काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित भएका परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आ...

  काठमाडौं:    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत र्‍याप गायक यमवुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् ।   काठमाडौं महानगरपालिकाको बजेटबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए ।   महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।

  काठमाण्डौँ:    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिर महिनाभित्रै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभयो ।   प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मङ्सिरभन्दा पर नजाने भएकाले आफ्नो पार्टीले निर्वाचन केन्द्रित गतिविधि सुरु गरेको बताउनुभयो । पाँचदलीय गठबन्धन समयको आवश्यकता र माग हो भन्दै अहिले पनि गठबन्धनको औचित्य र आवश्यकता रहेको उहाँले बताउनुभयो ।    आगामी दिनमा गठबन्धनलाई अझै बलियो बनाउँदै लोकतन्त्र, गणतन्त्रलाई अझै संस्थागत र बलियो बनाउने दिशामा काम गर्नुपर्ने उहाँको भनाइ छ । समाजवादीबाट मन्त्री भएका नेतालाई लक्षित गर्दै अध्यक्ष नेपालले जनताको हित, जनताको दुःखसुखमा जनताकै साथमा रहेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।    नेकपा (एकीकृत समाजवादी)बाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् भन्दै अध्यक्ष नेपालले भन्नुभयो– “हाम्रा मन्त्रीहरुले राम्रो गर्नुपर्छ, जनताको बीचमा रहेर उनीहरुको सेवा गर्नुपर्छ । हाम्रा मन्त्रीहरुको शिर झुक्नुहुँदैन ।”  लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरु सबैसँग हातेमालो गरेर अघि बढ्न चाहेको उहाँले बताउनुभयो । 

काठमाण्डौँ:     जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो । पाटनमा सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीयबासिन्दासमेत निराश भएका छन् ।       आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको उनीहरुले बताए । बसपार्क निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दीनेश विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बसपार्क निर्माण गर्न ढिलाइ भएको छ, अव्यवस्थितरुपमा बजारमै पार्किङ गरिँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।”            बसपार्क निर्माणअन्तर्गत अपाङ्गमैत्री शौचालय, बस र जीपका लागि छुट्टाछुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख भए पनि अहिलेसम्म काउन्टर भवन बन्न सकेको छैन् ।    सुरुमा बजेटको अभाव, सङ्घीयतापछि सम्बन्धित कार्यालय केही समय सङ्घ र केही समय प्रदेश मातहत रहँदाको अन्यौल, कोभिडलगायत कारणले बसपार्क निर्माणमा ढिलाइ भएको भनिए पनि एउटै बसपार्क आठ वर्षदेखि निर्माण पूरा नहुँदा स्थानीयवासी निराश भएका हुन् ।        पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको आठ वर्ष बितिसक्दासमेत निर्माणको काम सम्पन्न हुन सकेको छैन । पाटन नयाँ सहरमा व्यवस्थित बसपार्कको अवधारणाअन्तर्गत बसपार्क निर्माणको काम सुरु भए पनि विभिन्न कारणले अझै पनि निर्माण हुन नसकेको पाटन नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनीयर रोहितराज भण्डारीले बताउनुभयो ।       एक सय ३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्कको  ९० प्रतिशत काम पूरा भइसकेको भए पनि केही काम अझै बाँकी छ । उहाँले भन्नुभयो, “बसपार्कअन्तर्गत काउन्टर भवन र आरसिसी बाटो निर्माण गर्न बाँकी रहेको छ । त्यसका लागि ठेक्का जिम्मा पाएको प्रमोद कन्सट्रक्सनले यो वर्ष काम अघि बढाउन सकेको छैन ।” समयमै बसपार्क निर्माण नहुँदा बनेका संरचनासमेत जीर्ण हुन थालेका छन् । 

काठमाण्डौँ:     ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ ।       केही सञ्चारमाध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि आज कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले बालबालिकाका लागि डाइपर मात्रै आयात गर्ने गरेको स्पष्ट पारेको हो । “सञ्चारमाध्याममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालीका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बालबालिकाका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो”, कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रालीले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयात नगरेको जनाएको छ ।     “बिनाआधार हाम्रो कम्पनीको मान हानि हुनेगरी प्रकाशित÷प्रसारित समाचार गलत भएको यसै विज्ञप्तिमार्फत आम नागरिकलाई जानकारी गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ । 

