तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

  काठमाडौं:   जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ ।       नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण गर्न लागिएको हो । सो दिन बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारको परिचयपत्र बनाइने भएकाले अनिवार्य उपस्थितिका लागि शाखाका सचिव रामहरि कार्कीले अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “कामको व्यस्तताले गर्दा पत्रकारले यस पत्र बनाउन नभ्याएसँगै हामीहरुले उहाँहरुको समस्यालाई मध्यनजर गरी यस कामको सुविधा दिन लागेका हौँ ।” सो सेवा सदस्यहरुले पाएसँगै सम्बन्धित कार्यालयमा हुने दैनिक चाप र घण्टौँ बस्नुपर्ने लाइनको समस्याबाट पत्रकारहरु मुक्त हुने उहाँको बुझाइ छ ।      सो परिचयपत्र बनाउन आउँदा हरेक पत्रकारले अनलाइन फारम भरेको विवरणको प्रिन्ट तथा विवाहिताको हकमा सक्कल विवाह दर्ता गरेको प्रमाणपत्र एवं सक्कल नागरिकता र अविवाहिताले भने सक्कल नागरिकता अनिवार्य लिएर आउन सचिव कार्कीले आग्रह गर्नुभएको छ ।

  काठमाडौँ:    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो ।     त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

  झापा:   झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ ।   गौरादह–९ स्थित कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय  उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।   उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुनधुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो । 

  काठमाडौँ:   प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ ।  कल्की भगवान् विष्णुको दशौँ अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ । जब कलियुगमा सबैतिर लुटमार, हिंसा, अत्याचारलगायत बढ्छ त्यसपछि यो अवतार हुने विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यस समयमा अधर्मी पापीको नाशसँगै कलियुग समाप्त हुन्छ ।”   कल्की अवतारपछि कलि युग समाप्त भई सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ । पुराणमा उल्लेख भएको कथाअनुसार कलियुगमा पापको सीमा नाघेपछि दुष्टहरूको संहार गर्नका लागि कल्की अवतार प्रकट हुन्छ ।    ‘सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्य महात्मनः भवने विष्णुयशसः कल्कि प्रादुर्भविष्यति ।।’ अर्थात् – सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान् कल्कीको जन्म हुनेछ । भगवान् कल्की देवदत्त नामको घोडा चढेर सवारी भई आफ्नो तलवारले दुष्टहरूको संहार गर्नु हुने मान्यता छ । त्यसपछि सत्य युगको प्रारम्भ हुने विश्वास गरिएको छ । कल्की अवतार कलि युगको अन्त्यका लागि हुने मान्यता छ । कल्की भगवान्को कथा कल्की, अग्निलगायत पुराणमा उल्लेख गरिएको छ ।

