महोत्तरी: महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।
नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ । संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत छ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भन्नुभयो । उहाँ हाल फेडेरेशन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै हुनुहुन्छ । यसका बारेमा खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उहाँले बताउनुभयो । विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ । त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो । यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो । जैविक विविधता अनुसन्धानका क्रममा सुरुमा मोरङको मिक्लाजुङ क्षेत्रको जङ्गलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिनुभयो । नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौँ भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उहाँले बताउनुभयो । “सुरुमा अलि लामो पुच्छर भएको छेपारो देख्यौँ, त्यो बेला समाउन सकेनौँ, फोटोबाट हेर्न गाह्रो हुन्छ, त्यस दिन बसेर खोज्यौँ, अर्को दिनचाहिँ फेरि फेला पार्यौँ र नापजाँच गर्यौँ”, गौतमले रासससँग अनुभव सुनाउँदै भन्नुभयो, “अध्येता सन्तोष सर (सन्तोष भट्टराई)लाई जानकारी गराएँ, हामीले त्यसको एक हप्तामै अड्कल चाहिँ काटिसकेका थियौँ, अहिले जर्नलमै आयो, फेमिली नै नयाँ, प्रजाति नै नयाँ फेला पारी संरक्षणमा योगदान दिन पाइयो, खुसी छौँ ।” यसको शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो रङ हुने यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ । यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो । नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ । चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराईले बताउनुभयो । उहाँका अनुसार यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएको थियो । नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको बासस्थानको निरन्तर विनास, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण सङ्घ (आइयुसीएन)को रातो किताबमा यो प्रजातिलाई ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ । नेपालमा तीव्रदरमा भइरहेको चुरेको दोहन र बासस्थानको विनासले यो प्रजातिमा कस्तो असर परिरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी छ । चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, बासस्थान विनाश, ढुङ्गा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजाति नेपालमा फेला पर्नुअघि नै लोप हुनसक्ने खतरा रहेको संसरक्षणकर्मीहरू बताउँछन् । उहाँहरुले सरकारलाई चुरे क्षेत्रमा जैविक विविधताको पकेट क्षेत्र पहिचान गरी संरक्षणको ठोस कार्यक्रम लागू गर्न र प्राथमिकतामा नपरेका सरीसृप प्रजातिको अध्ययन अनुसन्धान बढाउनुपर्ने सुझाव दिनुभएको छ ।
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बाँस्तोलाका नेतृत्वमा नयाँ समीकरण बनेको छ । निर्वाचनमा नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बाँस्तोलाको नेतृत्वमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) समर्थित पर्यटन व्यवसायी सहकार्य गर्न तयार भएका हुन् । कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) र एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनबीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको हो । टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा दुवै सङ्गठन सहकार्य गरेर जाने सहमति भएको निटका अध्यक्ष दीपक महतले जानकारी दिनुभयो । यस्तै बाँस्तोला नेतृत्वमा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले पनि सहकार्य गर्ने जनाइएको छ । अध्यक्ष महतले टान नेतृत्व चयनका लागि तीन सङ्गठनबीच सहकार्य गरेर जाने समझदारी बनेको जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनलाई पनि राष्ट्रिय सहमतिका साथ सहकार्य गरेर जान आह्वान गरिएको बताउनुभयो । उहाँले निर्वाचनमा सहकार्य गर्ने निर्णय भए पनि अध्यक्ष बाहेकका अन्य पदाधिकारी र सदस्यमा पद बाँडफाँटको पहल भइरहेको उल्लेख गर्नुभयो । टान निर्वाचनमा अध्यक्षका प्रत्यासी बाँस्तोलाले उम्मेदवारी घोषणा गरेर आफ्ना चुनावी एजेण्डासहित प्रचार–प्रसारलाई तीव्रता दिनुभएको छ । टानको अध्यक्ष पदका लागि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार आठ सय व्यवसायी आवद्ध छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली(प्रत्यक्ष)तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।” आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ । कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिने छ । उक्त अवधिका लागि आयोगले ७६ वटा कार्यक्रम तय गरेको छ । यद्यपि आयोगले तालिकामा केही संशोधन हुनसक्ने जनाएको छ । आयोग उच्च स्रोतका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ । घटस्थापनाको भोलिपल्ट असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ । असोज १९ गते विजयादशमी परेको छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । समानुपातिकतर्फको कार्यक्रम स्वीकृत हुँदै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत हुने क्रममा छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आयोग परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । आयोगका अनुसार साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने छन् । आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।
काठमाडौं: प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सार्वजनिक यातायातको भाडादरका विषयमा नियमित र भरपर्दोरूपमा अनुगमन गर्ने संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सार्वजनिक यातायातले मनोमानीरूपमा भाडा असुल्ने गरिएको भनी आमनागरिकबाट गुनासो आइरहेकाले त्यसको सम्बोधनका लागि संयन्त्र बनाउन र त्यससम्बन्धी जानकारी समितिलाई उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । हाल सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै वैज्ञानिकरूपमा निर्धारण हुने स्वचालित विधि अपनाएर कार्यान्वयन गरिरहेको छ । समितिले नारायणगढ–मुग्लिन र नारायणगढ–पोखरा सडकमा सीमा अतिक्रमण गरी विनास्वीकृति निर्माण गरिएका घर र विद्युतका खम्बाका कारण पहिरो खस्दा पन्छाउन जटिलता भएको भन्दै ती संरचना हटाउने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले निर्माणाधीन नारायणगढ–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तरोन्नति निर्धारित समय र गुणस्तरमा सम्पन्न गर्न तीव्र गतिमा काम अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । विकास निर्माणमा दीर्घकालीन समाधानसहित वातावरणमैत्री, प्रविधिमैत्री र गुणस्तरीय निर्माणका लागि विकासको उपयुक्त मोडल अवलम्बन गर्न तत्काल अध्ययन गरी कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देश गरिएको छ । समितिको आजको बैठकमा भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई, सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालगायतसँग नारायणगढ मुग्लिन र नारायणगढ–पोखरा सडकका विषयमा छलफल भएको थियो ।
कालीकोट: कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सरदमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताउनुभयो । “मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झण्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ ।” उहाँले भन्नुभयो, “सरकारी कार्याल सेना तथा नेपाल प्रहरीले अहिले खानेपानी बाहिरबाट गाडीमा बोकेर ल्याउने गरेका छन् ।” सरमुकाम मान्म बजारमा टाढाबाट खानेपानीको ल्याएको सधैँ खानेपानीको अभाव तथा पाइप बिग्रिने र चुँडिने गरेको अहिले पहिरोका कारणले खानेपानीको अभाव भएको खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताउनुभयो । “पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको छ ।” उहाँले भन्नुभयो, “पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा काम गर्ने र तत्कालका लागि पहिरोबाटै पाइप जडान गरेर खानेपानी नियमित गराउने तयारी भएको छ ।” मान्म बजारमा सधैँ खानेपानीको समस्या रहेका कारणले तत्काल खानेपानी सुविधा पुर्याउनका लागि पहल थालिएको खाडाँचक्र नगरपालिका नगर प्रमुख कमलबहादुर शाहीले बताउनुभयो । “खानेपानीका लागि तत्काल पहल थालिएको छ । एक दुई दिनमा सदरमुकाममा खानेपानीको समस्या समधान हुन्छ ।” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा खानेपानीको समस्या समधान गर्नका लागि थप खानेपानी आयोजनाको कामको थालनी हुन्छ ।” सदरमुकाम मान्म बजारमा हिउँदमा खानेपानीको मुहानमा पानीको कमी र वर्षामा पहिरो वा अन्य कारणले खानेपानीको समस्या हुने गरेको यसको सुरक्षा वा वैकल्पिक खानेपानी आयोजनाका सम्भाव्यता अध्यायन गरिने नगर प्रमुख शाहीले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधानले सुनिश्चित गरेका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ को उद्घाटन गर्दै उहाँले आदिवासी जनजातिका हितका लागि सरकारले विभिन्न महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको छ । संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरी उनीहरूको उत्थान विकास गर्दै जातीय पहिचान र भाषा संस्कृतिको संरक्षणमा पनि काम गर्दै आएको छ ।” प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने जरुरी औँल्याउनुभयो । उहाँले राज्यका सबै तह र तप्कामा समावेशीकरणको नीतिलाई प्रभावकारी बनाउँदै राष्ट्रको विकास र समृद्धिमा उनीहरूको योगदानको उच्च कदर गर्न आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले आदिवासी जनजाति समुदायको विकास, उनीहरूका हक अधिकारको सुनिश्चितका लागि महासङ्घले अघि बढाउने हरेक सवालमा सरकारले सदैव साथ दिने विश्वास व्यक्त गर्नुभयो । “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक, विविधताभित्रको एकता मूल मन्त्रका रूपमा रहेको भन्दै उहाँले थप्नुभयो, “नेपालका विभिन्न जाति, भाषा, समुदायबीच एकअर्काप्रति सामाजिक सद्भाव र सहिष्णुता अत्यन्त राम्रो छ । जुन नेपालको विशिष्ठ पहिचान भएकाले यसलाई चिरकालसम्म अक्क्षुर्ण राख्नुपर्छ ।” प्रधानमन्त्री देउवाले नेपाल एकीकरणदेखि आजको अवस्थासम्म आइपुग्दा राष्ट्र निर्माणमा नेपालका आदिवासी जनजातिको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै दिवसले आदिवासी समूदायको हकहितको प्रवद्र्धनका साथै पारस्परिक सद्भाव, सहयोग र एकता अभिवृद्धिका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेस स्थापनासँगै प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको र त्यसमा सर्वमान्य नेता गणेशमान सिंह आदिवासी समुदायमा मात्र नभई अन्तर्राष्ट्रियरूपमा पनि चर्चित व्यक्तित्व भएको स्मरण गर्नुभयो । नेपालको संविधानले सामाजिक न्याय र समावेशिताको नीतिअन्तर्गत आदिवासी जनजातिलाई आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै उनीहरूलाई राज्यबाट प्राप्त हुने अवसर र लाभलाई विशेष व्यवस्था गरेर आत्मसात् गरेको उहाँको भनाइ थियो ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताउनुभएको छ । चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको आजको छलफलमा मन्त्री पौडेलले भन्नुभयो, “नर्सिङलगायत विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ । कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔँ ।” मेडिकल शिक्षा एकैदिन दुई ‘सिफ्ट’मा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएको बताउँदै उहाँले सो अनुसार कार्यान्वयन गर्न निर्देशन दिनुभयो । “दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ”, मन्त्री पौडेलले भन्नुभयो, “यसलाई कार्यान्वयन गरौँ आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थमन्त्रालयसँग बजेट मागौँ ।”
काठमाडौं: नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौँ माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ ज्ञानेन्द्रले काठमाडौँको माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया एक महिलाले घाँटीमा लगाएको पहेँलो धातुको सिक्री लुटेर फरार भएका थिए । उनलाई प्रहरीले टोखा नगरपालिका–८ जाल्पाचोकबाट पक्राउ गरेको हो । प्रहरीले ज्ञानेन्द्रसँग तीन थान सिक्रीसमेत बरामद गरेको छ ।