भोजपुर:    जिल्लामा सर्पदंशका बिरामीले उपचार पाउन मुस्किल पर्ने गरेको छ ।     विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुने गरेका छन्  । सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्गभङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ ।       यहाँ स्वास्थ्यचौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ । ग्रामीण भेगका अधिकांश सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा पूर्णरुपमा बन्द छ । स्टेचर तथा डोकामा बोकेर बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता हुँदा समयमा उपचार नपाएर ज्यान जाने पनि गरेको पाइन्छ । प्रायः ग्रामीण भेगका जनता सडक बिग्रेका कारण र समयमै सदरमुकामका अस्पताल पुग्न नसकदा उपचार गर्न उनीहरुलाई समस्या हुनाका साथै अन्य ठाउँका सुविधा सम्पन्न अस्पताल जान कठिन हुँदै आएको छ । यस्तो अवस्थामा सर्पको टोकाइको उपचार तथा अन्य सामान्य सेवाबाट उनीहरु बञ्चित हुँदै आएका छन् भने समयमै उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाएका घटना पनि छन् ।      सर्पको टोकाइको सामान्य उपचार मात्र जिल्ला अस्पतालमा गर्न सकिने भोजपुरजिल्ला अस्पतालका प्रमुख वीरेन्द्र दास बताउनुहुन्छ । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ  । प्रमुख दास भन्नुहुन्छ, “जिल्ला अस्पतालमा सामान्य खालको टोकाइको प्राथमिक उपचार हुन्छ । जटिल अवस्थाको यहाँ उपचार सम्भव छैन । त्यस्ता बिरामी आएमा प्राथमिक उपचारपश्चात् बाहिर रिफर गछौँ ।”     सर्पको टोकाइको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका निवासी एकराज विष्ट भन्नुहुन्छ, “यो समयमा ग्रामीण भेगमा धेरै समस्या छन् । खेतबारीमा काम गर्नै पर्यो । काम गर्ने क्रममा ख्याल नगर्दा पनि सर्पले टोक्ने सम्भावना बढी हुन्छ तर यसको उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि त तीनदेखि चार घण्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ । ”           नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ । तीमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्गअन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ । विषमा रहेको न्युरोटाक्सिनले स्नायुलाई क्षतिग्रस्त बनाउँछ र कार्डियोटक्सिनले सिधा मुटुमा असर पार्नाका साथै शरीरको आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुन्छ ।      केही हदसम्म सावधानी अपनाउनसके सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरुले बताका छन्   । सर्पको टोकाइको सिकार बढी किसाननै  हुने गरेका छन् । त्यसपछि बालबालिका र वृद्धवृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन् ।     सर्पदंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा   स्थानीयवासीले जोड दिएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनााका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ ।       स्थानीयस्तरमा सचेतना जगाउन सकियो भने र  सर्प पक्रनका लागि तालिम प्राप्त मानिस उत्पादन भएमा धेरै सहजता हुने देखिन्छ । सर्प सङ्कलन गरिसकेपछि त्यसबाट विभिन्न तत्व सङ्कलन गरेर सर्पदंशको उपचारमा प्रयोग गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङअनुसार करिब ६०० प्रजातिका सर्प विषालु हुने र त्यस्ता सर्पको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ । विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँगै तुरुन्त चिकित्सा सेवा लिनु आवश्यक हुन्छ । असारदेखि साउन, भदौ, असोजसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । मुलुकमा सबैभन्दा बढी गोमन र करेतको टोकाइ हुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । करेतले धेरैजसो राति सुतेका बेला थाहै नहुने गरी डस्ने गर्छ ।      गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गर्छ । गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ । तर यो उपयुक्त विधि होइन । यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो अस्पताल जानु उपयुक्त हुने चिकित्सककोे सल्लाह छ  ।     सर्पले टोकेपछि कतिपय गाउँघरका मानिस अझै पनि धाँमीझाँक्रीको खोजीमा समय बिताउने गर्दा उपचारमा विलम्ब हुँदा मानिसको अकालमा मृत्युसमेत हुने गरेको उनीहरुको भनाइ छ ।

