमा डिएपी मलको मौज्दात नभएको संस्थानका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो । अहिले संस्थानसँग ४५ टन पोटासबाहेक अन्य मल छैन । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा कमी आउनु र मूल्यमा अत्यधिक वृद्धि हुँदा किसान मारमा परेका छन् ।” जिल्लामा एक हजार टन युरिया र छ सय टन डिएपी मल यस मौसममा आवश्यक पर्ने सो संस्थानले जनाएको छ । 

लमजुङको सन्दरबजार नगरपालिकामा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ । सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा की २८ बर्षीया लिला अछामीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिला साउन १० गते मंगलबार साँझको समयदेखि हराई बेपत्ता भएको र उनको मोबाइल समेत स्विच अफ रहेको भन्दै बाबु डम्मरबहादुर सार्कीले प्रहरीमा खोजतलासका लागि उजुरी दिएका थिए ।    प्रहरीले महिलाको खोजतलास गर्दै जाने क्रममा साउन १२ गते बिहीबार दिउँसोको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानी सामुदायिक बनको भीर खोचमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।    लीला अछामीको घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही ठाउँ बस्ने २४ वर्षीय राम सुनार र लिला अछामी विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।    साउन १० गते मंगलबार साँझको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानीस्थित सामुदायिक वनमा आफ्नो प्रेमिका लिला​अछामीलाई भेट्न बोलाई शारीरिक सम्बन्ध राख्दा लिलाले आफूलाई विवाह गर्नुपर्छ भनेकी थिइन ।    विवाह नगरेमा आफूहरुको सम्बन्ध स्थानीय मानिसलाई भनिदिने भनेकी थिइन । राम सुनार आफू विवाहित भएको कारण मृतक र आफूबिचको सम्बन्धको बारेमा स्थानीय समाजमा समेत होहल्ला हुने मुख्य कारणले हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।     आफ्नो प्रेमिका बोल्न र सुन्न नसक्ने फरक क्षमता भएको र उनलाई सोही जंगलमा घाँटी च्यापी लडाई तल भीरको खोचमा पल्टाई ढुङ्गाले टाउँकोमा प्रहार गरी बीभत्स तरिकाले हत्या गरेको पाइएको जानकारी जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।    उहाँका अनुसार हत्या पश्चात मृतकको मोबाइल तथा गर गहनाहरु निकाली घरमा लगी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । शवको जिल्ला अस्पताल लमजुङमा पोष्टमार्टमपश्चात दाहसंस्कारको लागि आफन्तले जिम्मा लिएका छन् ।    उक्त घटनामा संलग्न अभियुक्त राम सुनारलाई साउन १२ गते बिहीबार पक्राउ गरेको छ । लमजुङ जिल्ला अदालतबाट साउन १३ गते शुक्रबार म्याद थप अनुमति लिई ज्यानसम्बन्धी कसुर (कर्तब्य ज्यान) र करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुनेसम्बन्धी मन्त्रिपरिषद्को निर्णयको जानकारी कूटनीतिक रूपमा पत्राचार भइसकेको बताउनुभएको छ।    प्रतिनिधि सभामा विशेष समय लिएर मन्त्री डा. खड्काले साउन ९ गते नै पत्राचार भइसकेको जानकारी दिनुभयो। प्रतिनिधि सभामा पटक–पटक पत्राचार नभएकोबारे सरकारको ध्यानाकर्षण गराइएपछि सभामुख अग्निप्रसाद सापकोटाले पत्राचारको जानकारी दिन साउन ५ गते रुलिङ गर्नुभएको थियो।    शुक्रबार विशेष समयमा मन्त्री खड्काले आन्तरिक परामर्शमा केही समय लागेकाले पत्राचारमा ढिलाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “पत्राचारका विषयमा सभामुखबाट पनि निर्देशन प्राप्त भएको छ। एसपीपी अघि नबढाउने निर्णय भइसकेको अवस्था छ। परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरिसकेको जानकारी गराउन चाहन्छु।” उहाँले साउन ९ गते कूटनीतिक माध्यमबाट अमेरिकी सरकारलाई जानकारी गराइएको बताउँदै आन्तरिक परामर्शमा केही समय लागेकाले ढिलाइ भएको स्पष्ट पार्नुभयो।    मन्त्री खड्काले कुनै पनि सैन्य गठबन्धनमा सरकार सहभागी हुने प्रश्न नै नरहेको पनि बताउनुभयो। सदनमा उठेका विचारलाई सरकारले सम्मान गरेको पनि उहाँले जवाफका क्रममा बताउनुभयो। मन्त्रीको जवाफपछि सांसदहरूले भने पत्राचार गरिएको पत्रको बेहोरा सार्वजनिक गर्न माग गरेका छन्। यसअघि एसपीपीसँग भएका पत्राचार माग गर्दा संसदीय समितिले समेत नपाएको भन्दै पत्र सार्वजनिकको माग उठेको हो।    नेकपा (एमाले)का सांसद पवित्रा निरौला खरेलले पत्र संसद्मा पढेर सुनाउन र पत्राचार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पठाउन पनि माग गर्नुभयो। समितिले यसअघि एसपीपीसँग भएका पत्राचार बारम्बार माग गरिरहेको छ। समितिले चौथो पटक सरकारलाई पत्राचार उपलब्ध गराउन ताकेता गरिसकेको छ।    यस्तै एमालेकै सूर्य पाठकले पनि पत्र सार्वजनिक गर्न माग गर्नुभयो। सांसद घनश्याम खतिवडाले पनि पत्र सार्वजनिक गर्न माग गर्नुभयो। सदनमा पत्राचारको जानकारी गराइसकेपछि पत्र सार्वजनिक गर्न सरकारले कुनै अप्ठ्यारो मान्नु नपर्ने उहाँको तर्क थियो।   

  काठमाडौँ:   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याउनुभयो ।        “तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।” वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरु आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत दल आन्तरिक छलफलमा जुटेका छन् ।        अध्यक्ष दाहालले नेपाली राजनीतिको मूलधार माओवादी आन्दोलन भएको भन्दै जनताको असली पार्टी माओवादी भए पनि यो विषयलाई स्थापित गर्न नसकिएको बताउनुभयो । माओवादी पार्टीको दबाबमा ‘स्टेट पार्टनसीप प्रोग्राम’(एसपिपी)लाई नेपाल सरकारले अस्वीकार गरेको जनाउँदै उहाँले विगतमा एसपिपीमा सहभागी हुनुपर्छ भनेर लागि परेको पार्टी र नेता अहिले बढी राष्ट्रवादी देखिन खोजेको बताउनुभयो ।       निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी निर्वाचनसम्म र आवश्यकता रहँदासम्म गठबन्धन कायम रहने बताउनुभयो । “परिवर्तनका एजेण्डा उल्ट्याउने प्रवृत्ति अहिले पनि जारी छ । त्यसकारण पनि गठबन्धन आवश्यक छ”, उहाँले भन्नुभयो । इतिहासकै राम्रो बजेट ल्याएको पूर्वअर्थमन्त्रीका बारेमा प्रतीपक्षी दलले अनावश्यक कुप्रचार गरेको उहाँले बताउनुभयो । “छानबिन समितिले प्रतिवेदन बुझाएको छ, पूर्वअर्थमन्त्री निर्दोष सावित हुनुभयो । यसले पनि पुष्टी गरेको छ”, अध्यक्ष दाहालले भन्नुभयो । 

  काठमाडौँ:    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू)ले नेपाललाई उडान सुरक्षासम्बन्धी सूचिमा राख्न नहुने धारणा राख्नुभएको छ ।   पर्यटनमन्त्री श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटको क्रममा उहाँले नेपाली उड्डयन क्षेत्रलाई अन्तरराष्ट्रिय उड्डयन सङ्गठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा इयुले सुरक्षासम्बन्धि सूचीमा राख्न नहुने बताउनुभएको हो ।   आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा वायुसेवा कम्पनी सुरक्षित रहेको पुष्टी भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।   भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको थियो ।   मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्वन्ध स्थापित भएदेखिनै सुमधुर सम्वन्ध रहिआएको चर्चा गर्नुहुँदै यसलाई अझ मझवुत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको बताउनुभयो ।   मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजनाअनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराउनुभयो । पोल्याण्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपाली जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्नेबारेमा पनि उहाँहरुबीच छलफल भएको थियो ।   राजदूत बुराकोव्स्कीले सन १९९२ मा कन्चनजङ्गा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुवरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिनुभएको थियो । रुटकिविज युरोपबाट सगरमाथा र केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुनुहुन्छ । भेटवार्तामा उहाँहरुबीच नेपालको पर्यटन प्रवद्र्धनका उपायबारे छलफल भएको थियो । भेटमा मन्त्रालयका निमित्त सचिव वुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो ।

  काठमाडौँ:   पछिल्लो समय बाघको सङ्ख्या वृद्धि भएर ३५५ पुगेको छ ।    आज यहाँ विश्व बाघ दिवस २०२२ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।   राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन २०२२ का अनुसार बाघको सङ्ख्यामा चार वर्षमा ५१ प्रतिशत बृद्धि भएको सो अवसरमा जानकारी दिइयो । हाल नेपालमा  ३५५ वयश्क बाघ रहेको प्रतिवेदनमा उल्लेख छ ।     प्रतिवेदनअनुसार पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा १२८, बाँके राष्ट्रि निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा १२५ र शुक्लाफाँटा लालझाडी जोगबुढाक्षेत्रमा ३६ गरी जम्मा ३५५ बाघ रहेको उल्लेख गरीएको छ ।    बाघको सङ्ख्या एकिन गर्न तराई आर्क ल्याण्डस्केप अन्तर्गतका १५ जिल्लामा अकुपेन्सी सर्वेक्षण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  बाघको सङ्ख्या एकिन गर्न बाघको बसोबास रहेको क्षेत्र चितवन, पर्सा, बाँके बर्दिया र शुक्लाफाँटा लालझाडी जोगबुढा तीन क्षेत्र विभाजन गरी क्यामेरा ट्रयाप विधी प्रयोग गरी सर्वेक्षण गरीएको थियो ।