काठमाडौं:  सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीति विरूद्ध सुनचाँदी व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । मंगलबार नेपाल सुनचाँदी रत्न तथा आभुषण म...

काठमाण्डौँ:     कोरोना भाइरसको सङ्क्रमण ७८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ५१५ परीक्षणमध्ये आज ७८ जनामा सङ्क्रमण देखिएको हो । हिजो असार २२ गते ११३ जनामा सङ्क्रमण देखिएको थियो ।    सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ जना रहेका छन् । विगत २४ घण्टामा २३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५९८ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।    सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । अहिलेसम्म होमआइसोलेसनमा ५०१, संस्थागत आइसोलेसनमा सात, भेन्टिलेटरमा एक र सघन उपचार कक्ष (आइसियु)मा सात जना उपचार भइरहेको छ । 

काठमाण्डौँ:   प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो ।      बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा ९कोइराला०ले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते अपराह्न १४ बजे बस्नेछ । 

  काठमाडौं: नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गर्नुभएको हो ।       माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष दाहालले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँका अनुसार नाम वाचनका क्रममा केही प्राविधिक त्रुटि देखिए पनि बैठक नियमित रुपमा चलिरहेको जानकारी दिनुभयो ।  माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई पोलिटब्यूरोमा समावेश गरेको छ । माओवादी केन्द्रीय समिति ३७७ सदस्यीय रहेको छ । त्यसको एक तिहाई अर्थात् १२५ जनाको पोलिटब्यूरो रहने व्यवस्था गरिएको छ । केहीलाई भने वैकल्पिक पोलिटब्यूरो सदस्यका रुपमा समेट्ने प्रयास गरिएको छ ।      स्थायी समितिमा अध्यक्ष प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेललगायत समेटिनु भएको छ । केन्द्रीय कार्यालय सचिव, पार्र्टी मातहतका आयोगका अध्यक्षलगायत पनि सो समितिमा रहनेछन् । 

  काठमाडौँ:     उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।   कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौँ–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उहाँले बताउनुभयो । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।   उहाँका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौँका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन् । 

    पोखरा:   पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन  विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो ।    बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कैपनि उत्साह थप्ने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति र पोखरा महानगरले उक्त बसपार्कको सहि उपयोग गर्नेमा आफू विस्वस्त रहेको उनले बताए । पोखरावासीलाई बधाई दिँदै पोखरामा थप पर्यटकीय पूर्वाधार बन्ने र त्यसका लागि पोखरा महानगरपालिकासहित समग्र पर्यटनसम्बद्ध संस्थाहरुसंग मन्त्रालयले सहकार्य गर्ने उनको भनाई छ ।   पोखरा महानगरका प्रमुख एवं पोखरा उपत्यका नगरविकास समतिका अध्यक्ष धनराज आचार्यले १८ रोपनी क्षेत्रफलमा सुविधान सम्पन्न बसपार्क निर्माणगरि हस्तान्तरण गरेकोमा मन्त्रालय र पर्यटन विभागप्रति हार्दिक आभार प्रकट गरे । उनले पोखरा महानगरपालिकाले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका लागि संघीय सरकारको तर्फबाट थप सहयोग हुने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति मार्फत पोखरा महानगरले पर्यटन बसपार्कको उपायोग गर्ने र सेवा दिने प्रमुख आचार्यले जानकारी दिएका छन् । स्वामित्व हस्तान्तरण कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश न्यौपाने र पर्यटन विभाग तारानाथ अधिकारीको उपस्थिति रहेको थियो ।   बसापार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आशिष/सिएम/मिसन जेभीका डाइरेक्टर सान्तकुमार श्रेष्ठका अनुसार पर्यटकी बसपार्कमा ४० वटा पर्यटक बहाक वस आवतजावत गर्न सक्नेछन् । १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल र केही कार समेत राख्ने स्थल छ । बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट वस बाहिरिने व्यवस्था छ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुबै तर्फ एक सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बनेको छ । जहाँ पर्यटक ओर्लिएपछि एकैछिन् उत्तरी हिमाल तर्फको सिन लिँदै तस्बिर खिच्न पाउनेछन् ।    डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइने छ । बसपार्कमा व्यवस्थित सौचायल, चमेना गृह लगायतका प्रयोजनका लागि भवन निर्माण भएको छ । पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीका अनुसार ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण भएको हो ।    पोखरा महानगर पालिका वडा नम्बर ७, राष्ट्रबैंक चोक नजिक निर्माण भएकोे आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता  २८ फागुन २०७५ मा भएको थियो । निर्माण कम्पनीका अनुसार दुई असोज २०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता हो । तर, कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको थियोे । बसपार्क सात हजार ९ सय बर्गमिटरमा बनेको छ ।    पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अगाडि बढाइँदै   गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि पर्यटन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।    पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिएका छन् ।    पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रक्रिया छिट्टो अगाडि बढाउनका लागि ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका पोखरा महानगरका प्रमुख आचार्यलाई मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । प्रमुख आचार्यले आफू र महानगरवासीले छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने संघीय सरकारको निर्णयको सुखद् जानकारी प्राप्त हुने बताए ।    ‘पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि हामीले प्रक्रिया अगाडि बढाएका छौं । अबको क्याविनेटमा यो प्रस्ताव लिएर जाँदैछु भनेर मन्त्री ज्युले आस्वासान दिनुभएको छ । पक्कैपनि हामी पोखरावासीले सुखद् खबर सुन्न पाउने छौं’ मन्त्री श्रेष्ठलाई उदृत गर्दै प्रमुख आचार्यले भने ।   

