कोलकाता: नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले स्थानीय हावडा सहर तथा त्यस वरपर क्षेत्रमा आदिकविको स्मरणमा शालिक स्थापनाका साथै भानुचोक घोषणाको गृहकार्य गरेको छ । कोलकातामा लामो समयदेखि बसोबास गर्ने नेपाली भाषा बोल्ने समुदायले आदिकविलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न गरेका प्रयासस्वरुप उक्त कार्य थालिएको हो । आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्तीको अवसरमा नेपाली जनकल्याण समिति (हावडा)को आयोजनामा हालै सम्पन्न कार्यक्रममा सहभागी हुनुभएका पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले आदिकवि नेपाली भाषाका अगुवा भएको बताउँदै कोलकातास्थित हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई उहाँको स्मृतिमा नामकरण गरिने घोषणा गर्नुभयो । आदिकविले रामायणको अनुवादका माध्यमबाट धार्मिक विषय, तत्कालीन नेपाली समाज चिनाउन भूमिका निर्वाह गरेको बताउँदै उहाँको पूर्णकदको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त सो अवसरमा व्यक्त गरियो । धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विसं १८७१ असार २९ गते भानुभक्तको जन्म भएको थियो । घाँसीको समाजसेवाको भावनाले कुवा बनाउने कार्ययोजनाबाट प्रभावित भानुलाई सो विषयले आदिकवि बन्न प्रेरित गरेको थियो । घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही नौलो कार्य गर्ने प्रेरणा पाएको भनाइ छ । राजा रामको आदर्शलाई जनमानसमा फैलाउने व्यक्ति पनि भाुन नै हुन् । भाषा, साहित्य, संस्कृति, धर्म, दर्शनको राम्रो अध्ययन भएकाले उनले अनुवाद गरेको रामायण अहिलेसम्म पनि नेपाली जनजिब्रोमा उत्तिकै झुण्डिएको छ । उनलाई राष्ट्रिय विभूतिको सम्मानसमेत प्रदान गरिएको छ । नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको बताउँनुभयो । विगत २५ वर्षदेखि आदिकविको स्मरणमा यस क्षेत्रमा भानुको जन्मजयन्ती कार्यक्रम गर्ने गरिएको जानकारी उहाँले दिनुभयो । सो समितिले बिहानी नामक वार्षिक साहित्यिक पत्रिका २३ वर्षदेखि भानुमा समर्पित गरेर प्रकाशन गर्दै आएको छ । अयोध्याका राजा दशरथको ज्येष्ठ सन्तानका रुपमा रामको जीवनीका सबै आयामलाई लिपिबद्ध गरिएको रामायण हिन्दू धर्मावलम्बीको ठूलो कृति मानिएको छ । त्यसका संस्कृत श्लोकलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर आदिकविले सरल नेपाली भाषामा लेखेको श्लोक अहिले पनि नेपाली समाजमा लोकिप्रय छ । विभिन्न स्थानमा पढाइ हुने गुरुकुलमा यसका श्लोकको सस्वर वाचन गरिन्छ । उहाँको कविताबाट तत्कालीन सामाजिक परिवेश, सांस्कृतिक परम्परा, मूल्यमान्यतालाई अध्ययन तथा गहन विश्लेषण गर्न सकिन्छ । नोबल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको जन्म पनि कोलकाताको जोडासाँकु भन्ने ठाउँमा सन् १८६१ मे ७ मा भएको थियो । विश्वविख्यात कवि, साहित्यकार, दार्शनिकका रुपमा परिचित टैगोर एशियाकै पहिलो नोबेल पुरस्कार विजेता हुन् । उनले साहित्य, सङ्गीत र चित्रकलामा विशेष ज्ञान राख्थे । उनको काव्यरचना गीताञ्जलिका लागि सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । टैगोरको स्मरणमा पनि नेपालस्थित भारतीय दूतावासका साथै अन्य साहित्यकार र तीनका संस्थाले साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको पाइन्छ । साहित्यको प्रभावलाई कुनै पनि भूगोल तथा देशको सिमानाले खुम्चाउन सक्दैन । साहित्य, कला, सङ्गीतको शक्तिले मानवीय संवेदनालाई बुझ्ने, सिर्जनशीलता, ज्ञान, चेतना, विकास, समृद्धिका