बागलुङ: बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो । पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको छ । कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने विद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए । उनीहरुका परिवारलाई मासिक रु एक हजार पाँच सयका दरले भत्ता दिने निर्णय गरिएको विकले बताउनुभयो । घाइते तथा अपाङ्गताको हकमा परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि रु पाँच सयदेखि रु एक हजार भत्ता दिने निर्णय गरिएको छ । गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भीर घाइते भएका थिए । पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएका परिवारलाई रोजगारी दिने गरी नीति बनाएको छ । पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ ।
काठमाडौँ: यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटेको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्नुभएको हो । “कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा समायोजन नहुनु दुःखको कुरा हो,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक सवारी साधनको कर, बैंकको व्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनका इन्जिनको मूल्य अत्यधिक बढ्दा यातायात व्यवसायीहरु ठूलो मारमा परेको बताउनुभयो । “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा तत्काल समायोजन हुनुपर्छ”, उहाँले भन्नुभयो । महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएबापत नेपाल सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतका दिनमा ६० प्रतिशत सहुलियत दिँदै आएकामा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिन माग गरेको छ ।
कास्की । ४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘सफल व्यवसायीका लागि स्वास्थ्यताको माध्यम खेलकुद’ भन्ने मुल नारासहित आगामी साउन २० गतेबाट पोखरामा हुने तेस्रो प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर कमिटीको संयुक्त आयोजना र जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले जानकारी दिए । उनका अनुसार पोखरा रंगशालास्थित व्याड्मिन्टन कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश स्तरीय खुला मेन्स डबल्स र भेट्रान्सका खेल समावेश गरिएको छ । दुवै इभेन्टतर्फ प्रथमलाई नगद ३५ हजार, द्वितीयलाई नगद २५ हजार र तृतीयलाई १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने कोइरालाले बताए । उनका अनुसार प्रतियोगिताका खेल साउन २० र २१ गते चल्नेछ ।
पोखरा: इतिहासका पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन् । इतिहास अनुसार १८–१९औँ शताब्दीतिर कास्कीको उत्तरी भेग हालको अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा पिँढीमा विद्यार्थीलाई राखेर गुरुशिष्य परम्परा अनुसार संस्कृत तथा त्यससँगै जोडिएका वेद तथा चण्डी आदिको पठनपाठन हुन्थ्यो । त्यसै समयदेखि पाउँदुरसहित विन्ध्यवासिनी आसपासका क्षेत्रमा हुने गरेका पठनपाठनका कारण कास्की शिक्षाको केन्द्र जस्तै बनेको थियो । पाउँदुरमा पौडेल थरका गुरुले आफ्ना शिष्यहरूलाई पिँढीमा राखेर पढाउने भएकै कारण पोखराको शैक्षिक विकास पिँढी पाठशालाबाट सुरु भएको यस क्षेत्रका अध्येताहरू बताउँछन् । तत्कालीन समयमा विन्ध्यवासिनी र आसपासमा पराजुली तथा रेग्मी थरका विद्वानले गुरुशिष्य परम्पराअनुसार नै पठपाठन गराएइका कारण देशका विभिन्न स्थानबाट पोखरामा पढ्नका लागि विद्यार्थी आउने गर्दथे । त्यसै बेलादेखि शिक्षा नपाए काशी कि कास्की भन्ने प्रचलन भएको अनुमान गरिन्छ । पछिल्ला समयमा आधुनिक शिक्षाको नाममा संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएका अवस्थामा पोखरामा भने यसप्रतिको आकर्षण घटेको देखिदैन । संस्कृत पढ्नकै लागि देशका विभिन्न स्थानबाट भीमकालीपाटन बगरस्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्यार्थी आउने गरेका छन् । संस्कृत प्रेमीको सक्रियतामा २०५० सालमा स्थापित यो विद्यापीठ २०५३ सालमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को आङ्गिक क्याम्पस बनेको थियो । त्यस्तै पोखराको संस्कृत माध्यमिक विद्यालय, चिसाखोला विद्याश्रम, नारायणस्थान, परोपकार सङ्घ ढुङ्गेसाँघु, राधाकृष्ण गुरुकुल विद्याश्रम लामेआहाल, विन्ध्यवासिनी, गुप्तेश्वर महादेव गुफालगायतका स्थानमा संस्कृत विषयमा विद्यालय तहसम्मको पठनपाठन भइरहेको छ । विन्दुवासिनी संस्कृत विद्यापीठमा फलित ज्योतिष, साहित्य तथा संस्कृत व्याकरण विषयमा चार वर्षे शास्त्री तहको पठनपाठन हुँदै आएको छ । विद्यापीठमा प्राक्शास्त्री समेत गरी करिब १०० सङ्ख्यामा विद्यार्थी अध्ययन गरिरहेको विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मी बताउनुहुन्छ । विद्यापीठमा विभिन्न जातजातीका विद्यार्थी अध्ययन गरिरहेका छन् । संस्कृत शिक्षामा अनुसन्धानको आवश्यकतालाई दृष्टिगत गरी विद्यापीठले अनुसन्धानात्मक गतिविधिलाई पनि प्राथमिकताका साथ अघि बढाएको उहाँले जानकारी दिनुभयो । विद्यापीठमा अनुसन्धानात्मक कार्यलाई जोड दिँदै अनुसन्धान व्यवस्थापन समितिमार्फत अनुसन्धानात्मक जर्नल निकाल्न थालिएको प्रचार्य डा रेग्मीले बताउनुभयो । विद्यापीठमा आचार्य(स्नातकोत्तर) तहको पठनपाठनको तयारी गरिएको छ । पोखरामा औपचारिकरुपमा विसं १९५८ मा देव शम्शेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ । विद्यार्थीको अभावमा देशका विभिन्न स्थानका संस्कृत विद्यालय बन्द हुने अवस्थामा पुगेपनि पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बर्सेनि बढ्दो छ । विद्यालयमा हाल २०० भन्दा बढी सङ्ख्यामा विद्यार्थी पढिरहेको विद्यालयका प्रधानाध्यापक गोविन्द सिग्देलले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनतरत विद्यार्थीलाई कक्षा ५ देखि माथि आवासीय सुविधा प्रदान गरिएको उल्लेख गर्दै उहाँले हाल करिब २० देखि ३० जनासम्म विद्यार्थीले आवासीय सुविधा लिएको बताउनुभयो । विद्यालयमा ब्राह्मण मात्र नभइ महिला तथा दलित समुदायका विद्यार्थी अध्ययन गरिरहेका छन् । गुणस्तरीयतालाई लक्षित गरी विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाटै पठनपाठन सुरु गरिसकेको छ । संस्कृत माविमा अध्ययन गर्नेले कक्षा ६ भन्दा माथि कूल ८०० पूर्णाङ्मध्ये २०० अङ्कको मात्र संस्कृत पढ्नुपर्छ । अन्य साधारण माविमा जस्तै हो भन्ने आम जनमानसमा जानकारी गराउन नसक्नाले पनि संस्कृत शिक्षाप्रति अझै विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्न नसकेको यस क्षेत्रका जानकार बताउँछन् । विद्यालयमा कक्षा ११ र १२ सम्मको पठनपाठन भइरहेको छ । विगतमा संस्कृत केवल ब्राम्हण समुदायका ले मात्रै पढ्ने भनिए पनि पछिल्ला समयमा सबै जातजातीको यसतर्फ आकर्षण बढेको छ । विद्यालयमा करिब ५० प्रतिशत ब्राम्हण समुदायका छन् भने ५० प्रतिशत दलित तथा जनजाती समुदायका रहेको प्रधानाध्यापक सिग्देलले जानकारी दिनुयो । समाजमा नैतिकता, सदाचारको खडेरी पर्दै गएको अवस्थामा पछिल्लो समयमा संस्कृत शिक्षाको आवश्यकता तथा महत्व बढ्दै गएको देखिन्छ । जिल्लामा सञ्चालित गुरुकुल तथा विद्याश्रमको पठनपाठनकोस्तर राम्रो रहेको जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले बताउनुभयो ।
बाजुरा: जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । बूढीनन्दा–२ कोल्टीकी ३० वर्षीया मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की २२ वर्षीया जेनी राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुवै महिलालाई लामो समयदेखि सुत्केरी व्यथा लागेको भए पनि जिल्लामा सुत्केरी हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरमा सुविधासम्पन्न अस्पतालमा उद्धार गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका दर्जनौँ गर्भवतीको उद्धार गरिएको छ । उक्त कार्यक्रम दुर्गम तथा विकट जिल्लाका लागि प्रभावकारी बन्दै गएको छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले सक्रियतापूर्वक समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल–भारतबीचमा भइरहेको ऊर्जा व्यापारलाई थप विस्तार गर्दै लैजानका लागि आपसी सहकार्य सक्रिय बनाउनुपर्ने बताउनुभयो । नेपाल र भारतबीच सम्झौता भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तुल्याउनका लागि दुवै पक्षले पहल गरेर नतिजा दिन ढिला गर्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा आयोजना निर्माणका लागि द्विपक्षीय तयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले आफूले भारतका जलविद्युत् तथा सिँचाइसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग निरन्तर छलफल गरिरहेको जानकारी गराउँदै आगामी दिनमा दुई देशबीच सहमति भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तवरले अगाडि बढाउन पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले दुई देशबीच हुँदै आएको ऊर्जा व्यापारलाई थप विस्तार गरी आपसी लाभ लिने विषयमा भारत तयार रहेको बताउनुभयो ।
काठमाडौं: जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण गर्न लागिएको हो । सो दिन बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारको परिचयपत्र बनाइने भएकाले अनिवार्य उपस्थितिका लागि शाखाका सचिव रामहरि कार्कीले अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “कामको व्यस्तताले गर्दा पत्रकारले यस पत्र बनाउन नभ्याएसँगै हामीहरुले उहाँहरुको समस्यालाई मध्यनजर गरी यस कामको सुविधा दिन लागेका हौँ ।” सो सेवा सदस्यहरुले पाएसँगै सम्बन्धित कार्यालयमा हुने दैनिक चाप र घण्टौँ बस्नुपर्ने लाइनको समस्याबाट पत्रकारहरु मुक्त हुने उहाँको बुझाइ छ । सो परिचयपत्र बनाउन आउँदा हरेक पत्रकारले अनलाइन फारम भरेको विवरणको प्रिन्ट तथा विवाहिताको हकमा सक्कल विवाह दर्ता गरेको प्रमाणपत्र एवं सक्कल नागरिकता र अविवाहिताले भने सक्कल नागरिकता अनिवार्य लिएर आउन सचिव कार्कीले आग्रह गर्नुभएको छ ।
काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
झापा: झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ । गौरादह–९ स्थित कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुनधुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो ।