पोखरा: देशका छ वटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु भएको छ। पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। सम्मेलनको कार्यतालिकामा पहिलो दिन पोखरा, काठमाडौँ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौती’बारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ। त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुती दिनेछन्। महानगरका उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्ने बताइएको छ। प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौती’बारे आफ्नो धारणा सुनाउने कार्यसूची छ। सम्मेलनको दोस्रो दिन पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ। उनको प्रस्तुतिपछि सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती’ तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।
पोखरा: नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताउनुभयो । सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण हिमाल समेत सफलतापुर्वक अरोहण गरिसकेकी थिइन । पछिल्लो पटक सन १९९२ मा कन्चनजंगा हिमाल आरोहण गर्ने क्रममा उनि हराउन पुगिन् । रुटकिविजलाई पोल्याण्डको सरकारले आउट स्टान्डिङ् पोलिसी विमनको रुपमा घोषणा गरेको छ । रुटकिविज हराएको ३० वर्षपछि आगामी अक्टुवर महिनामा पोखरामा उनको स्मृति कार्यक्रम गर्ने तयारी गरिएको राजदुत बुराकोव्स्कीले बताउनुभयो । अन्नपुर्ण हिमाल समेत आरोहण गरेकी शाहसी महिला रुटकिविजको सम्झानामा आयोजना गरिने सो कार्यक्रम पोखरामा गर्न आफुले सहमति दिएको महानगरका प्रमुख आचार्यले बताउनुभयो । साथै उहाँहरु बिच पोखराको पर्यटन प्रवद्र्धनका विषयमा समेत छलफल भएको छ । वर्षेनी पोल्याण्डका धेरै पर्यटकहरु पोखरामा आउने गरेपनि राजदुत बुराकोव्स्कीको भने पोखरा भ्रमण पहिलो हो । राजदुत बुराकोव्स्कीले पोखरा आफुलाई निकै मनमोहक लागेको प्रतिक्रिया दिनुभएको छ । पोखराको पर्यटन प्रवद्र्धनमा थप समन्वय गर्ने राजदुत बुराकोव्स्कीको भनाई छ । यस्तो प्रकारको शिष्टाचार भेतवार्ताले अनुभव आदानप्रदानका साथै विकास र प्रवद्र्धनमा नयाँ आयामहरु थप्न सघाउ पुग्ने प्रमुख आचार्यको विश्वास छ । पोखरामा सम्पन्न भेतवार्तामा नेपालका लागि गणतन्त्र पोल्याण्डका अवैतनिक महावाणिज्यदुत लोकमान्य गोल्छाको सहभागीता रहेको थियो ।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गर्नुभयो । बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताउनुभयो । “बाघको संरक्षण वृद्धि सुखद, नेपालले सन् २०१० रुसको सेन्ट पिटर्सवर्गमा गरिएको सम्मेलनको महत्वाकाङ्क्षी योजनाअनुसार लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद् घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ”, उहाँले भन्नुभयो । बाघको बासस्थान व्यवस्थापन गरेर स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । बाघ संरक्षणका चुनौती अन्त्य गर्न थप अध्ययन अनुसन्धान आवश्यक भएको भनाइ उहाँले राख्नुभयो । संरक्षित क्षेत्र वरपरको बस्तीलाई सुरक्षित गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । बाघको छला, हड्डीलगायतका कारण चोरी सिकारी हुनसक्ने भएकाले संरक्षणका चुनौती सामना गर्ने गरी तयारी गर्न मन्त्रालयलगायत सरोकार निकायलाई उहाँले निर्देशन दिनुभयो । उहाँले बाघ संरक्षणका लागि कर्मचारी वृद्धि, क्षमता वृद्धि, अन्तर्राष्टिय सहायता संस्थासँग समन्वय आवश्यक