म्याग्दीको मालिका गाउँपालिका रुममा सोमबार बिहान ३ बजे पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् । पहिरोले ३ घर पुर्दा १५ वर्षीय नविन र १३ वर्षीय राजन विकको मृत्यु भएको छ । वडाध्यक्ष उदयकुमार बुढाथोकीले दिएको जानकारी अनुसार घामबहादुर विक, उनका श्रीमति र सात वर्षीया छोरीको अवस्था अझै अज्ञात छ । मृतक नविन र राजन पनि घामबहादुरकै छोरा हुन् । अध्यक्ष बुढाथोकीका अनुसार अहिले दरवाङ प्रहरी चौकी, वडा सदस्यहरु, स्थानीयवासी र हेल्थपोस्टका कर्मचारीहरुले खोजी कार्य जारी राखेका छन् । मध्यरातमा घरमाथिबाट एक्कासी ठूलो पहिरो जाँदा घटना घट्न पुगेको बुढाथोकीले बताएका छन् । त्यस्तै, घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । त्यहाँबाट सडक सम्पर्कसमेत विच्छेद भएका कारण घाइतेलाई उपचारार्थ पोखरा ल्याउन प्रभुको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । तर मौसम अत्यन्त प्रतिकुल भएकाले घाइतेलाई पोखरा ल्याउन सकिएको छैन । उनको शरिरको विभिन्न स्थानका हड्डी भाँच्चिएको बताइएको छ ।
पोखराः शनिबार दिउँसोदेखिको निरन्तर वर्षाले कास्कीका विभिन्न स्थानमा सवारीसाधन आवागमनमा अवरोध पुगेको छ । अहिले रुपा गाउँपालिकास्थित गैरीपोखरी सडक खण्डमा सडक भाँस्सिदा बेगनासबाट लमजुुङको भोर्लेटार जाने यातायात सेवा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा २५ मिटर सडक खयड डेढ फिट भाँस्सिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिकाअन्तरगत नयाँपुल घान्द्रुक उल्लेरी जाने पक्की बाटो पनि अवरोध भएको छ । बिरेठाटी सामुदायिक बनको पाखाको २५ मिटर माथिबाट गएको पहिरोले बाटो पूर्णरुपमा अवरोध भएको छ । यस्तै, पोखरा वडा नम्बर २९ को घोघोतेस्थित पृथ्वी राजमार्ग खण्डमा नहरको पानी सतहमा आउँदा अवरोध भएको छ । उक्त क्षेत्रमा सडक खुलाउन हाल उक्त पानि पावरहाउसबात तालचोक डाइभर्सनतर्फ मोड्ने काम भइरहेको जिप्रका कास्कीले जनाएको छ ।
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । चार जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट धादिङतर्फ जाँदैगरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो बस सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर छ भने बाँकीको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । अपरान्ह ४:१५ बजे भएको दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको परिचय अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई जुगेडीस्थित अस्थायी प्रहरी पोष्टबाट गएको टोलीले उद्धार गरेको थियो । घाइतेहरुको विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ । सोमबार हेटौँडामा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै सभापति बानियाँले सङ्घीय व्यवस्था कमजोर बनाउने तत्व निर्वाचन प्रभावित बनाउन लागिपरेको बताउनुभयो । देशमा सङ्घीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देश भित्र र बाहिरका तत्व निर्वाचन समयमा हुन नदिन लागि परेको दाबी उहाँको छ । शासन व्यवस्था असफल बनाउन लाग्नेहरुलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उहाँको भनाइ छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर पहिलो साता हुनुपर्ने भन्नुहुँदै उहाँले सरकारले यसबारेमा छिट्टै निर्णय गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गर्नुभयो ।
महोत्तरी: महोत्तरीको बर्दिबासमा सिद्धार्थ बैंक रहेको भवनमा भीषण आगोलागी भएको छ । केहीबेर अघि शुरु भएको आगोलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । स्थानीयले दमकल र प्रहरी एवं स्थानीयलले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि कठिनाइ भइरहेको जनाएका छन । सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । शुरुमा माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन। आगलागी भएको भवनमा एसबीआई बैंक पनि सँगै छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति भएको छैन ।
काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार एमाले कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुमध्ये कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्दै नारा लगाएका थिए ।
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ को धर्मस्थली क्षेत्र भीमसेन टोलमा एकै घरका चारजनाको हत्या भएको छ । घटना स्थलमा रहेको प्रहरीले घटनाको अध्ययन गर्ने र मुचुल्का उठाउने कार्य गरिरहेको जानकारी दिएको छ । प्रहरीका अनुसार, श्रीमान्(श्रीमती, एक छोरो र एक छोरीको लाश भेटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीको हत्या गरेको र त्यसपछि बच्चा र आफूले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटना के कारणले भएको हो खुल्न बाँकी रहेको छ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताउनुभएको छ । निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवम् ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाइ सम्बोधन गरिने जानकारी दिनुभयो । “वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उहाँले भन्नुभयो । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताउनुभयो । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा निगरानी दैनिककी अध्यक्ष निर्मला दङ्गाल खनालले निगरानी दैनिकले स्वच्छ, निर्भिक र निष्पक्ष तवरले पत्रकारिता गर्दै आएको बताउँदै आगामी दिनमा पनि सोहीअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगनदान गर्ने व्यक्तिलाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज(आइतबार) साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसके पछि भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर्याएका हुन् ।