  काठमाण्डौँ:    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।   सहकारी विभागले तयार पारेकोे सहकारीको दशवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रका विषयमा  सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सहकारी सञ्चालनका लागि  प्रशस्त कानुन भए पनि कार्यान्वयनमा भने समस्या रहेको औँल्याउनुभएको हो ।   उहाँले भन्नुभयो, “सहकारीसम्बन्धी भएका व्यवस्थालाई समयानुकूल सुधार गर्दै प्रभावकारीरूपमा कार्यान्वयनमा लैजानु आजको आवश्यकता हो ।” मन्त्री श्रेष्ठले  सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकायले  नयाँ संरचना बनाउनेभन्दा पनि विद्यमान संरचनालाई पुनरावलोकन गरी सशक्त बनाउन र कमजोरी हटाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।   विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिलाइ भइसकेको भन्दै सरोकारवाला सबैको राय र सुझाव समेटेर यसलाई छिटोभन्दा छिटो अन्तिम रुप दिन उहाँले जोड दिनुभयोे ।    मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रको सुधारका लागि आएको दशवर्षे सोचपत्रका विषयमा  छलफलमा आएका विषय समेटेर अझै समृद्ध बनाएर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुुभयो । राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दबाडीले सदस्यहरूको उद्यमशीलता विकास गरी गरिबी निवारण गर्ने उद्देश्य राखेर सहकारीका कार्यक्रम बनाउनुपर्छ भन्नुभयो ।   सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले अवधारणापत्रको प्रारम्भिक मस्यौदा तयार भएको र सबैको सुझाव समेटेर यसलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