भएको धारणा राख्नुभयो । हालै सरकारले वन्यजन्तु मैत्री पूर्वाधार निर्देशिका जारी गरेकाले त्यसअनुसार काम हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो । समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाघको संरक्षणका लागि मन्त्रालय र यसअन्तर्गतका निकायलाई आग्रह गर्नुभयो । बाघ संरक्षणका क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न पनि उहाँले सुझाव दिनुभयो । “नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन बाघ पनि महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नु आवश्यक छ, बाघको संरक्षणका लागि वन क्षेत्रको विकास गर्नुपर्छ, यसका लागि प्रकृति संरक्षण कोषले पनि ध्यानदिनुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो । प्रकृतिको संरक्षण गर्न नसके कुनै पनि जनावरको रक्षा गर्न नसकिने भएकाले सबैले आआफ्नो स्थानबाट संरक्षणमा जुट्नुपर्ने उहाँको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले बाघको संरक्षण गर्दा सङ्ख्या वृद्धि हुनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुग्ने भनाइ राख्नुभयो । बाघको सङ्ख्या वृद्धिका लागि विशेष कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । बाघ पाइने स्थानको पहिचान गरी नेपाली सोनाकोसमेत सहयोगले बाघ संरक्षण गर्न सकिएको उहाँले जानकारी गराउनुभयो । सो अवसरमा हाल नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको जानकारी गराइएको थियो । सन् २०१० अघि १२१ बाघमात्र नेपालमा थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक रामचन्द्र कँडेलले सन् २०१० मा बाघको सङ्ख्या घटेकामा हाल उल्लेखनीयरुपमा बढेको बताउनुभयो । नौ प्रजातिका बाघमध्ये विश्वमा तीन प्रजाति लोप भएर तीन प्रजातिमात्र थियो । विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले दोब्बर बनाउन सफल भएको जानकारी पनि उहाँले दिनुभयो । बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको छ ।
धरान: सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिनुभएको छ । धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उहाँले अभियान नै सुरु गर्नुभएको छ । उहाँको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् । धरानको नेतृत्वमा नआउँदासम्म उहाँ हप्ताको सातै दिन जनताको कामका लागि सडकमा देखिनुहुन्थ्यो । त्यसबेला उहाँले गरेको काम र अभियानको चर्चा खासै थिएन । कतिपय उहाँले चलाएको अभियानमा असफल पनि हुनुभयो साम्पाङ । तर उहाँ सफलता नै सफलताको कडी हो भन्ने बुझेर उहाँले आफ्नो अभियान निरन्तर जारी राख्नुभयो । दक्षिण एशियाको उत्कृष्ट अस्पताल तथा शिक्षण संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बेथिति र जनताले स्वास्थ्य उपचार सेवामा भोग्नुपरेको समस्या समाधानका लागि उहाँले अभियान चलाउनुभयो । खानेपानी समस्याका विषयमा उहाँको अझ बढी चासो र चिन्ता थियो । खानेपानी बोर्डका कार्यकारी निर्देशक, तत्कालीन नगर प्रमुख तिलक राई, धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई उहाँले टेलिफोनमा थर्काएका भिडियो जनताले प्रत्यक्ष हेर्न पाएका थिए । जनताका लागि पदमा बसेका व्यक्तिलाई गरेको खबरदारीले धराने जनताबाट पाउनुभएको गहिरो सहानुभूतिले उहाँलाई प्रमुख भएर त्यही समस्या समाधान गर्ने स्थानमा पुर्यायो । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा करिब पाँच हजार मतान्तरले धरान उपमहानगरपालिकाको प्रमुखमा सानदार जीत निकाल्न सक्नुभयो । धरानको कुल मतदाता एक लाख ३२४ जना रहेकामा ६२ हजारले मतदान गरेका थिए । त्यसमध्ये २० हजार ८२१ मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पन्छाएर स्वतन्त्र उम्मेद्वार साम्पाङलाई मत दिएका थिए । आर्थिक अवस्था त्यति राम्रो नभएका उहाँलाई चुनाव खर्च पनि उहाँहरुकै समर्थकले जुटाइदिएका थिए । नेतृत्वमा पुगेपछि जनतासँग गरेको वाचा मात्र बिर्सने कतिपय नेताहरुका लागि उहाँ प्रमुखमा जित्दै गर्दा यस विषयमा निकै सचेत देखिनुभयो । उहाँ प्रमुखको कुर्सीमा बसेपछि पनि धराने जनताको साथ लिएर सडकमै उत्रिनुभएको छ । जनता पनि उहाँको साथ छाडेका छैनन् र उहाँका समर्थक, शुभचिन्तक अझ बढेको बताउनुहुन्छ अभियानका सहयोगी हरि श्रेष्ठ । तीन लाख जनसङ्ख्या बस्ने धरानमा विगतका जनप्रतिनिधिले खानेपानीको विषयमा कसैले ध्यान नदिएको लिएको ऋणको पनि सदुपयोग नभए पनि जनताले स्वतन्त्र उम्मेदवारलाई रोजेको उहाँको भनाइ छ । उहाँले आफ्नो सम्पूर्ण समय पदीय जिम्मेवारीमै लगाउनुभएको छ । साताको दुई दिन शुक्रबार र शनिबार समर्थक र शुभचिन्तकका साथमा कार्यस्थलमै जानुहुन्छ भने बाँकी दिन उपहानगरको दैनिक र प्रशासनिक कामका लागि दिनुहुन्छ । उहाँले निर्वाचनमा प्रतिबद्धता जनाएको काम निर्वाचित भएर पदभार ग्रहण गरेकै दिनदेखि कार्यान्वयनका लागि लाग्नुभयो । धरानको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्न पानी व्यवस्थापनका लागि उहाँले यतिबेला आफ्नो बढी समय खर्चनुभएको स्थानीयवासी बताउँछन् । उहाँले दैनिक गर्ने हरेक कामको जनतालाई आफ्नो फेसबुक पेजबाट जानकारी गराउँदै आउनुभएको छ । आफूले जिताएको जनप्रतिनिधिले के गर्दैछ भन्ने जानकारी फेसबुक पेजबाट जनताले थाहा पाउँदा मतदाता पनि खुसी लागेको धरान १५ का विष्णु लिम्बू बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यही सूचनाका आधारमा जनता आफ्ना जनप्रतिनिधिको काममा सहयोग गर्न जाने गरेका छौँ ।” नगर प्रमुख भएर आउनेबित्तिकै उहाँले उहाँले खानेपानी स्रोत व्यवस्थापनका लागि प्राविधिक टोलीसहित स्थलगत अध्ययन गर्नुभयो । धरानका साना खोला र सप्तकोसीबाट पानी ल्याउन अध्ययनका लागि जानुभयो । उहाँले धरानको वडा नं २० मा पर्ने पकुवा खोलामा खेर गइरहेको पानी व्यवस्थापन गर्न पहिलो अभियान चलाउनुभयो । फेसबुकबाट श्रमदानको आह्वान र पाइप सहयोगका लागि गरेको आह्वानले देश विदेशमा रहनुभएका धराने जनताले सहयोग गरे । धरानमा हुनेले श्रमदान र विदेशमा हुनेले आर्थिक सहयोग गरे । शनिबार, शुक्रबार र अन्य सार्वजनिक बिदाका दिन प्रमुख आफैँ पुगेर श्रमदान गरे । अन्य दिन धराने जनताले श्रमदान गरेर तीन हप्ताको मेहनतमा पहाड छेडर पकुवाको पानी पाइपमार्फत सर्दुखोला हुँदै धरान–११ स्थित पानेपानीको ट्याङ्कीसम्म जोडिएको छ । सरकारी बजेट हुने हो भने यो करिब रु ६०÷७० लाखको योजना हुने प्राविधिकले बताएका छन् । पकुवा खोलाको पानी खानेपानीको ट्याङ्कीसम्म ल्याउन सफल भएपछि प्रमुख साम्पाङ सामाजिक सञ्जालबाटै आह्वान गरेर धरान–४ बाट बग्ने निशाने खोलाको पानी व्यवस्थापनमा लाग्नुभएको छ । एक सातादेखि उहाँ धराने जनतासँगै श्रमदान गर्दै आउनुभएको छ । पर्यावरण सन्तुलन कायम गर्न साप्ताहिकरुपमा उहाँ वृक्षरोपण कार्यक्रम बनाएर पाखाभित्तामा फलफूलका बोटबिरुवा रोप्दै आउनुभएको छ । वन, जङ्गल अभाव र भएको वन जङ्गलमा चराचुरुङ्गी, बाँदरलगायत पशुपक्षीले खाने आहाराको अभावले बाँदर सहर पसेको