काठमाण्डौँ : मधेस प्रदेश सरकारले प्रदेशका ४०० महिलालाई लोक सेवा परीक्षाको तयारी गराउन थालेका छन् । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत सञ्चालित लोकसेवा तयारी कक्षामा प्रदेश भरिमा खरिदार सुब्बाको गरी ४०० महिलाले तालिम लिइ रहेको कार्यक्रमका संयोजक प्रियंका यादवले जानकारी दिनुभयो । लोकसेवा कक्षामा प्रत्येक जिल्लामा २५ खरिदार र २५ सुब्बाको तयारी कक्षामा सहभागी भएका छन् । जेठ १९ गतेदेखि सुरु भएको लोकसेवा तयारी कक्षा सप्तरीको राठाजो भगत मावि राजविराज, सिरहाको सिद्धार्थ शिशु निकेतन सिरहा, धनुषाको ज्ञानकुप मावि जनकपुरधाम, महोत्तरीको विणाविद्या मन्दिर जलेश्वर, सर्लाहीको पब्लिक मावि मलङ्गवा, रौतहटको गौरीशङ्कर यादव रौतटह क्याम्पस गौर, बाराको पन्ना देवी कन्या मावि कलैया र पर्साको सुन्दरमल्ल रामकुमार कन्यामावि वीरगञ्जमा कक्षा सञ्चालन हुँदैछ । लोकसेवा तयारी कक्षाले लोकसेवाको परीक्षामा सहभागी हुने विद्यार्थीको मनोबल उच्च पार्नुका साथै परीक्षाको राम्रो तयारी गराउने विश्वास लिइएको छ । मधेस प्रदेश सरकारले प्रदेश लोक सेवामा ५० प्रतिशत महिलाकोे लागि गरेको आरक्षणमा योग्य महिला प्रवेश गराउन लोकसेवा तयारी कक्षा सहायक हुने अपेक्षा प्रदेश सरकारले राखेको छ । यसअघि सरकारले आव २०७५र७६ मा १००, आव २०७६र७७ मा ३५० महिलालाई लोकसेवाको तयारी कक्षा गराइ सकेका छन् ।
काठमाण्डौँ : पटकपटक सर्दै आएको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा सहभागीले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका छन् । गत पुसमा पार्टीको आठौं महाधिवेशन सम्पन्न भयो । त्यसले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्यो । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहितको पदाधिकारी चयन गर्ने गरी विधानमा प्रबन्ध गरिएको छ । विधानमा व्यवस्था भए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्दा पार्टीले गति लिन नसकेको भन्दै समय थप गरेर भए पनि टुङ्गो लगाउनुपर्ने माग उठेको छ । राजधानीको कमलादीमा आजदेखि शुरु भएको बैठकमा धारणा राख्ने क्रममा बागमती प्रदेशका अध्यक्ष सरलसहयात्री पौडेलले पार्टीको पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूलाई क्रियाशिल बनाएर स्पष्ट कार्ययोजनाका साथ जनतामा जानुपर्नेमा जोड दिनुभयो । बैठकको शुरुमा नै अध्यक्ष प्रचण्डले पूर्व स्थायी समितिको बैठकबाट पार्टीको केन्द्रीय समितिमा मनोनित गरिएका केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ गराउनुभएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले विभिन्न नौ वटा एजेण्डामा छलफल हुने जानकारी गराउनुभएको थियो । त्यसमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, सङ्गठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र सङ्घको निर्वाचनको तयारी र विविध विषय समावेश गरिएको थियो । प्रदेशहरुको विवरण प्रस्तुत गर्ने क्रममा विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले पनि पार्टीले अबलम्बन गरेको गठबन्धनको नीतिप्रति तिखो टिप्पणी गर्नुभएको थियो । उहाँले गठबन्धन भन्दै जाँदा पार्टीको स्वतन्त्र पहिचान नै गुम्न थालेको, चुनाव चिह्न नै बिर्सने अवस्था आएको बताउनुभयो । अध्यक्ष सिंखडाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट सबैभन्दा बढी फाइदा नेपाली काँग्रेसले लिएका टिप्पणी गर्नुभयो । “एउटा वडा जित्दासमेत खुशी हुनुपर्ने अवस्था आयो । एक्लाएक्लै लडेको भए पनि हाल प्राप्त भएको भन्दा धेरै स्थानमा जीत निकाल्न सकिने रहेछ । हामी गठबन्धनमा इमान्दार भए पनि काँग्रेसले इमान्दारिता देखाएन”, उहाँले भन्नुभयो, “राजधानी र मधेश प्रदेशमा हाम्रो उपस्थिती प्रभावकारी बन्न सकेन । यसमा निर्मम समीक्षा गरौं ।” अघिल्ला बैठकमा अध्यक्षकातर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने गरिएको भए पनि यस पटक संक्षिप्त टिपोट प्रस्तुत गरेर त्यसमा छलफल गराउन लागिएको छ । अध्यक्ष प्रचण्डले १० पेज लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । त्यसमा पार्टीले आगामी दिनमा अबलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ । “नयाँ संविधानअन्तर्गत दोस्रो पटक सङ्घीय एवम् प्रादेशिक निर्वाचन केही महिनामा हुँदैछ । स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीलाई पराजित गर्ने र सीमान्त शक्तिमा बदल्न चाहने शक्तिहरू स्वयम् नराम्ररी पराजित भएका छन् । माओवादी पार्टी पुनः शक्तिशाली बन्ने स्पष्ट संकेत देखिएको छ । यस निर्वाचनको शिक्षालाई गम्भीर रुपमा आत्मसात् गर्दै आगामी आम निर्वाचनको घनिभूत तयारीमा लाग्नु आजको प्रमुख जिम्मेवारी हो”, अध्यक्ष दाहालको प्रतिवेदनमा भनिएको छ । सङ्गठनात्मक कामअन्तर्गत सङ्गठानात्मक कार्यदिशालाई लागू गर्न पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने, नयाँ सन्दर्भमा आयोगलाई पूर्णता दिने, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिई बैठक बोलाउने, विभागलाई कामकाजी बनाउने, आगामी निर्वाचनका लागि प्रतिबद्धतापत्रका लागि सुझाव सङ्कलन र तयारी गर्ने, माओवादी धाराका नेता तथा कार्यकर्ता र समर्थकलाई ठोस योजना बनाई मूल घरमा फिर्ता ल्याउने विषय समेटिएको छ । वामपन्थी धाराका नेता तथा कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई ठोस कार्यक्रमका साथ पार्टीमा समाहित हुन आग्रह गर्ने, विभिन्न पार्टीसँग एकताका लागि पहल गर्ने, स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा वर्तमान गठबन्धनलाई प्रभावकाारी बनाउन जोड गर्ने विषय सङ्गठनात्मक कामका रुपमा उल्लेख गरिएको छ । जनयुद्धको जग र जनआन्दोलनको समायोजनमा आजको परिवर्तन सम्भव भएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले तीव्र गतिमा आर्थिक विकास, समृद्धि, सामाजिक न्यायमा आधारित नयाँ नेपालको खाका तयार पार्न आवश्यक रहेको ठहर गरेको छ । पार्टीले विज्ञ, विशेषज्ञसँग छलफल गरेर आगामी निर्वाचनको प्रतिबद्धतापत्र तयार पार्ने अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख छ । सम्पूर्ण केन्द्रीय सदस्यलाई ठोस कार्यविभाजनसहित निर्वाचन क्षेत्रमा पठाउने, सङ्घ र प्रदेशमा जनसहभागितामा चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने, निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, निर्वाचन क्षेत्रका आधारित सङ्गठन परिचालन, स्थितीको आंकलन र जन अपेक्षामा आधारित निर्वाचनमा विजयी हासिल गर्ने रणनीति बनाउने अध्यक्ष दाहालको प्रतिवेदनमा समावेश छ । बैठकमा अध्यक्ष दाहालले नयाँ आधारमा वामपन्थी शक्तिबीच एकता, सहकार्य र चुनावी मोर्चाबन्दी हुन सक्ने बताउनुभएको थियो । त्यसका लागि सामान्य छलफल भएको समेत उहाँले जानकारी दिनुभएको थियो । यस्तै, पार्टीको सहायक सङ्गठन वाइसिएल, महिला सङ्गठनलगायतका जनवर्गीय सङ्गठनको भेला आयोजना गर्ने, स्पष्ट कार्ययोजनाका साथ उनीहरूलाई परिचालन गर्ने विषय पनि समावेश गरिएको प्रतिवेदनमा संविधानको रक्षा, प्रतिगमनको विरोध गर्ने समूह र शक्तिसँग सहकार्य गर्ने विषय समावेश गरिएको छ । अध्यक्ष दाहालले गठबन्धनमा माओवादी सबैभन्दा बढी इमान्दार देखिएको समेत प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । पार्टीको साङ्गठनिक अवस्थाको बारेमा अन्य दलसँग तुलना गर्दै उहाँले ग्रामीण क्षेत्रमा माओवादीप्रति जनताको आकर्षण उस्तै रहेको उल्लेख गर्नुभएको छ । आजको बैठकमा सुदुरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेश प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गर्नुभएको थियो । उहाँहरूले विशेष गरी माओवादी बलियो भएको स्थानमा अन्य दलसँग गठबन्धन गरेर कांग्रेसले समेत आफूहरूलाई हराउन सहयोगी बनेको बताउनुभएको थियो । कर्णाली प्रदेश अध्यक्ष केसीले स्थानीय तहको निर्वाचनमा गडबढी भएको भन्दै त्यस्तो प्रवृत्ति आगामी दिनमा हट्नुपर्ने धारणा राख्नुभयो । बैठक सोमबार पुनः बस्नेछ ।
काठमाण्डौँ: शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर दुई हजार ८६.४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२१ अङ्कले उकालो लागेर ३९८.८२ मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि भएको छ । कूल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर रु दुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १६.८३, व्यापार १७४.८६, होटल तथा पर्यटन ९४.८७, विकास बैंक ११८.४३, जलविद्युत् १२८।६२, वित्त ६५.९९, निर्जीवन बीमा १८२.८, उत्पादन २५०.४१, अन्य ७२.६७, लघुवित्त १३९.१६, जीवन बीमा १७०.५९, सामूहिक लगानी कोष ०।०६ र लगानी २।३६ अङ्कले उकालो लागेको छ । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ७४ अर्ब ७० करोड ९३ लाख ९३ हजार ७९७ बराबर पुगेको छ । कारोबारका आधारमा नयादी ग्रुप पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड २८ लाख ६९ हजार ८८९ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु आठ करोड ८१ लाख ३८ हजार, शिवम् सिमेन्ट रु ६ करोड ९७ लाख ८५ हजार ९०६, एनआइसी एशिया बैंक रु ६ करोड ८९ लाख आठ हजार ५७४ र नेपाल पुनरबीमा कम्पनी रु ६ करोड २६ लाख ८१ हजार ३८२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । छ कम्पनीको शेयर मूल्यमा सर्किट नेप्सेका अनुसार आइतबारको कारोबारमा विभिन्न ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो । नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोशी, साञ्जेन जलविद्युत् कम्पनी, नेस्डो समृद्धि लघुवित्त र सिवाइसीएल नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो । यस्तै, बैंक अफ काठमाडौँ ९.३१, न्यादी ग्रुप पावर ३.२३, प्रभु सेलेक्ट फण्ड ३.१८, नबिल ब्यालेन्स फण्ड तेस्रो २.५५ तथा सिटिजन म्युचुअल फण्ड एकका लगानीकर्ताले २.१९ प्रतिशतले गुमाए ।
काठमाडौं: सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गर्नुभयो । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आजको युग सूचना र प्रविधिको युग हो, आज संसार एउटा ग्लोबल भिलेजको रुपमा परिणत भएको छ, सूचना र सञ्चार प्रविधिलाई हामीले विकास गरेर अब त्यसबाट मुलुकलाई अधिकतम लाभ दिलाउने दिशामा अग्रसर हुनु जरुरी छ ।” सूचना र प्रविधि क्षेत्रको महत्वलाई बुझेर विदेशीएका युवालाई त्यस क्षेत्रमा आकर्षित गर्दै आइसीटिभित्र मुलुकको भविष्य खोज्नुपर्ने उहाँको भनाइ छ । मन्त्री कार्कीले जलस्रोत, पर्यटन र व्यावसायिक कृषिमा जस्तै आइटीको क्षेत्रमा पनि स्वर्णिम भविष्य रहेको बताउनुभयो । आइटीको क्षेत्रमा रहेको सम्भावनालाई आगामी दिनमा व्यावहारिक रुपमै अवसरमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उहाँले देशलाई समृद्ध बनाउने सरकारको लक्ष्य अनुरुप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गत वर्षदेखि सुरु गरेको थियो । चालु आर्थिक वर्षमा ९२७ पत्रपत्रिका, ३८ टेलिभिजन, २५१ रेडियो र १४ ९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ । हालसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको सङ्ख्या ३१ हजार २५ रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । चालु आवमा दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार ५५७ प्रेस पास नवीकरण गरिएको छ । त्यसैगरी चालु आवमा दर्ता ६६२ र नवीकरण ६७७ गरी हालसम्म तीन हजार ४६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालले जानकारी दिनुभयो । सञ्चार सचिव डा बैकुण्ठ अर्यालले डिजिटल नेपालको आकाक्षा पूरा गर्ने उद्देश्यले सञ्चार मन्त्रालयका ९० प्रतिशत सेवा अनलाइनबाटै प्रदान गर्दै आएको जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्का र नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण, अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना व्यवस्थापन र वितरण, प्रेस रजिष्ट्रारको कार्य जिम्मेवारी सम्पादन, सरकारी कार्यक्रमको औपचारिक फोटोग्राफी, सङ्ग्रह र वितरण तथा सूचनामूलक र ज्ञानवर्धक सामग्री प्रकाशन वितरणलगायतका कार्य गर्दै आएको छ । सोही अवसरमा सञ्चारमन्त्री कार्कीले विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।
