काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित भएका परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आ...

काठमाण्डौँ:      गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उहाँहरूका चर्चा चुलिनु स्वभाविक थियो । सामान्य साइकलमा हिँड्ने राइको जीवनयात्राले धेरै नेपालीको मन जित्यो ।       अहिले पनि राई नगरका सामान्य काममा आफैँ खटिएका दृष्य सामाजिक सञ्जालमा देखिँदा उहाँप्रति सकारात्मक भाव बढ्दो छ । दुवै मेयरले समग्र नगरको विकासमा कसरी योगदान गर्नुहोला ? त्यो मूल्याङ्कन हुने समय आइसकेको छैन । यता चित्रकार रामकृष्ण थापा (आरके थापा) र प्रकाश थापा (प्रथा) ले उहाँका मुहार उतारेर कोरेको क्यारिकेचरले नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान (नाफा) को कला प्रदर्शनस्थलमा पनि उत्तिकै स्थान पायो, जति चुनावका बेला पाएको थियो ।      प्रथाले लामालामा कपालमाथिले नेपाली ढाका टोली पहिरिएका र पुक्क फुकेको गालासहितको राइको क्यारिकेचर बनाउनुभएको छ भने आरके थापाले आँखामा कालो चस्मा र झुम्म दारीलाई केन्द्रमा राखेर शाहको क्यारिकेचर बनाउनुभएको छ ।      नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शित ‘नेपाली क्यारिकेचर २०७९’ शीर्षकमा प्रस्तुत गरिएको उहाँ(काठमाडौँ महानगरका प्रमुख शाह र धरान उपमहानगरपालिकाका प्रमुख राई) का क्यारिकेचर चित्र आकर्षक बन्न पुगेको छ । आगन्तुक दर्शकले क्यारिकेचर नियाल्दै निर्वाचनको चर्चालाई पुनःस्मरण गर्नुभयो ।       क्यारिकेचरले समाजसँग प्रत्यक्ष सम्बाद गर्छ । त्यसैले समाज रुपान्तरणको सम्बाहक पनि हो क्यारिकेचर । कार्टुनभित्र हुने क्यारिकेचर सन्देश प्रवाहको सशक्त माध्याम हो । कार्टुन विधालाई गहकिलो बनाउन क्यारिकेचर महत्वपूर्ण भूमिका खेल्ने अग्रज कलाकारको प्रतिक्रिया छ । प्रदर्शनमा राखिएका क्यारिकेचरले पनि समसामयिकतालाई उजागर गर्ने प्रयास गरेको पाइन्छ । क्यारिकेचर र विषयको तालमेल भएन भने अर्थ दिँदैन । सही कार्टुनका लागि विषय र क्यारिकेचरको तालमेल हुनैपर्नेमा कलाकार एकमत छन् । हास्य वा विचित्र प्रभाव सिर्जना गरी व्यक्तिको मुहारलाई विशिष्ट नक्कल गरी बढाइचढाइ गरिनु नै क्यारिकेचर हो । बोलेर वा चित्र कोरेर पनि क्यारिकेचर गरिन्छ । बोल्दा आवाज र हाउभाउलाई ध्यान दिइन्छ तर लेख्य विधामा भने उसको पहिचान र व्यक्तित्व उतार्न सकियो भने मात्रै त्यो सफल क्यारिकेचर हुन्छ । मुहारलाई  हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर हो ।     कलाभित्रको तिखो व्याङ्ग्य कार्टुन हो भने त्योभन्दा फरके व्यक्तिलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्ने विधा भने क्यारिकेचर हो भन्नुहुन्छ,  कला समीक्षक रमेशनाथ खनाल । उहाँका अनुसार नेपालमा प्रताप मल्लको पालादेखि नै गाईजात्राका अवसरमा दिवङ्गत आत्मा शान्तिका लागि भनेर प्रदर्शन गरेर हिँड्ने परम्परालाई क्यारिकेचरको रुपमा लिइन्छ । नेपालमा परिस्कृत क्यारिकेचरको विकास भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लबअफ नेपालको स्थापनापछि भएको हो । कला समीक्षक खनाल चित्रगत स्वस्थता, रङ्गत सुन्दरता, भावगत सम्प्रेशण र पूर्णताको प्रभावले मात्रै राम्रो क्यारिकेचर बन्ने बताउनुहुन्छ ।      क्यारिकेचरबारे बताउँदै नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्नुहुन्छ, “अनुहारको व्याङ्ग्यात्मक हाउभाउ, रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्र नै क्यारिकेचर हो ।” यसपटक नाफा र कार्टुनिष्ट क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई  समेट्ने प्रयासस्वरुप गएको पुसमा प्रशिक्षण दिएको थियो । त्यहाँबाट उत्पादन भएका र पुराना गरी ४१ चित्रकारका क्यारिकेचर तीनदिने प्रदर्शनमा राखिएको छ ।     विसं २०७४ देखि नै नियमित रुपमा क्यारिकेचर कला प्रदर्शनी हुँदै आएको छ । कोरोन महामारीका समयमा भने  भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो । अध्यक्ष क्षितिज नेपालमा पछिल्लो समयमा क्यारिकेचरको महत्व बढेर गएको स्मरण गर्नुहुन्छ । यसपटकको प्रदर्शनीमा समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरू छनोट गरी क्यारिकेचर बनाइएको छ । जसमा कलाकार हरिवंश आचार्य, केदार घिमिरे (माग्नेबुढा) का चार वटासम्म क्यारिकेचर समावेश छ ।       अन्य कलाकार नीर शाह, भुवन केसी, सन्तोष पन्त, सुनिल थापा, सिताराम कट्टेल (धुर्मस) देखि शताब्दी पुरुष सत्यमोहन जोशी, अग्रज कलाकार किरणमानन्धर तथा अन्य कलाकार तथा पत्रकारका क्यारिकेचर चित्र प्रदर्शनीमा देख्न पाइन्छ । कूल ४१ कलाकारमध्य १७ नयाँ कलाकारले आफ्नो कला प्रस्तुत गर्नुभएको छ ।  

