पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...

कास्की:    गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ ।   कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश र मुख्यगरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारीका काम अघि बढाइएको छ ।   करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका जुरेको हो । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको मिति घोषणा गरेर जिम्मेवारी बाँडफाँट गरेसँगै स्थानीस्तरमा पनि खेल पूर्वाधार निरीक्षण, खेलाडी प्रशिक्षणलगायतका काम अघि बढेको छ ।   प्रतियोगिता सञ्चालनका लागि राखेपले गठन गरेको खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता कास्कीका विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरेको छ । सो उपसमितिका संयोजक एवं रोखप सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा सहारा क्लबको फुटबल मैदान, पोखरा–१९ स्थित गोष्टेघाट खेलमैदान, माछापुच्छ्र गाउँपालिकाको महेन्द्र मावि खेलमैदान, हेमजाको गौरीशङ्कर खेलमैदान र नेपाली सेनाका खेलमैदान निरीक्षण गरिएको छ ।   संयोजक गुरुङले प्रतियोगिता पोखरा रङ्गशालामै सञ्चालन हुने भए पनि सहभागी टोलीको प्रशिक्षणलाई ध्यान दिएर अभ्यास मैदानको खोजी गरिएको बताउनुभयो । खेल पूर्वाधारका लागि पोखराका विभिन्न वडामा निर्माण सम्पन्न भएका कभर्डहल र खेलमैदानको भरपुर उपयोग गरिने छ । उहाँले भन्नुभयो, “देशको गौरवको रूपमा रहेको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि अहिलेदेखि नै तयारीका काम अघि बढाएका छौँ । खेलस्थलको अनुगमन सुरु गरेका छौँ, पूर्वाधार कस्तो अवस्थामा छन्, के–के काम गर्नुपर्ने हुन्छ भनेर अनुगमन गर्छौँ । प्रतियोगितामा सहभागी टोलीलाई अभ्यास र तयारीमा राम्रो सुविधा दिने योजना छ ।”   गण्डकी प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी सङ्घ सरकार मातहतको राखेपको भए पनि आफ्नो प्रदेशमा हुने प्रतियोगितालाई सफल बनाउन प्रदेश खेलकुद परिषद्ले पनि काम अघि बढाएको हो । परिषद्को सोमबार सम्पन्न पूर्ण बैठकले नवौँ राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो ।   उहाँका अनुसार खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति, बसोबास व्यवस्थापन, स्वास्थ्य, यातयात व्यवस्थापन, सुरक्ष, प्रचार प्रसार, खेल सामग्री तथा पोशाक व्यवस्थापनलगायतका समिति गठन गरी जिम्मेवारी तोकिएको छ । परिषद्ले खेल सञ्चालन कार्यविधि–२०७९ स्वीकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ ।   राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिब रु सात करोड खर्च लाग्ने अनुमान रहेको सदस्यसचिव गुरुङले बताउनुभयो । राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुने निर्णय यसअघि नै भइसकेको छ । अधिकांश खेल पोखरामा नै सञ्चालन हुनेछ । केही खेलको पूर्वाधार अझै पनि तयार हुनसकेको छैन ।    स्वीमिङ, सुटिङ र हक्की खेलको पूर्वाधार पोखरामा पनि छैनन् । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता आयोजकलाई छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना छ । लामो समयपछि हुन लागेको राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई दिन सबै जिल्लामा खेल आयोजना गर्न प्रस्ताव गरिएको भए पनि फुटबल, क्रिकेट, भलिबल, ह्यान्डबललगायत मुख्य–मुख्य खेलसहित अधिकांश खेल पोखरामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।   उहाँले भन्नुभयो, “चार दशकपछि हुन लागेको प्रतियोगितामा सबैको अपनत्व होस् भनेर हामीले ३६ वटा खेलको खेलस्थल सिफारिस गरेर पठाएका छौँ । यसबारेमा राखेपले केही दिनमै निर्णय गर्ला । धेरैजसो खेल पोखरामै सञ्चालन हुने निश्चित छ ।” योगीका अनुसार प्रतियोगिता तयारीका लागि निर्माणाधीन खेल पूर्वाधार सम्पन्न गर्ने, भइरहेकाको स्तरोन्नति तथा प्रतियोगिताका लागि क्षमतावान् खेलाडीको खोजी, नयाँ खेलाडी उत्पादन र उनीहरूलाई प्रशिक्षण दिने गरी योजना निर्माण गरिएको छ ।   राष्ट्रिय खेलकूदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाभित्र ‘इन्डोर’ र ‘आउटडोर’ खेलका पूर्वाधार तयारी छन् । पोखरामा फुटबलको अन्तर्राष्ट्रिस्तरको रङ्गशाला, सुविधासम्पन्न बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, टेनिस कोर्ट, क्रिकेट मैदानलगायत अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहे पनि केहीको मर्मत र स्तरोन्नति गर्नुपर्ने छन् । 