  पोखरा:  पोखरामा बिहिबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्र र छात्रा रनिङ शिल्ड प्रतियोगिता–२०७८ मा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् ।   छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१.२ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पारिन् भने १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । छात्रातर्फ ८०० मिटर दौडमा तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पुरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६.०३ सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक हात पारिन् ।   यस्तै ८०० मिटर छात्र दौडमा बादल कार्कीले २ मिनेट ०५.०९ सेकेण्डमा दौड पुरा गरी स्वर्ण जिते भने कास्कीका प्रवेश आचार्यले २ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङका बिकास पोखरेल २ मिनेट ०९.०१ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल रहे ।   यस्तै १५०० मिटर छात्रातर्फको दौडमा बागलुङकी पार्वती नेपालीले ५ मिनेट ४०.३ सेकेण्डमा दौड पुरा गरी रजत पदक जितिन् भने नवलपुरकी यमुना थापाले ५१ मिनेट ४५.५ सेकेण्डमा दौड पुरा गरी कास्य पदक जित्न सफल भएका छन् । छात्रतर्फको १५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले ४ मिनेट २२.९ सेकेण्डमा दौढ पुरा गरी स्वर्ण जितेका छन् भने लमजुङका विकास पोखरेलले ४ मिनेट २९.२ सेकेण्डमा दौड पुरा गरी रजत र कास्कीका बिबेक परियारले ४ मिनेट ३२.१ सेकेण्डमा दौड पुरा गरी कास्य पदकमा चित्त बुझाए ।   यस्तै बिहिबार नै सम्पन्न १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेतले स्वर्ण पदक जितेका छन् । आफ्ना १० प्रतिष्पर्धीलाई उछिन्दै उनले १२.२ सेकेण्डमा पुरा गरी स्वर्ण जितेका हुन् । छात्रतर्फनै १२.०३ सेकेण्डमा दौड पुरा गरेका तनहुँका प्रेम बहादुर थापाले रजत पदक हात पार्दा म्याग्दीका आशिष केसीले १२.०९ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल भए ।   छात्रा १०० मिटर दौडमा स्याङजाकी समिक्षा गैरेले १४.६६ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक हात पारेकी छन् भने नवलपुरकी प्रतिक्षा वाग्लेले १५.२१ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङकी लक्ष्मी परियारले १६.०० सेकेण्डमा दौड पुरा गरी कास्य पदक हात पारिन् ।   यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकुद विकासका लागि लगानी बढाउनु पर्ने कुरामा जोड दिएका छन् । पोखरा पर्यटकिय संगै खेलकुदको समेत अपार सम्भावना भएको हुनाले यहाँका खेल मैदान संगै रंगशालाहरुको संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गर्दै भने–“राष्ट्रियताको जर्गेना गर्ने विषय भन्नु नै खेलकुद हो, त्यसैले खेलकुद विकास संगै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेतर्फ सवैको ध्यान जान आवश्यक छ ।”   कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेश शिक्षा विकास निर्देशक अम्विका प्रसाद आचार्य, यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेललगायतले विद्यालय लक्षित खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा एक विद्यालय एक शिक्षक हुनुपर्ने कुरालाई राज्यले विशेष रुपमा अघि बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।   उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद विकासका लागि कम्तिमा राज्यको कुल बजेटको २ प्रतिशत अनिवार्य विनियोजन भएमा खेलकुदले उचाई प्राप्त गर्ने बताए ।   प्रतियोगिता सुरु हुनु अघि भएको मार्चपासमा कास्की जिल्ला प्रथम भएको छ भने गोरखा जिल्ला दोस्रो र नवलपुरले तेस्रो स्थान हात पारेको छ । बिहिबार सम्पन्न विजेता खेलाडीहरुलाई प्रदेश सभाका सभामुख अधिकारी, गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी, नेपाली सेना मध्य कमाण्डपति बाबुराम श्रेष्ठ, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।   यसै गरी प्रतियोगिता अन्तर्गत नै सम्पन्न भलिबल छात्रतर्फ बागलुङले पर्वतको सामना गर्नेछ भने कास्कीले स्याङजा संग भिड्ने आयोजकले जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५ सय ७४ जना खेलाडीको सहभागिता रहेको छ । उनीहरुले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उशुमा प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता भोली शुक्रबार सम्पन्न हुनेछ । 