कञ्चनपुर:   बेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभावले छटपटाउनु भएको छ । ससुरालीमा बस्दै आउनुभएका उहाँले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नुपरेको छ ।       “जग्गा घर केही छैन मजदुरी गरेर जीविका चलाउँदै आएको छु”, डगौराले भन्नुभयो, “जीब्रो दुख्न थालेपछि एक वर्षअघि चिकित्सकलाई देखाउँदा क्यान्सर भएकाले उपचारका लागि चितवनस्थित अस्पतालमा देखाउन जान भने पनि आर्थिक अभावले पीडा सहेर बस्दै आएको छु ।”       उपचार खर्चका लागि जोहो गरिदिने कोही नहुँदा उहाँ मर्नु र बाँच्नुको दोसाँधमा पुग्नुभएको छ । “पहिला जिब्रो दुख्ने मात्रै गर्दथ्यो”, डगौराले भन्नुभयो, “अहिले खाना मुखभित्र राख्न नै गाह्रो हुन थालेको छ । पुरै मुख दुख्छ खाना खानसक्ने अवस्था पनि छैन ।    विस्तारै बोले पनि मुख दुख्ने भएकाले धेरै बोल्नसमेत सक्दिन । आफ्नो कोही छैन । उपचार नपाएरै मर्नुपर्ने अवस्था आएको छ । उपचारका लागि सहयोग गरिदिनका लागि उहाँले सबैसँग आग्रह गर्नुभयो  । भारतमा छँदा गुटखाको अम्मली भएको र त्यसकै कारण जिब्रोमा क्यान्सर भएको डगौराले बताउनुभयो ।     “भारतमा रोजगारीका लागि आमाबुवासँगै जाँदा उनीहरुले अलपत्र छाडेर कहाँ गए पत्तो नै लागेन । केही वर्ष भारतको मुम्बाइमा छ वर्षको उमेरदेखि नै होटेलमा भाँडा माँझ्ने कार्य गरेँ, ’’उहाँले भन्नुभयो,     “त्यही होटेलमा काम गर्ने नेपालीसँग चिनजान गरी उनीहरुसँगै नेपाल फर्किए । त्यतिबेला मेरो उमेर १९ वर्ष जतिको थियो । सानैमा भारत गएकाले यहाँ फर्केपछि परिवार भेटाउन सकिन । थातथलो कहाँ थियो । ठम्याउन पनि सकिन ।”        “यहाँ फर्केपछि मजदुरी गरेर जीविका चलाउँदै आएकाले परिवार पाल्नसक्ने आँट भएको ठिटो भनेर धेरैले तारिफ गर्थे । विवाह गरेँ । केही वर्षमै दुई छोरी एक छोराको बुवा पनि बने । जिब्रोमा क्यान्सर भएको कुरा श्रीमतीलाई सुनाए”, डगौराले भन्नुभयो, “घरको एक्लो कमाउने व्यक्तिलाई नै क्यान्सर भएपछि हाम्रो पालनपोषण कसले गर्ला भन्ने सोचेर होला श्रीमतीले एक वर्षको छोरासहित आत्महत्या गरिन् । माइली छोरीलाई पनि झुण्याएकी थिइन् । तर खुट्टाले भुइँमा छुनपुग्दा उनी जोगिइन यो गत चैत १७ गतेको घटना हो ।”        आमाबुवाले पहिला नै छाडिसकेका थिए । एक्लो सहाराका रुपमा रहेकी श्रीमतीले पनि यो संसार छाडेर गएपछि तनावपूर्ण जीन्दगी जिउनु परेको उहाँले बताउनुभयो  ।     डगौराका दुई छोरी माइतीमा छन् । ससुरालीकोसमेत आर्थिक अवस्था निकै दयनीय भएकाले उपचार खर्च माग्नसक्ने अवस्था नरहेको उहाँको दुखेसो थियो । 

रुपन्देही:   रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।   गत वर्ष रु २५ हजार प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा  सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो ।         उहाँले प्राकृतिक प्रकोप, बेमौसमी वर्षात्का साथै भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावले इँटा उद्योगलाई असर पारेको जानकारी दिनुभयो । महासचिव गुप्ताले भन्नुभयो, “इँटा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ । नेपाली इँटा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इँटा उद्योग बन्द गर्ने मनसायमा इँटा उद्योगी पुगेका हुन् ।”     जिल्लामा करिब ४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् तर पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नाका साथै सोचेअनुसार इँटाको माग नहुँदा सञ्चालित इँटा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताको भनाइ थियो ।     त्यस्तै लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका सदस्य दीपक पौडेलले इँटा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाउनुभयो  । उहाँले कोइला आयतमा नेपाल सरकारले सहजीकरण गर्नाका साथै जिल्लामा उत्पादित इँटाको माग बढाउनुपर्नेमा जोड दिनुभयो ।      रुपन्देहीमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौँ, अर्घाखाँची, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ । छिमेकी राष्ट्र भारतमा पनि इँटा व्यवसायीले इँटा उत्पादनको लागत थेग्न नसकेर एक लाख इँटा उद्योग बन्द गर्ने अखिल भारतीय इँटा एवं टायल व्यवसायी महासङ्घले घोषणा गरेको र यसको असर  नेपालमा समेत पर्ने अनुमान गरिएको छ । 