  काठमाडौँ:     शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनसक्ने भएकाले शिक्षक अध्ययनशील बन्नुपर्ने शिक्षकहरूकै प्रतिक्रिया छ ।    शिक्षक नियमित विद्यालय जान्छ र शिक्षण गर्छ । नियमित विद्यालय जानु, शिक्षण गर्नु शिक्षकको पेशागत दायित्वभित्र पर्छ । शिक्षकले कक्षामा दैनिक विभिन्न विषयवस्तु शिक्षण गर्नुपर्ने हुन्छ, शिक्षण गर्ने विषय आफूले पनि अध्ययन गरेको भए सहज हुने शिक्षकहरू बताउँछन् । शिक्षक शिक्षकसँगै विद्यार्थी पनि हो । असल शिक्षकले जहिले पनि कक्षाकोठामा प्रवेश गर्नुपूर्व तयारीस्वरुप विषयवस्तु राम्रोसँग अध्ययन गर्न जरुरी रहेको कर्णाली मावि टीकापुरका गणित शिक्षक ज्ञानेन्द्र जोशी बताउनुहुन्छ । “मेहेनती र अध्ययनशील शिक्षकले नै विद्यार्थीलाई विषयवस्तुमाथि राम्रोसँग प्रस्ट्याउन सक्छ र छोटो समयमा धेरै ज्ञान दिन सक्छ र यसका लागि हामी पनि विद्यार्थी बन्न अर्थात् विषयवस्तुको ज्ञान हुनुपर्छ”, उहाँ भन्नुहुन्छ, “शिक्षकले कुन विषयवस्तु शिक्षण गरिँदैछ, शिक्षणको उद्देश्य के हो ? कतातिर जाँदैछ अर्थात् विषयवस्तु शिक्षण गर्दा कुन कुरालाई बढी केन्द्रित गर्नेजस्ता कुराको तयारी गर्न आवश्यक छ । म कक्षामा जानुपूर्व पाठ्यक्रमका आधारमा तयारी गरेर जान्छु ।”   ज्ञान र सिकाइ जति अध्ययन गर्यो त्यति बढ्दै जान्छ । शिक्षकले शिक्षण गर्दा विद्यार्थीको मनोविज्ञानसमेत अध्ययन गर्नुपर्छ । कुन विद्यार्थीले कसरी कुन माध्यमबाट विषयवस्तुलाई शिक्षण गर्दा विद्यार्थीले छिटो बुझ्दछ भन्ने कुराको ज्ञान हुन जरुरी रहेको सरस्वती माध्यामिक विद्यालय बनगाउँकी अङ्ग्रेजी शिक्षक सम्झना अर्याल बताउनुहुन्छ । “सबै शिक्षकले नियमित कक्षामा गई कक्षा शिक्षण गर्नुहुन्छ । तर कक्षामा जानुपूर्व विषयवस्तु राम्रोसँग अध्ययन गरेको र नगरेको शिक्षकले विद्यार्थीलाई दिने ज्ञान र विषयवस्तुमाथिको दखलतामा फरक देखिन्छ”, उहाँ भन्नुहुन्छ, “राम्रो शिक्षणका लागि शिक्षक पनि विद्यार्थी हुन जरुरी छ । विषयवस्तुमाथि पूर्वतयारी जरुरी छ ।”   यसैगरी शिक्षकले कक्षामा शिक्षण गर्दा शिक्षणपश्चात विद्यार्थीको उपलब्धि के रहन्छ भन्ने कुराको ज्ञान लिनुपर्ने हुन्छ । विद्यार्थीलाई कति मात्रामा ज्ञान दिने, कुन विधिमार्फत शिक्षण गर्ने भन्ने कुरा शिक्षकले मानसिकता बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायतको भनाइ छ । “शिक्षकको तयारी र ज्ञानका भरमा शिक्षण सिकाइमा प्रभाव पर्छ”, उहाँ भन्नुहुन्छ, “सिकाइ प्रभावकारी बनाउन शिक्षक पहिला विद्यार्थी बन्नुपर्छ । शिक्षकले कक्षाकोठा र विद्यार्थीबाट पनि ज्ञान लिइरहेको हुन्छ ।”   मानिस आफैँमा पूर्ण हुँदैन सिकाइमा पूर्णताका लागि मेहेनत निरन्तर आवश्यक हुन्छ । समय र परिस्थितिअनुसार विषयवस्तु परिवर्तन भइरहने भएकाले शिक्षकले पहिले आफूले विषयवस्तु राम्रोसँग अध्ययन गरेर कक्षाकोठामा प्रवेश गरेमा सिकाइ प्रभावकारी र गुणस्तरीय हुने लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपाने बताउनुहुन्छ । “विषयवस्तु राम्रोसँग अध्ययन गरेको र पूर्वतयारी गरेको शिक्षकले नै राम्रोसँग शिक्षण गर्न सक्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले सिकाइका लागि शिक्षकको लगाव र रुचि पनि महत्वपूर्ण हुन्छ ।” शिक्षा तथा समन्वय एकाइ कैलालीका अनुसार जिल्लामा जम्मा ५६५ सामुदायिक विद्यालय छन् ।