र अन्य पशुपक्षी मासिएको उहाँको बुझाइ छ । त्यही भएर उहाँ वृक्षरोपण कार्यक्रममा पनि उत्तिकै समय दिँदै आउनुभएको छ । शुक्रबार उहाँ सार्वजनिकरुपमा लागुऔषधसम्बन्धी सचेतना जगाउन धरानका चोकमा नियमित ‘प्ले कार्ड’ बोकेर ‘नो ड्रक्स’ को अभियान पनि चलाइरहनुभएको छ । प्रमुख साम्पाङले भविष्यमा कोसीको पानी धरान ल्याउने योजना रहेको र अध्ययन भइरहेकाले उक्त पानीलाई ठूलो जलाशय बनाएर जम्मा गर्ने र त्यसबाट नै बिजुली पनि निकाल्ने आफ्नो अवधारणा सुनाए । त्यसका लागि जलाशय बनाउन भनेर प्रस्तावित ठाउँसम्म प्राविधिक, इञ्जिनीयरलाई अवलोकन गराउनुभएको छ । पूर्वाञ्चल प्राविधिक कलेका इञ्जिनीयरले कोसीको पानी जम्मा गर्न जलाशय बनाउने ठाउँ उपयुक्त भए पनि त्यस स्थानको सोइल टेष्ट गरेर मात्रअघि बढ्न सुझाव दिनुभएको छ । अहिले वर्षाको समयमा पनि खर्दु खोलाको पानीबाट ४० किलोवाट बिजुली उत्पादन गर्न सकिने र हिउँदमा पाँच÷छ किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने सुझाव दिएको प्रमुख साम्पाङले बताउनुभयो । पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने प्रमुख साम्पाङको योजना सफल भएपछि कोसी राजमार्गको धरान धनकुटे सडकखण्डमा पर्ने निशाने खोलामा पनि श्रमदान अभियान सुरु गरिएको छ । जङ्लमा जमिनमुनिको पानी तान्ने पम्प महिनामा दुई÷तीनपटक बिग्रिने र एउटा पम्प बनाउन रु दुई लाखसम्म खर्च हुने गरेको छ । वर्षायाममा खोला खोल्सीमा भएको सतहको पानी ल्याउनसके पम्प चलाइरहन नपर्ने र वर्षायामभरि पम्प बिग्रेर बनाउनु नपर्ने तथा बिजुली चलाएको खर्च जोगिने प्रमुख साम्पाङले बताउनुहुन्छ । दीर्घकालीन समाधान भने कोसीबाट पानी ल्याउनैपर्ने उहाँ बताउनुहुन्छ । उहाँ खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा आफ्नो स्थान बनाउन सङ्घर्षरत पात्र हुनु हुनुहुन्छ । विसं २०३९ फागुन १५ गते खार्ताम्छामा जन्मनुभएका साम्पाङ त्यहीँको शुक्रबारे माविबाट एसएलसी गरेर २०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झर्नुभएको थियो । उहाँले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गर्नुभयो । अध्ययनकै क्रममा उहाँले धरानमा एउटा ल्याङ्ग्वेज सेन्टरमा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गर्नुभयो । त्यसमा पनि चित्त नबुझेपछि अफगानिस्तान जानुभएका उहाँ त्यहाँबाट फर्किएर पुनःइराकतिर लाग्नुभयो । विदेशमा छ वर्ष काम गरेपछि नेपाल फर्किनुभएको उहाँ देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लाग्नुभयो । धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उहाँको चर्चा सुरु भएको हो । सडक विस्तारका नाममा नगरवासीलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएसँगै उहाँको परिचय फैलियो र धेरैले उहँँलाई जनताका पक्षमा बोल्ने अगुवाका रुपमा चिन्न थाले । सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भएको थियो । भूमिगत खानेपानीका लागि काम सुरु भएर पानी वितरण त भयो तर समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । उहाँले पहिलोपटक हिक्मत गरेर आयोजनाप्रति नै प्रश्न गर्न थाल्नुभयो । खानेपानीमा राजनीतिक दलले गरेका बद्मासीबारे खुलेर विरोध गर्नुभयो । उहाँ एक्लै सडकमा उत्रिनुभयो । विस्तारै अरुले साथ दिन थालेका थिए । कतिपय अभियानमा असफलता भए तर कहिल्यै निराश भने हुनु भएन । सामाजिक, राजनीतिक र स्थानीय तह र सार्वजनिक संस्थामा हुने गरेका विकृति र विसङ्गतिविरुद्ध उहाँले निरन्तर प्रश्न उठाउनुभयो । आज पनि उहाँको अभियान जारी छ । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उहाँले आवाज बुलन्द पार्नुभयो । दलको कामबाट दिकदार भएका धराने जनता फाट्टफुट्ट उहाँको आन्दोलनमा साथ दिन थाले । उहाँको आन्दोलनबारे राजनीतिक दल, सञ्चारमाध्यामले कुनै चासो नदिए पनि उहाँ निरन्तर खबरदारीमा लागि रहनुभयो । राजनीतिक दल र नेताहरू सुध्रिनुपर्छ, भ्रष्टाचार, कमिसन र लुट शासनको अन्त्य हुनुपर्छ भन्ने उहाँको मान्यता रहेको छ । यस्ता विषयमा उहाँ निरन्तर फेसबुकमा लाइभ गर्दै आउनुभएको छ । प्रमुख भएपछि पनि उहाँ सार्वजनिक चासोका विषय, धरान उपमहानगरपालिकाले गरिरहेको गतिविधि नियमित सामाजिक सञ्जालमार्फत जानकारी गराइ राख्नुभएको छ । एक दशकदेखि धरानका सडकमा कहिले एक्लै कहिले सानो समूह लिएर प्लेकार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका मानिसले पनि भू–माफियासँग मिलेर फेरि जमिन हड्प्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । हर्क साम्पाङ पनि त्यसमा जोडिनुभएको थियो । पोलिखे उहाँको मृत्यु भएपछि त्यो काम साम्पाङले गर्नुभयो ।
बाँके: शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिउपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरुको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०,सल्यानका २०, रुकुम पश्चिमको १६, कैलालीको १२, दैलेखको ११, रोल्पाको १०, कालिकोटको १०, जुम्लाको पाँच लगायत ३१ जिल्लाका रहेका छन् । उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका छन् । उहाँले मानवबेचविखनको समस्या अत्यन्त जटिल भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशका १४ नाकाबाट सीमा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम भएको बताउनुभयो । एक वर्षको अवधिमा सो केन्द्रले पाँच जनालाई कानुनी दायरामा ल्याएको समेत जानकारी दिँदै भट्टराइले दुई जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार, दुई जनाविरुद्ध जबर्जस्ती करणी र एक जना विरुद्ध मावन बेचबिखन र जबर्जस्ती करणीमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो । “हामीलाई भारत लगेको सूचना आएपछि त्यहाँको प्रहरीसँग कागजात मिलाउनेदेखि विभिन्न नीतिगत समस्या देखिएको छ ।”उहाँले भन्नुभयो । शान्ति पुनःस्थापना केन्द्र, बाँकेका संयोजक निर्मल सुवेदीले जमुनाह नाकाबाट मात्रै छ युवतीको उद्धार गरेको जानकारी दिनुभयो । भारतको उत्तर प्रदेशको उन्नाउ, लखनउ र हिमाञ्चलको सिमलाबाट उनीहरुको उद्धार गरिएको थियो । उहाँले नयाँ नयाँ रणनीति अपनाएर मानवबेचबिखनको कार्य भएको उल्लेख गर्दै मुस्लिम समुदायले लगाउने बुर्का लगाएर, नेटवर्किङ बिजनेसको नाममा युवतीलाई भारत पुर्याइएको बताउनुभयो । “यसको ठूलो जालो छ, पत्ता लगाउन सजिलो छैन ।” जिल्ला संयोजक सुवेदीले भन्नुभयो ।
काठमाडौँ: माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् । जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्र्तीण हुनुभयो । उहाँ छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा तयार हुनुहुन्छ । “छोरी ३ जिपिए ल्याएर उत्तीर्ण भएकी छिन्, उनले पहिला राम्रो विषय अध्ययन गर्नु भनेकी थिइन् तर अहिले नतिजा खासै राम्रो आएन, सक्दिनकी भन्न थालेकी छिन्’’, उहाँ भन्नुहुन्छ, ‘‘बच्चालाई अनावश्यक दबाब दिनुभन्दा उहाँले सक्ने र रुचि भएको विषय छनोट गर्न भनेका छौँ । शिक्षकसँग पनि परामर्श लिइरहेका छौँ ।’’ लम्कीचुहा नगरपालिकाका लोकबहादुर देउवाकी भतिजी पनि यस वर्षको एसइईमा उत्र्तीण हुनुभएको छ । देउवाको परिवार छोरीको नतिजापछि कुन विषय पठाउने भन्नेबारे छलफलमा छन् । ‘‘हामी छोरीको नतिजापछि हिजोमात्रै छलफलमा बस्यौँ, छोरीको रुचिबारे छलफल भयो, उनलाई विषय छनोट र त्यसका फाइदाबारे समेत जानकारी दिने काम गरेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘छोरीको रुचिसँगै उनको भविष्य कसरी सुरक्षित गराउन सकिन्छ भन्नेबारे पनि हामी सचेत छौँ ।’’ देउवा परिपक्क नभएका बालबालिका कहिलेकाहीँ सही विषय छनोट गर्न नसक्ने भएकाले बालबालिकलाई परिवार र शिक्षकले विषय छनोटमा सघाउनुपर्ने बताउनुहुन्छ । ‘‘हामीले छोरीलाई दबाब होइन सही सल्लाह भने दिनुपर्छ’’, उहाँ भन्नुहुन्छ । टीकापुरका सरोज चौधरी यसवर्ष एसइई उत्र्तीण हुनुभएको छ । यसअघि विज्ञान विषय पढ्ने तयारीमा रहेका सरोज राम्रो नतिजा नआएपछि भने अन्योलमा हुनुहुन्छ । ‘‘विज्ञान पढ्ने र पछि डाक्टर पढ्ने सोचमा थिएँ, तर एसइईमा राम्रो नजिता ल्याउन सकिएन’’, उहाँ भन्नुहुन्छ, ‘‘परिवारले विज्ञान विषय नै पढ्न भनेका छन्, शिक्षकले भने व्यवस्थापन विषय पढ्न सल्लाह दिनुभएको छ । म भने अन्योलमा छु ।’’ कैलालीकै नन्दा विक पनि यस्तै समस्यामा हुनुहुन्छ । उहाँलाई शिक्षातर्फ अङ्ग्रेजी पढ्न मन छ । उहाँको परिवारले अनिवार्य विज्ञान पढ्न भनेको छ । ‘‘मलाई विज्ञान पढ्न मनै छैन, नजिता आएको दिनदेखि मलाई खुसीभन्दा तनाव छ’’, उहाँले भन्नुहुन्छ, ‘‘बुबाआमाले विज्ञान पढेमा पछि धेरै बाटा खुल्ने बताउनुहुन्छ । मलाई चाँही अंग्रेजीमै रुचि छ । अभिभावक फकाउने काममा लागेकी छु ।’’ अभिभावक पनि बालबालिका परिपक्व नभएकाले विषय छनोट गर्दा ध्यान नदिन सक्छन् भन्नेमा सचेत हुन आवश्यक छ । बालबालिकाले उनीहरुको क्षमता र मन लागेको विषय पढाउने विषयमा शिक्षकसँग छलफल गरेर पठाउनु आवश्यक छ । अभिभावक प्रेम रेग्मी कतिपय बालबालिका आफ्ना पुराना साथीसँगै पढ्न चाहने भएकाले समस्या हुने गरेको बताउनुहुन्छ । ‘‘बालबालिका रुचि, क्षमताभन्दा साथी नछुटुन भन्ने चाहन्छन्, उनीहरु सबै एउटै विषय पढौँ भनेर निर्णय लगिदिन्छन्’’, उहाँ भन्नुहुन्छ, ‘‘यस्तो बेला अभिभावकले सही मार्ग देखाउन आवश्यक छ ।’’ खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल बालबालिकालाई एसइई परीक्षापछि पढ्ने विषयमा अभिभावक र विद्यार्थीसँग छलफल गर्ने गरिएको, बालबालिकाको क्षमता र रुचिमा अभिभावकलाई नदिन आग्रह गर्ने गरिएको बताउनुहुन्छ । ‘‘हामीलाई विद्यार्थीको क्षमता कति छ थाहा हुन्छ, उसको क्षमताअनुसारको विषय पढ्न सल्लाह दिने गरेका छौँ, अभिभावकलाई बोलाएर समेत छलफल गरिरहेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘रुचि बिनाको र क्षमता बिनाको विषय पढ्न लगाउँदा बालबालिकाको भविष्य बिग्रन सक्छ । यसमा अभिभावक जिम्मेवार बन्नुपर्छ । बालबालिकाको क्षमता छैन तर विज्ञान पढ्न दबाब दिने, व्यवस्थापन पढ्न दबाब दिने अभिभावक धेरै छन् । उनीहरुलाई सम्झाउने गरेका छौँ ।’’
