काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित भएका परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आ...

भरतपुर:   भरतपुर महानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई बस वितरण गरेको छ । वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो ।        महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न पाँच विद्यालयलाई बस उपलब्ध गराएको थियो । प्रति बसको मूल्य रु २१ लाख ४५ हजार रहेको छ । विद्यालयबाट टाढा रहेका विद्यार्थीका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।        भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न महानगर लागिपरेको बताउनुभयो । उहाँले महानगरको शिक्षा क्षेत्रमा आफूले सोचेको भन्दा बढी विकास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत पाँच वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको छ ।”       सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि महानगरले विभिन्न कार्यक्रम गरी सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउन काम गरिरहेको छ । दाहालले भन्नुभयो, “पाँच वर्षमा सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी बढेका छन् ।” विद्यालयमा आधुनिक भवन निर्माण, छात्रालाई साइकल वितरण, विद्यालयलाई बस, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरणलगायत गरेको उहाँको भनाइ छ । महानगरपालिकाले ‘एक वडा, एक नमूना विद्यालय’ निर्माणको लक्ष्य लिएको छ । 

 झापा:    सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् ।       विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका छन् ।      परियोजनाले चालु आर्थिक वर्ष २०७८÷७९ मा सुपारी किसानलाई उत्पादन र बजारीकरणमा सहज तुल्याउने उद्देश्यले प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा सहकारी र व्यक्तिले सञ्चालन गरेको उद्योगमा लगानी गरेको कार्यालय प्रमुख रवीन्द्र सुवेदीले बताउनुभयो । झापामा २०७५ साउनदेखि सञ्चालनमा आएको सुपारी जोन कार्यक्रमपछि किसान उत्साहित छन् । जोनमा समावेश गरिएको सुपारी बालीमा पूर्वाधार विकास, व्यवसायीकरण एवं प्रशोधनतर्फ केन्द्रित रहेर परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।        सरकारले प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई समेट्ने गरी ७८८ हेक्टर जमिनमा सुपारी जोन कार्यक्रम सञ्चालन गरेको सुवेदी बताउनुहुन्छ । चालु आवमा सुपारी जोनअन्तर्गत दुई सुपारी प्रशोधन उद्योग र दुई सुपारीको पातबाट दुनाटपरी बनाउने उद्योगलाई ५० प्रतिशत अनुदान रहने गरी रु ८० लाख अनुदान उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।      विगत ३० वर्षदेखि सुपारी खेती गर्दै आउनुभएका मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका केदार रिजाल सुपारी प्रशोधन उद्योग सञ्चालनमा आएसँगै खुसी हुनुहुन्छ । उहाँले परियोजनाको रु २० लाख तथा आफ्नो रु २० लाख लगानीमा सुपारी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ । उहाँलाई परियोजनाले सुपारीको बोक्रा छोडाउने मेसिन, प्याकेजिङ, कटिङ मेसिन खरिद र गोदाम घर निर्माणका लागि अनुदान उपलब्ध गराएको छ । आफूले मात्र होइन स्थानीयले उत्पादन गरेको सुपारी खरिद गरी प्रशोधन गरेर बजीकरण गर्ने गरेको रिजालले बताउनुभयो ।       “यो अनुदानले राहत मिलेको छ”, उहाँले भन्नुभयो, “अब आधुनिक किसिमले प्रशोधन गर्दा जनशक्ति कम लाग्ने र काम गर्न सजिलो भएको छ ।” खरिद बिक्री केन्द्र सञ्चालन गर्दै आउनुभएका रिजालले मेसिनको सहयोगमा एक घण्टामा १० क्विन्टल सुपारी छोडाउने गरेको बताउनुभयो ।       परियोजनाले बुद्धशान्ति गाउँपालिका–१ स्थित श्री कृष्ण सुपारी सहकारीलाई रु २० लाख ५० प्रतिशत अनुदान सहयोग प्रदान गरेको छ । यो जिल्लाकै ठूलो सुपारी प्रशोधन उद्योग हो । सुपारी जोनका अध्यक्ष निलकण्ठ तिवारीका अनुसार जिल्लामा करिब दुई हजार ७०० हेक्टर जमिनमा सुपारी खेती हुँदै आएको छ । सुपारी जोन कार्यक्रमपछि उत्पादन बढेको छ । किसानले नयाँ प्रविधिबारे ज्ञान हासिल गरेका छन् । यसअघि सरकारले सुपारी जोनका लागि बजेट नछुट्याउँदा काम गर्न नसकिएको तिवारी बताउनुहुन्छ । सुपारी जोनका लागि सङ्घीय सरकारसँग रु सात करोड बजेट माग गरेको अध्यक्ष तिवारीले बताउनुभयो । सुपारी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन पहल गर्नुपर्ने उहाँको भनाइ छ ।  

