पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति भण्डारीले राजदूतको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार जापानका लागि डा.दुर्गाबहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रुसी महासङ्घका लागि मिलनराज तुलाधार र डेनमार्कका लागि नवनियुक्त राजदूत प्रा.डा. रामस्वार्थ रायलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।    उक्त अवसरमा राष्ट्रपति कार्यालयमा परराष्ट्रमन्त्री डा। नारायण खड्कासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।

  काठमाडौँ  :  बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ ।   निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणाम बमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार आफैँले समेत मत नहालेको पाइएको छ । उक्त दलले प्रमुख पदमा कुनै मत पाएको छैन । अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएकामा दुवैले आठ मत ल्याएका छन् ।    आयोगका अनुसार सात दलले मात्रै देशभरि एक प्रतिशतभन्दा बढी मत ल्याएका छन् । राष्ट्रिय मान्यता प्राप्त गरेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी,  नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रमुख पदमा एक प्रतिशतभन्दा बढी मत पाएको छ ।    निर्वाचन आयोगका अनुसार चुनावमा ७९ दलले उम्मेदवारी दर्ता गराएका थिए । १८ दलले मात्रै पालिकाको प्रमुख वा अध्यक्ष पद जितेका छन् तर स्थानीय तहमा स्वतन्त्रसहित २९ दलको प्रतिनिधित्व भएको छ ।    १४ वटा राजनीतिक दलका उम्मेदवारले त एक सय मतसमेत ल्याउन सकेनन् । नेपाल परिवार दलले छ पालिकाका प्रमुख र तीन पालिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । उक्त दलका छ जना प्रमुख पदका उम्मेदवारले कुल ६९ मत पाएका छन् । तीन अध्यक्ष पदका उम्मेदवारले २९ मत पाएका छन् । आयोगका अनुसार १४ राजनीतिक दलका २२ जना प्रमुख पदका उम्मेदवारले जम्मा ३५१ मत पाएका छन् ।   आठ दलका ११ जना अध्यक्ष पदका उम्मेदवारले ११५ मत ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले एक पालिकाको प्रमुखमा उम्मेदवारी दिएकोमा ती उम्मेदवारले पाँच मत मात्रै पाएका छन् । देशभक्त समाजका एक–एक जना प्रमुख र अध्यक्ष पदका उम्मेदवारले जम्मा पाँच मत पाएका छन् ।  देशभरि प्रमुख पदमा ६४ दलले उम्मेदवारी दिएका थिए । प्रमुख पदमा कुल ६७ लाख ९२ हजार ७६९ मत सदर भएको छ । अध्यक्ष पदमा ४४ लाख ४४ हजार ९२ मत सदर भएको छ । अध्यक्ष र प्रमुख पदमा कुल एक करोड १२ लाख ३६ हजार ८६१ मत सदर भएको छ ।

काठमाडौँ  :   साफ यू(२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ ।   भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा आक्रमण रणनीति बुन्दै जित पक्का गरेको हो । लगातार दोस्रो जित दर्ता गरेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।   खेलको २३ औं मिनेटमा मुहमेधु मुन्सिफले श्रीलंकालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । उनले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको बल वन भर्सेस वनको स्थितिमा प्रहार गर्दा पोस्टमा लागेर बाहिरिएको थियो ।   खेलको २९ औं मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । कर्नरबाट आएको रिबाउन्डमा अजय चौधरीको शक्तिशाली प्रहार श्रीलंकाको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । तर रेफ्रीले त्यसअघि नै रिबाउन्डमा जुध्ने क्रममा आशिष राईबाट फल भएको निर्णय दिए ।   ४४ औं मिनेटमा कप्तान आयुष घलानको लामो फ्रिकिकमा सुगम सुवालको हेडर पोस्टभन्दा थोरै बाहिर गयो । खेल दौरान कालिंगा रंगशालामा पटक पटक फ्लड लाइट बन्द हुँदा खेल रोकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि नेपालले मनग्य नकर्मीलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको थियो ।   ५२ औं मिनेटमा मोहमद साहिलको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल पछि पर्नबाट जोगियो । कप्तान थेसान थुस्मिकाको लामो थ्रो इनलाई साहिलले ६ यार्ड बक्सनजिकबाट फ्लिक हेडर गर्दा गोलरक्षक इश्वर गुरुङ बिट भएका थिए ।   खेलको ५९ औं मिनेटमा कप्तान आयुषले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । अभिषेक वाइबाको क्रसलाई गोलरक्षकले पन्च गरेपछि आएको बललाई आयुषले गोलमा परिणत गरेका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको पहिलो टचकै प्रहार गोल भएको थियो ।   अग्रता लिएको केही मिनेटमा नै नेपालले कृतिशको गोलमा अग्रता दोब्बर पार्यो आयुषकै पासमा कृतिशले दोस्रो गोल गरे । आयुषले पेनाल्टी क्षेत्र भित्रबाट दिएको लेअपलाई कृतिशले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट पहिलो टचमै टप कर्नरमा गोल गरेका थिए ।   खेलको ८४ औं मिनेटमा नेपालले ३-० को अग्रता लियो । सुगम सुवालको पासमा मनग्यले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै जित सुनिश्चित गरे । खेलको इन्ज्युरी समयमा गोलरक्षक इश्वर गुरुङले मुन्सिफको प्रहारलाई विफल पार्दै आफ्नो लगातार दोस्रो क्लिन सिट राखे ।