काठमाण्डौँ:     कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८र७९ मा ६२.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आव रु ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ बजेट खर्च भएको छ ।   प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले शनिबार राति १२ बजेदेखि चालु आवको भुक्तानी निकासा बन्द गरिएको बताउनुभयो । आर्थिक कार्यविधि नियमावलीमा आव समाप्त हुनुभन्दा कम्तीमा एक साता अघि भुक्तानी निकासा बन्द गरी खर्च विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । महालेखा नियन्त्रक कार्यालयले आजदेखि प्रदेशको भुक्तानी प्रणाली बन्द गरी गरिसकेको छ । फ्रिज नहुने शीर्षकका रकमको भुक्तानी निकासा भने बन्द गर्नुपर्दैन ।    प्रदेश लेखा नियन्त्रक बमले प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय, कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ रु नौ अर्ब १२ करोड ८१ लख २४ हजार ३४८ तथा पुँजीगततर्फ रु १४ अर्ब ७५ करोड १७ लाख ८५ हजार ४२६ खर्च भएको जानकारी दिनुभयो । कर्णालीमा चालु आवमा प्रदेश व्यवस्थापिकाले ७८ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ७४, मुख्यन्यायाधिवक्ता कार्यालयले ९५, प्रदेश योजना आयोगले ३७ प्रतिशत बजेट खर्च गरेका छन् ।    मन्त्रालयतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६७, सामाजिक विकास मन्त्रालयले ७३, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ४७, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७५, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ७२, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६५, आर्थिक मामिला तथा योजना मन्त्रालयले ७१ प्रतिशत बजेट खर्च गरेका छन् ।

काठमाण्डौँ:    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ ।       नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।       उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ ।        राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेलमा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ ।          राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेश भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । आर्थिक वर्ष २०७९/८० को बजेट जेठ १५ गते सङ्घीय संसद्मा पेश भएको थियो ।      मौद्रिक नीतिमा अल्पकालीन कर्जाको व्याजदर, मुद्रा आपूर्ति, मुद्रास्फीति नियन्त्रण गर्ने तथा मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउन लक्ष्य लिने नीति हो ।       कुनै पनि मुलुकको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैंकले निर्माण गर्छ । अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने विषय मौद्रिक नीतिले निर्धारण गर्छ ।