काठमाडौँ:    आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।   तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो  । रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो ।  नेपालले  भारतसँग मात्रै रु दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो ।    भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट रु दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र  रु ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र  सामान निर्यात हुँदा चीनसँग रु दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो ।   आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आव २०७८/७९ मा नेपालले रु दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले रु एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार  अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ ।    बढ्यो व्यापार घाटा   आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको होे । विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा रु १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा रु १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर  थियो ।    एक वर्षको अवधिमा नेपालले रु २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६दशमलव १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले रु १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । 

काठमाडौँ:     भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।    आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका–४कठुधारस्थित  प्रहरी चौकीका प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए ।    उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट–१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामाद भएको  र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोे थियो । 

तनहुँ:   साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो ।       साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाटमा मेला भरेका थिए । देवघाट क्षेत्र विकास समितिका अनुसार तनहुँ, चितवन, नवलपुरका अतिरिक्त आसपासका जिल्लाबाट पनि उल्लेख्य मात्रामा भक्तजन देवघाट आइपुगेका छन् ।       साउनमा पाँच सोमबार परेकाले भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेका अनुसार साउनका पाँच सोमबार गरेर एक लाख ५० हजारभन्दा बढी भक्तजन देवघाट आउने अनुमान गरिएको छ । देवघाट आउने भक्तजनका लागि ट्राफिक प्रहरी कार्यालयले रुट निर्धारण गरेको छ । कोरोना कहरका कारण अघिल्लो वर्ष औपचारिक रुपमा मेला आयोजना गरिएको थिएन ।       देवघाट क्षेत्र विकास समितिले दुई वर्षपछि बोलबम मेला आयोजना गरेको हो । घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।       देवघाटमा हरेक वर्ष साउनको सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । साउनमा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवका रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास रहँदै आएको छ ।

नवलपरासी:     नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा गैँडकोटको बेरुजु बढेको हो ।    गैँडाकोटमा हालसम्म रु नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ । आव २०७६/७७ मा भन्दा आव २०७७/७८ नगरपालिकाको बेरुजु बढेको हो । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार आव २०७६/७७ सम्म गैँडाकोटमा रु चार करोड १५ लाख १८ हजार बेरुजु रहेको थियो भने आव २०७७/७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुजु थपिएको छ ।       आव २०७६/७७ को बेरुजुसमेत समायोजन र समपरीक्षणबाट फछ्र्यौट एवं आव २०७७/७८ को रु पाँच करोड ४२ लाख ४४ हजारसहित रु नौ करोड १९ लाख ८५ हजार बेरुजु पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयको प्रतिवेदनअनुसार नगरपालिकामा आव २०७७/७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुजु रहेको छ । त्यस्तै आव २०७६/७७ मा रु दुई करोड ६० लाख दुई हजार, आव २०७५/७६ मा रु पाँच करोड ९९ हजार र आव २०७४/७५ मा रु एक करोड ४२ लाख ६० हजार बेरुजु थियो ।      बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेस्की रकम गरी हालसम्मको अद्यावधिक बेरुजु रु नौ करोड १९ लाख ८५ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काठमाडौँ:    विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स दु्रत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गर्नुभएको हो ।      सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई मङ्कीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ । “मङ्कीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो”, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भन्नुभएको छ, “यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसङ्ख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।”      डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मङ्कीपक्सका सङक्रमण पुष्टि भएका छन् ।  दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ ।       भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मङ्कीपक्स सङ्क्रमण पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “विश्वव्यापीरुपमै र यस क्षेत्रमा मङ्कीपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ । साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मङ्कीपक्स सङ्क्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ”, डा खेत्रपाल सिंहले भन्नुभयो ।       प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्याङ्कन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ । मङ्कीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्यसंस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन् ।          मङ्कीपक्स भाइरस सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ । हाल प्रकोप फैलिएका देशमा मङ्कीपक्स सङ्क्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सङ्क्रमित सामग्रीबाट पनि रोग सर्न सक्छ । 

  म्याग्दी:   म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।      नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न ठाउँमा सो सङ्ख्यामा उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले थप ११ किलोमिटर ११ केभी र ४००/२०० भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार गरेर विद्युत् वितरण गरेको जानकारी दिनुभयो ।      रघुगङ्गाको चिमखोला, दरमिजा, घ्याँसीखर्क, मङ्गलाको अर्मन, गहते, छिसवाङ, मुसलबारी, मालिकाको घरिथोक, मगरदाङ, पन्थोक, जुग्जा, ओखरबोट, निस्कोट, कोदालीवाङ, धौलागिरिको मुना, फलियागाउँ, दर, सोलवाङ, खारालगायतका बस्तीमा नयाँ लाइन विस्तार भएको हो ।       २० वटा नयाँ ट्रान्सफर्मर जडान र बाबियाचौरलगायत केही ठाउँमा वितरण र शाखा लाइनको नाङ्गो हटाएर कालो तार राखिएको छ । उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसियाली छाएको छ । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ ।      यस वर्ष थपिएकासहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २० हजार ५०५ विद्युत्का ग्राहक पुगेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा केन्द्रअन्तर्गत १९ हजार ७३४ उपभोक्ता थिए । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ ।      गत वर्ष म्याग्दी वितरण केन्द्रमा नयाँ लाइन विस्तारका लागि विनियोजन भएको रु चार करोड ७५ बजेटबाट ठेक्का लगाइएको एक वटा योजनाको ६० प्रतिशत प्रगति र चार वटाको ठेक्का सम्झौता भएको केन्द्रका प्रमुख झाले बताउनुभयो ।      लाइन विस्तार र मर्मत सुधारका लागि आव २०७६/७७ का पाँचमध्ये चार र २०७७/७८ का छ वटामध्ये पाँचवटा ठेक्काको काम सकिएको छ । बाँकी एक/एक वटा ठेक्काको काम यही साउन महिनामा सकिदैछन् ।      