काठमाडौँ  :  गृहमन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न नागरिकमा अनुरोध गरेको छ ।    पछिल्लो समयमा भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको हो ।    त्यसरी जाँदा समस्यामा परी अलपत्र पर्ने क्रम बढेको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ । यसरी गैरकानुनी रुपमा विदेश गई समस्यामा परेकालाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनसमेत नेपाल सरकारसँग कुनै कानुनी आधार नरहने पनि मन्त्रालयले जानकारी गराएको छ ।     विज्ञप्तिमा त्यसरी जाने व्यक्तिले प्रचलित कानुनअनुसार श्रम स्वीकृत लगायतका प्रक्रिया पूरा गरेर मात्र जान अनुरोध गरिएको छ । साथै, स्थानीय तहले समेत आफ्नो क्षेत्रका नागरिकले विदेश भ्रमण वा रोजगारीमा जाँदा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । भ्रमण भिसामा विदेश जानेले पर्यटकको रुपमा मात्र प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

काठमाडौँ  :   सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् ।   भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चारपाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएको हो ।   अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय चारपाङ्ग्रे सवारी आयात भएकामा गत आर्थिक वर्ष उल्लेख्यमात्रामा वृद्धि भएको छ ।   अघिल्लोे आर्थिक वर्षसम्म न्यूनमात्रामा नेपाल भित्रने गरेको विद्युतीय गाडीमा सरकारले गत आर्थिक वर्षको बजेटमार्फत भन्सार र अन्तशुल्कमा छुट दिएको थियो । सरकारले बजेटमार्फत नै भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि नेपाल भित्रने विद्युतीय गाडीको सङ्ख्यामा वृद्धि भएको व्यवसायी बताउँछन् ।   भन्सार विभागले हालै सार्वजनिक गरेको एक वर्षको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १६७ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६९६ गरी ८२३ वटा गाडी नेपाल भित्रिएका हुन् ।   चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६९६, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको १३२ र फ्रान्सबाट एक वटा गाडी नेपाल भित्रिएका छन् ।यस्तै युकेबाट १०० देखि १५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२ वटा, जापानबाट ७८, बेलायतबाट चार वटा गाडी नेपाल आएका छन् ।   युकेबाट २०० देखि ३०० किलोवाट क्षमताका चार र युकेबाटै ३०० क्षमताभन्दा माथिका दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । एक वर्षको अवधिमा एक हजार ८०७ वटा विद्युतीय गाडी नेपाल भित्रँदा रु एक अर्ब ४३ करोड ९२ लाख बराबर राजस्व सङ्कलन भएको छ ।    सरकारले देशमा विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडी आयातमा रोक लगाउँदा तथा बजेटमा छुट दिँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको व्यवसायीले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० ले डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडीमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको जनाएको छ ।(((