  काठमाण्डौँ:    थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा तीन हजार ४५ नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार सात सयजनाको पिसिआर परीक्षण गर्दा एक सय चारजना संक्रमित भेटिएका छन् भने एक हजार तीन सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ। आइतबारसम्मको तथ्यांकअनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या चार सय ७१ पुगेको छ। सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३१ छ।    संक्रमितमध्ये  ६ सय ६२ जना होम आइसोलेसनमै छन् भने अन्य १६ जना संस्थागत आइसोलेसन छन्। कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका सातजनाको आइसियू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ११ लाख २० हजार नौ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दाङ:    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने आफ्नो दायित्व भएको बताउनुभएको छ ।    रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अझैसम्म पनि नागरिकले पाउने आधारभूत सेवा पनि सहज पाउन नसकेको भन्दै यसलाई सहज बनाउन पहल गर्ने बताउनुभयो । यसका लागि तीनै तहका सरकारसँग छलफल गर्नेसमेत बताउनुभयो ।    राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवालाई थप विस्तार गर्ने समेत बताउनुभयो । उहाँले कोरोनाको समयमा योगदान गरेका कर्मचारीको नवीकरणमा पहल थाल्नेसमेत बताउनुभयो । त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।    सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने कुरा अघि सारेको अवस्थामा अझै पनि धेरै पालिकामा ती अस्पताल निर्माणको काम अघि बढ्न नसकेको भन्दै यसलाई पनि पूर्णता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।     प्रादेशिक अस्पतालको अनुगमन    राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अवलोकनसमेत गर्नुभएको छ । त्यस अवसरमा राप्ती प्रादेशिक अस्पताल प्रदेशस्तरीय भएकाले प्रदेशले त्यसलाई हेर्ने जिम्मा पाएको मन्त्री केसीले बताउनुभयो ।   “अस्पतालको पनि जिम्मेवारी बाँडफाँट भएको छ, प्रतिष्ठान सङ्घीय सरकार मातहत हुन्छ, यो अस्पताल प्रदेश सरकार मातहत छ, प्रदेश सरकारले पनि अस्पतालका लागि धेरै काम गरेको छ”, उहाँले भन्नुभयो “सङ्घीय सरकारको तर्फबाट हामीले जे–जे गर्नुपर्छ, त्यसमा प्रतिबद्ध भएर लाग्ने छौँ ।”    त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालको जनशक्ति व्यवस्थापनका लागि सर्वेको काम अघि बढाउन पहल थालि दिनका लागि अनुरोध गर्नुभयो । प्रादेशिक अस्पतालको आलोचना गर्ने गरिएको भन्दै यसलाई सुधार गर्न दक्षजनशक्ति आवश्यकपर्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले बताउनुभयो । अस्पतालको छुट्टै आम्दानी नभएकाले पनि आफैले कर्मचारी थप गर्नसक्ने अवस्था नभएको उहाँको गुनासो थियो ।   “अस्पतालमा एमआरआई बाहेक भिडियो एक्सरे, सिटी स्क्यान, एक्सरेजस्ता ठूला सेवा सञ्चालनमा छन्, त्यसले गर्दा बिरामीको चाप बढिरहेको छ”, उहाँले भन्नुभयो “त्यो अनुसार अब जनशक्ति चाहिन्छ ।” 

  काठमाण्डौँ:   नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रदेशको बजेटले संघीयताको धज्जी उडाएको बताएका छन्। नेता पौडेलले फेसबुकमार्फत यस्तो प्रतिक्रिया लिएका हुन्। उनले प्रदेशका बजेट पहुँचका आधारमा वितरण हुने गरेको र यसको निरन्तरताबाट आर्थिक विकास सम्भव नहुने उनको भनाइ छ।   ‘प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्राथमिकताको फेहरिस्तले संघीयताको ध्वजी उडेको छ। व्यक्तिका नाममा आफूखुसी बजेट विनियोजन गर्ने, पहुँचका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न सधैँ बजेटलाई कनिकाजस्तो छर्ने। यस्तै निरन्तरता हुने हो भने सयौँ वर्षमा पनि आर्थिक विकास हासिल गर्न सकिँदैन । बजेटको प्राथमिकता जनताका आधारभूत आवश्यकता पूरा गर्न र उत्पादनमा जोड दिन केन्द्रित हुनुपर्दछ,’ उनले लेखेका छन्।

