तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

  मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।    केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताउनुभयो ।    “यसपाली वर्षा र रोगकीराको समस्या कम भएकाले उत्पादकत्व बढेको छ,” उहाँले भन्नुभयो “स्याउका लागि वर्षात् कम भएको मौसम अनुकूल मानिन्छ । नयाँ बोटमा फल लाग्न थालेकाले उत्पादन वृिद्धमा सहयोग पुगेको हो ।” रङ चढेको र गुलियो पसेर खानयोग्य भएको उच्च घनत्वको गाला जातको स्याउ टिप्न थालिएको छ । स्थानीय जातका स्याउ भने भदौ २५ गतेपछि मात्र टिप्ने किसान प्रतिनिधि, स्थानीय तह, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनले निर्णय गरेका छन् ।    नपाक्दै काँचो स्याउ बजारमा पु¥याउँदा स्वादिलो नहुने र गुणस्तरमा प्रश्न उठेपछि स्याउ टिप्ने समय तालिका बनाएका हुन् । थासाङ गाउँपालिका–२ कोवाङका वसन्त शेरचनले स्याउमा लाग्ने रोगको सङ्क्रमण नदेखिएको र फल राम्रो लागेको बताउनुभयो । “मौसम राम्रो भयो, रोगकीरा देखिएको छैन,” उहाँले भन्नुभयो “राम्रो फल लागेको छ । पाक्न थालेको छ ।” थासाङ–१ टुकुचेको आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले व्यापारीले अग्रिम पेश्की दिएर बोटमै स्याउ खरिद गरिसकेका बताउनुभयो ।    तुलाचनले कृषि ज्ञान केन्द्रको रु पाँच लाख र व्यक्तिगत १५ लाखमा विसं २०७६ मा १४ रोपनी ११ आना क्षेत्रफल जग्गामा एक हजार बिरुवा उच्च घनत्व प्रविधिको स्याउ खेती गर्नुभएको थियो । “बगैँचा नै ठेक्कामा लिएका व्यापारीले पाकेको स्याउ टिपेर बजारमा लैजाने तयारी गरेका छन्,” उहाँले भन्नुभयो “व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या छैन ।” म्याग्दी, पोखरा, धादिङ, काठमाडौँ, चितवनका ब्यापारी बगैँचानै ठेक्कामा लिएर स्याउ खरिद गर्न मुस्ताङ पुगेका छन् ।    कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा ३८ हेक्टरमा उच्च घनत्व प्रविधिकोसहित कूल एक हजार ५७५ हेक्टर जमिनमा स्याउ खेती भएको छ । छिटो र धेरै उत्पादन दिने भएकाले उच्च घनत्वको स्याउ खेतीमा आकर्षण बढेको छ । यहाँका ५८० हेक्टरमा रहेका बोटले मात्र उत्पादन दिन्छन् । उच्च घनत्व प्रविधिमा आधारित गाला, फुजी, किङरुट, गोल्डेन डेलिसियस र जोना प्रिन्स गरी पाँच जातका स्याउ बिरुवा रोपिएको छ । गण्डकी प्रदेशको कृषि निर्देशनालयले मुस्ताङमा इटालीबाट आयात गरिएका ९८ हजार ५०० गोटा उच्च घनत्वका स्याउ बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरिसकेको छ ।    स्याउ जोन मुस्ताङले १८ हजार ५०० गोटा उच्च प्रविधिको स्याउको बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको छ । स्याउ भण्डारण गरेर बेमौसममा बजार पठाउन छ वटा चिस्यानगृह बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताउनुभयो ।    समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर अग्लो उचाइ भन्दामाथि स्याउखेती गरिन्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ ।    उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तीर्थयात्रीले स्याउ कोसेलीका रुपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई किसानले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छ वटा उद्योग छन् । 