पोखरा ।   गुरुङ चलचित्र ‘एउटा चित्र’ को फस्ट लुक र टिजर सार्वजनिक भएको छ । पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फस्ट लुक र टिजर सार्वजनिक गरिएको हो ।   ओम चित्र इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको टिजर सार्वजनिक गर्दै लेखक तथा निर्देशक विवेक गुरुङले ‘एउटा चित्र’ सस्पेन्स चलचित्र भएको उल्लेख गरे । ‘एउटा चित्र सस्पेन्स मुभी हो । बनिरहेका गुरुङ चलचित्र भन्दा केही फरक बनाएका छौं । पुरानो धार भन्दा फरक पाउनुहुनेछ ।’, उनले भने    उनले चलचित्रको छायाँकन पोखरा, गोरखा जिल्लाको बारपाक गाउँ, माम्चे डाँडा साथै इलाममा गरिएको जानकारी गराए । ४० लाखको लगानीमा निर्माण भएको चलचित्रमा नायकको भूमिकामा नविन गुरुङ, ओम गुरुङ रहेका छन् भने नायिकाको भूमिकामा उर्मिला गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ ।  सुसन गुरुङ, कुशल गुरुङ, आशिष गुरुङ र एसटी पुन लगायतले समेत अभिनयमा साथ दिएका छन् । चलचित्रमा मिना गुरुङ, शान्ती गुरुङ(युके),रोशन घले गुरुङ(एच के), खेम गुरुङ(एच के),गंगा देवि गुरुङ(पोखरा), कौशिला गुरुङ(जापान) को संयुक्त लगानी रहेको छ ।   चलचित्रका नायक नबिन गुरुङले आफु एक चित्रकारको भूमिकामा देखिएको बताए । उनी‘एउटा चित्र’ बाट आशावादी देखिन्छन् । चलचित्रको कथा फरक भएकाले आफु अनुबन्धित भएको भनाई उनको छ ।   नायिका उर्मिला गुरुङ चलचित्रमा एक विवाहित महिलाको भूमिका देखिएकी छिन् । यसअघि ५ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी उर्मिला पहिलो पटक विवाहित महिलाको भूमिकामा देखिएकी हुन् । चलचित्र मार्फत विवाहित महिलाको जीवनका विषयमा बुझ्ने अवसर मिलेको उनले बताइन् ।   नायक ओम गुरुङ भने एक प्रसिद्ध व्यवसायिका रुपमा देखिएको निर्देशक विवेक गुरुङले जानकारी गराए । नायिक अञ्जु गुरुङ भने फोटोग्राफरको भूमिकामा अभिनय गरेकी छिन् ।   कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले गुरुङ चलचित्रको इतिहासमा नयाँ थालनी भएको बताए । उनले गुरुङ चलचित्रलाई प्राविधिक रुपमा समेत माथि उठाउन आवश्यक रहेको बताए । ‘एउटा चित्र’ मार्फत गुरुङ चलचित्रमा परिवर्तन आउने भनाई उनको छ ।     चलचित्रको छायाँकन तथा सम्पादन निकोलस गुरुङले गरेका हुन् । चलचित्रमा संगीत मविन्द्र राई, विकास चौधरीले भरेका हुन् । चलचित्रका गीतलाई प्रताप दास, मविन्द्र राई, अस्मिता अधिकारी र ममता गुरुङले गाएका हुन् । सुदीप जंग थापा र मविन्द्र राईको गीतलाई चलचित्रमा समावेश गरिएको छ । विनोद रसाईलीको पाश्र्व संगीत रहेको चलचित्रको पोस्ट प्रोडक्सन ‘चङ्गा प्रोडक्सन’ ले गरेको हो ।

  पोखरा ।  युनानको वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ ।    नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६७ औं वर्षका अवसरमा प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटमा पोखरा र युनानको कुन्मिङ सहर बिच भविष्यमा कसरी हातेमालो गरेर अगाडी बढ्न सकिन्छ भन्नेमा छलफल केन्द्रित थियो ।   लिङचेन हु नेतृत्वको  ५ सदस्यिय प्रतिनिधि मण्डलसँग भगिनी सम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र त्यो पार्कमा ती सहरहरूको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । थिम पार्कको निर्माणले पोखरामा चिनियाँ पर्यटकहरूको आकर्षण बढ्ने विश्वास प्रमुख आचार्यको छ ।  थिम पार्क निर्माणका लागि चिनियाँ टोलीले पोखरामा रहेका पार्कहरुको अध्ययन गरिरहेको छ ।   लिङचेन हु नेतृत्वको चीनको प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य लगायतका सामाग्रीहरू पोखरालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । सो क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनी सम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने विषयमा समेत छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । यस विषयमा लिङचेन हु नेतृत्वको चीनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको छ ।    सो क्रममा युनानको वाणिज्य प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख आचार्यलाई सफल कार्यकालको शुभकामना सहित बधाई समेत ज्ञापन गरेको छ । टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।   पोखरा महानगरपालिकाले चीनको कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङ लगायत सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । त्यस बाहेक जापानको कोमागाने, टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक गु सहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ ।

  काठमाडौं ।  सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।   मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको खानेपानी तथा सरसफाई विधेयक २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।   सङ्घीय संसदको महासचिपव डा। भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देसहित प्राप्त शपथसम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।   त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त स्टाण्डर्ड नाप र तौल ९पाचौं संशोधन० विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यसैगरी, मन्त्री बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने ।    प्रधानमन्त्री देउवाले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त तथ्याङ्क विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  काठमाडौं ।   सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार नौ सय थियो ।    त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।  

  काठमाडौं:    मंगलबार (आज) पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहानै देखि  प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित  मध्यम वर्षा भइरहेको छ।    दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यता बुधबार देखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।