श्रीलंका:     श्रीलंकाले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । तर शनिबार श्रीलंकामा जे भयो  यो आउँदा दिनमा लामो समयसम्म सम्झना भइरहने छ ।   शनिबार जे भयो त्यसको पृष्ठभूमि महिनौंअघिदेखि तयार भइरहेको थियो, तर कसैलाई पनि यो कल्पना थिएन कि आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवास कब्जा गर्ने छन् । तर आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति गोटाबाया राजापाक्षे र महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाए । उनीहरुले प्रधानमन्त्रीको निजी आवासमा त आगो नै लगाइ दिए ।   कडा सुरक्षा घेरामा रहने राष्ट्रपति भवनलाई शनिबार दिउँसोदेखि नै प्रदर्शनकारीले घेरेका थिए । सुरुमा एक तमिल युवा राष्ट्रपति भवनको बन्द रहेको ढोका नाघेर भित्र छिर । त्यसपछि अरु प्रदर्शनकारी पनि गेट तोडेर भित्र छिर्न थाले ।   सुरक्षाकर्मीले रोक्ने प्रयास नगरेका होइनन् । तर उनीहरुले जति नै दमन गरे पनि स्थिति रोकिने थिएन । भीडलाई भित्र छिर्नबाट रोक्न असफल भएपछि सुरक्षाकर्मी बाहिरिए ।   सुरुमा राष्ट्रपति भवनमा छिरेका प्रदर्शनकारीले तोडफोड गर्न थालेका थिए । तर त्यहाँ आक्रोशित प्रदर्शनकारी मात्र थिएननन्, भिक्षु थिए, फरक फरक धर्मावलम्बी थिए, विद्यार्थी थिए ।   प्रदर्शनको नेतृत्व गरिरहेका धार्मिक समूहका नेता र अन्य वुद्धिजीबीले राष्ट्रपति भवनमा भएका सामान तोडफोड गर्नका लागि नभई आनन्द लिनका लागि भएको भन्दै त्यसकोे आनन्द लिन आग्रह गरे, आफ्नो रहर पूरा भएपछि प्रदर्शनकारीलाई बाहिर निस्किन र अरुलाई भित्र पठाउन अनुरोध गरे ।   उनीहरुले राष्ट्रपति भवनको हरेक सामान जनताको सम्पत्ति भएको भन्दै उनीहरुले तोडफोड गर्नेहरुलाई सम्झाइ बुझाइ गरे । त्यसपछि तोडफोड रोकियो । त्यसपछि राष्ट्रपति भवनमा पुगेका प्रदर्शनकारीहरु विशाल भवनमा उपलब्ध सुविधा केही मिनेटका लागि प्रयोग गरेर भए पनि आनन्द लिन लागे ।   कोही भान्सामा छिरे, भान्सामा एक दिन अघि नै तयार पारिएको खाना थियो, उनीहरुले त्यो खाए, केहीले मिक्सरमा जुस बनाएर पिए त कसैले बारमा गएर ह्विस्कीको चुस्की लिए । कोही पियानो बजाउँदै संगीतमा झुमे ।   कोही बैठक कोठाका आरामदायी सोफामा बसे । प्रदर्शनकारीले राष्ट्रपति भवनमा हुने बैठकको नक्कल गरे ।   कोही राष्ट्रपतिको बेडरुममा पुगे, विस्तारामा सुते, सेल्फी लिए, भिडियो बनाए । एक प्रदर्शनकारीले राष्ट्रपतिको विस्तारमा सुतेर बनाएको भिडियोमा भने, ‘राष्ट्रपति ज्यू धन्यवाद, म अहिले तपाईँको विस्तारमा सुतरिहेको छु । यो एकदम आरामदायी छ ।’   कसैले राष्ट्रपति भवनमा रहेको पौडी पोखरीमा पौडीको आनन्द लिए । राष्ट्रपति र उनको परिवारका सदस्यले प्रयोग गर्ने पोखरीमाा प्रदर्शनकारीहरुले पौडी खेलिरहेको भिडियो विश्वभर भाइरल भएको छ ।   केही प्रदर्शनकारीले राष्ट्रपति र उनका परिवारले प्रयोग गर्ने शौचालय प्रयोग गरे, बिशाल र भव्य शौचालय र त्यहाँ एसीको सुविधा देखेर उनीहरु हैरान भए ।   केही प्रदर्शनकारी राष्ट्रपतिले प्रयोग गर्ने सामान राख्ने कोठामा पसे, दराज खोले । दराजमा रहेका पोशाक लगाएर तस्वीर खिचे ।   राष्ट्रपति भवनको एउटा ठूलो कोठामा व्यायामशाला छ । प्रदर्शनकारी व्यायामशालामा रहेका उपकरण प्रयोग गरेर पसिना बगाउन पनि पछि परेनन् ।   उनीहरु मध्ये केहीले राष्ट्रपति भवनमा नै रात बिताएका छन् । आइतबार बिहान पनि प्रदर्शनकारीहरु राष्ट्रपति भवनका कोठा कोठामा घुमिरहेको देखिन्थे ।   जो प्रदर्शनकारी राष्ट्रपति भवन भित्रबाट बाहिर निस्कन्थे । भित्र पस्न नपाएकाहरु भित्रको स्थितिका बारेमा उनीहरुलाई सोधपुछ गर्थे । केही छिनलाई भए पनि राष्ट्रपतिको जीवनशैलीको आनन्द लिएकाहरु गौरवका साथ आफ्नो अनुभव बताउथे । (बीबीसी तमिलमा प्रकाशित सामग्रीको भावानुवाद)

भरतपुर:    बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो । बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

काठमाण्डौँ:    सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ ।      अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २००ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० थियो ।           त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार १८५ कायम रहेको महासङ्घले जनाएको छ ।