कास्की: कास्कीको मादी गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष देवीजंग गुरुङ गाउँपालिकाकै कान्छा वडाध्यक्ष हुनुहुन्छ । उमेरले ३० वर्ष पुगेका उहाँ यसअघि सिक्लेस युवा क्लबलगायतका सामाजिक संस्थामार्फत क्रियाशील हुँदै आएकामा अहिले भने जनताको अभिमत पाएर वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो । उहाँसहित निर्वाचित जनप्रतिनिधि यतिखेर जनताका काममा क्रियाशील हुनुहुन्छ । सिक्लेस कास्कीको पर्यटकीय गाउँ पनि हो । नेपालकै ठूलो गुरुङ गाउँका रुपमा रहेको सिक्लेसको पर्यटकीय विकास त उहाँहरूकोे प्राथमिकतामा छँदैछ ,उहाँ भौगोलिक विककटताका कारणले सहजरुपमा सेवा लिन नसक्नेका लागि विभिन्न कार्यक्रमका साथ जनतामाझ पुग्ने कार्यक्रम लिएर अघि बढ्नुभएको छ । राज्यले ज्येष्ठ नागरिकलगायत समाजका विभिन्न वर्ग र समुदायलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा कतिपयले शारीरिक अवस्थाका कारण वडा केन्द्रमा आएर सेवा लिन सकेका छैनन् । यही अवस्थालाई दृष्टिगत गरी गुरुङले आफू निर्वाचित भएसँगै टोलटोलमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाउनुभयो नै त्यसको कार्यान्वयनमा पनि जुट्नुभएको छ । “हामीले टोलटोलमा पुगी सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेका छौँ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “भौगोलिक अवस्थिति आदिका कारण वडा केन्द्रसम्म आउन नसक्ने ज्येष्ठ नागरिक एवं सर्वसाधारणका लागि सोही टोलमा पुगेर भत्ता वितरण गरिरहेका छौँ ।” वडाको क्षेत्रफल ठूलो भएका कारण यहाँका सोँदा, खिलाङ, नयाँ गाउँलगायत टाढाटाढाका गाउँबाट सामाजिक सुरक्षा लिन वडा केन्द्र सिक्लेस पुग्नुपर्ने बाध्यता अन्त्य भएको खिलाङका ९३ वर्षीय रनसिरि गुरुङ बताउनुभयो । सामाजिक सुरक्षाभत्तासँगै वडाका तर्फबाट ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य समस्याअनुसार सरकारबाट प्राप्त हुने औषधि निःशुल्करुपमा उपलब्ध गराउने गरिएको उहाँको भनाइ थियो । समाजमा सबै वर्ग र समुदायको शिक्षामा समान पहुँच पुग्नुपर्छ भन्ने उद्देश्यका साथ वडाभित्रबाट एसइई उत्तीर्ण हुने दलित समुदायका विद्यार्थीलाई यसै वर्षदेखि १२ कक्षासम्म निशुल्क पढाउने आफूहरूको योजना रहेको उहाँको भनाइ छ । मादी गाउँपालिका–१ भित्र दुई वटा माध्यामिक विद्यालय रहेका छन् । वडाको सोँदास्थित दूधपोखरी मावि र सिक्लेसस्थित अन्नपूर्ण माविमा यहाँका विद्यार्थी अध्ययन गर्दै आएका छन् । वडाभित्र अध्ययन गर्ने दलित समुदायका विद्यार्थीबीचमा नै पढाइ छाड्ने गरेको बताउँदै उहाँले उनीहरूलाई पढाइप्रति अभिप्रेरित गर्न यो योजना अघि सारिएको बताउनुभयो । “जनताको दैनिकीसँग जोडिएका विषय नै हाम्रा प्रमुख प्राथमिकता हुन्”, उहाँले भन्नुभयो, “पाँचवर्षे कार्यकालमा यस क्षेत्रमा पर्यटन विकासका योजना ल्याउने, यातायातको सहज व्यवस्थालगायतका कामलाई प्राथमिकताका साथ अघि बढाउने हाम्रो योजना छ ।” पर्यटकीय गाउँ सिक्लेसदेखि मनाङसम्म पदमार्ग विकास गर्न प्रयास गर्ने बताउँदै उहाँले भन्नुभयो, “यहाँबाट माछापुच्छे्र गाउँपालिकासँग जोडिने टिइँ भन्ने ठाउँ एक दिनमा पुग्न सकिन्छ, त्यहाँ जाने पदमार्गलाई प्रवद्र्धन गर्ने योजना बढाएका छौँ ।” टिइँबाट माछापुच्छ्रे, अन्नपूर्ण दुई, लमजुङ, मनास्लुलगायतका हिमाल नाङ्गो आँखाले देख्न सकिने उहाँले बताउनुभयो । पछिल्लो समयमा चर्चामा रहेको कपुचे हिमताल पनि यही वडामा पर्ने जनाउँदै वडाध्यक्ष गुरुङले सिक्लेसबाट उक्त तालमा पुग्न आठ घण्टा लाग्ने जानकारी दिनुभयो । उक्त मार्गको हुगु भन्ने ठाउँ नपुग्दासम्म छ घण्टाबीच बास बस्ने ठाउँ र टि सप नरहेका कारण पर्यटकलाई सहज हुने गरेर रुटको कुनै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सिक्लेसदेखि कपुचेसम्म घोडाबाट यात्रा गराउने योजनाका साथै त्यसबीचमा केही पूर्वाधार बनाउने लक्ष्य राखिएको छ । मादी गाउँपालिका