  लामो र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ ।   बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । उक्त पुल रु सात करोड लागतमा निर्माण हुन जनाइएको छ ।   दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाढि बढाइएको छ । बागलुङ–१ रामरेखाबाट पर्वतको कुश्मा –१ अदुवाबारी जोड्ने पाँच सरय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बागलुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । उक्त पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदनसमेत दिएको छ ।   बागलुङको गौरीधामबाट पर्वत जिल्लाको जलजलास्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो । बागलुङ –४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बागलुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार– व्यवसाय बढ्ने र जलजलावासीहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले पुल निर्माणका लागि बागलुङतर्फ निःशुल्क जग्गा दिने जग्गादातालाई धन्यवाद दिनुभयो ।    “जलजलाका नागरिक प्रशासनिक कामका लागि सदरमुकाम कुश्मा गए पनि व्यापारिक कामका लागि बागलुङ आउने गर्दछन्, पुल बनाएपछि एक-डेढ घण्टाको बाटो छोट्टियो”, वडाध्यक्ष खड्काले भन्नुभयो, “पुल निर्माणसँगै बागलुङ र पर्वत जिल्लाको पर्यटन क्षेत्रको समेत विकास हुनेछ ।” पुल निर्माणका लागि विसं २०७९ जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।    पुल निर्माणका लागि बागलुङतर्फको झण्डै छ आना जग्गा निःशुल्क दिएका जग्गादाता राजेन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । “विकासका लागि बाधक बन्नु हुँदैन भन्ने लाग्यो मैले आफ्नो जग्गाबाट पुल बनाउन दिएँ”, पुल निर्माणपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने उहाँले भन्नुभयो, “आफूले व्यावसायिक केराखेती मासेर पुल बनाउन जग्गा दिएको छु, पुल निर्माणपछि बागलुङको व्यवसाय थप फस्टाउनेछ ।”

  नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताउनुभएको छ ।    मंगलबार आयोजित पत्रकार भेटघाटमा सांसद श्रेष्ठले तनहुँ क्षेत्र नं १ मा उम्मेदवारीका विषय धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उम्मेदवार तय गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज-जसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ-१ मा मेरो दाबी स्वभाविक हो ।”   आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीले भनेको मान्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “पार्टीले कञ्चनपुर, बारा, झापा गएर निर्वाचन लड्न भने पनि तयार नै छु ।” उहाँले गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “धेरै त्याग तपस्या गरेर गठबन्धन बनायौँ, यसलाई निरन्तर अगाडि लैजानुछ ।

  काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले कुनै पनि मुलुकमा द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस सिष्टम’ले काम नगर्ने भएकाले सङ्क्रमणकालीन न्याय प्रणाली नै आवश्यक हुने बताउनुभएको छ ।     प्रतिनिधिसभाको आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमि​लाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विरोधको सूचना प्रस्तुत गर्नुहुने सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफमा कानुनमन्त्री शर्माले उक्त अभ्यास नेपालमा मात्रै नभइ विश्वमै रहेको पनि स्पष्ट गर्नुभयो ।    उहाँले सङ्क्रमणकालीन न्याय र अपराधसम्बन्धी न्यायको परिभाषा फरक हुने पनि बताउनुभयो । मन्त्री कोइरालाले भन्नुभयो, “सामन्य अपराधमा ‘क्रिमिनल जष्टिस् सिष्टम’ले नै सम्बोधन गर्छ, सत्य, न्याय, परिपुरण र संस्थागत सुधार यी चार पिल्लरको अधारमा सङ्क्रमणकालीन न्याय अघि बढाउनुपर्छ ।” उहाँले सत्य निरुपण आयोगले द्वन्द्व किन भयो भनी त्यसका कारण र उल्लङ्घनका घटना पत्ता लगाइसकेपछि केही गम्भीर प्रकृतिका मुद्दा ‘ट्रायल’मा लिएर जाने र अरु मुद्दामा मेलमिलाप गराउने कुरा संसारमै प्रचलनमा रहेको जानकारी सदनलाई गराउनुभयो ।    “यसमा सरकारक वा कानुनमन्त्री चुकेको होइन, यही संसद्मा उठेका विषय, शान्ति सम्झौतापछिको छलफल र ती चारै पिल्लरको आधारमा गम्भीर अपराधमा सजाय पनि हुनसक्ने र अन्य कुरा परिपुणै वा मेलमिलापको आधारमा टुङ्ग्याउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।   सांसद सुवालको सातै प्रदेशबाट ल्याइएको छलफलको प्रतिवेदन सार्वजनिक नभएको भन्ने जिज्ञासाका सन्दर्भमा मन्त्री कोइरालाले केन्द्रस्तरमा कार्यक्रम गरेरै सार्वजनिक गरिएको जानकारी गराउनुभयो । त्यसैको आधारमा विधेयक ल्याइएको पनि उहाँले जानकारी दिनुभयो ।    उहाँले सदनमा दफाबार छलफलमा जाँदा केही कुरा छलफल गर्न सकिने जानकारी गराउनुभयो । जबसम्म कानुन संशोधन हुँदैन तवसम्म सङ्क्रमणकालीन न्याय टुङ्गिदोरहेनछ भन्ने कुुरा देखिएको उहाँले अनुभव सुनाउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिले मन्त्री कोइरालाले उक्त विधेयक सभासमपक्ष प्रस्तुत गर्नुभएको छ ।    त्यसअघि सांसद प्रेम सुवालले सदनमा उक्त विधेयकमाथि विरोधको प्रस्ताव प्रस्तुत गर्दै कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रतिबद्धता जनाए पनि पीडितलाई न्याय दिनुको साटो पीडकलाई उन्मुक्ति दिने गरी विधेयक आएको भनी प्रश्न गर्नुभएको थियो ।    सङ्क्रमणकालीन न्याय विधेयकले मात्रै पूर्णता नपाउने उहाँको भनाइ थियो । उहाँले मानवअधिकारको गम्भीर उल्लङ्घनको विषयलाई सम्बोधन नगरिएको जिकिर गर्दै मानवअधिकार उल्लङ्घनमा मेलमिलाप हुनै नसक्ने बताउनुभयो । सुवालले भन्नुभयो, “सशस्त्र द्वन्द्वको लक्ष्य के हो, के का लागि भएको हो, अनुसूचीमा लेख्नुपर्ने जरुरी हुन्छ, त्यसका प्रमुख व्यक्ति कोको हुन्, के कति क्षति भएको हो, उल्लेख हुनुपर्छ ।” सांसद सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचना सदनको बहुमतले अस्विकृत गरेको छ ।    प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १३ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।  

नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।    आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले आजदेखि भदौ १२ गतेसम्म  स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने सो पार्टीले जनाएको छ ।     एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कार्यालय सचिव डा अधिकारीका अनुसार बैठक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुने छ । यस्तै आगामी पोलिटब्यूरो र केन्द्रीय कमिटिको एजेण्डा पनि बैठकले तय गर्ने छ ।   पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो  ।

पोखरा:  दानपेटिका चोरी गरेको आरोपमा प्रकाउ परेका जिम्मी दोर्जेलाई पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्धामा प्रकाउ परेका दोर्जेलाई थप अनुुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको हो ।    पोखरा महानगरपालिका २ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको नगद सहितको दानपेटिका चोरी गरेका दोर्जेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको थियो ।     मन्दिर परिसरमा राखिएको नगदसहितको दान पेटिका चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पोखरा २५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षिय जिम्मी दोर्जेलाई दान पेटिका सहित प्रकाउ गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।    ३५ सय जति थियो होलाः कार्यालय सचिव तिमिल्सिना विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यालय सचिव नवराज तिमिल्सिनाका अनुुसार कृष्ण जन्माष्टीको दिन दानपेटिका चोरी भएको थियो ।    ‘ कृष्ण जन्माष्टीका दिन चोरी भएको त्यो दानपेटिका मुख्य मन्दिरको अगाडी थियो । हामीले ३ बजेसम्मको दान संकलन गरिसकेका थियौँ, उनले भने ‘त्यसपछि बाँकी त्यस्तै ३ हजारदेखि ३५ सय  सम्म थियो होला । त्यो भन्दा बढी पक्कै पनि थिएन ।’   उनले दानपेटिका हराएको थाहा पाएपछि तत्काल  प्रहरीलाई खबर गरेको बताए ।

  पोखरा ।   पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग प्रतिस्पर्धाका लागि कोर्ट उत्रदैछन । बलियो प्रतिस्पर्धी मानिएका जेम्स एटिपीका उत्कृष्ट सय भित्रका खेलाडी हुन् ।   प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् ।   १५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढि राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । टेनिस खेल्नका लागि १५ वर्षको कलिलो उमेरमै घर छाडेर विदेशिएका अभिषेकले यसअघि अमेरिकाको एक कलेजमा ९० प्रतिशत स्कलरशिप पाएका थिए । उनले यसअघि दुई वर्ष सम्म युनिर्भसिटी स्तरिय थुप्रै प्रतिस्पर्धाहरुमा सहभागिता जनाइसकेका छन् ।   आउँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी गण्डकीको टिमबाट कोर्ट उत्रने बताइएको छ । प्रदेशले पनि उनीबाट स्वर्ण पदकको आशा राखेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले बताए । अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि प्रायोजकको खाँचो रहेको बाँस्तोलाले बताएका छन् । ‘कोच, फिजियोसंगै लिएर हिंडन निकै खर्चिलो छ, पारिवारिक श्रोतले मात्रै यो खर्च धान्न गाह्रो छ’–बाँस्तोलले भने ।

  कैलाली ।  कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।   प्रनाउ जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ६० तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।