काठमाण्डौँ:   प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् । मल नपाउँदा कृषि उत्पादन घट्ने भन्दै किसानहरु चिन्तित छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल नागरिकता विधेयक ल्याएर गैरनागरिक बनेको नेपालीलाई नागरिकता दिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँहरुले नागरिकता विधेयक ल्याउँदा मुलुकको भौगोलिक संवेदनशीलतालाई पनि ख्याल राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।       सांसद डा डिला सङ्ग्रौला पन्थले देशभर रोपाइँ चलिरहेको भए पनि किसानले मल नपाएको उल्लेख गर्दै  किसानले मल कहिले पाउँछन् भनी प्रश्न गर्नुभयो । सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडकमा प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुने गरेको भन्दै उक्त सडक सुधार गर्न माग गर्नुभयो ।      सांसद दिलकुमारीले जनताको छोराछोरीले अझै नागरिकता पाउन नसकेको भन्दै नागरिकता विधेयक कहिले संसद्मा पेश हुन्छ भनी प्रश्न गर्नुभयो । सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गर्नुभयो । सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता नगर्ने सरकार निर्णयबारे परराष्ट्र मन्त्रालयले गरेको पत्राचारका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल आइपिएसको सदस्य बन्न नसक्ने भन्ने निर्णय र एमसिसी सम्झौतासँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरे÷नगरेका बारे जानकारी गराउन माग गर्नुभयो ।       सांसद  देवप्रसाद तिमिल्सिनाले किसानलाई मलको व्यवस्था गर्न सरकारकालाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद देवेन्द्रराज कँडेलले कोरोना सङ्क्रमितले बीमाबापतको रकम नपाएको र बीमाको रकम भुक्तानी नदिने बीमा कम्पनीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद नवराज सिलवालले गैरनागरिकलाई नागरिकता दिने गरी विधेयक ल्याउन नहुने बताउनुभयो । “नेपाली नागरिकले नागरिकता नपाएको भए उहाँहरुलाई तत्काल नागरिकता दिनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो छिमेकमा धेरै जनसङ्ख्या भएका मुलुक छन्, गैर नेपालीले नागरिकता नपाउनेतर्फ सरकार सचेत हुनुपर्छ ।”      सांसद निरुदेवी पालले किसानले मल, नागरिकले नागरिकता र विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पद्मकुमारी अर्यालले जनसरोकारका विषय सम्बोधन गर्न सरकारले ध्यान नदिएको बताउनुभयो ।      चालु आवमा निर्माणाधीन विभिन्न २३१ आयोजनालाई बजेट कटौती गरिएको उल्लेख गर्दै उहाँले ती आयोजनालाई तत्काल बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसाल गौतमले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विप्रेषणको सदुपयोग गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान साझा सङ्कल्प पारित गर्न आग्रह गर्नुभयो ।       सांसद पोल्देन छोपाङ गुरुङले लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भइरहेको भन्दै तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेम सुवावले नगरकोट–दुवाकोट सडक तत्काल निर्माण सम्पन्न गरी पर्यटकीय क्षेत्रमा हुने आवातजावतलाई सहज बनाउन माग गर्नुभयो ।