काठमाडौँ   :   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा आउनुभएका बङ्गालदेशका जलस्रोत सचिव कविर बीन अन्वरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।    ऊर्जा मन्त्रालयमा आज भएको भेटमा ऊर्जामन्त्री भुसालले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेशले देखाएको चासोप्रति आभार व्यक्त गर्दै शीघ्र कार्यान्वयनको तहमा लैजाने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।    नेपाल सहकार्यका लागि तयार र इच्छुक रहेको जानकारी दिँदै मन्त्री भुसालले आवश्यक वातावरण बनाउन सचिव कविरमार्फत त्यहाँको सरकारलाई समेत आग्रह गर्नुभयो । मन्त्री भुसालले बिहीबारदेखि सुरु हुन लागेको जलस्रोत सचिवस्तरीय बैठकको सफलताको कामनासमेत गर्नुभयो ।    सो अवसरमा बङ्गलादेशका जलस्रोत सचिव कविरले ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो । उहाँले भारतीय प्रसारण संयन्त्रको प्रयोग गरेर मात्रै बिजुली लैजानुपर्ने भएकाले त्यसका लागि पनि पहल भइरहेको बताउनुभएको थियो ।    बिहीबार र शुक्रबार आयोजना हुने नेपाल र बङ्गलादेश सचिवस्तरीय जलस्रोत समितिको बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र ऊर्जा जलस्रोेत क्षेत्रको सहकार्यमा विभिन्न आयामका बारेमा छलफल हुने कार्यक्रम छ । 

काठमाडौँ  :  पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ ।    नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्नुभएका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमश ः प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिनुभयो ।   समितिको अध्यक्षसमेत रहनुभएका सचिव न्यौपानेले सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने प्रतिबद्धता जनाउनुभयो । सङ्ग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गर्नुभएको बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ ।    बा अ २ नम्बरको गाडी त्रिभुवन र उहाँको परिवारले प्रयोगमा ल्याउनुभएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले  जानकारी दिनुभयो । अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्नुहुने जानकारी पनि समितिले दिएको छ । यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गर्नुभएको बा १ च २६६३ नंको गाडी पनि सार्वजनिक गरिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभयो ।    तीनैवटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रङरोगन गरिएको छ । यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरुङले बताउनुभयो । वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गरिएको हो । दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्नसक्नेगरी खुला गरिएको छ । बाँकी १७ कक्ष पनि अध्ययन अनुसन्धान गरी खुला गर्ने तयारीमा समिति लागेको छ । ७५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार क्षेत्रमध्ये सङ्ग्रहालयले करिब ५११ रोपनी भाग ओगटेको छ ।    दरबार क्षेत्रको करिब २४३ रोपनी क्षेत्रफलमा भने अहिले पनि नेपाली सेना बसिरहेको छ । नेपाली सेनाले ओगटेका क्षेत्रमा पनि केही ऐतिहासिकस्थल रहेकाले सङ्ग्रहालयले प्रदर्शनमा राख्न खुला गर्नुपर्ने माग गर्दै आएको छ । –––

तनहुुँ  :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ ।      नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो । “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नु पर्दैन”, उहाँले भन्नुभयो, “गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उजाड बन्दै गएको छ ।”      नेपाल सरकारले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । मानिसहरु सुविधा र रोजगारी खोज्दै सहरमा बसाइँसराइ गर्ने क्रम बढेको उल्लेख गर्दै नेता पौडेलले त्यसलाई रोक्न गाउँमै रोजगारी र आम्दानीको अवसर दिन आवश्यक रहेको बताउनुभयो ।      नेपाल प्रकृतिको धनी हुँदाहँुदै पनि मानिसहरु विकास खोज्न भौँतारिएको चर्चा गर्दै नेता पौडेलले गाउँको विकासका लागि आफू सक्रिय रुपमा लागेको बताउनुभयो । देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै नेता पौडेलले विगतमा अवरुद्व भएका विकासका कामलाई निरन्तरता दिँदै नयाँ विकासका योजनालाई तीव्र गतिमा अघि बढाइने उहाँले बताउनुभयो ।      नेता पौडेल यही साउन ८ गतेदेखि तालिका नै बनाएर जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न वडामा पुगी कार्यकर्तासँग भेटघाट गर्नुभएको छ ।

काठमाडौं  : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ।     परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए।  परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६ सय ३३ रहेको छ ।     कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।     एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।     नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रा.लि, इजी सर्भिस प्रा.लि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ। त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ। यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ। ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो।