ताप्लेजुङ: ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
काठमाण्डौँ: नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी बस्ने २५ वर्षीय रमेश राईलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले विसं २०७८ फागुन २७ गते काठमाडौँमा हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन गरी फरार रहेका राईलाई झापाको खुदुनाबारीबाट आज पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले राईसँग हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन संलग्न झापाका ५८ वर्षीय भक्तिकुमार लिम्बू र झापाकै ४२ वर्षीय अशोक कार्की र पाँचथरका ४३ वर्षीय रमेश सुवेदीलाई यसअघि पक्राउ गरिसकेको छ । पक्राउ परेकाबाट प्रहरीले १५.६८ किलोग्राम हात्तीको दाह्रा बरामद गरिसकेको छ । राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेशको दशौं अधिवेशन तथा अठ्ठाइसौं प्रदेश सभाको बैठकबाट आज (बिहीबार) बजेट पास भएको हो । प्रदेशका अर्थमन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९-०८० का लागि असार १ गते ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेका थिए । गण्डकी प्रदेशका सांसदहरुबीच तालमेल नमिल्दा बजेटउपर छलफल लम्बिएको थियो । पूर्व सरकारले राखेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्री बरालले कटौटी गरेपछि सत्तारुढ दलमा विवाद चुलिएको थियो । सो कार्यक्रमलाई फरक शिर्षकबाट समेट्ने प्रतिवद्धता पछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि आज (बिहीबार) बजेट पारित भएको हो ।
पोखरा: पोखराको अन्नपूर्ण केवलकार एक साता बन्द हुने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केवलकार बन्द गर्न लागिएको जनाएको छ । सूचनामा असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने उल्लेख गरिएको छ । जापानी प्राविधिकहरुले केवलकारको परीक्षण पश्चात साउन ७ देखि केवलकार नियमितरुपमा संचालनमा आउने कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले बताए । पोखरामा अन्नपूर्ण केवलकार कम्पनीले सेदी सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर सञ्चालन गरिरहेको छ । फेवाताल किनारको सेदीदेखि सराङकोटसम्म आउजाउ गर्ने पर्यटकलाई लक्षित गरि केवलकार सञ्चालन गरिएको हो । केवलकार फागुन ६ गतेदेखि नियमित सञ्चालनमा आएको थियो ।
काठमाण्डौँ: देशभर आज २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार आज तीन हजार ८४४ जनामा परीक्षण गरिएको थियो । आज थपिएकासहित सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १७१ पुगेको छ । सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ८५८ पुगेको छ । मन्त्रालयका अनुसार यो दर ९८।७ प्रतिशत हो । काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको छ । शून्य सङ्क्रमित भएका जिल्ला १२ रहेका छन् । अहिलेसम्म होम आइसोलेसनमा एक हजार १४८, संस्थागत आइसोलेसनमा २३ भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा १४ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ७२ हजार ३२० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
काठमाडौं: जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् । यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गरेकी छिन् ।
काठमाण्डौँ: राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामािजक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । गृहमन्त्री खाणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता राज्यको दायित्व भएपनि यसलाई व्यवस्थित बनाउनु आवश्यक रहेको बताउनुभयो । यस्तै, बैठकले प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९’ पारित गरेको छ । सो विधेयक बहुमतले पारित भएको हो । यस्तै, बैठकले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । यस्तै, ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई पनि बैठकको बहुमतले पारित गरेको हो । मन्त्री कोइरालाले संविधान अनुसार अध्यादेश संसदमा पेश गर्नुपर्ने व्यवस्थाका कारण प्रस्तुत गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रियसभाको तर्फबाट यौन हिंसाको सम्बन्धमा पारित गरेको संकल्प प्रस्तावलाई समेत स्वागत गर्ने र त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेर अगाडि लैजान तयार रहेको बताउनुभयो । त्यसअघि बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका तीन विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभयो । सचिव फुँयालले जानकारी गराउनुभएका ती विधेयकमा ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), २०७९’ र रेल्वे विधेयक, २०७९’ छन् । बैठकमा दिगो विकास तथा सुशासन समितिका ज्येष्ठ सदस्य वामदेव गौतमले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७७/०७८’ सभामा पेश गर्नुभयो । त्यस्तै, विधायन समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले ‘ विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७७/७८’ सभा समक्ष पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक साउन २ गते सोमबार १ बजे बस्नेछ ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा बुधबार पहिराले धेरै घर बगाएको र जनजीवनसमेत प्रभावित बनाएकोे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा समय मागेर बोल्दै सांसद अधिकारीले त्यहाँका पहिरो प्रभावितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा समय मागेर बोल्दै सांसद समिना हुसेनले अन्यायका विरुद्धमा बोल्दा विद्यार्थीहरू थुनामा राखिएको र त्यसविरुद्धमा केही विद्यार्थी आमरण अनशन बसेको सदनमा जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य अवस्था गम्भीर भएर विद्यार्थीलाई आइसीयूमा राखिएको जानकारी गराउँदै त्यसतर्फ गम्भीर हुन सरकारसँग आग्रह गर्नुभयो । अर्का सांसद राजेन्द्रकुमार केसीले बाढी, पहिरालाई मात्रै हेर्ने विभाग नहुँदा मुलुकमा विपद्को समस्या झन् बढिरहेको बताउनुभयो । उहाँले काठमाडौँको पहाडी भू–भाग बाढीपहिराको उच्च जोखिममा रहेको जानकारी गराउँदै त्यसबाट बस्ती जोगाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गण्डकी: “जम्मा हुन्छन् किसानगण यी बीज मानो छरेर देख्छन् होला मधुर सपना काम राम्रो गरेर । खन्छन् जोत्छन् जमिन सबले घामपानी सहेर हाम्रो यस्तो श्रम र पसिना फल्छ जाँदैन खेर ।।” कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’ को सम्झनामा असार शीर्षकको कवितामा भनेजस्तै नेपालमा असार महिनालाई मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिने गरिएको छ । श्रम र पसिना खर्चेर उत्पादनमा जोड दिने किसान भने समस्या नै समस्यामा अल्झिनुपर्ने विवशता यतिखेर गम्भीर चुनौतीको विषय बनेको छ । कृषिको आधुनिकीकरणको अभावमा अझै पनि निर्वाहमुखी कृषि पेशा अँगाल्नुपर्ने बाध्यताका साथै प्रत्येक वर्ष मल र बीउ नपाएर भौतारिनुपर्ने समस्याले आम किसान ग्रस्त भएकोे अगुवा किसान हरिप्रसाद आचार्य बताउनुहुन्छ । संरक्षणको अभावमा रैथाने प्रजातीका धान लोप भइसकेको र रोपाइँको समयमा कृषि मल नपाउँदा त्यसले उत्पादनमा पनि ह्रास आउने गरेको उहाँ बताउनुहुन्छ । “असारको अन्त्यसम्म आइपुग्दा रासायनिक मलको अभावले रोपिएका खेतमा पनि मल राम्रोसँग राख्न पाइएको छैन”, कुर्लिङ बराह किसान समूहका अध्यक्षसमेत रहनुभएका आचार्य भन्नुहुन्छ, “दुःख गरेर उत्पादन गर्ने काममा लागेका किसानलाई रोप्ने बेलामा मलको अभाव हुनु जटिल विषय हो, यसबारे राज्यले सोच्नु जरुरी छ ।” पछिल्ला समयमा घडेरी बनाउने नाममा धान खेत मासिँदै गएको र रोप्ने खेतमा पनि समयमा मल बीउ नपाउँदा समस्या पर्ने गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला वर्षमा कास्की र आसपासका क्षेत्रमा लगाउने गरिएका रैथाने जातका धान लोप हुँदै गएको छ । “कास्कीको सुरौदी र आसपासका क्षेत्रमा विगतमा लगाउने गरिएको मगमग बास्ना आउने रमनी धानको बीउ अहिले पाउन सकिदैन”, कृषक आचार्य भन्नुहुन्छ, “पछिल्ला वर्षमा यहाँ पाइने ढावे गौरिया, वीरेनफूल, कृष्णबौ, चोभोजस्ता धानका बीउ हराइसकेका छन् ।” तालैतालले भरिएका कास्की जिल्लाका अधिकांश स्थानमा पाइने जङ्गली धान नाभो लोप भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । धानको अति प्राचीन प्रजाति नाभोबाटै विस्तारै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननी मानिन्छ । पछिल्ला वर्षमा रासायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको सम्बद्ध किसानको गुनासो छ । झण्डै डेढदशक अघिसम्म सुरौदी, मालमूल, कुडहर, विरौटालगायत स्थानमा फल्ने गरेका पहेँले, जेठोबुढोलगायत बास्नादार धानमा अहिले भने बास्ना आउन छोडेको उनीहरु बताउँछन् । रासायनिक मलको बढ्दो प्रयोगसँगै उत्पादन बढाउने नाममा वर्णशङ्र जातका धानको बीउ बढी प्रयोग हुनाले रैथाने जात हराउँदै गएको अर्का किसान भवानी सुवेदी बताउनुहुन्छ । स्थानीय किसानका अनुसार पछिल्ला वर्षमा गौरिया, बिरम्फूल, आँगा, रमनी, रुदुवा मार्सीजस्ता धान देखिन छोडेको छ । नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो ९पहेँले०, मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेका छन् । कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेँले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायत धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा कास्कीका अधिकांश स्थानमा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंलेजस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । रैथाने प्रजाती हराउनाका साथै कृषिमा इच्छा राख्नेले समयमा मल तथा बीउ नपाउनु पनि कृषि क्षेत्रको ठूलै समस्याका रुपमा देखापरेको छ । यस वर्ष पनि कास्कीका अधिकांश स्थानमा जेठको तेस्रो साताबाटै रोपाइँ थालिए पनि असार मसान्तसम्म पनि मलको अभाव नै रहेको किसान आचार्यको भनाइ छ । राम्रो उत्पादनका लागि मल आवश्यक भए पनि त्यसलाई सहज रुपमा पाउन नसक्दा किसान चिन्तित बनेको उहाँ बताउनुहुन्छ । विशेषतः धान रोप्ने बेलामा डिएपी र पोटासजस्ता कृषि मल भण्डारण गर्नु आवश्यक हुने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाको भनाइ छ । उत्पादन बढाउनका लागि ती मल रोप्ने बेलामा छर्नुपर्ने भए पनि सहज रुपमा प्राप्त हुन नसक्दा किसान समस्यामा परेको उहाँ बताउनुहुन्छ ।