काठमाडौँ: करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी) केन्द्र यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो । बैठकमा केही टुङ्गो नलागेपछि उहाँले यो समस्यालाई सत्ता गठबन्धन दलभित्र समाधान गर्न सुझाउनुभएको थियो । उहाँले माओवादी केन्द्रले सदनसँग आधारित भएर राखेका माग पूर्ति गर्ने गरी सम्बोधन गरिएको जानकारी दिनुभयो । मुख्यमन्त्री जीवनबहादुर शाहीले अवरोधलाई खुलाउन सहमति र सहकार्य अपरिहार्य रहेको जनाउनुभयो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले गठबन्धन दलभित्रको छलफल सकरात्मक रहेको बताउनुभयो । मूलतः सत्ता गठबन्धन सरकारका गतिविधि, क्रियाकलाप र योजनालाई प्रभावकारी बनाएर लैजानका लागि साझा प्रयासलाई अनिवार्य शर्त बनाएर अगाडि बढ्ने सहमति र साझा धारणा बनाउन आइतबार मुख्यमन्त्री शाही, नेकपा माओवादी केन्द्र प्रदेशसभा दल नेता महेन्द्रबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दल नेता चन्द्रबहादुर शाहीबीच छलफल भएको थियो ।
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । सभाको पहिलो बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो । यसअघि विधेयकमाथिको छलफलमा सांसदहरुले भाग लिनुभएको थियो । उहाँहरुले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनुभएको थियो । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो । यसअघि पहिलो बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गर्नुभएको थियो ।
काठमाडौँ ः नेपाल घरेलु तथा साना उद्योग महासङ्घले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने गरी सार्वजनिक भएको चालु आवको मौद्रिक नीति स्वागतयोग्य रहेको बताएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको महासङ्घले माग सम्बोधन हुने गरी स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने विशेषता समेटिएको भन्दै नीतिको स्वागत गरेको हो । कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना उद्यम र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिई सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई निरन्तरता दिनु मौद्रिक नीतिका सकारात्मक पक्ष भएको महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहको भनाइ छ । लघु, घरेलु तथा साना र मध्यम उद्यमका लागि कर्जा पहुँच बढाई कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिले जोड दिनु, बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु पाँच करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको सावा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनु मौद्रिक नीतिको राम्रो पक्ष भएको अध्यक्ष सिंहको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चापदार्थमा आधाीरत उत्पादनमूलक उद्योगका लागि रु दुई करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम दुई प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिनुजस्ता व्यवस्थाले स्वदेशी उद्योगको प्रवद्र्धन र विकासमा सहयोग पुग्ने देखिएको महासङ्घको ठहर छ । मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिवृद्धिमार्फत आयात प्रतिस्थापन गर्दै निर्यात अभिवृद्धि गरी आर्थिक वृद्धिलाई सहयोग पु¥याउने कार्यदिशा मौद्रिक नीतिले विगतको मौद्रिक नीतिले अवलम्बन गरेका सकारात्मक व्यवस्थालाई निरन्तरता दिनु स्वागतयोग्य भएको महासङ्घले जनाएको छ ।
झापा : झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो । चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । ‘शनिबार बगान विदा थियो, तर उनीहरु त्यहाँ पुगेका रहेछन्’ राजवंशीले भने, ‘रातिसम्म खबर नआएपछि प्रहरीलाई खबर गरिएको थियो, बिहान बगानमा काम गर्नेले शव देखेछन् ।’ जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि कारण खुलेको छैन ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ हुनुभएको छ । मधुमेह बढेपछि उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिनुभयो । वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना हुनुभएको बताउनुभयो । उहाँका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । “उहाँको प्रारम्भिक जाँच गरिएको छ । स्वास्थ्य अवस्था पनि राम्रो छ”, डा बस्नेतले भन्नुभयो, “जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ ।”