यो आवमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगङ्गाको पात्लेखर्क, धौलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।      गत आवमा वितरण केन्द्रमार्फत एक करोड ३६ लाख ८२ हजार ३४९.१४ युनिट विद्युत् खपत भएको छ । रु १४ करोड ५७ लाख ५५ हजार ७४१ मूल्य बराबरको विद्युत् खपत भएको हो । बक्यौता र अग्रिमसहित रु १४ करोड ८३ लाख १३ हजार ८७६ महशुल सङ्कलन भएकोमा रु दुई करोड ९९ लाख ३९ हजार ६७३.०६ अनलाइनमार्फत प्राप्त भएको थियो ।       गत वर्ष समयमा महशुल नबुझाउने ३६८ उपभोक्ताको लाइन काटेर रु ४६ लाख ८३ हजार २७३.७३ बक्यौता असुल गरिएको छ । अघिल्लो आव २०७७÷७८ मा ५३ जना ग्रहाकको लाइन काटेर रु २३ लाख ९९ हजार ६८६ बक्यौता असुल भएको थियो ।       कालोसूचीमा राखिएका पाँच जना ग्राहकबाट रु ३९ हजार ३२५ महशुल असुल भएको छ । तारबाट हुक गरेर विद्युत् चोरी गर्ने पाँच जनालाई रु एक लाख ६२ हजार ८६५ जरिवाना तिराइएको छ ।  छ महिनासम्म महशुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ ।      विद्युत् आपूर्तिलाई गुणस्तरीय र नियमित बनाउन नयाँ विस्तार हुने मुख्य, शाखा र वितरण लाइनको तार कालो राख्न थालिएको छ । बजार र जोखिमयुक्त क्षेत्रमा पनि नाङ्गो तार विस्थापित गर्न थालिएको छ । अनलाइनबाट महशुल भुक्तानी गर्न, फोनमार्फत र सामाजिक सञ्जालमार्फत मिटर रिडिङ गर्ने सुविधा दिएको केन्द्रका प्रमुख झाले बताउनुभयो । ग्रामीण क्षेत्रका उपभोक्ताले घरमा नआइ अनुमानको भरमा मिटर रिडिङ गरिँदा कुनै समय कम र कुनै महिना अस्वभाविक महशुलको बिल आउने गरेको गुनासो गरेका छन् । 

तनहुँ:   तनहुँको शुक्लागण्डकी नगरपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ ।      राष्ट्रिय भूमि आयोगले शुक्लागण्डकी नगरपालिका–७ बाट आजदेखि जग्गाको नापजाँच सुरु गरेको हो । विसं २०७७ मा प्रकाशित सूचनाअनुसार दर्ता हुन आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदनबमोजिम जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत जग्गाको नापजाँच सुरु गरिएको शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । जग्गा नापजाँच सुरु गर्नु अगाडि नगरपालिकाले स्थानीयवासीलाई निवेदन दर्ताको निस्सा वितरण गरेको थियो ।      शुक्लागण्डकीमा करिब पाँच हजार ५०० भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । विगत लामो समयदेखि आफूले भोगचलन गर्दै आएको भूमिको पुर्जा सिरानीमा राखेर निदाउने तनहुँको शुक्लागण्डकी नगरपालिकाको चाहना अझै पूरा हुन सकेको छैन । पटक–पटक लालपुर्जा पाउने आश्वासन पाएपनि त्यो सपना अधुरै छ । निर्वाचनका बेला भोट तान्न आश्वासन पाए पनि स्थानीयवासीले लालपुर्जा पाउन सकेका छैनन् ।     शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २, ५, ६, ७ र ८ मा अव्यवस्थित, सुकुम्बासीको बसोबास अधिक छ । बस्तीमा सडक, बिजुली, खानेपानी, विद्यालयजस्ता आधारभूत विकास भए पनि पुर्जाविहिन हुनुको पीडाले स्थानीयवासी चिन्तित छन् ।     राष्ट्रिय भूमि आयोगले देवघाट गाउँपालिकामा पनि जग्गा नापजाँचको काम सुरु गर्ने तयारी गरेको छ । आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २,  देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ । बन्दीपुर गाउँपालिकामा भने अव्यवस्थित बसोबासीको निस्सा वितरण गर्न बाँकी रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।       जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ ।      यो कामका लागि सबै अधिकार स्थानीय तहमा रहेको बताइएको छ । तथ्याङ्क दर्ता, निस्सा वितरण, सार्वजनिक सूचना जारीपश्चात् उजुरी सङ्कलनलगायतका काम हुने आयोग अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । भूमिहीन सुकुम्बासी र भूमिहीन दलितका हकमा सात दिने र अव्यवस्थित बसोबासीका हकमा १५ दिने सार्वजनिक सूचना जारी हुनेछ ।