परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गते (अगस्ट ९ देखि ११) सम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लाग्नुभएको मन्त्रालयले आज जनाएको हो । दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नुहुनेछ । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ ।
काठमाडौं: ईश्वरपुर नगरपालिका–४ लाई जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका सतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा सहभागी गराइएपछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको हो । वडा कार्यालयको आयोजना तथा ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिल्ड्रेनको सहयोगमा ‘वडाका सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ ।’ भन्ने नारासहित अभियान सञ्चालन गरेर उक्त वडालाई बालबालिका सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष गोमादेवी न्यौपानेले बताउनुभयो । नगरपालिका र वडा कार्यालयको विशेष सहयोगमा चारदेखि १२ वर्ष उमेर समूहका वडाका ५५३ बालबालिकालाई विद्यालय पठाउन सफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुुभयो । गाउँघरमा रहेका बालबालिकालाई विद्यालयसम्म कसरी पु¥याउन सकिन्छ, के कारणले बालबालिका विद्यालय जान सकिरहेका छैनन् र शिक्षित गाउँ कसरी घोषणा गर्न सकिन्छ भन्ने विषयमा मूल्याङ्कन गरी निरन्तर काम गर्ने नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभयो । उहाँले नेपाल सरकारले ल्याएको आधारभूत शिक्षा अनिवार्य नीतिलाई नगरले कडाइका साथ लागू गर्ने जानकारी दिनुभयो । जिल्लाका २० स्थानीय निकायका २०० वडामध्ये सबैभन्दा पहिला ईश्वरपुर नगरपालिका–४ लाई बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चित वडा घोषणा गरिएको उक्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहालले बताउनुभयो ।
आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले पनि अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् । उच्च क्षमताका प्रसारण पूर्वाधारका कारण पूर्वी नेपालका पहाडी क्षेत्रमा निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सक्नेछन् । प्राधिकरणले एकै दिन २२० किलो भोल्ट क्षमताका तीन सवस्टेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेशनमा बिहीबारबाट विद्युत् प्रवाह ९चार्ज० गरी सञ्चालनमा ल्याएको छ । कूल २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सवस्टेशनमा क्रमश : २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर जडान भएका छन् । साथै कोशी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको जानकारी दिनुभयो । कूल २२० केभी प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको उहाँले उल्लेख गर्नुभयो । “मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहवी सवस्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहवी सवस्टेशनको लोड इनरुवा सबस्टेसनमा सार्न सकिने भएकोले उद्योगलाई थप विद्युत दिन सकिन्छ साथैं भोल्टेज,ट्रिपिङलगायतका समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत् आयोजनाका विद्युत गृह पनि ट्रिपिङ हुने समस्या थियो । अब त्यो समस्या पनि समाधान हुनेछ, कोशी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेशनमार्फत भारततर्फ निर्यात गर्न सकिने छ । नेपाल सरकारको लगानी र विश्व बैंकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०÷१३२÷३३ केभी इनरुवा सवस्टेशनको निर्माण गरिएको हो । नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैँकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सवस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । इनरुवा सवस्टेसन सञ्चालनमा नआएकाले इनरुवा-वसन्तपुर-तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाइन गत भदौदेखि ३३ केभीमा चार्ज गरिएको थियो । प्रसारण लाइन र सवस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले उल्लेख गर्नुभयो । सुनसरी-मोरङ औद्योगिक करिडोरको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सवस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । इनरुवा सबस्टसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी सवस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सवस्टेशन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सवस्टेशन अर्को ठूलो हब बन्ने छ । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरअन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु ९ताप्लेजुङ० खण्ड र वसन्तपुरमा २२० केभीका सवस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो । कोशी करिडोरको २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एक तर्फ मात्र तार तानिएको छ । अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
काठमाडौं: सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले भदौ पहिलो साताभित्र तालमेलको सबै प्रकृया टुग्याउने सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सहमति भएको अन्नपूर्णलाई जानकारी दिए । उनले भने, चुनावसम्म नै तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । भदौ पहिलो साताभित्र तालमेलको प्रकृया टुग्याउन कार्यदल गठन गरिनेछ । सरकारले बिहीबार संघ र प्रदेश सभाको निर्वाचन आगामी ४ मंसिरमा गर्ने जनाएको छ। योसँगै गठबन्धनका दलहरु चुनाव तालमेलबारे तीव्र छलफलमा जुटेका छन्।
झापा: झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
काठमाडौं: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकाले अबको दुई/तीन दिन मनसुन कमजोर भई वर्षा कम हुने विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २६ दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव आठ डिग्री सेल्सियस छ ।
चितवनको भरतपुर-२९ केराबारीमा पहिरो जाँदा फेरि पनि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । पहिरो हटाउन सुरुमा तीनवटा डोजर प्रयोग गरिए पनि एउटाको टायर पन्चर भएपछि अहिले दुईवटा डोजरमात्र प्रयोग गरिएको छ । केराबारी मौरीपुल क्षेत्रमा पटक पटक पहिरो गएर सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाएका छन् । गत सोमबार यही स्थानमा पहिरो जाँदा यात्रुहरु झण्डै २४ घण्टासम्म जाममा परेका थिए । बुधबार पनि पहिरो गएर बाटो अवरुद्ध भएको थियो ।
जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ । काठमाडौँमा आज सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्लु प्रणालीअन्तर्गत नेपालबाट कामदार उपलब्ध हुने विषयको जानकारी रोजगारदातालाई गराउने तथा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानको समसामयिक कानूनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने विषयमा छलफल भएको थियो । संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना गरिने दुवै पक्षबीच सहमति भएको छ । संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो । पहिलो बैठकको सहमतिअनुसार जापानमा केयरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेन्टमा करिब ८५० नेपालीले रोजगारी प्राप्त गरेका छन् । सन् २०१९ मा नेपाल र जापानबीच ‘स्पेसिफाइड स्किल वर्कर्स’ (एसएसडब्लु) प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्नेगरी श्रम समझदारी भएको थियो । सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ । बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवार र मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाल र जापानी प्रतिनिधिमण्डलको तर्फबाट सहायक उपमन्त्री चोमुतो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डलले भौतिकरुपमा सहभागिता जनाएको थियो । जापानका सम्बद्ध निकायका अन्य प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाएको मन्त्रालयले जनाएको छ । बैठकको शुभारम्भ गर्दै श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपाल–जापान श्रम समझदारी पत्र कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सम्बन्धमा संयुक्त कार्य समितिको बैठकलाई शुभकामना दिनुभएको थियो । जापानी प्रतिनिधिमण्डलद्वारा श्रममन्त्रीसँग भेटवार्ता बैठकपछि जापानी सहायक उपमन्त्री चोमुतो नेतृत्वको प्रतिनिधिमण्डलले श्रममन्त्री शेरबहादुर कुँवरसँग भेटवार्ता गरेको छ । भेटमा भाषा परीक्षा उत्तीर्ण भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई तत्काल जापानमा रोजगारीका अवसर उपलब्ध गराउने बारेमा छलफल भएको थियो । सो अवसरमा मन्त्री कुँवरले पाँच हजार बढी नेपाली रोजगारीका लागि जापान जाने तयारीमा रहेको जानकारी गराउनुभएको थियो । भेटमा उपमन्त्री चोतुमोले आजको गोष्ठी नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लु) मार्फत पाँच हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौता कार्यान्वयनमा ढिलाइ भएकामा चासो व्यक्त गर्दै नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुला गर्न आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