काठमाडौँ: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताउनुभएको छ । सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गर्नुभएको छ । “चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो”, उहाँले भन्नुभयो, “आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिष्ट आचरणभित्र पर्दैन ।” एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरु सधैँ जनताको बीचमा देखिनुपर्ने बताउनुभयो । “पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुख–दुःखमा जसले साथ दियो उसैले जित्छ”, उहाँले भन्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ । अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ ।” सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शुक्रबार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गर्नुभयो । “तपाईँहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हकअधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ ।” मधेसी जनताको चाहनाअनुरुप यहाँको शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उहाँले दाबी गर्नुभयो । “चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनतको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ ।” अध्यक्ष दाहालले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले यहाँको जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आगामी चुनावमा मत दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता प्रल्हाद बुढाथोकीलगायतले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचार–प्रसार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
काठमाडौँ: चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन १ देखि २०७९ असार ३२ सम्म मरेका जनावरमध्ये चित्तल प्रजातिका जनावर सबैभन्दा बढी रहेका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको छ । मृत्यु भएका चित्तलमध्ये कुकुरको आक्रमणबाट ५२, प्राकृतिक कारणबाट १५, तारजालीमा परेर १४, सडक दुर्घटनामा चार र एउटा चित्तलको मृत्युको कारण नखुलेको तिवारीले बताउनुभयो । त्यस्तै गत वर्ष ३७ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये ३३ वटा प्राकृतिक कारण, दुई वटा चोरी सिकारी, एउटा खाडलमा परेर तथा एउटा गैँडाको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीको भनाइ छ । त्यस्तै गत वर्ष अर्ना, जरायो र बँदेल १०/१० वटा मरेका छन् । दशवटै अर्ना, सातवटा जरायो र आठवटा बँदेल प्राकृतिक कारणबाट मरेका थिए । त्यस्तै एक÷एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घटना तथा एउटा जरायो कुकुरको टोकाइबाट मरेको थियो भने एउटा बँदेलको मृत्युको कारण खुलेको छैन । यसैगरी सोही वर्ष छवटा बाघ, पाँचवटा रतुवा, पाँचवटा लगुना, चारवटा घडियाल गोही, तीनवटा भुँडीफोर गरुड, तीनवटा निर बिरालो तथा तीनवटा मगर गोहीको मृत्यु भएको छ । अधिकांश जनावरको मृत्यु प्राकृतिक कारणबाट भएको भए पनि केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । त्यस्तै हात्ती, सर्प, अजिङ्गर, निलगाई, चखेवा तथा बाँदर दुई/दुईवटा मरेका तिवारीले बताउनुभयो । निकुञ्जमा गत आवमा भालु, चितुवा, गिद्ध, मयुर, दुम्सी, पानी हाँस, गोहोरो, मलाहा बिरालो, गौरीगाई, कछुवा तथा बकुल्ला एक÷एकवटा मरेका छन् । गत वर्ष प्रकृतिक कारणबाट ११४ वटा, कुकुरको आक्रमणबाट ५९ वटा, तारजालीमा परेर १६ वटा, सडक दुर्घटनाबाट ११ वटा, चोरी सिकारीबाट दुईवटा, खाडलमा परेर एउटा जनावरको मृत्यु भएको छ भने १२ वटा जनावरको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष नै वन क्षेत्र र मध्यवर्ती क्षेत्रका विभिन्न स्थानबाट २२२ वटा जनावरको उद्धार गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार गत वर्ष १५४ वटा अजिङ्गर १४ वटा चित्तल, नौवटा मगर गोही, आठवटा कछुवा, सातवटा बाघ, तथा एउटा राज गोमन (किङ कोब्रा)सहित सातवटा सर्पको उद्धार गरिएको छ । त्यस्तै चारवटा लगुना, तीनवटा गैँडा, तीनवटा निरबिरालो, दुईवटा निलगाई, दुईवटा चिल र दुईवटा रतुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । निकुञ्जले गत वर्ष नै एक–एक वटा चितुवाको बच्चा, गिद्ध, जरायो, लाटोकसेरो, भुँडीफोर गरुड, बँदेल र मयुरको उद्धार गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९.३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जले जनाएको छ ।
अछाम: सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । उनीलाई उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्करूपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रमा अहेव राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णाको पेटभित्रको नवजात शिशुसँगै रहेको पानी फोका फुटिसकेको र शिशु जन्माउन नसकेका कारण विकलाई उद्धार गरिएकोे हो । उद्धारपछि विकले सो अस्पतालमा शल्यक्रिया मार्फत शिशुलाई जन्म दिएकी जनाइएको छ ।