काठमाडौँ:    काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो ।प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला  छन् । ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ ।   साझाले ४० विद्युतीय बस खरिद गरेकामा बाँकी ३७ बस आगामी महिनाभित्रमा आइपुग्ने जनाइएको छ । सरकारले तीन वर्ष पहिले रु तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद भएको थियो । ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आठ दशमलव पाँच मिटर लामो बस खरिद गरिएको छ । ती बस चीनको सिएचटिसी कम्पनीले तयार गरेको हो ।    दोस्रो चरणमा योभन्दा बढी लामो बस खरिद हुने कम्पनीले जनाएको छ । झण्डै १० देखि १२ मिटर लम्बाइको सहरी विद्युतीय बस तथा लामो दूरीको विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको उहाँले बताउनुभयो । बस चालक हर्मिता श्रेष्ठले अरु बसभन्दा यो सजिलो भएको बताउनुभयो । केही वर्षदेखि साझाकै पेट्रोलियम पदार्थबाट चल्ने बस चलाइरहनुभएकी उहाँ यी बसमा क्लज, गेयर हाल्नु नपर्ने हुँदा सजिलो भएको जानकारी दिनुभयो । यसमा स्विच अन गरेपछि आफैँ गुड्ने हुँदा चलाउन सजिलो छ । उहाँले भन्नुभयो, “अरु गाडीजस्तो आवाज आउने छैन ।”    साझा अध्यक्ष कनकमणि दिक्षीतले नेपालमा साझाले सहरी यातायात र क्षेत्रीय यातायात सुरु गरेको छ भन्नुभयो । विद्युतीय बस आर्थिक र वातावरणीयरूपमा उपयुक्त रहेको र यात्रुलाई पनि सुविधा हुने उहाँले बताउनुभयो । निजी क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेका कारण नेपाल सरकारले यस क्षेत्रलाई बस सञ्चालनका लागि पनि सहुलियत ऋण उपलब्ध गराउनुपर्नेमा अध्यक्ष दिक्षीतले  जोड दिनुभयो । चार्जिङ स्टेशन निर्माणका लागि सरकारले सहयोग गर्ने उहाँको विश्वास थियो । अध्यक्ष दिक्षीतले भन्नुभयो, “चार्जिङ स्टेशनका लागि सक्दो चाँडो जग्गा उपलब्ध हुनेमा हामी आशावादी छौँ ।”साझा खुल्दा आफू ३० वर्ष भएको र अहिले ९५ वर्ष भएको संस्थापक अध्यक्ष थापाले बताउनुभयो । बस सञ्चालन हुँदा खुसी लागेकैले आफू यहाँ आइपुगेको उहाँको भनाइ थियो।    यी बसहरूमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा १६१ किलोवाट रहेको छ । अहिले बससँगै दुई थान चार्जरसमेत ल्याइएको  छ । बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताउनुभयो । दिनभर बस गुडाएर राति चार्ज गर्न सकिने सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताउनुभयो । उहाँले भन्नुभयो, “राति तीन–चार घण्टा चार्ज गरेपछि अर्को दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।” अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । यो बस अपाङ्तामैत्रीसमेत रहेको उहाँले बताउनुभयो । होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्वीलचेयर राख्नका लागि पनि स्थान राखिएकोे छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ ।   पेट्रोलियम पदार्थका सवारीसाधनजस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरुमाभन्दा कम रहेको छ । बसमा थर्काइ (भाइब्रेसन)पनि कम रहेको सञ्चालक समिति सदस्य तुलाधरले जानकारी दिनुभयो ।हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली रु छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।   साझाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’हरू मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरिएको हो ।सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।   विगतदेखि नै सार्वजनिक यातायात सञ्चालन गरिरहेको साझाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारणमैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको जनाइएको छ ।अघिल्लो सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिद गर्ने  निर्णय गरेको  र विसं २०७६ असार ३१ मा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि साझाको रु तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले  ‘स्पेसिफिकेसन’ भन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । पुनः बस खरिद गर्दा कोमार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा १६ महिनासम्म बस खरिदमा अन्योल रहेको थियो ।  विसं २०७७ फागुन २ गते मन्त्रालयको पत्रानुसार पुनः साझाले अन्तर्राष्ट्रिय बोलपत्रद्वारा खरिद प्रक्रिया अघि बढाएको थियो ।   देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारीसाधनलाई बढवा दिने सरकारले योजना बनाएको छ । सङ्घले मात्रै होइन, प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै बागमती सरकार, काठमाडौँ र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।   यसअघि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आएको बस उद्घाटन भएर पनि चल्न सकेको थिएन । विमानस्थल बनिसक्न ढिलो भएकाले एशियाली विकास बैंकको सहायतामा लुम्बिनी विकास कोषले भित्र्याएको चार थान बिजुलीबाट चल्न बस केही समय साझाले नै उपत्यकामा सञ्चालन गर्ने सहमति गरिएको थियो । सरकारी परीक्षणमा सफल नहुँदा कोषका बस सञ्चालनमा आउन सकेको थिएन । उपत्यकामा निजी कम्पनीले केही वर्ष पहिलेबाट विद्युतीय बस सुरु गरे पनि सरकारी लगानीमा सञ्चालन भएको यो पहिलो हो ।