काठमाण्डौँ:    प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहनुभएको बताउनुभएको छ ।      आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तका कविताले तत्कालीन नेपाली समाजको यथार्थलाई सरल तरिकाले चित्रण गर्नुका साथै समाजका लागि शिक्षा र सकरात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । भाषिक एकीकरणका नायक भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुयाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले रसिला साहित्यिक रचनाको माध्यमबाट आध्यात्मिक चेतना र जागरण फैलाई समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न आदिकवि भानुभक्तले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभएको छ ।      आदिकवि भानुभक्तले रामायणजस्तो मौलिक, सांस्कृतिक महाकाव्यका साथै प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, रामगीताजस्ता काव्य र उल्लेख्य फुटकर कविताको रचना गरेर नेपाली काव्य साहित्यको बलियो जग बसाल्नुभएको छ । नेपाली भाषामा पहिलो महाकाव्य सिर्जना गर्ने उहाँ सबैका लागि आदरणीय व्यक्तित्व हुनुहुन्छ ।      आदिकवि भानुभक्तका रामायणलगायत कालजयी साहित्यिक कृतिहरू अहिलेसम्म पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति भानुभक्त जन्मजयन्तीको अवसरमा उहाँलाई श्रद्धापूर्वक स्मरण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यो दिवसले आदिकवि भानुभक्तको जीवनी र चरित्रबाट शिक्षा लिँदै सबैलाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्दै उहाँप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

काठमाण्डौँ:     नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।      संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।       पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।      ‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।      नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरुको धारणा छ ।      त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ ।         घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।     भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।

म्याग्दी  :  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन् ।    रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताउनुभयो । “बेनी–जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ताबिनै, मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर सञ्चालन गरेको पाइयो”, उहाँले भन्नुभयो “हामी अनुगमनमा जाँदा भागाभाग भयो । कसले कसरी सञ्चालन गरेको हो भन्ने विषयमा जानकारी छैन् ।”   सो क्रसरको विषयमा अनुगमन र छानबिन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । स्थानीयवासीका अनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि र सरोकारवाला स्थानीय तह निर्वाचनमा केन्द्रित भएको मौका छोपेर गत वैशाख महिनामा क्रसर उद्योग स्थापना भएको थियो । केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालको अनुमति दिएको छैन् । सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खननमा रोक लगाएको छ ।    विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भए पनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।    कालीगण्डकी नदी किनारका निजी जग्गामा क्रसर उद्योगका संरचना बनाउन थालेपछि स्थानीयवासीले विरोध जनाउँदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका थिए । प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले अनुगमन र निगरानी गरेपछि त्यसबेला क्रसर स्थापना हुन सकेको थिएन् ।

लमजुङ। गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।   सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि याे खण्डसमेत पटक–पटक बाढीपहिराले अवरुद्ध बनाउँदै आएको छ ।   सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।   पहिरोले बेँसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ ।  गए रातिको वर्षाले बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा पहिरो खस्दाउक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन । उक्त स्थानमा सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेँसीसहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।   यस सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो । ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रुहरू मर्कामा परेका छन् ।  

उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लावारीले गत मङ्गलबार ८ जना थुनुवा लिएर विराटनगर हिँडेको गाडी पथरीशनिश्चरेको जय चौक नपुग्दै बिग्रियो । अघिल्लो दिन मात्रै मर्मत गरी चलाएको बा १ झ ६४५० नम्बरको गाडी बाटोमै बिग्रिएपछि प्रहरीलाई थुनुवा अदालत पुर्याउन समस्या भएको थियो र बाटामै बिचल्लीमा परेको थियो । समयमै थुनुवालाई अदालतमा हाजिर गराउन नसक्दा समस्या हुने गरेको प्रहरीले जनाएको छ ।    उर्लाबारीबाट विराटनगरको दूरी एकतर्फी ७० किलोमिटर छ । प्रहरीले दैनिकजसो थुनुवा लिएर अदालतमा म्याद थप्न जानुपर्छ । तर,पुराना गाडी बाटैमा बिग्रिन्छन् । कहिले नगरपालिकासँग गुहार माग्नुपर्छ । कहिले बाटैबाट निजी गाडी भाडमा लिएर अदालत जानुपर्छ । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा दुई वटा सवारी साधन छन् । २० वर्ष पुराना दुई वटै सवारी साधन बारम्बार बिग्रिरहँदा प्रहरीलाई थुनुवाको म्याद थप्न लान र ल्याउन समस्या भएको छ ।    इलाका प्रहरी कार्यालय उर्लाबारीमा अर्को बा १ झ ७३५९ नम्बरको पनि गाडी छ । त्यो गाडी मर्मतका लागि विराटनगर पु¥याएको २ महिना भयो । तर, मर्मत भएर आएको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले भन्नुभयो, विभागसँग माग गरेका छौं । तर, गाडी प्राप्त भएको छ । हामीले भएको स्रोत साधन प्रयोग गरेर काम गर्ने हो । मर्मतका लागि पनि स्थानीय सरकारले सहयोग गरिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।    इलाका प्रहरी कार्यालय उर्लाबारीले मिक्लाजुङ र उर्लाबारी नगरपालिकाको सुरक्षा व्यवस्था हेर्ने गर्छ । मिक्लाजुङ गाउँपालिका धनकुटा, पाँचथर र इलामसँग जोडिएको पहाडी क्षेत्रमा पर्छ । प्रदेश १ को सरकारले दुई करोड १५ लाख रुपियाँ खर्चेर इलाका प्रहरी कार्यालयको भव्य भवन निर्माण गरिदियो । सुविधा सम्पन्न भवन निर्माण भए पनि गाडीको प्रबन्ध मिलाइदिन न प्रदेश सरकारले चासो गरेको छ, न सङ्घीय सरकारले । 