काठमाडौं:    गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ ।   आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् ।   यस्तो दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् ।   बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा छन् । उनी १८औं नम्बरमा सिफारिसमा परेका हुन् । विष्टका ब्याजी सबै एसएसपी भइसकेका छन् ।

काठमाण्डौँ:    विश्वकप फुटबल प्रतियोगिताको आयोजनाले बाह्य समर्थन र पयर्टक बढ्छन् । साथै, आयोजक राष्ट्रको आम्दानी पनि ह्वात्तै बढ्ने गर्छ । युरोप, उत्तर र दक्षिण अमेरिकाका साथै दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुँदा त्यहाँका यौन व्यवसायलाई स्वतन्त्रता प्रदान गरिएको थियो । यसबाट ती आयोजक राष्ट्रहरूले नगण्य धन पनि कमाए । तर, यसपटकको विश्वकप आयोजक राष्ट्रले विदेशी पयर्टक तथा समर्थकबाट यौन व्यवसायबाट आम्दानी गर्नेछैन ।    यसपटक विश्वकप कतारमा हुँदै छ । आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा हुने विश्वकपमा हजारौँ विदेशी समर्थक तथा पयर्टक आउने पक्का छ । यद्यपि, विदेशी पाहुनाहरूले कतारमा आफूले मन लागेको जस्तो कार्य गर्न पाउनेछैनन् । इस्लामिक राष्ट्र कतारले विश्वकप दौरानमा गर्न हुने र नहुने नियम अगाडि नै सार्वजनिक गरिसकेको थियो । कतारले हालै मात्र एउटा अचम्मको नियम सार्वजनिक गरेको छ ।    कतारले सेक्स पूर्ण रूपमा प्रतिबन्ध लगाउने भएको छ । एक महिनासम्म चल्ने विश्वकपमा सेक्स प्रतिबन्ध हुँदा प्रतियोगिता नै खल्लो हुने अनुमान गरिएको छ । कतारको प्रचलित कानुनअनुसार पति–पत्नीबाहेक अन्यलाई सेक्स गर्नबाट वञ्चित गरिएको छ । यो नियम पूर्ण रूपले लागू हुँदा विदेशी समर्थक तथा पयर्टकले फुटबलको मात्र मज्जा लिएर घर फर्कनुपर्ने हुन्छ । धेरैजसो समर्थक तथा पयर्टक यौन आनन्द लिन पनि विश्वकप हुने राष्ट्रमा पुग्छन् ।    अघिल्ला विश्वकप आयोजक राष्ट्रहरूले विश्वकप दौरानमा यौन व्यवसायलाई छुट दिएका थिए । ती विश्वकप आयोजक राष्ट्रहरूले यौन व्यवसायबाट राम्रो आम्दानी गरेका थिए । यसपटकको आयोजक राष्ट्र कतारले आफ्नो इस्लामिक नियम सबैले पालना गर्नुपर्ने जनाएको छ । कतारको कानुनले विवाहअघिको सेक्सलाई अपराध मानेको छ ।   यसैकारण विश्वकपमा पति–पत्नीबाहेक अन्य प्रेमी–प्रेमिकाले सेक्स गर्न पाउनेछैनन् । सम्बन्धित निकायले नियमभन्दा बाहिर गई अनैतिक कार्य गरेको भेट्टाउँदा उनीहरूलाई कम्तीमा सात वर्षसम्म जेल सजाय भोग्नुपर्ने निर्देशन दिएको छ । कतारले इस्लामिक नियम पालना गराउन विदेशी फुटबल समर्थकलाई कडा चेतावनी दिएको छ । ‘   विश्वकपमा परस्त्रीसँग यौन सम्पर्क राख्दा सात वर्षको सजाय हुन सक्नेछ,’ कतारी सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पति–पत्नीका रूपमा हुनुहुन्छ भने यसमा कुनै नियम लागू हुँदैन, तर परस्त्रीसँग अनैतिक कार्य गर्दा प्रचलित नियमअनुसार सजायको भागीदार हुनुपर्नेछ ।’    परस्त्रीसँगको यौन सम्पर्कबाहेक कतारले पार्टी र मदिरा सेवनमाथि पनि प्रतिबन्ध लगाएको छ । कतारले आफ्नो मौलिक संस्कृतिअनुसारै विश्वकपमा नियम बनाएको जनाएको छ । ‘हाम्रो संस्कृतिभन्दा बाहिर जाने जोकोहीलाई दण्डित गर्ने व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वकप फुटबल हेर्न आउने समर्थकहरूले नियमको पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।’