काठमाण्डौँ : अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार शिष्टाचार भेट भएको छ। सो भेटमा कतारी राजदूत अहमद अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल २०२२ का लागि आमन्त्रण गरेको अर्थमन्त्री शर्माले जनाएका छन्। उनले विश्वकप हेर्नका लागि आमन्त्रण गरेकोमा राजदूतलाई धन्यवाद समेत दिएका छन्। फिफा विश्वकप फुटबल २०२२ का खेलहरू आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका ५ शहरका ८ रंगशालामा हुँदैछन्। प्रतियोगितामा भाग लिने ३२ वटै टिमको टुंगो लागिसकेको छ।
पोखरा : पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । पोखरा सुनचाँदी व्यवसायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सहसचिवमा रविन्द्र बज्रचार्य चयन भए । त्यसैगरी सदस्यहरुमा इश्वरमान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भए । अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य, नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचाँदी व्यवसायीको हकहितको बारेमा धारणाा राखेका थिए । दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए । पोखरा सुनचाँदी व्यवसायी संघमा ४४ जना सदस्यहरु रहेका छन् भने हाल डाक्टर संजीवमान बुद्धाचार्यले नयाँ सदस्यता लिएको संघले जनाएको छ ।
चितवन : चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो । प्रजा २०६० सालमा पक्राउ परेका थिए । पन्ध्र वर्ष काराबासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ । सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिनुभयो । विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०÷२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए । त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ ।
पाँचथर : शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो । रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । शुक्रबार राति १२ः३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो । रुपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापा थिए । पहिरो गएका समय रुपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल हुनुभएको थियो । घरभन्दा करिब ३०० मिटर माथिबाट पहिरो आएको स्थानीयवासीले बताएका छन् । वर्षा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाइ छ ।
काठमाडौँ : राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् । हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलले संयोजक गौतमलाई पार्टीबाट निष्काशन गरेको भनी विज्ञप्ती निकालेका थिए । हिजोको सचिवालय बैठकमार्फत गौतमले उनीहरुविरुद्ध जवाफी कारबाही गरेर माफी माग्नुपर्ने निर्णय गरेका छन् । उक्त बैठकले युवराज सफललाई कुनै पनि हालतमा पार्टीमा नफर्काउने निर्णय गरेको छ भने अन्य ४ जनालाई भने आत्मालोचना गरेर माफी मागेमा पुनः पार्टीमा फर्कन सक्ने विकल्पसहित निष्काशन गरिएको छ । उक्त बैठकमा पार्टीका ९ जना सचिवालय सदस्यमध्ये ७ जना सहभागी रहेको जनाइएको छ । युवराजले आफूसँग बहुमत सचिवालय सदस्य रहेको भनी दाबी गरे पनि उक्त दाबी झुटो देखिएको छ । किनभने ९ मध्ये ८ जना सदस्य वामदेवसँगै रहेको बताइएको छ । युवराजको साथमा भने केही केन्द्रीय सदस्य रहेको जनाइएको छ ।