काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १६५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
काठमाडौँ: पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५÷३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार पनि सोही मौसम कायम रहने भएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आङ्शिकदेखि सामान्य बदली भई पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
काभ्रेपलाञ्चोक: यहाँको ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत सबै स्थानीय तहको खानेपानी परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ । परीक्षण गरिएका खानेपानीमध्ये ५५ प्रतिशत खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । उहाँका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य किटाणु भेटिएको हो । “जिल्लाका ४० स्थानमा गरिएको परीक्षणमा ५५ प्रतिशत खानेपानी दूषित पाइएको छ, खानेपानीमा कोलिफर्म शून्य हुनुपर्ने थियो”, स्वास्थ्य प्रमुख सेढाईँले भन्नुभयो । अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीका स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ । कतिपय स्थानमा वितरित जारको खानेपानीमा खराबी देखिएको सेढाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ ।” खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । “हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेर मात्रै पानी पिउनुपर्छ”, सेढाईँले भन्नुभयो । दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम भइरहेको जनाइएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको प्रमुख सेढाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौँ ।” कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारार्थ जान तथा लैजान अपिलसमेत गरेको छ । दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो । साथै खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ । यस्तै खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत अनुरोध गरिएको छ । यसैबीच काभ्रेपलाञ्चोकमा तीन वर्षपछि देखिएको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण पाँच स्थानमा देखिएको छ । यसअघि जिल्लाका तीन स्थानमा डेङ्गु सङ्क्रमण देखिएको थियो । तीन हप्ताअघि पाँचखालमा देखिएको डेङ्गु रोगको सङ्क्रमण हाल धुलिखेल र पनौतीलगायतका पाँच क्षेत्रमा देखिएको स्वास्थ्य प्रमुख सेढाईँले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट डेङ्गु रोगको सङ्क्रमण जिल्लामा केही वर्ष रहनसक्ने देखिएकाले विशेष सतर्कता अपनाउनु पर्नेछ । “तीन स्थानमा देखिएको डेङ्गु सङ्क्रमण हाल पाँच स्थानमा देखिसक्यो, अब जिल्लामा केही वर्ष रहनसक्ने देखिएकाले हाम्रो र्यापिड टिम डेङ्गु स्रोतको सर्च एण्ड डिस्ट्रोयमै लागेको छ”, सेढाईँले भन्नुभयो । काभ्रेपलाञ्चोकमा यसअघि विसं २०७६ भदौ दोस्रो साता छ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । थोरै जमेको पानीमा समेत डेङ्गु रोगको सङ्क्रमण फैलाउने लामखुट्टे रहने भएकाले घर, कार्यालय तथा अन्य सङ्घसंस्था, संरचनामा पानी जम्न नदिनु नै यसबाट बच्ने उपाय भएको बताइएको छ । लामो समयपछि जिल्लामा डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको छ । जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ । लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नाका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ ।
काठमाडौँ: बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट चालक परियार र पछाडी सवार राई घाइते भई उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको टे«लर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।
पर्सा: करिब रु ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा उक्त मालवाहक ट्रकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको उक्त ट्रक र सामानको समेत गरी रु ७४ लाख ८७ हजार २२३ मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले बताउनुभयो । उक्त ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिलबिजक शङ्कास्पद देखिएको तथा बिलबिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस लोड गरिएको भेटिएपछि सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।
पोखरा: पछिल्लो २४ घण्टामा देशभर ४ सय ३५ र कास्कीमा १३ जनामा कोरोना संक्रमित देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षण र एन्टिजोन परिक्षणगर्दा देशभर थप ४ सय ३५ जनामा र कास्कीमा १३ जनामा कोरोना देखिएको हो । आज(बिहीबार) गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कास्कीमा १३ जना सहित गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण भएको उल्लेख गरेको छ । प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ,‘गण्डकी प्रदेशमा अद्यावधिक तथ्याङ्क विवरण बमोजिम कोभिड–१९संक्रमित कुलसंख्या १लाख २ हजार २ सय १९ रहेको छ । र पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर र एण्टीजेन परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’ विज्ञप्तिमा भनिएको छ,‘ परीक्षणमा गण्डकीको ११ जिल्ला मध्य कास्कीमा १३,तनहुँमा ३ र स्याङ्जाका ८ जनामा कोरोना संक्रमित पाइएको हो । ’
स्याङ्जा: स्याङ्जाको भिरकोटमा सामान्य विवादका कारण धकला धकेल हुदा लडेर एक जनाको मृत्यु भएको छ । बुधवार राती स्याङ्जाको भिरकोट ३ रिजु वस्ने ५० वर्षीय याम बहादुर रोकाले धकल्दा सोही ठाउँ वस्ने ४५ वर्षिय श्याम बहादुर रोेकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । धकेला धकेल हुदा लडी घाइते भएका श्याम बहादुर रोकाको कालीका समुदयीक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न याम बहादुर रोकालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
पोखरा: नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । पोखरा लेकसाइडस्थित १४ नम्बर स्ट्रिट मा सञ्चालनमा आएको यो स्पा पोखराकै सबैभन्दा ठुलो क्षेत्रफलमा फैलिएको स्पा हो । यसका सञ्चालक रनिल फैजुका अनुसार सरोवरमा सात हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा सञ्चालनमा आएको छ । सेवाग्राहीले यहाँबाट मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापी सहित अन्य प्याकेजमा सुविधा उपलब्ध गराउनेछ । स्पासँगै सलून, साउना, स्टिम, ज्याकुजीको सेवा पनि उपलब्ध हुने उनले जानकारी दिए । “हामीले सेवालाई थप आधुनिक र परिस्कृत गदै लैजानेछौँ” उनले भने । ट्रान्क्युलिटी स्थापले पोखरामा बिगत १० वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । राजधानी काठमाडौंमा करिब १५ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आइरहेको ट्रान्क्युलिटी स्पाको दुइवटा शाखा मलेसियामा समेत छ । ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ लगायत सेवा प्रदान गर्दै आइरहेको छ । स्पामा अन्तर्राष्ट्रियस्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग हुने उनले बताए । शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुन्छ । यसबाहेक ब्युटी र स्पासम्बन्धि विश्वस्तरीय तालिम पनि केही दिनमा नै सुरु हुने उनले जानकारी दिए । तालिममा नेपाली र विदेशी सबैले सहभागी हुन पाउनेछन ।