वडा नं १ बाट ठूलो सङ्ख्यामा सर्वसाधारण पोखरामा रहेकाले वडा कार्यालयबाट प्रदान गरिने सबै किसिमका सेवा दिने गरी प्रत्येक दुई÷दुई महिनामा घुम्ती सेवा दिन थालिएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिसलगायतका वडाबाट हुने काम घुम्तीसेवामार्फत पाउँदा धेरै सर्वसाधारण लाभान्वित बनेको सिक्लेस पार्चे समाज पोखराका अध्यक्ष क्या शमशेर गुरुङले बताउनुभयो । वडाले गत असारको ३०, ३१ र यहीसाउनको १ र २ गते पोखरामा घुम्ती सेवा सञ्चालन गरेको छ । “घुम्ती सेवाका कारण वडा केन्द्र सिक्लेससम्म पुग्न नसक्ने सर्वसाधारण लाभान्वित बनेका छन्”, उहाँले भन्नुभयो, “जनताको सेवालाई लक्षित गरी वडाका तर्फबाट गरिएका यी काम अरु स्थानका जनप्रतिनिधिका लागि पनि अनुकरणीय छन् ।”
हेटौँडा: हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो । खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिनुभयो । हेटौँडामा खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उहाँले बताउनुभयो । उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ । हाल बोर्डले उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ ।
काठमाडोैँ: सानै उमेरमा विदेश गएर धेरै दुःख पाउनुभएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुआत गर्नुभएको छ । उहाँलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदोरहेछ भन्ने लागेको छ । उहाँसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ । दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७÷१८ लिटरदेखि लिएर ४०÷५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पुर्याउने गरेको उहाँले बताउनुभयो । यस्तै सिस्ने –६ की निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिइ थोरै लगानीबाट सुरु गर्नुभएको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ । खेती गरिएको सबै जमिन शाहीले लिजमा लिनुभएको हो । व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आफूलाई लागेपछि तरकारी खेती सुरु गर्नुभएका शाहीले अहिले आफ्नी श्रीमानलाई समेत स्वदेश फर्काउनुभएको छ । कृषिमै भविष्य देख्नुभएकी शाहीले दुई–चार वर्ष विदेश बस्नुभएका श्रीमानलाई स्वदेश फर्काएपछि अहिले दुवै जना एकअर्कालाई सहयोग गर्दै कृषि कर्ममा रमाइरहनुभएको छ । रुकुमपूर्वकै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि सामूहिक बङ्गुरपालन सुरु भएको छ । वडा नं १२ कोलमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत सामूहिकरूपमा बङ्गुरपालन सुरु गरिएको हो । अहिले कोलमा उन्नत जात र स्थानीय जातको बङ्गुरपालन गरिएको छ । बङ्गुरपालन व्यवसायबाट आम्दानी राम्रो हुने स्मार्ट कृषि कोलगाउँका अध्यक्ष प्रेमकुमार गुरुङले बताउनुभयो । उहाँहरुजस्तै अन्य व्यक्तिले पनि व्यावसायिक कृर्षितर्फ पाइला अघि बढाउनुभएको छ । अहिले जिल्लामा उहाँहरूले कृषि पेशालाई अँगालेर जुन खालको मेहेनत गरिरहनुभएको यो साँच्चिकै उदाहरणीय छ । मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि गाउँमा काम छैन भनेर सहरबजार केन्द्रित हुँदै गर्दा कृषिबाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उहाँहरुले सन्देश दिनुभएको छ । युवा जमात सबै विदेशिँदा जन्ती र मलामी भेट्नै गाह्रो परेको छ । स्वदेशमै भएकाहरू पनि सहरबजार केन्द्रित छन् । विदेशबाट फर्केर स्वदेशमै आइ केहीले फरक तरिकाबाट पैसा कमाउने सपना देखेका छन् ।