लागि प्रेरित गर्ने गर्दछ । विविधताले भरिएको नेपाली जाति समुदायको एकता, राष्ट्रिय पहिचान तथा नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेकोले नेपाली भाषा बोल्ने सबैले उहाँको सम्मान गर्नुपर्ने तिलकराम पौडेलको धारणा छ । ऊर्जा विज्ञ उहाँ नेपाली मूलको भारतीय नागरिक हुनुहुन्छ । भानुभक्तको योगदानलाई फैलाउन महत्वपूर्ण कार्य युवाकवि मोतीराम भट्टले गरेको इतिहास पाइन्छ । करिब तीन लाख नेपाली कामको सिलसिलामा कोलकातामा बसोबास गर्ने गरेको अनुमान छ । नेपाली कला, साहित्य र नृत्यको प्रवद्र्धन गर्न क्रियाशील दिलीप थापा करिब तीन दशकदेखि सोही क्षेत्रमा बसोबास गर्नुहुन्छ । नेपालीका साथै बङ्गालीलाई नृत्य सिकाउँदै आउनुभएका उहाँले नेपाली भाषीहरु विश्वका जुनसुकै स्थानमा भए पनि त्यहाँ भानुजयन्ती मनाउनुपर्नेमा जोड दिनुहुन्छ । नेपाली भाषा तथा समुदायको उन्नयनमा क्रियाशील करिब दुई दर्जन जति सङ्घ संस्था कोलकातामा छन् । भारतको आसाम, मणिपुरलगायतका नेपाली भाषाभाषीको बीचमा भानुभक्तको महिमा ठूलो रहेको पाइन्छ । दार्जिलिङमा भानुभक्तको शालिक छ । त्यहाँ भानुजयन्तीलाई पर्वकै रुपमा मनाइन्छ । बर्मा, भुटानलगायत देशमा पनि भानुजयन्ती मनाइन्छ । नेपाली, अङ्ग्रेजी, बङ्गाली र हिन्दी भाषाका ज्ञाता आशा बराल उपाध्यायले विभिन्न जाति, भाषा, साहित्य र संस्कृतिले सजिएको नेपाललाई पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको भए पनि आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फत सबै नेपालीलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो । आदिकविले मानिस जन्मेपछि समग्र समाजका लागि कुनै योगदान गर्नुपर्छ, नाम कृति छाडनुपर्छ भन्ने सन्देश दिएको उहाँको भनाइ थियो ।
सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिनुभएको छ । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताउनुभयो । त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।
काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ । आज बिहान नारिता विमानस्थलमा अवतरण भएका उनले पत्रकारसँग कुराकानी गर्दै भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताए । आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका हुन् । आफ्नो भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूत र दूतावासमार्फत मिलाउने प्रयास गरिरहेको भन्दै उनले भने, ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो । त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानका लागि त यो विरलै हुने घटना हो ।’ पूर्वप्रधानमन्त्री आबेको केही समयअघि गोली हानी हत्या भएको थियो । अध्यक्ष प्रचण्डले आबेका परिवारलाई समवेदना व्यक्त गर्दै मौका मिले भेट्ने बताए ।
काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गर्नुभएको थियो । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा अध्यक्ष दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कर्यक्रम छ । अध्यक्ष दाहालले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । सो घटना भएको ७५ वर्ष पूरा भएको छ । उहाँले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाउनुहनेछ । जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उहाँको सचिवालयले जनाएको छ ।
काठमाडौँ: देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले राससलाई जानकारी दिनुभयो । उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो । भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
काठमाडौं: पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उहाँको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
काठमाडौं: विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ । भारत ५८ औँ स्थानमा छ । बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ । यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ । इङ्ग्ल्यान्ड चौँथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ । नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन् ।
म्याग्दी: म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला–७ केराबारीको ढुङ्गे पाखोलाई खनिखोस्री मलजल गरेर पाखैभरि केराखेती गर्नुभएको छ । नाम केराबारी भए पनि भिरालो जमिनमा चट्यानै चट्यान रहेको पाखोलाई सम्याएर उहाँले दुई हजार ५०० भन्दाबढी केराका बिरुवा लगाउनुभएको छ । आजभन्दा करिब चार वर्ष अगाडि २०७५ साल फागुन महिनामा बेनी नगरपालिका– २ खबराबाट प्रतिबिरुवा ६० रुपैयाँका दरले ४०० केराका बोट लिएर केराखेती सुरु गर्नुभएको थियो । चार वर्षको अवधिमा केसीले केराखेती विस्तार गरी अहिले ३० रोपनी आफ्नो जग्गामा दुई हजार ५०० केराका बिरुवा लगाउनुभएको छ । उहाँले पाखैभरि हजारे, मुग्रे, धुर्से प्रजातिका केरा तथा अन्य फलफूलखेती लगाएपछि उजाड पाखा अहिले फलफूलको बगैँचामा परिणत भएको छ । एल्भिन फलफूल फर्म दर्ता गरी व्यावसायिकरुपमा केराखेती सुरु गर्नुभएका केसीको फर्ममा हाल कागती, एभोकाडो, अम्बा, आँप, लिचीलगायत गरी ५०० फलफूलका बिरुवा हुर्किरहेका छन् । मौरीपालन पनि गरेका उहाँको फर्ममा ५० मौरीका घारसमेत छन् । करिब एक हजार ५०० केराका बोटले फल दिन थालेको जनाइएको छ । काँचो केरा बोटबाटै एक दर्जनलाई एक सय रुपैयाँमा बिक्री हुने गरेको छ । एक हजार ५०० बोटको केराबाट मासिक रु ५० हजारभन्दा बढी कमाइ हुने गरेको कृषक केसीले बताउनुभयो । एक घारीमा दुई सयदेखि दुईसय ५० वटासम्म केरा हुन्छ अरु सबै केरा पनि राम्रोसँग सप्रिएका छन् । उहाँले भन्नुभयो, “अघिल्लो वर्षदेखि मासिक ५० हजार त केरा बेचेर मात्रै कमाइ भएको छ, साँच्चै भन्नुपर्दा मलाई केराखेती फापेको छ ।” केरामात्रै होइन केसीको फार्मबाट केराका बिरुवासमेत विक्री हुने गरेको छ । यो वर्ष म्याग्दीको राखु, पर्वतको बाँसखर्क, लस्टीलगायतका स्थानमा करिब दुई हजार वटा बिरुवाप्रति बिरुवा एक सयका दरले बिक्री भएको उहाँको भनाइ छ । रु तीन लाख लगानीबाट सुरु गर्नुभएको उहाँको फार्ममा अहिले रु १२ लाख लगानी पुगको छ । धानखेतीयोग्य जमिनमा समेत बीचबीचमा केरा लगाउनुभएका केसीले केही पनि उब्जनी नहुने पाखालाई समेत केराबारीमा परिणत गर्नुभएको छ । कहिलेकाहीँ परिवार तथा साथीसङ्गी गएर बस्नका लागि कटेजसमेत निर्माण गर्नुभएका केसीको फार्ममा पुग्दा वरिपरिको शान्त र सुन्दर वातावरणले मनलाई आनन्दित तुल्याउने गर्दछ । बेनीको कालिपुलमा केवि अटोपार्टस होण्डा स्वरुमसमेत सञ्चालन गर्दै आउनुभएका ४६ वर्षीय केसीलाई श्रीमती सपना केसीले पनि कृषि खेतीमा राम्रो साथ दिनुभएको छ । फार्ममा फर्सी, घिरौँला, भेन्टा, तितेकरेला, हरियो खुर्सानीलगायत अन्य तरकारी पनि राम्रोसँग उत्पादन हुने गरेको छ । हिजोआज उहाँको धेरैजसो समय पसलतिर ग्राहकसँगभन्दा पनि केराबारीको केरासँगै बित्ने गरेको छ । केरा पसायो पसाएन, पकाउन राख्ने वा बेच्ने बेला भयो भएन, हेर्नका लागि पनि प्रत्येक दिनजसो उहाँ केराबारीमा पुग्नुहुन्छ ।