  पोखरा:  आठौं मिस एसईई २०२२ को उपाधि म्याग्दीकी लिया पुनले जितेकी छन् । शनिबार पोखरामा भएको प्रतियोगितामा १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बेनी स्थित न्यू वेस्ट स्कूलकी पुनले उपाधि जितेकी हुन् । उपाधिसगैँ उनले हिरोको स्कुटर र चाँदीको ताज प्राप्त गरिन् ।    यस्तै प्रतियोगितामा शिशु निकेतन स्कुल पोखराकी कलस पौडेल दोस्रो र मदरल्याण्ड स्कुलकी दिक्षा कोइराला तेस्रो भए । उनिहरु दुबै जनाले चाँदीको ताज प्राप्त गरेको आयोजक इभेन्ट फरयु का अध्यक्ष तथा कार्यक्रम संयोजक बिशाल गुरुङले जानकारी दिए । सो प्रतियोगितामा डोल्पा, म्याग्दी, चितवन र पोखराका युवतीहरुको सहभागिता रहेको थियो ।    प्रतियोगिताको निर्णायकहरुमा पत्रकार दिपेन्द्र श्रेष्ठ, मदरल्याण्ड स्कुलका फाउन्डर त्रिभुवन शर्मा, पोखरा जेसिसका अध्यक्ष मिनराज खड्का, लायन्स कल्ब  अफ पोखरा मेट्रो सिटीका अध्यक्ष सरोज वाग्ले, इभेन्ट अर्गनाइजर चितवनकी मिना झा, सामाजिक अभियन्ता दुर्गा घिमिरे, मिस एसईई पोखरा २०१६ कि प्रेरणा पराजुली र २०१८ कि श्रेया अधिकारी रहेका थिए । कार्यक्रमको कोरियोग्राफी द ¥याम्पका डाइरेक्टर जयनसुब्बा मान्नधरले गरेकी थिइन् ।

  पोखरा:   गण्डकी प्रदेश सभा सदस्य धनमाया लामाले आफ्नो जेठाजुको स्मृति कोषमा ५० लाख बजेट विनियोजन गरेको पाइएको छ ।    गण्डकी प्रदेश सभा सदस्य लामाले जेठाजु भिमसेन पोखरेलको नामको भिमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख विनियोजन गरेका हुन् । गोरखाको सिरानचोक गाउँपालिका ५ स्थित राष्ट्रियस्तरको ‘ १० वर्षे माओवादी जनयुद्ध, मधेस आन्दोलन लगायतका युद्धका विषय समेटेर युद्ध संग्रहालय बनाउने उद्धेश्यले बजेट सिफारिस गरेकी थिइन् ।    यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबा गोबद्र्धन शर्माको स्मृतिमा तनहुुँको व्यास नगरपालिकामा स्थापित कोषलाई ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबाआमाका नाममा स्थापित पुननारायण– धनकुमारी श्रेष्ठ परोपकारी कोषमा ५० लाख रुपैयाँ र सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।    कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुुन जोशीका पिता अमृत जोशीको स्मृति पार्कका लागि २० लाख रुपैयाँ, सोही नगरपालिकाका पूर्वउपप्रमुख सीता काफ्लेका दिवंगत पतिको नाममा स्थापित डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैयाँ, सांसद विनोद केसीका सहोदर दाइका नाममा म्याग्दीको बेनी नगरपालिका– ७ मा स्थापित सहिद मदन केसी स्मृति भवन निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ ।    बागलुङकी सांसद पियारी थापाको सिफारिसमा काठेखोला गाउँपालिका–४ स्थित जिमाक सांस्कृतिक संग्रहालयका लागि ६० लाख रुपैयाँ विनियोजन भएको छ ।    स्थापित कोषलाई बजेट खर्च नदिने    गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको सबैतिर विरोध भएपछि आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानका नाममा विनियोजन बजेट खर्चलाई प्राथमिकता नदिने निर्णय भएको छ ।   मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत मुख्यमन्त्री,मन्त्री, सांसदहरुको आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानका नाममा विनियोजन बजेट खर्चलाई प्राथमिकता नदिने निर्णय भएको उल्लेख गरिएको छ ।